माधव नेपाल पार्टीमा कति बलिया ?

माधव नेपाल पार्टीमा कति बलिया ?

पार्टी समीकरण नै हल्लिने गरी चलेको पछिल्लो ‘मुभ’ ले नौजनाको सचिवालयमा एक्लिएका कामरेड नेपाल ‘कर्नर’ मा सीमित हुन पुगेका छन्।


सत्तारुढ दल नेकपामा समीकरण बदलिएसँगै पार्टीमा को–कति बलियो भन्ने भित्री बहस सुरु भएको छ। पार्टीका मुख्य तीन नेता प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपालका तीनथरी समूह सक्रिय छन्।

पछिल्लो सचिवालयका तीनओटा बैठकको समीकरण हेर्दा ओली–प्रचण्ड एकातिर र माधव नेपाल अर्कोतिर देखिएका छन्। सचिवालय बैठकमा झण्डै अल्पमतमा पर्दै जान थालेका ओलीले अर्का अध्यक्ष प्रचण्डदेखि वामदेव गौतम र झलनाथ खनालसम्मलाई साथ लिएर नयाँ ‘गेम’ खेलेका छन्।

जसले गर्दा ओली ‘पावर’ मा देखिएका छन् भने नेपाललाई ‘झट्का’ लागेको छ। सचिवालयमा नेपाल अहिले ‘एक्लै’ देखिएका छन्। पार्टी समीकरण नै हल्लिने गरी चलेको पछिल्लो ‘मुभ’ ले नेकपामा नयाँ तरंग नै ल्याइदिएको छ। त्यसको ‘रियाक्सन’ पार्टी बैठकमा चर्काचर्की पर्नेदेखि नेपालले स्वास्थ्यलाभका लागि दिएको सन्देशसमेत ओलीले अस्वीकार गर्ने अवस्थामा दुई नेतालाई पुर्‍याएको छ।

ओली–नेपालबीचको विवाद र बेमेलका अनेक किस्सा पार्टीभित्र छन्। स्वयम् माधव नेपाल पार्टीमा आफूले ०३१ सालदेखि नै विवाद झेल्दै आएको र ४६ वर्ष विवादकै बीच बिताएकाले पछिल्लो विवादलाई नयाँ रूपमा लिनुनपर्ने बताउँछन् ‘आज मात्र होइन, मेरो अनुभव भन्नुहुन्छ भने २०३१ सालदेखि विवाद हुँदैहुँदै आएको छ। त्यस्ता विवाद तपाईंहरूका निम्ति नयाँ लाग्न सक्छन्। मेरो निम्ति त ४६ वर्षदेखि नै बेहोर्दै आएको विषय हो’, अन्नपूर्णसँगको संवादमा नेपालले भने।

समीकरण उथलपुथल

पछिल्ला दिनमा प्रधानमन्त्री केपी ओली आफ्नै पार्टी नेताहरूको घेराबन्दीमा पर्दै जान थालेका थिए। अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, वामदेव गौतमदेखि झलनाथ खनालसम्मको ‘मोर्चाबन्दी’ भइरहेको ओलीलाई चित्त बुझिरहेको थिएन।

बालुवाटार स्रोतका अनुसार, त्यहीबीच उनले एउटा सूचना पाए– प्रचण्ड, माधव र वामदेवबीच कुनै भित्री सहमति भएको छ। पार्टी एकता गर्दा दुई अध्यक्ष ओली–प्रचण्डले ‘पावर सेयरिङ’ का लागि गरेको जस्तै भित्री सहमति तीन नेताका बीचमा भएको ओलीकहाँ सूचना पुगेको थियो। ओली त्यसपछि आफूविरुद्ध बन्दै गएको घेराबन्दी तोड्ने र इतरपक्षमा बन्दै गएको मोर्चाबन्दी भत्काउने निष्कर्षमा पुगे।

एक साँझ बालुवाटार पुगेका प्रचण्डलाई ओलीले सीधा भनिदिए, ‘मसँग भएको भित्री लिखित सहमति त सार्वजनिक भयो, अब तपाईं, माधव र वामदेवबीच भएको सहमति कहिले सार्वजनिक हुन्छ ? ’ त्यसपछि नै नेकपाभित्र ओलीले समीकरण ‘उथलपुथल’ का लागि कदम चालेको बालुवाटार स्रोत बताउँछ।

