पनौतीको त्यो परिचय
सन् १९७० को कुरा हो। फ्रान्सेली नागरिक जेरार्ड टोफिन नेपाल भ्रमणमा थिए। त्यति बेला उनी काठमाडौंबाट ३२ किलोमिटर परको सांस्कृतिक सहर पनौती पुगे। यसको प्रमाण उनले खिचेका ब्ल्याक एन्ड ह्वाइट तस्बिरहरूमा कैद छन्। ती फोटोहरू हेर्दा यस्तो लाग्छ, पनौतीले एक युग पार गरिसक्यो। किनकि टोफिनका ती तस्बिरहरूमा देखिने धानका भकारी, झिँगटीका छाना र लोभलाग्दो पनौती सभ्यता ‘नोस्टाल्जिया’ मात्र हो।
बनेपाबाट ६ किलोमिटर दक्षिण लाग्दा काभे्रपलाञ्चोकमा पर्ने पनौती बसपार्कले ट्याट्याट टुटुँट हर्न बजाउँदै स्वागत गर्छ। जताततै मानिस नै मानिस, बजार नै बजार अनि उही हतारो। कस्तो घना बस्तीले घेरिए छ, पनौती। स्थानीय प्रशान्त श्रेष्ठ भन्दै थिए, ‘पनौती कुनै समय ऋषि गोरखनाथको तपोभूभि हुने गर्थ्यो।’
बस्ती सहरमा परिणत हुनु कुनै आश्चर्यको कुरा भएन। तर त्यहाँबाट सम्पदा क्षेत्रतर्फ लाग्दा परिस्थिति सोचेभन्दा बेग्लै भइदिन्छ। यो क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुनाको आगमन निकै पातलो छ। स्थानीयवासी खासै देखिँदैनन्। पनौती सम्पदा क्षेत्र वरपरका प्रत्येक घरको ढोकामा ताल्चा झुन्डिएको दृश्यले अझ त्यहाँ पुग्ने हरकोहीलाई भयभीत बनाउँछ।
विसं २०७२ को भूकम्पमा खासै ठूलो क्षति बेहोर्नु नपरेका प्रायः पनौतीवासी पुख्र्यौली घर त्यागेर काठमाडौं पसिसकेछन्। पनौतीमा स्थानान्तरण र बसाइँसराइ तीव्र हुँदै रहेछ। श्रेष्ठको पुरानो घरमा पनि ताला लागेको छ। उनको घरमा भूकम्पले खासै क्षति पुर्याएको छैन। तर उनको परिवार पुरानो घरमा किन बसेनन्, यसको जवाफ उनीसँग छैन। सायद पक्की घरमा बस्ने इच्छाले पुरानो घर त्यागिएको हुनसक्छ।
उनको परिवारमात्र होइन, पनौतीका अधिकांश स्थानीयवासीमा सके पक्की घर बनाउने, नसके जग्गाजमिन बेचेर काठमाडौं बसाइ सर्ने ‘ट्रेन्ड’ चलेको छ। अब यसलाई सही–गलत केमा अर्थ्याउने ? नेवारहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा अहिले तामाङ जातिको पनि बाक्लो उपस्थिति छ। पनौतीका स्थानीय कतिपय जात्रापर्व लोप हुने संघारमा छन् भने त्यहाँको प्रमुख उत्पादन खेतीपाती देखाउने दाँत मात्र बनेको छ।
पनौती विशेषगरी आलु खेतीका लागि प्रख्यात मानिन्छ। धेरैलाई थाहा नहुन सक्छ, पनौती माछाका लागि पनि उत्तिकै प्रख्यात थियो। स्थानीय हरि जाकिबञ्जार स्थानीय माछा उत्पादनको कथा सुनाउँदै भन्छन्, ‘राणा परिवार पनौतीकै माछा खान्थे। हाल यो किंवदन्ती बनिसक्यो।’ पनौतीका त्रिवेणी नदीमा बढेको फोहोर र कीटनाशक औषधिको अत्यधिक प्रयोगले माछा उत्पादन फेल खाएको रहेछ। त्यसमाथि लेलेतर्फको ढुंगाखानी अचेल पनौतीतर्फ नै सर्दा माछापालन ठप्प हुन पुगेको छ।
