चिहानमा आराधना गरेर राजन्त्र फर्कँदैन : गोकुल बाँस्कोटा
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले चिहानमा आरधना गरेर राजतन्त्र नफर्किने बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।
मन्त्री बाँस्कोटाले अब राजतन्त्रको मुद्दा उठाएर कहीँ पनि पुग्न नसकिने प्रष्ट पारे। उनले राजतन्त्रको मुद्दा उठाउने दललाई ‘डाइनोसर’ संज्ञा दिए।
मन्त्री बाँस्कोटाले राजा फर्कन्छ भन्नु भूतपूर्व मायालुलाई सम्झिएर तड्पिने जस्तै भएको बताए। ‘मरेको राजतन्त्रले अब फणा उठाउन सक्दैन’, उनले भने, ‘चिहानमा आरधना गरेर राजतन्त्र फर्कँदैन।’
भिडियोबाट मन्त्रिपरिषद्
सरकारले प्रधानमन्त्री विदेश भ्रमणका बेला पनि भिडियो ‘कन्फरेन्स’मार्फत मन्त्रिपरिषद्को बैठक बस्ने व्यवस्था गरेको छ।
नेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४ लाई संशोधन गर्दै सरकारले यस्तो व्यवस्था मिलाएको हो। प्रधानमन्त्री केपी शर्मा ओली लामो समय उपचारका लागि सिंगापुर बस्नुपर्ने भएपछि सरकारले यस्तो व्यवस्था ल्याएको हो।
‘नेपाल सरकार (कार्यसम्पादन) नियमावलीलाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा पनि भिडियो कन्फरेन्स तथा सूचना प्रविधिको प्रयोग गरेर बैठक बस्नसक्ने थप गर्ने निर्णय भएको छ’, मन्त्री बाँस्कोटाले भने।
यसअघि नियमावलीको दफा १९ (३) मा प्रधानमन्त्री अनुपस्थित रहेको अवस्थामा प्रधानमन्त्रीले सम्पादन गर्ने कार्य उनले तोकेको उपप्रधानमन्त्रीले गर्ने उल्लेख छ। प्रधानमान्त्रीले यसपटक पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर मन्त्रिपरिषद्को अध्यक्षता भने भिडियोमार्फत प्रधानमन्त्री आफैँले गर्नेछन्।
‘प्रधानमन्त्री सिंगापुर भएको समयमा पनि मन्त्रिपरिषद्को बैठक बस्छ। यस समयमा पनि महत्त्वपूर्ण निर्णय हुन्छ’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘मन्त्रिपरिषद्को अध्यक्षता प्रधानमन्त्रीले नै गर्नुहुन्छ।’
यस्तै, पछिल्लो साता बसेको मन्त्रिपरिषद्को तीनवटा बैठकले ३५ वटा निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले काठमाडौं–तराई÷मधेश द्रुतमार्गको रेखांकन परिवर्तनको स्वीकृति दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।
सरकारले प्रदेश सचिव पदमा राजपत्रांकित प्रथम श्रेणीका सहसचिवलाई ज्येष्ठताका आधारमा खटाउने निर्णय गरेको छ। उनीहरूलाई एक वर्षका लागि खटाउने सरकारको निर्णय छ।
बैठकले विकास साझेदारबाट प्रस्तावित एक सय मिलियन अमेरिकी डलर करिब ११ अर्ब रुपैयाँ बराबरको अनुदान सहायत स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै, लामो समयदेखि ग्वान्जाओमा रिक्त नेपाली महावणिज्यदूतमा प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणीका सहसचिव हरिशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
‘प्रधानमन्त्री ठीक हुनुहुन्छ’
उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली ठीक भएको मनत्री बाँस्कोटाको दाबी छ। प्रधानमन्त्री ओलीको विषयमा अनुमानका भरमा हल्ला फिजाएको उनको भनाइ छ।
‘उहाँको स्वास्थ्यलाई लिएर सक्कली, नक्कली र डेडअक्कली बहस चलिरहेकै छ। सक्कली १२ वर्षअघि मिर्गौला ट्रान्सफर भएको हो। नक्कली ज्योतिषलाई हेराएर समाचार लेख्ने, फेसबुकमा ट्वीट गर्ने’, उनले भने, ‘डेड्अक्कली स्वास्थ्य लाभको कामना पनि गरियो कि गरिएन भनेर बहस झिक्ने।’
उनले प्रधानमन्त्री ओली स्वास्थ्य भएको र फलोअपका लागि मात्रै सिंगापुर गएको उनको दाबी छ। ‘उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै जानुभएको हो’, उनले भने।