यसैको निशानामा पहिलो झट्का लाग्यो– पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता माधव नेपाललाई। ओलीले विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गरेर वामदेवलाई जिम्मा दिने गरी संगठन विभाग, प्रचण्डलाई अबदेखि बैठकको अध्यक्षता गर्न दिने गरी केही पार्टी अधिकार र झलनाथ खनाललाई पार्टी एकताका क्रममा गुमेको बरियता पुनर्स्थापना गर्ने रणनीति लिए। त्यही क्रममा उनले आफ्नो पक्षका असन्तुष्ट बन्दै गएका नेताहरूलाई समेत ‘व्यवस्थापन’ गर्ने रणनीति बनाए।

यो पनि पढ्नुहोस्... नेकपा सचिवालय : माधवको वरिष्ठता खोसियो, झलनाथ 'एक नम्बर'मा

प्रचण्डसम्मलाई साथमा लिएरै ओलीले अहिले त्यो मिसन पूरा गरेर उपचारका लागि विदेश पुगेका छन्। यता नौजनाको सचिवालयमा एक्लै परेका वरिष्ठ नेता माधव नेपाल ‘कर्नर’ मा पारिएका छन्। उनले पार्टीमा दोस्रो फरक मत राख्नुपर्ने अवस्था मात्र आएको छैन, ओलीसँगको सम्बन्धमै गहिरो मतभेद प्रकट गर्नुपर्ने अवस्था आएको छ।

नेपालसँग पार्टीमा शक्ति कति ?

नेकपाभित्र माधव नेपाल कमजोर भने छैनन्। पार्टीभित्रका मुख्य तीन समूहमध्ये अध्यक्ष ओली र प्रचण्डकै हाराहारीमा ‘जबर्जस्त’ उनको समूह पार्टीभित्र छ। कूल केन्द्रीय समितिका बहालवाला सदस्य ४३८ सदस्य (तीन पद रिक्त) मध्ये नेपाल पक्षका १०३ जना केन्द्रीय समितिमा छन्। यो कूल पार्टी केन्द्रीय समितिको करिब एकचौथाइ अर्थात् २३.५१ प्रतिशत हो। नेपालसँग पूर्वएमाले पंक्तिमा मात्र रहेको संख्या हो यो।

पूर्वएमाले र माओवादीका नेताहरूको समीकरण घालमेल नदेखिइसकेका कारण तत्कालीन एमाले पंक्तिभित्र नेपाल ओलीभन्दा धेरै कमजोर छैनन्। सचिवालयमा उनी अहिले एक्लै देखिए पनि स्थायी समितिमा उनीसँग १२ नेताहरू अझै पनि साथमा छन्। स्थायी समितिमा उनी कूल ४५ सदस्यमा २६.६६ प्रतिशत उपस्थितिमा छन्।

प्रतिनिधिसभामा नेपाल पक्षका ३७ जना सांसद आफ्नो पक्षका छन्। नेकपाको कूल १७४ जना सांसद रहेका बेला नेपालको यो संख्या भनेको २१.२६ प्रतिशत हो। संसद्‍देखि पार्टी संरचनासम्ममा एकचौथाइ संख्यामा नेपाल पक्षको उपस्थिति छ।

यो संख्यालाई कमजोर आँक्न कसैले नसक्ने नेपाल पक्षका नेताहरू बताउँछन्। नेपालनिकट नेता जगन्नाथ खतिवडा पार्टीको अंकगणित मात्र ठूलो कुरा नभई उसले लिएको अडान कत्तिको सही र विधिसम्मत छ भन्ने कुराले पनि संगठनको शक्ति मापन हुने बताउँछन्।