मल्लकालदेखि नै पनौती महत्त्वपूर्ण व्यावसायिक सहरका रूपमा रहँदै आयो। यो ठाउँ धातुका भाँडाबर्तन उत्पादन गर्ने प्रख्यात ठाउँ थियो। मल्लकालमा यी उत्पादन तिब्बतसम्म पुग्थे। आज पनौतीका ती उद्योगका उत्पादनहरूले आफ्नो व्यावसायिकता गुमाइसकेका छन् तर अझै छिमेकी गाउँहरूमा यसले सेवा दिन छाडेको भने रहेनछ।
कुनै समय पनौती सहर भक्तजनका लागि सांस्कृतिक बिरासतको जड थियो। आज धेरैको स्मृतिमा जुन पनौतीको तस्बिर छापिएको छ, त्यो गुमनाम भइसक्यो। बस्तीमा वृद्धवृद्धाहरू पाटीपौवामा टहलिइरहेको दृश्य त देख्न सकिन्छ तर युवाहरूको जमघट खासै देखिँदैन। बस्तीका गल्लीहरूमा छाएको सन्नाटाले पनौतीलाई स्वयं स्थानीयवासीले नै परित्याग गरेका हुन् कि जस्तो लाग्छ।
उमेरले ६० कटिसकेकी आशमाया देउलाजस्ता स्थानीय महिलाले हातैले बुनेका ढकी बिक्री नभएर थन्किइरहेको दृश्य पनौतीको विशेषता बन्न थालेको छ। त्यतिमात्र होइन, माछा मार्न प्रयोग गरिने जाल घरको भित्तामा वर्षौंदेखि झुन्डिरहेकै छ। पनौतीका कतिपय जात्राहरू लोप भइसके। स्थानीयवासीको पहलमा ती जात्रापर्व ब्यूँताउने प्रयास नभएको होइन। तर पारम्परिक संस्कृति धान्ने काँधहरू पनौतीले गुमाउँदै जाँदा प्रयास विफल भएका छन्।
सन् १९७६ मा टोफिन र तीनजना आर्किटेक्चर तथा इथ्नोलोजिस्ट नेपाल आएका थिए। अनुसन्धानका लागि नेपाल आएको यो टोलीले पनौतीलाई छानेको थियो। ‘द स्मल नेवार टाउन इन सेन्टरल नेपाल’का रूपमा पनौतीमा रहेका त्यति बेलाका तीन हजार जनसंख्या (हाल ६२ हजार) र निजी घरहरूलगायत मठमन्दिर, अष्टमात्रिका, सांस्कृतिक र सामाजिक पारम्परिक विषयको समग्रमा अध्ययन भयो र पनौतीको सम्पदा क्षेत्र निमार्णमा यस प्रोजेक्टले मद्दत पुर्यायो।
पञ्चायतकाल भएकाले सामाजिक, राजनीतिक र आर्थिक स्तरमा खासै परिवर्तन हुन नसकेको पनौतीमा अष्टमात्रिकाकै आठवटा मन्दिर छन्। ससाना मन्दिर धेरै छन्। भक्तपुरको मिनी सिटीको झैँ पनौतीका चोकहरू निर्माण भएका छन्।
तर हाल आएर संरक्षणको अभावमा पनौतीको सम्पदा क्षेत्र मासिन थालेको छ। त्यसमाथि वरपर पूरै कंक्रिटको घर निर्माण हुन थालेपछि पनौती कुरूप बन्दै गएको स्थानीयवासी राजेन्द्र महाजू बताउँछन्।
विसं २०७२ को भूकम्पपछि मासिएको पनौतीको सम्पदा क्षेत्र पहिलेकै स्वरूपमा पुनर्निर्माण गर्न अनुसन्धाता टोफिनका तस्बिर प्रयोग भएका छन्। पुराना दस्तावेजको महत्त्व सम्झेर हाल पनौतीले सबै कुराको लेखाजोखा राख्ने काम सुरु गरेको छ। यसमा स्थानीयवासीको चासो पनि बढ्न थालेको छ।
संकटमा सम्पदा
देवमाला वंशावलीअनुसार पनौती सहरको निर्माण आनन्दवेव नाम गरेका राजाले कलिगत संवत् ४१९७ मा सात सय घरको एक विशाल सहर बसाई पनौती नामकरण गरेका थिए। पनौती सहरको निर्माण गर्दा चार दिशामा चार दिकपालद्वारा सुरक्षित गराई अष्टमातृकाले चारैतिर परिवेष्टित गराएको जनविश्वास छ।
