धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन एकजुट हुनुपर्छ : लिङदेन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङदेनले २०४६ को परिवर्तनपछि विभिन्न वहानामा समाजमा विग्रह ल्याउने कार्य सुरु भएसँगै धार्मिक एवं साँस्कृतिक सहिष्णुता खल्बलिँदै गएको बताएका छन् ।
राप्रपाको भ्रातृ संगठन नेपाल प्राज्ञिक परिषद्द्वारा आज आयोजित ‘नेपालमा सांस्कृतिक अतिक्रमण तथा राष्ट्रिय पहिचानको रक्षाको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै लिङदेनले यस्तो बताएका हुन् ।
सदियौंदेखि मिलेर बसेको समाजलाई धर्म, चाडपर्व लगायत विषयमा फुट सिर्जना गराइ पश्चिमा धर्मलाई राजनीतिक परिवर्तनको आवरणमा भित्र्याउन मलजल गाराइएकै कारण ०६३ मा नेपाललाई धर्मनिरपेक्ष बनाउन उक्त ‘गिरोह’ सफल भएको दावी गरे ।
यही अवस्थाले निरन्तरता पाउँदै जाने हो भने नेपालमा ठूलो धार्मीक द्वन्द्व निम्तिनसक्ने उनको आशंका छ । विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङले प्राचिनकाल देखि नै हिन्दु समुदाय नै आफ्नो आचरणमा बस्न नसकेकै कारण नेपाललाई ईसाइकरण गराउन मार्ग प्रशस्त भएको प्रतिक्रिया दिए । धार्मिक तथा साँस्कृतिक अतिक्रमण रोक्न सबैले सनातनदेखि चलिआएको वैदीक धर्म, दर्शन अनुसार चल्न हिच्किचाउन नहुने उनले बताए ।