‘माधव नेपाल स्वयं विधिमा लड्ने मान्छे भएकाले झलनाथ खनाललाई वरिष्ठताको अहिले प्रस्ताव ल्याउँदासमेत जेएन कमरेडलाई दिनेमा उहाँको स्वीकारोक्ति थियो। त्यसकारण उहाँले असहमति जाहेर गर्नुभएन। उहाँले पार्टी नेताहरूका बीचमै एकअर्कालाई लडाएर फुटाउन खोज्ने प्रवृत्तिको मात्र विरोध गर्नुभयो’, नेपाल निकट नेता खतिवडा भन्छन्।

खनाललाई वरिष्ठता स्वीकार गरेर विधिको अडान लिँदा पार्टी पंक्तिमा माधव नेपाललाई दुईओटा फाइदा पुगेको ठान्छन् खतिवडा। उनी भन्छन्, ‘पहिलो माधव कमरेड विधिका लागि लडिरहेको हुनाले झलनाथ खनाल बरियतामा अगाडि हुनुले उहाँको पद घटुवा भएको होइन विधिको हिसाबले। पार्टीमा सहजता स्विकार्छन् भन्ने देखिएको छ। दोस्रो, माधव नेपालले आज बोलेको, भनेको कुराले कार्यकर्ताका मनमा हौसल्ला प्रदान गरेको छ। विधिको पक्षमा लाग्नुपर्छ भन्नेमा कार्यकर्ता सचेत भएका छन्। उहाँले विधि स्थापित गर्नुभएको छ। कार्यकर्ताको हौसला बढ्नु भनेको माधव नेपालको सम्मान बढ्नु हो। विषय एजेण्डाको नेता भएकाले उहाँको सम्मान बढ्नु भनेको शक्ति पनि बढ्नु हो। यसकारण नेपाल विगतको भन्दा यस घटनापछि पार्टीमा झन् बलियो भएका छन्।’

पार्टीभित्र तत्कालीन एमाले पंक्तिमा ओली पक्षले नेपाललाई किनारा लगाउन खोजे पनि माओवादी पक्षका नेताकार्यकर्ता उनलाई पाखा लगाउन खोजिए पार्टीमा दुर्घटना आइलाग्न सक्ने मत राख्छन्। नेपाल सजिला र सहज नेता भएकाले पनि पार्टी निर्णय कार्यान्वयनमा उनको साथ चाहिनेमा माओवादी पक्षका नेताहरू देखिन्छन्।

पार्टीको अंकगणित मात्र ठूलो कुरा नभई माधव नेपालले लिएको अडान कत्तिको सही र विधिसम्मत छ भन्ने कुराले पनि संगठनको शक्ति मापन हुनेछ।

ओलीसँग चर्काे भनाभनपछि शुक्रबार (६ भदौमा) बिहान आफूलाई भेट्न निवास आएका नेता नेपाललाई प्रचण्डको सन्देश पनि त्यही थियो– ‘पार्टीमा तपाईं (नेपाल) को साथ र सहयोगविना जुन कुनै निर्णय गरे पनि कार्यान्वयनमा समस्या आउँछ, मिलेरै जानुपर्छ।’ नेकपामा ओली र प्रचण्ड मिले भने जुन कुनै निर्णय हुन सक्छ। तर कार्यान्वयनमा आउने जटिलतातिर प्रचण्डले नेपालको ध्यानाकर्षण गराउन खोजेको माओवादीवृत्तका नेताहरू बताउँछन्।

नेपालनिकट स्थायी समिति सदस्य युवराज ज्ञवाली पनि पार्टीभित्र देखिएको समीकरण नै दिगो नभएको बताउँछन्। संगठनात्मक एकीकरणको काम सकिएसँगै नयाँ समीकरण पार्टीभित्र देखा पर्ने आकलन ज्ञवालीको छ।