पनौतीको त्रिवेणी तीर्थबाट पश्चिममा देखिने तीनतले छानो शैलीको इन्द्रेश्वर महादेवको मन्दिर र त्यसवरपर रहेका सत्यनारायण, लक्ष्मीनारायण, सूर्यनारायण उमामहेश्वर, विश्वेश्वर महादेव, कृष्ण, उन्मत्त भैरवका विभिन्न कालखण्डमा निर्माण भएको देखिन्छ। १३ र १४औं शताब्दीमा पनौतीलाई मल्ल राजाहरूले शासन गरेका थिए। १३५५ मा शक्तिशाली शासक जयसिंह राम बर्माले आफूलाई पनौती र बनेपाका राजा घोषित गरे।
पनौतीको आकर्षण भनेको तीनतले इन्द्रेश्वर महादेवको मन्दिर हो। इन्द्रले अहिल्याको सौन्दर्यमा मोहित भएर कुदृष्टि राख्दा इन्द्र र अहिल्या दुवैले गौतम ऋषिबाट श्राप पाएको ठाउँ पनौती नै हो। यही श्रापबाट मुक्त हुन इन्द्रले शिवको आराधना गरेका थिए। इन्द्र श्रापमुक्त भएपछि नै उनले यसै क्षेत्रमा शिवलिंग स्थापना गरे, जुन पछि इन्द्रेश्वर महादेवको नामले प्रसिद्ध भयो। गौतम ऋषिको श्रापबाट अहिल्या पत्थरमा परिणत भएकी थिइन्। उक्त पत्थर अझै इन्द्रेश्वर मन्दिरको प्रांगणमा अवस्थित छ।
पछि ने.सं. ४१४ मा बनेपाकी राजकुमारी विरमा देवीले उक्त मन्दिरको स्वरूप तयार पारेको गोपालराज वंशावलीको दस्तावेजमा पाइन्छ। हाल युनेस्कोले विश्व सम्पदा सूचीमा प्रस्तावित गरेको पनौती इन्दे्रश्वर मन्दिर क्षेत्रको अस्तित्व संकटमा छ। सम्पदा क्षेत्रभित्र पर्ने ब्रह्मायणी, कृष्णमन्दिर तथा उत्मत्त भैरव, अष्टमात्रिकालगायत धेरै देवीदेवताका मठमन्दिरका टँडाल तथा मूर्तिहरू हराउन थालेका छन्। सम्पदा क्षेत्रमा सुरक्षाको राम्रो व्यवस्था नहुँदा सांस्कृतिक महत्त्वका धरोहर जोगाउन सकिएको छैन।
यस क्षेत्रमा एक सयभन्दा बढी कलात्मक मठमन्दिर छन्। यसको संरक्षणमा पनौती नगरपालिका, स्थानीय बासिन्दा र पुरातत्त्व विभागको सक्रियता बढ्न सकेको छैन।
पर्यटकीय पनौती
पनौतीको वास्तविक नाम पन्ति हो। नेपाल भाषामा ‘प’ भनेको बाँस र ‘ति’ भनेको राख्नु वा गाड्नु हो। पछि यो नाम अपभ्रंश भएर पनौती बनेको इन्द्रेश्वर महादेव मन्दिरका पुजारी शिव जंगम बताउँछन्।
पनौती अचेल सुनसान छ। स्थानीय विकासमा त्यहाँका मूल बासिन्दाको सहभागिता न्यून छ। यस्तो समस्या आउनुको मुख्य कारण तीव्र गतिमा बढेको बसाइँसराइ नै हो। स्थानीय बासिन्दाले मूल घर छाडेर जाने र प्रायःले आफ्नो घर बाहिरका मानिसलाई बेच्ने क्रम बढेको छ। धर्मसंस्कृति जोगाउने मानिस नै बाँकी नहुँदा पनौती जीवन्त बन्न नसकेको हो। हाल पनौतीमा मनाइने जात्रापर्वका लागि छुट्ट्याइएका जग्गाहरू प्रायः सबै व्यक्तिका नाममा छन्। जग्गा भेटिए पनि व्यक्तिले फिर्ता नदिने समस्याले पर्वहरू सञ्चालनमा कठिनाइ भएकोमा स्थानीय महाजु दुःखेसो पोख्छन्। ‘यी सबै समस्याका बीच पनौतीलाई अगाडि बढाउन खोजेका छौं’, उनी भन्दै थिए, ‘अब हामी युवाले नै यो सम्पदा बचाउनुपर्छ।’
