घरै असुरक्षित भयो भने सुरक्षाका लागि कहाँ जाने?
काठमाडौं : राष्ट्रियसभा सदस्य बद्री पाण्डेले सरकारले उद्दार, राहत, पुनर्स्थापनापछि तात्कालिक र दीर्घकालिक महत्वका कामहरु आगाडी बढाउन नसकेको भन्दै आपत्ति जनाए। शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद पाण्डेले जुन उद्दार, राहत, पुनर्स्थापनालगत्तै काम थालनी गर्नुपर्ने थियो त्यसअनुसार काम नभएको भन्दै आपत्ति जनाएका हुन्।
उनले गाउँमा पहिरोले परिवारको उठिवास लाग्दा पनि सरकारबाट कुनै ठोस पहल नभएको आरोप लगाए। उनले भने,' मानिसले प्राकृतिक विपत्तिबाट जोगिन घर बनाएको हुन्छ।तर घर, जमिन नै असुरक्षित रह्यो भने सुरक्षाका लागि कहाँ जाने?'
उनले जिल्लाको गौमुल गाउँपालिका-१ को अन्राडी भन्ने गाउँमा ठूलो पहिरोको घेराबन्दीमा गाउँ रहेको भन्दै मानिसहरु सुरक्षाका लागि यत्रतत्र लाखापाखा लाग्ने अवस्था आएको बताए।
'खोलाले काठेपुल बगाउँदा खोलापारीको विद्यालयमा जान बालबालिका बंचित भएका छन्।गौमुल गाउँपालिकामा गत महिना राति सुतेको समयमा पहिरो आउँदा आमा छोरीले ज्यान गुमाएको स्मरण गराउँदै उनले भने,' सुख्खा पहिरोले बाजुरामा रहेको बुढीगंगा थुनिने अवस्था छ।बुढीगंगा थुनिएमा अछाम, बझाङलगायत क्षेत्र प्रभावित हुने संभावना छ।यसका लागि सरकारी निकायबाट समयमै काम थालियोस्।'
उनले देशभर भूकम्प, बाढी र पहिरोबाट आक्रान्त भएका र वस्ती विकासलाई उच्च प्राथमिकतामा राखेर चाँडै काम होस् भन्दै सरकारको ध्यानाकर्षण गराए।