‘एकीकरणको काम अब निष्कर्षतिर छ, त्यसपछि नयाँ बहस, विषय आउँछन्’ ज्ञवाली भन्छन्, ‘आउने दशौं महाधिवेशनमा विषयवस्तु कसरी जान्छ, नेतृत्वको छनोट के आधारमा कसरी हुन्छ, त्यो आधारमा फेरि नयाँ खालको समीकरण, अल्पमत/बहुमत आउँछ। त्यसमा ठूलो फेरबदल हुन्छ। नवौं महाधिवेशनमा जस्तो हँुदैन। पूर्वमाओवादी पनि मिलिसकेको अवस्थामा विषयवस्तु, विचार अनेक आउँछन्, ठूला–साना। त्यसका आधारमा फरक पोजिसन नेता–कार्यकर्ताको रहन्छ। यो अहिले सचिवालयमा जुन खालको अवस्था देखिएको छ, त्यसमा निरन्तर फेरबदल भइरहन्छ।’ (हेर्नुहोस ज्ञवालीको टिप्पणी)

के हुन सक्छ नेपालको अबको स्टेप ?

वरिष्ठ नेता माधव नेपालको अबको स्टेप के हुन सक्छ ? नेकपाभित्र अनेक खालका टिप्पणी देखिन्छ। उनले पछिल्लोपटक पार्टीमा उठाएका दुईओटा तर्कले उनी सचिवालयमै आफ्नो पोजिसन बनाउन खोजिरहेको संकेत दिन्छ।

पहिलो, पार्टीमा दुई अध्यक्षमध्ये एक अध्यक्षले पार्टी र अर्का अध्यक्षले सरकारको जिम्मा लिने। यसको सीधा अर्थ लाग्छ– उनी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको अधिकार कटौती गर्ने र अर्का अध्यक्ष प्रचण्डलाई पार्टी काममा कार्यकारी बनाउने पक्षमा छन्। ओलीसँगै टाँसिन खोजेका प्रचण्डलाई फेरि आफैंतिर तान्ने प्रयासस्वरूप यो प्रस्ताव नेपालले अगाडि सारेको हुन सक्ने विश्लेषण छ।

पार्टीमा भूमिका खोजिरहेका बेला नेपालको यस्तो प्रस्तावले प्रचण्डलाई फेरि निकट दिनमा आफूसँगै सहकार्यको वतावरण बनाउन खोजिरहेको देखिन्छ। दोस्रो, उनको आफ्नै लिखित असहमति पत्रमा बरियता विवाद मानमर्दन गर्न ल्याइएको बताइए पनि प्रस्तावलाई उनले सहर्ष स्वीकार गर्नुबाट उनले नेता झलनाथ खनालको पनि साथ खोजिरहेको देखिन्छ। विगतमा ओलीले किन दिएनन्, यतिखेर किन ल्याए भन्नेमा आफूहरू दुई नेताका बीचमा ओलीले खेल्न खोजेको भन्दै खनाललाई सहर्ष स्वीकार गर्नुले नेपाल खनाललाई ओलीतिर जान रोक्ने प्रयत्नमा रहेको देखिन्छ।

नेपालनिकट नेता खतिवडा चाहेको भए बरियताका विषयमा सचिवालयमा थप दुई नेतालाई आफ्नो पक्षमा नेपालले बोलाउन सक्ने भए पनि विगतमा बिग्रेको विधि सच्चाउन सहयोग गरेको बताउँछन्। ‘पार्टीमा आफ्नै साथीहरूका बीचमा अन्तरद्वन्द्व पारिदिने र पार्टीमा आफू कसरी पावरमा रहने भन्नेमा केही नेताहरू लाग्नुभएको थियो, तर माधव कमरेडले त्यसलाई सहज स्वीकार गरेर फिक्का बनाइदिनुभयो’ खतिवडा भन्छन्, ‘उहाँले प्रयत्न गरेको भए सचिवालयमै बोल्ने मान्छे पाउँथे। तर प्रयत्न नै गर्नुभएन। आफैं जेएन (झलनाथ) कमरेडलाई दिनुपर्छ भन्नेमा कन्भिन्स भएपछि प्रयत्न नै गर्नुपरेन।’ 

यो पनि पढ्नुहोस्... ओलीविरुद्ध माधवका सात प्रहार : यस्तो छ 'नोट अफ डिसेन्ट'   


 पार्टी संरचनामा माधव नेपाल समूह

संसद्मा  : 

प्रतिनिधिसभा  :  कूल १७४ नेकपाका सांसदमा ३७ जना। (केही सांसद तटस्थ देखिएकाले यो संख्यामा थपघट हुन सक्ने)