पनौती आफूसँग भएका ऐतिहासिक, पारम्परिक र मौलिक सम्पदाबाट पर्यटकलाई भित्र्याउन आतुर छ। पनौती अथाह सांस्कृतिक सम्पदाको धनी भए पनि यसको संरक्षण र प्रचारप्रसार हुन सकेको छैन। यो क्षेत्रलाई गुमनाम हुनबाट रोक्न केही स्थानीय बासिन्दाको पहलमा राम्रा कामहरू भइरहेका छन्। स्वदेशी तथा विदेशी पाहुनाका लागि केही क्याफे स्टेसन, नेवारी खाजाघर र ४० वटाजति होमस्टेको व्यवस्था भएको छ। पनौतीलाई नमुना सहर बनाउनुपर्छ भन्दै कतिपयले भूकम्पपछि भत्किएको आफ्नो घरको स्वरूपलाई पुरानै मौलिक परम्परामा ढालेका छन्।
पनौतीले विदेशीभन्दा पनि नेपाली पर्यटकको आगमन पर्खिरहेको स्थानीयवासी बताउँछन्। सर्वप्रथम नेपालीले नै नेपालका कुनाकाप्चा चिन्नुपर्ने उनीहरूको बुझाइ छ। पर्यटकले घुम्नका लागि त्रिवेणी घाट, इन्द्रेश्वर सम्पदा क्षेत्र, धनेश्वर मन्दिर, भालेश्वर, गोरखनाथ मन्दिर छन्। पर्यटक आकर्षित गर्न पनौती जात्रा, गाईजात्रा, नमोबुद्धजात्रा, घण्टाकर्ण, हरिसिद्धि, नवदुर्गा नाच, माधवनारायण आदि पर्वहरू सञ्चालनका लागि स्थानीयवासीले अक्षयकोषको स्थापनासमेत गरेका छन्।
पर्यटकका लागि पिकनिक स्पोर्ट बनाइएको छ। हाइकिङका लागि नमोबुद्ध, बल्थली, लाकुरीभञ्ज्याङ, टिपचोकजस्ता स्थान छुट्ट्याइएका छन्।
पनौती संग्रहालय
विश्वमा संग्रहालयको प्रचलन व्यक्तिगत सोखका लागि विविध सामग्री एवं उपहारको संकलनबाट भएको थियो। व्यक्तिगत सोखबाट सुरु भएको यस्तो संकलन कार्यलाई सर्वसाधारणसम्म पहुँच पुर्याउन संग्रहालयको विकास गरिएको हो।
ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेका सामग्रीहरू संकलन गरी प्रदर्शन गर्नुलाई मात्र संग्रहालयको मान्यता दिइन्छ। यसमा निश्चित उद्देश्य पनि हुनुपर्छ। यस्तो उद्देश्य लिएर नेपालमा धेरै संग्रहालय खुलेका छन्, तिनमा पनौती संग्रहालय पनि एक हो।
हुन त त्रिवेणी तीर्थस्थल, १२ वर्षीय मकर मेलादेखि अनगिन्ती सम्पदाहरू, देवदेवताका मठमन्दिरहरू, मूर्तिहरू, पवित्र तीर्थस्थल र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पनौती नेपालको खुला सांस्कृतिक संग्रहालय हो।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा ३ (१) अनुसार पनौती संरक्षित स्मारक क्षेत्रको ऐतिहासिक एवं वास्तुकलात्मक वातावरण संरक्षणको व्यवस्थापन, प्राचीन स्मारक र अन्य सम्पदाहरू संरक्षण तथा सम्पदा क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन नेपाल पुरातत्त्व विभाग र पनौती नगरपालिका क्रियाशील हुनुपर्नेछ।
पनौतीको इतिहास बोकेको मठमन्दिर, पाटीपौवा जीर्ण भई कुनै मन्दिर अवशेष मात्र भएको अवस्थामा फ्रेन्च पनौती एकीकृत आयोजनाले सांस्कृतिक र शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। जीर्णोद्धारमा प्राप्त भएका पुरातात्त्विक महत्त्वका १५औं देखि १८औं शताब्दीका अवशेषहरूसमेत फेला परेका छन्। त्यसको संरक्षण र व्यवस्थापनका लागि पनौतीमा संग्रहालयसमेत स्थापना गरिएको छ।
