गणितमा परिणत म
मात्तिएको साँझ
लड्खडाउँदै आउँछ
कोण कोण नाप्छ
साध्य प्रमाणित गर्छ
उनको आँखामा म
मात्र ज्यामितिको एक साध्य !
उन्मादिएको बेलुकी
उन्मत्तिँदै आउँछ
सूत्र सूत्र खोज्छ
समीकरण सुल्झाउँछ
उनका लागि म
मात्र बीजगणितको एक समीकरण !
बेहोसिएको रात
मद्मत्तिलिँदै आउँछ
तोड्छ BADMAS को नियम
सरल हल गर्ने कोसिसमा
उनको हेराइमा प्रयासमा म
मात्र अंक गणितको एक सरल !
आफ्नै माटोमा
प्रकृतिले रचेको
म थिएँ
धराकै सुन्दर कविता
प्रत्येक रात
पुरुषार्थको जोडघटाउमा बढ्ने घट्ने
अहम्को गुणनमा गुजुल्टिने
लाभ हानिको मूल्यांकनमा
म त फगत गणित भएछु !
चाहन्थेँ
गाएर मेरा शब्दका विम्ब छामिदेओस्
निहारेर मेरो सौन्दर्यको आकार पढिदेओस्
डुबेर मेरो भावगंगामा निर्धक्क पौडिदेओस
र मलाई अनुभूत गरिदेओस
तर मेरा चाहनाका रसिदहरूले
उनका भौचरहरूमा प्रविष्टि हुनै पाउँदैन
मेरा भावनात्मक भौचरहरूले
उनको खातामा दाखिला पाउँदै पाउँदैन
उनको हिसाबकिताबले
दोहोरो लेखा प्रणाली पछ्याउनै सक्दैन
एकोहोरे वासलातको
अन्तिम मौज्दातमा देखिएको
ऋणात्मक मेरो अस्तित्वमा
माथि परेको औंठाले
अविश्वासको सहीछाप ठोक्छ
र
ऊ मलाई
गणितमा परिणत गर्छ।