पार्टी कमिटीमा  : 

– सचिवालयमा  : कूल नौजनाको पार्टी सचिवालयमा अहिले एक्लै।

– स्थायी समितिमा  :  कूल ४५ जनाको स्थायी समितिमा १२ जना।

– केन्द्रीय समितिमा  :  कूल ४३८ जनाको (४४१ सदस्यीय केन्द्रीय समितिमा अहिले तीन सदस्य रिक्त) केन्द्रीय समितिमा १०३ जना।

– भूगोलका प्रदेश पदाधिकारीमा  :  कूल ४२ मा ६ जना

(प्रदेश इन्चार्ज तीनजना, सहइन्चार्ज तीनजना (पछि थप भएका), अध्यक्ष र सचिवमा छैनन्)

– गैरभौगोलिक विशेष प्रदेश पदाधिकारीमा  :  कूल ११ मा २ जना

(उपत्यकाविशेष प्रदेश कमिटी र केन्द्रीय सम्पर्क समन्वय कमिटीमा गरी एकएकजना सहइन्चार्ज)

– भूगोलका ७७ जिल्ला इन्चार्ज  :  कूल ८३ मा १९ जना।

– भूगोलका ७७ जिल्ला सहइन्चार्जमा  :  कूल १५२ मा ४१ जना।

– जिल्ला अध्यक्षमा  :  कूल ७७ मा १६ जना।

– जिल्ला सचिवमा  :  कूल ७७ मा २२ जना।

जनवर्गीय संगठनमा  : 

संयोजक/सहसंयोजक  :  कूल ४४ मा २ जना।


टिप्पणी


समीकरण निरन्तर फेरबदल हुन्छ

– युवराज ज्ञवाली

३ जेठ २०७५ मा तत्कालीन अवस्थाका दुई कम्युनिस्ट पार्टी (एमाले र माओवादी) बीचको एकीकरणपछि तल्लो तहसम्मको संगठनात्मक एकताका काम अझै निरन्तरतामा छन्। पार्टीभित्र मुख्यरूपमा एकीकरणको विषयलाई लिएर निरन्तर छलफल/बहस चल्ने गरेको छ। धैरेजसो आन्तरिक रूपमा चलेको छ भने कतिपय अवस्थामा चलेका छलफलका कुरा बाहिर पनि आइरहेका छन्।

छलफलमा दुईथरी दृष्टिकोण पार्टीभत्र देखा परेको छ। एकीकरण गर्दा निश्चित विधि र मापदण्डका आधारमा गर्नुपर्छ। त्यसैका आधारमा पार्टीका तलदेखि माथि र जनवर्गीय संगठनको पनि एकीकरण गर्नुपर्छ। पहिले कस्तो विधि बनाउने भन्ने मापदण्ड बनाऔं। त्यस आधारमा जाँदा एकीकरण प्रक्रिया छिटोछरितो हुन्छ, विवादरहित हुन्छ, न्यायपूर्ण पनि हुन्छ र अन्तरविरोध बढ्दैन। साँचो अर्थमा तल्लो तहसम्मै पार्टी एकीकृत भएर जान्छ। सबैलाई कामको जिम्मेवारी पनि हुन्छ भन्ने एउटा दृष्टिकोण पार्टीमा आयो।

अर्काे दृष्टिकोण भनेको दुईजना अध्यक्ष (ओली–प्रचण्ड) ले एकीकरणको काम मुख्य जिम्मा लिएर गर्नुभएको हो। त्यसकारण तल–तल सबै ठाउँमा पार्टीभित्रको संक्रमणकालीन अवस्थालाई ध्यान दिँदै एकीकरण गर्दा पनि सबै जिम्मा दुई अध्यक्षलाई दिनुपर्छ। उहाँहरूले गर्ने निर्णयलाई स्वीकार गरेर अगाडि बढौं भन्ने अर्काे दृष्टिकोण पार्टीमा आयो।

