सुदूरपश्चिममा गौरापर्व : राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताहरुले दिए शुभकामना
काठमाडौं : गौरा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवालगायत सुदूरपश्चिम प्रदेशका नेताहरुले शुभकामना दिएका छन्। शुभकामनामा उनीहरुले गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपति भण्डारीले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान पर्याउँदै आएको गौरा पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको भन्दै बताएकी छिन्। उनले शुभकामना सन्देशमा भनेकी छिन्, 'विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरा पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।'
यस्तै उनले यस्ता लोक परम्परा एवम् सांस्कृतिक पर्वहरूले विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएको सन्देशमा बताएकी छिन्।
उनको सन्देशमा भनिएको छ, 'विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमंग जागृत गर्न सहयोग पुर्याउने विश्वास लिएको छु।'
उपराट्रपति नन्दबहादुर पुनले गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा मनाइने गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल राष्ट्रकै पहिचान भएको बताएका छन्।
'सुन्दर सुदूरपश्चिम प्रदेशलाई गौरा पर्व र सो अवसरमा नाचिने देउडामा गाइने पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ, देउडाका माध्यमबाट महिलाले पोख्ने सुख-दुःख र सामाजिक विकृतिविरुद्ध गरिने व्यङ्ग्यजस्ता संस्कार, संस्कृतिले झनै सुन्दर बनाएको छ,' उपराष्ट्रपतिले सन्देशमा भनेका छन्।
गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर मनाइने गौरा पर्वले धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता खुशी हुनेजस्ता जनविश्वास रहिआएको उनले स्मरण गरे।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन्।उनले शुभकामना सन्देशमा लेखेका छन्,' सुदूर पश्चिममा मनाइने गौरा पर्वका अवसरमा समस्त दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।'
साथै प्रधानमन्त्रीले कर्मयोगका प्रवर्तक श्रीकृष्णको आज जन्मदिन, श्रीकृष्ण जन्माष्टमीको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु भन्दै शुभकामना सन्देशमा लेखेका छन्।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले गौराको शुभकामना दिएका छन्।'विशिष्ट ऐतिहासिक महत्व बोकेको गौरा पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा हार्दिक शुभ कामना' भन्दै उनले शुभकामना सन्देशमा भनेका छन्।