सांस्कृतिक पहिचान खोज्दै भक्तपुर
वर्षा ऋतुको समाप्तिसँगै सुरु हुने शरद ऋतुमा नेपाली समाज उल्लासले भरिन्छ। विशेषत : नेवार समुदाय यो सिजनमा जात्रामय हुन पुग्छ।
जातीय तथा सामुदायिक विविधताका कारण नेपाली समाज सांस्कृतिक रूपमा धनी छ। साउने संक्रान्तिदेखि सुरु हुने चाडपर्वको सिजनमा केही दिनको अन्तरालमै विशेष पर्व मनाइन्छ। उपत्यकामा सबैभन्दा बढी जात्रा पर्व भक्तपुरमा मनाइन्छ। नेवारहरूको बाहुल्य रहेको भक्तपुरलाई त्यहाँको भाषा, संस्कृति र परम्पराले नै जीवन्त बनाउँदै आएको छ। त्यसैले संस्कृतिलाई पहिचान बनाएर भक्तपुर विकासको गतिमा अघि बढेको छ।
शुक्रबार कृष्णाष्टमीका दिन समापन भएको नौ दिन लामो गाईजात्रा पर्वमा भक्तपुरको सांस्कृतिक चहलपहल हेर्नलायक थियो। पश्चिमा शैली र आधुनिकीकरणको प्रभावसँंगै मौलिक पहिचान जोगाउन त्यति सजिलो भने छैन।
अहिले हाम्रो व्यस्त दिनचर्याले चाडपर्वको महत्त्वलाई ओझेलमा पारेको छ तर त्यस्ता पर्वले नै हाम्रो मौलिकता जोगाइराख्छ भन्ने हामीले बिर्सनु हुँदैन। मौलिकता जोगाउन नसक्दा हाम्रा संस्कृति मासिन्छ र संस्कृति मासिनु भनेको पहिचान गुमाउनु हो। भक्तपुरले यी सबै बुझेरै होला मौलिक पहिचानलाई उच्च प्राथमिकतामा राखेको छ। यसको ताजा उदाहरण भर्खरै समापन भएको गाईजात्रा महोत्सवमा देखियो। संस्कृतिलाई समयानुकूल बनाउन भक्तपुरको सापारू महोत्सवमा ताहासां (ताहामचा) बनाएर नगर परिक्रमा गराउँदा राजनीतिक विसंगतिमाथि पनि तीखो व्यंग्य गरियो। यसपालि भक्तपुरको गाईजात्रामा सडकमा उत्रिएका मानिसले देशभित्रको राजनीतिप्रति मात्र असन्तुष्टि पोखेनन्, अन्तर्राष्ट्रिय मुद्दमाथिसमेत व्यंग्य गरे। उनीहरूले जम्मु–कश्मीर मामलादेखि होलीवाइन, रेल, वाइडबडी काण्डका बारेमा आकृति नै बनाएर नगर परिक्रमा गरे।
जात्रामा एसिया प्यासिफिक समिटका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दस लाख डलरको चेक दिनेदेखि बालुवाटार जग्गा काण्डमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेलको लालपुर्जासमेत प्रदर्शन गर्न भ्याएका थिए। भक्तपुरका राजा जगतप्रकाश मल्लले गाईजात्राको दिन राज्यले गरेको कामको विरोध गर्न छुट दिने नियम बनाएका थिए। यो जात्रामा सबै किसिमका विकृति–विसंगतिप्रति खुलेर टीकाटिप्पणी गर्दा नागरिकलाई कुनै कानुन नलाग्ने नियम बनाइएको थियो। त्यसैले गाईजात्राका दिन विशेषगरी सरकारको कामकारबाहीप्रति असन्तुष्टि बाहिर ल्याइने गरिन्छ।