नेकपाभित्र संगठनात्मक एकीकरणका क्षेत्रमा अहिलेसम्म चलेको मुख्य अन्तरविरोध भनेको यही विषयमा हो। त्यसैको परिघटनामा अनेक विषय पार्टीमा चलिरहेका हुन्। त्यही कुरा निरन्तर चल्दै आएको छ। पूर्वमाओवादीका तर्फबाट जुन कुनै कमिटीमा रहने मान्छेका नाम प्रचण्डजीले पेस गर्ने र पूर्वएमालेका तर्फबाट सम्पूर्ण रूपमा केपी ओलीले पेस गर्ने। उहाँहरू दुईजनाले दुवै नाम भिडाउने, आफ्नो आवश्यकतामा भित्री गृहकार्य गरेर ती सूची सचिवालयमा आउने र त्यहाँबाट पारित गराउने प्रयत्न पार्टीमा भयो। त्यसो गर्दा मान्छे टिपेर ल्याउने काम भयो। मापदण्ड, योगदान, क्रियाशीलता, वरिष्ठता भन्ने केही पनि कुरा भएनन्। यही अन्तरविरोध पार्टीभित्र निरन्तर चल्दै आयो।

ढिलो भए पनि निरन्तर पार्टी नेताहरूको खबरदारीका कारण जिल्ला अध्यक्ष–सचिव बनाउँदा मापदण्ड बन्यो। छिटै सम्पन्न भयो। इन्चार्ज–सहइन्चार्ज बनाउँदा पनि पछि एक खालको मापदण्ड बन्यो, सहज नै भयो। पोलिटब्युरो बनाउँदा मापदण्ड बनाएर गरौं भन्ने भयो, तर बीचमा आएर अडकियो। यही दुई भिन्न दृष्टिकोणबीचको ‘टसल’ का कारण नेताहरूका बीचमा कहिले ‘चर्काचर्की’ देखिन्छ र कहिले मिलेको पनि देखिन्छ।

पार्टी एकतायताको यो १५ महिनासम्म यस्तै–यस्तै भएर गुज्रिरहेको छ। अब एकीकरणको काम धेरै सकिएको छ। बाँकी काममा पनि मापदण्ड बनाएर जानुपर्छ भन्ने मान्यतामा अन्तरविरोध छ। आफ्नो स्वस्थ आलोचना गरे पनि उसलाई फाल्ने, आफ्नो प्रशंसक छ भने कामै नलाग्ने भए पनि टिपेर नेतृत्वमै ल्याउने क्रम चलेको छ। समस्या यहाँनेर परेको छ।

विचारको सवालमा अहिले पार्टीको राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ को कार्यदिशा उल्लेख भएर आएपछि विवाद गरिरहनु परेन। मूलत :  एकीकरणकै विषयमा नमिलेकै कारण अन्तरविरोध आइरहेको छ। ५ भदौको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र नेता नेपालबीच परेको चर्काचर्की भन्नुको अर्थ पनि त्यसैभित्र अन्तरनिहित छ। अध्यक्ष ओलीले आफू नभए पनि पार्टी बैठक आह्वान गर्न अर्का अध्यक्ष प्रचण्डले पाउने, बैठकको अध्यक्षता प्रचण्डजीले गर्ने तर निर्णय गर्दा आफ्नो स्वीकृति लिनुपर्ने कुरा उठाएपछि विवाद भएको सुनिन्छ। आफू बाहिर बस्नुभएको छ, यहाँ उहाँको स्वीकृतविना मान्छे पास नहुने भए। कमिटीको यहाँ बैठक बस्छ, उहाँको स्वीकृतिविना पास नहुने भएपछि चर्काचर्की परेको हो। त्यसैमा माधव नेपालले प्रश्न उठाउनुभएको हो। तपाईं नभए पनि कमिटीले यहाँ निर्णय त लिन्छ भनेपछि उहाँहरू (ओली–नेपाल) बीच चर्काचर्की परेको सुनिन्छ।