संरक्षित स्मारक क्षेत्र संरक्षण समितिको प्रयास र पनौती नगरपालिकाद्वारा घोषित स्मारक क्षेत्र पनौतीलाई उजागर गर्ने सोच र विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामा थप टेवा पुर्याउन फ्रेन्च एकीकृत आयोजनाबाटै निर्माण भएको सानो संग्रहालय छ। पनौती संग्रहालयको विकासको क्रम जारी छ। तर संग्रहालय भवनको विस्तार गर्न आवश्यक छ। अहिलेको संग्रहालय पनौतीको अपार धर्म, संस्कृति र परम्परालाई उजागर गर्न पर्याप्त छैन।
ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको पनौतीमा यस संग्रहालयको स्थापनाले पर्यटक आकर्षित गर्न मद्दत गरिरहेको छ। संग्रहालयले २०६७ सालदेखि भिजिटर रेकर्डसमेत राख्दै आएको छ। तर पर्यटकको आगमन बाक्लो बनाउन पुरातत्त्व विभाग, पनौती नगरपालिका, स्मारक समितिसँगको समन्वयलाई अझै बलियो बनाउनुपर्ने देखिन्छ।
संग्रहालयका इन्चार्ज राजेन्द्र माहजुका अनुसार दुई सयभन्दा बढी सामान समुदायबाटै संग्रहालयका लागि डोनेट गरिएको छ। समुदायबाटै व्यवस्थापन समिति बनाएर अहिले यसको रेखदेखि गरिँदैछ। यसको संरक्षणमा नगरपालिकाले पनि सहयोग गरेको पनौती संरक्षणका अभियन्ता प्रशान्त श्रेष्ठ बताउँछन्। ‘सम्पदा क्षेत्र व्यवस्थापनको काम अहिले भइरहेको छ’, उनी भन्दै थिए, ‘संग्रहालय स्थापनाले पनौती अझै धनी भएको छ।’
बिहान बेलुकी तीन/तीनजनाको समूहले संग्रहालयको हेरचाह गर्दै आएका छन्। संग्रहालयभित्र थुप्रै अमूल्य सरसामान देखाउँदै माहजु मन्दिर क्षेत्रबाट भेटिएको ढुंगामा सूर्य कुँदिएका प्रतिमा लिच्छविकालीन भएको बताउँछन्। पनौतीमा यो चार पाँचवटा मात्र छ। तीन सय वर्ष पुरानो पश्चिमा बाजा छ। पनौती जात्रामा प्रयोग हुने चिजबिज, ओखल, तुलो, पुराना तस्बिरहरू, हलो, घुमजस्ता सामानले संग्रहालय भरिएको छ। संग्रहालयका लागि पुराना सामान दिएर सहयोग गर्नेहरूको नामै लेखेर राखिएको छ।
संग्रहालयमा चोरी भएका र हराएका मूर्ति, टुँडालहरूको फोटो राखिएको छ। ती मूर्तिहरू हराएको भन्दै फोटोमा लेखिएकाले विदेशी पर्यटकहरू आउँदा ती तस्बिर हेरेर मूर्तिहरूबारे सोधीखोजी गर्दा रहेछन्।
सिजनमा संग्रहालय घुम्न विदेशी पर्यटक आउने गरेका छन्। विदेशीहरूले यहाँको जात्रापर्व हेर्न पाएका छैनन् किनकि पनौतीमा बस्नका लागि पर्याप्त ठाउँ छैन। यो पनौतीमा सबैभन्दा ठूलो समस्या बनेको छ।
इन्द्रेश्वर मन्दिर परिसरभित्र रहेको संग्रहालय सांस्कृतिक र धार्मिक मान्यताहरू जोगाउने प्रयासमा खोलिएको हो। विभिन्न किसिमका पत्थर र काठमा कुँदिएका कलाकृति, देवीदेवताका मुखुण्डो, दैनिक प्रयोग गरिने पुराना सरसामान र अन्य थुप्रै सरसामान संग्रहालयमा राखिएको छ। यही संग्रहालय अहिले पनौती चिनाउने माध्यम बनेको छ।