हाल विरोध गर्ने शैली समाज हुँदै देश, राजनीति र अन्तर्राष्ट्रिय रूपमै बढेको छ। सामाजिक सञ्जालको प्रयोग बढेसँगै नाटकीय शैलीमा सांगीतिक माहोल बनाएर विरोध गर्न सकिने यो पर्वमा राजनीतिक र अन्तर्राष्ट्रिय घटनाको समेत व्यंग्य हुन थाल्नु आधुनिक युगले परम्परागत संस्कृतिमा गरेको परिमार्जन नै बुझ्न सकिन्छ। सापारू पर्व मृत्युसंस्कारसँग सम्बन्धित छ। नेवारहरूले दिवंगत व्यक्तिका नाममा वृष सर्ग गर्छन्। गाईजात्रा पनि वृष सर्ग नै हो।
सोह्रौं शताब्दीमा काठमाडौंको गाईजात्रालाई राजा प्रताप मल्लले विकास गरेका थिए। पाटनको गाईजात्रालाई सिद्धिनरसिंह मल्लले र भक्तपुरमा राजा जगतप्रकाश मल्लले गाईजात्रालाई फरक ढंगमा मनाउन सुरु गरेका थिए। शोकलाई शक्तिमा बदल्ने मनोरञ्जनको माध्यमका रूपमा गाईजात्रालाई विकास गरिएको हो।
मृत्यु गणना गर्ने औपचारिक माध्यम नभएको समयमा गाईजात्रामा निकालिने गाईलाई नै माध्यम बनाएर मृत्यु गणना हुने गरेको बताउँछन् संस्कृतविद्् ओम धौभडेल। उनी भन्छन्, ‘यसैबाट राज्यले तथ्यांक संकलन गथ्र्यो। गाईजात्रा मृतकको घरबाट मात्र निकालिने कारण पनि यही हो।’
समय परिवर्तनशील छ। परिवर्तनकै क्रममा थुप्रै सांस्कृतिक परम्परा मनाउने स्वरूप बदलिने क्रम जारी छ। गाईजात्रा मनाउने प्रचलन पनि हिजोभन्दा आज परिवर्तन भएको छ। भक्तपुरमा मात्र होइन, काठमाडौं, पाटन, कीर्तिपुर, बनेपा, धुलिखेलमा पनि परिवर्तित स्वरूपमा गाईजात्रा मनाउन थालिएको छ। गाईजात्रामा निकालिने झाँकीको रूपरङ, पोसाकमा परिवर्तन भएका छन्। झाँकीको रूपमा निकालिने ताहासाको उचाइ होचो हुन थालेको छ। पहिले सिंगो बाँसबाट अग्लो ताहासा बनाइन्थ्यो। अहिले बिजुलीको तार, घनाबस्तीका कारण यो सम्भव देखिँदैन।
गाईजात्रामा आएको अर्को परिवर्तन भनेको घिन्ताङ घिसीमा प्रयोग हुने सामानको हो। यो परम्परा ठाउँपिच्छे फरक छ। काठमाडौं उपत्यकामा समेत ठाउँअनुसार भिन्नाभिन्नै तरिकाले गाईजात्रा मनाइन्छ। पछिल्लो समय बसाइँसराइ, आधुनिकीकरण र बजारीकरणले गाईजात्रा पर्व प्रभावित भएको छ।
घिन्ताङ घिसी भक्तपुरको मौलिक नाच हो। सापारू अर्थात् गाईजात्राका अवसरमा प्रदर्शन गरिने यो नाच सोह्रौं शताब्दीमै विकास भएको हो।
गाईजात्रा काठमाडौंमा एक दिन, पाटनमा दुई, ठिमीमा चार र बोडेमा पाँच दिनसम्म मनाइन्छ। तर, भक्तपुरमा नौ दिनसम्म मनाइन्छ। भक्तपुरमा जनैपूर्णिमाको दिनबाटै सापारू (गाईजात्रा) मनाइन्छ। यसलाई गुन्हि पुन्हि (नौ दिनको पर्व) पनि भनिन्छ। यो पर्व जनैपूर्णिमादेखि श्रीकृष्ण जन्माष्टमीसम्म मनाइन्छ।