हाम्रो पार्टीको विधानमा तीन महिनामा एकपटक स्थायी समितिको बैठक बस्ने, ६ महिनामा केन्द्रीय समितिको बैठक बस्ने लेखिएको छ। तर सात महिना भयो स्थायी समितिको बैठक बस्दैन। १४ महिना भयो केन्द्रीय समितिको बैठक बस्दैन। विधानले व्यवस्था गरेअनुसार पार्टी बैठक बस्नुपर्छ, बैठकबाट निर्णय गर्नुपर्छ भन्ने दृष्टिकोण एकाथरी पार्टीमा छ। अर्काे उहाँहरूमा पनि खासगरी केपी कमरेडलाई इच्छा लाग्छ बैठक बस्छ, नलागे नबस्ने त्यो खालको अवस्था पार्टीमा भयो। विधान तोडियो। ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’ भन्ने पनि विधानमा छ। त्यो भएन। एक व्यक्ति अनेक जिम्मेवारी भयो। विभिन्न प्रदेश, जिल्लादेखि सबै ठाउँमा एउटै व्यक्तिलाई पार्टी जिम्मेवारी पनि छ, सरकारको जिम्मेवारी पनि छ। तल पनि, माथि पनि। गाउँपालिका, प्रदेशदेखि केन्द्रसम्मै। विधानले त्यसो नगर भन्छ। तर यहाँ स्वेच्छाचारी ढंगले निर्णय गर्ने, कसैलाई कामै नहुने तर कसैलाई कामको खातैखात हुने अवस्था आयो। पार्टीबाट सरकार चल्नेभन्दा पनि सरकारबाट पार्टी चल्ने स्थिति बन्दै जान थाल्यो। पार्टी केन्द्रीय कार्यालयबाट चल्नेभन्दा पनि सिंहदरबारबाट चल्ने अवस्था बन्दै गयो। तलतल पनि त्यस्तै बन्दै गयो। एउटै व्यक्तिले दुवै जिम्मा लिएको छ। कन्टोल गर्ने, नियन्त्रण गर्ने, कमीकमजोरी सच्चाउने काम नै भएन। यी विषयमै विवाद र बहस पार्टीमा छ।

यसो गर्दा विषयगत रूपमा समीकरण बन्ने र भत्किने हुन्छ। पार्टी सचिवालयमा कुनै बेला केपी ओली एक्लिँदै गएको भन्ने चर्चा भयो। कुनै बेला जेएन (झलनाथ) खनाल एक्लै परे। अरू सबै सचिवालयका नेताहरू एकातिर परे भन्ने पनि भयो। सबै मिलेर उहाँको पोजिसन घटाए भन्ने आयो पहिले। यतिखेर माधव नेपालको पोजिसन घटाउने काममा उहाँ एक्लै परेको भन्ने आएको छ। जेएन खनालको पोजिसन घटाउने बेलामा गल्ती नेतृत्वले गरेकै थियो।

माधव नेपालले मलाई जेएन खनालभन्दा माथि बरियतामा राख्नुपर्‍यो भनेर माग गरेको होइन। ओलीले जेएन खनाल सिनियर होइन, तपाईं माधव नेपाल नै सिनियर हो भनेर प्रस्ताव राखेर कमिटीले पास गरेको विषय हो यो। सचिवालयले सर्वसम्मत जेएनको अनुपस्थितिमा त्यसबेला उक्त विषय पास गर्‍यो। तर, अहिले फेरि १५ महिनापछि माधवभन्दा जेएन सिनियर भनेर निर्णय त्यही सचिवालयले गरेको छ। यहाँ कुनै मापदण्ड लागू भएन। कतिबेला कसलाई रिस उठ्यो वा झोक चल्छ, त्यही आधारमा निर्णय गर्ने क्रम चल्यो। त्यसले भयानक ठूलो अराजकता, अस्तव्यस्तता, अन्तरविरोध बढाउने काम गर्‍यो। घरि कसैलाई माथि ठान्ने, घरि कसैलाई तल ठान्ने एउटै व्यक्तिमा। नेतृत्वले चाहे माथि ठान्ने, चाहेन भने तल ठान्ने पनि हुन्छ ?

हरेक व्यक्तिका आफ्नै योगदानका आधारमा तलमाथि हुन्छ, त्यसको आफ्नै विधि विधान हुन्छ। विधानमा छैन, उपाध्यक्ष ल्याएको छ खल्तीबाट फेरि। एकीकरणकै बेलामा वामदेवलाई उपाध्यक्ष भनेको भए कसले असहमति जनाउँथे र ! विधानमा व्यवस्था छैन, विधानलाई हाकाहाकी उल्लंघन गर्ने एउटा प्रवृत्ति पार्टीमा देखिएको छ। कसैकसैलाई लागेको होला, माधव नेपाललाई सिध्याउन सकिएला। त्यहीकारण उहाँलाई एक्ल्याउन खोजिएको भन्ने होला। तर विषयवस्तुका कारण उहाँ अहिले एक्लिनुपरेको देखिन्छ। किनकि, वामदेवजी उपाध्यक्ष पाइने भयो भनेपछि तत्काल त्यसमा सन्तुष्ट भन्ने भयो। जेएन खनाल बरियतामा सिनियर भएपछि चुप लाग्ने कुरा भयो। अरू ककसलाई के–के भनिएको छ, त्यो आधारमा चुप लाग्ने कुरा भयो। तर माधव नेपाल एक्लै भए पनि बोलिरहनुभयो, नियम विधिलाई मानेर। बोल्ने, आफ्नो कुरा राख्दै आइरहनुभएको छ। त्यसले गर्दा अहिले उहाँ एक्लेको जस्तो देखियो। तर स्थिति निरन्तर रूपमा बदलिन्छ। फेरबदल भइरहन्छ। उहाँ एक्लो भइरहनु हुँदैन।

विषयवस्तु फेरबदल भइरहन्छ। आजको विषयवस्तु एउटा र भोलि अर्काे विषयवस्तु आउँछ। एकीकरणको काम अब करिब सकिन्छ। अहिलेसम्म बढी बहस त्यसैमा भएको हो। एकीकरणको काम सकेपछि फेरि नयाँ विषय आउँछ। महाधिवेशनमा फेरि वैचारिक बहस चल्छ। वैचारिक बहस चल्दा को कता हुन्छ, अहिल्यै के ठेगान हुन्छ र ? निश्चित छैन। अहिलेको अवस्थामा सचिवालयमा उहाँ (माधव) एक्लो परेको जस्तो देखिए तापनि भविष्यमा पार्टीभित्र आउने विषयले यो खालको अवस्थामा परिवर्तन आउँछ। निरन्तर परिवर्तन भइरहन्छ। कुन विषयमा कस्तो विचार बहुमतमा पुग्ने, कसको विचार अल्पमतमा पुग्ने त्यो निश्चित हुँदैन अहिले। धुव्रीकरण भइसकेको अवस्था छैन। विषयवस्तु फरक भएअनुसार नै सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा संख्या फेरबदल भइरहन्छ।

पूर्वएमालेको सन्दर्भमा नवौं महाधिवेशनमा जुन खालको अवस्था थियो, त्यो स्थिति कायमै छ। नवौं महाधिवेशनले दुई नेताको नामबाट मतदान गर्ने काम भयो। त्यसले तलसम्म डिभिजन बनायो। त्यसले गर्दा नवौं महाधिवेशनको अन्तरविरोध कायमै छ। आउने दशौं महाधिवेशनमा विषयवस्तु कसरी जान्छ, नेतृत्वको छनोट के आधारमा कसरी हुन्छ, त्यो आधारमा फेरि नयाँ खालको समीकरण, अल्पमत/बहुमत आउँछ। त्यसमा ठूलो फेरबदल हुन्छ। नवौं महाधिवेशनमा जस्तो हुँदैन। पूर्वमाओवादी पनि मिलिसकेको अवस्थामा विषयवस्तु, विचार अनेक आउँछन्, ठूला–साना। त्यसका आधारमा फरक पोजिसन नेता–कार्यकर्ताको रहन्छ। यो अहिले सचिवालयमा जुन खालको अवस्था देखिएको छ, त्यसमा निरन्तर फेरबदल भइरहन्छ। 

(नेपाल निकट नेकपाका स्थायी समिति सदस्य ज्ञवालीसँग गरिएको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.