भक्तपुरमा दसैं, बिस्केट जात्रा र इन्द्रजात्रासँंगै गाईजात्रा सबैभन्दा लामो समयसम्म मनाइने पर्वमा पर्छ। गाईजात्राका दिन भक्तपुरमा तलेजुको भैरवनाथ, भद्रकालीको गाई, दत्तात्रय, बाराही, इन्द्रायणीजस्ता देवीदेवताको निकालिन्छ। सबै रीतिथितिलाई व्यवस्थित र मर्यादित बनाएर सञ्चालन गर्न भक्तपुर नगरपालिकाले योजना नै बनाएको थियो।
२२ विधा ९४ प्याखं
गाईजात्राकै अवसरमा भक्तपुरले नौ दिनमा २२ विधा ९४ प्याखं (नाच) प्रदर्शन ग¥यो। प्रदर्शन गरिएका नाचमा देवी, भैल, माक, जंगली, खिचा, ख्या, कवांच, हनुमान, गाइचा, लुसी, नागाचा, फाकंदली, ख्याल (नाटक), लाखे, कलाली, झ्याउरी, लाहुरे, झ्याझ्या, हुला, भालु, म्हेखा, दैत्य आदि प्याखं छन्।
सांस्कृतिक नाचमा प्रतिस्पर्धा
मौलिकता झल्काउने सांस्कृतिक नाचको जगेर्ना गर्न भक्तपुर नगरपालिका लागिपरेको बताउँछन् भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति। उनी भन्छन्, ‘पछिल्लो समय पुराना संस्कृति लोप हुने सँघारमा छन्।’ मेयर भन्छन्, ‘नगरपालिकाले सांस्कृतिक नाच बचाइराख्न भक्तपुर नगरव्यापी प्रतियोगिता आयोजना सुरु गरिएको हो। यसअघि कलाकारले इच्छा लागेमा मात्र नाच देखाउँथे। अब उत्कृष्ट नाच प्रदर्शनका लागि प्रतिस्पर्धा गर्न कलाकार लागिपरेका छन्।
पछिल्लो समय यस्ता नाचहरूमा युवाहरूको सहभागिता बढेको छ।’ मेयर प्रजापति भन्छन्, ‘भक्तपुर नगरपालिकाद्वारा आयोजित गाईजात्रा पर्व २०७६ मा सांस्कृतिक विधाहरूको प्रतियोगिताका २२ विधामा ९४ आटो सांस्कृतिक प्याखं (नाच) दर्ता भएका थिए। प्रतियोगिता स्थानीयसँग मिलेर गर्न लागिएको छ। गाईजात्रा निकालिने मार्गलाई पर्यटन मार्गका रूपमा विकास गरेका छौं।
पाठ्यक्रममा घिन्ताङ घिसी
घिन्ताङ घिसी भक्तपुरको मौलिक नाच हो। सापारू अर्थात्् गाईजात्राका अवसरमा प्रदर्शन गरिने यो नाच सोह्रौं शताब्दीमै विकास भएको हो। लट््ठी जुधाएर बाजाको तालमा नाचिने घिन्ताङ घिसी भक्तपुरमा गाईजात्राको अवसरमा मात्र देख्न पाइन्छ। मौलिक परम्परा जोगाउने उद्देश्य राखेर भक्तपुर नगरपालिकाले स्थानीय पाठ््यक्रममा घिन्ताङ घिसी नाच समावेश गरेको छ। बीचमा यो नाचको मौलिकता हराउँदै गएको थियो। स्कुले बालबालिकाको सहभागितामा घिन्ताङ
घिसी नाच चलिरहेको छ। उनीहरूले सात दिनसम्म ‘ताहा मचा गना ते..’ भन्दै ठाउँठाउँमा यो नाच देखाउने छन्।