पहिरोमुनि पहरी

पहिरोमुनि पहरी

दुई महिना एकदमै नजिक बसेको छिमेकी खोलापारि गएपछि मन खल्लो भएर आयो। निकै दिनसम्म न्यास्रो लागिरह्यो।


छँदाखाँदाको मोहनबहादुर नामलाई बिगारेर ‘मने’ बनाइदिएछ नागरिकता टोलीले। अनि नागरिकतामा नाम भयो— मने पहरी। उमेर चार बीस। उनी गाउँभरि मने पहरी भनेरै चिनिन्छन्। म उनलाई मामा भन्छु। तीन वर्षअघि म उनको छिमेकी हुन आएको हुँ। अहिले उनी मेरा पक्का र पाका छिमेकी भएका छन्। छिमेकी हुन न उमेरले छेक्छ न जातले। न लिंगले रोक्छ न त वर्णले। साँच्चै, छिमेकी हुनु परिवारको सदस्य हुनु जत्तिकै हो। ‘छिमेकी’ हाम्रो संस्कार हो। संस्कृति हो। पहिचान हो। छिमेकी हुनुको भूमिका सायद संसारमै नेपालीले मात्र राम्ररी निभाउन सक्छन्।

कान कमै सुन्छन् पहरी मामा। सानु स्वरले बोलाउँदा सुन्दैनन्। खोल्सापारि उनको घर छ। बाँसको झाङले मामाको घर छेलिन्छ। म उनको घरमा आक्कलझुक्कल मात्रै जान्छु। उनी मेरोमा आइरहन्छन्। कहिले गते सोध्न आउँछन्। कहिले तिथि सोध्न आउँछन्। कहिले ‘वृद्धभत्ता बाँड्न वडा सचिव कहिले आउँछ सर ?’ भनेर सोध्न आइपुग्छन्। बिरामी हुँदा डाक्टरलाई फोन लगाउन पनि मेरैमा आउँछन्। फोन सेटमा कता के थिचिन्छ, फोनले काम नगर्दा बनाइमाग्न आउँछन्। वास्तवमा पहरी मामा मेरा खास्साका छिमेकी भएका छन्।

केरा पाक्दा पहरी मामा काखीमुनि केरा च्यापेर खुर्र आइपुग्छन्। कान्छो छोराले घर आउँदा ल्याएको काठमाडौंको कोसेली पनि ल्याइपुर्‍याउँछन्। बूढाबूढीले गरेको खेतीको दुईचार माना आलु पनि आइपुग्छ। पोलिखाने मकै पनि ल्याइदिन्छन्। ‘उनले जत्तिको छिमेकीको भूमिका मैले निभाउन सकेको छु होला र !’

साँच्चै, कत्ति आत्मीय छन् मेरा यी छिमेकी ! ‘किन ल्याउनु पर्‍याथ्यो र मामा ?’ भन्दा उनी भन्छन्, ‘बाँडेर खानै राम्रो नि सर !’ ओहो, कति सद्भावपूर्ण छ है ‘बाँडेर खाने’ हाम्रो संस्कार ! अब हामीले ‘छिमेकी संस्कार’लाई कति नै समय बचाइराख्न सकौंला र ! ‘सेरोगेसी’ र ‘लिभिङ टुगेदर’ले लखेट्दै ल्याएको छ हामीलाई। ‘परिवार’ नै धरापमा परेको बेला ‘छिमेकी’ कसरी बाँच्ला खै ?

पहरी मामाका दुईजना दाजुले पहिल्यै स्थायी बाटो रोजे। उनी कान्छा हुन्। जेठा छोराका माथि परिवार गाउँमा बस्छ। गाउँमा पानीको दुःख भएर तल बस्न लागेका रे पहरी मामा। कान्छाको परिवार काठमाडौंमा छ। कान्छो सहरबाट आइरहन्छन् बाआमालाई भेट्न। दिनैजसो छोराबुहारीले फोनमा सञ्चोबिसन्चो सोधेकै हुन्छन्। कान्छाले ‘गारोसारो पर्दा गाउँमै सजिलो हुन्छ। पुरानै घरमा बस्नुस्। गाउँ जाऊँ बा’ भन्दा पनि बूढा मानेका छैनन्। एउटै कुरा छ, ‘पानीको दुःख छ।’

पुरानै ठाउँमा पहरी मामाले सरकारी ‘तीनलाखे’ घर बनाउने भए। ‘कमजोर ठाउँमा घर नबनाऊँ बा।’ कान्छो छोराले भनेका थिए। ‘आफ्नु जग्गा यस्तै छ, अन्त कता जानु ?’ उनले जिद्दी गरे। केही नलागेपछि छोराले घर बनाउन ठेक्का दिएर गए। थोत्रो र होचो मतानमा बस्दै आएका, नयाँ घर बन्न लाग्दा उनको अनुहारमा अपरिमित खुसी छाएको थियो। माइजूको फर्याकफुरुक नै अर्कै भएको थियो। नयाँ र बलियो घरमा बस्न पाउँदा कसको मन नरमाउला !

०००

चारै बजे उठ्छिन् पहर्नी माइजू। उनकोमा सानो जाँतो छ। भाले बास्नुअघि नै जाँतोको मधुरो आवाज सुनिन्छ। सुन्न मन लाग्छ। निकै बेर सुन्छु म। अब त जाँतोसातो हराइसके। अन्त कहाँ सुन्न पाउनुथ्यो र जाँताको ‘घ्वाइँघ्वाइँ’ ! उनले जाँतो घुमाएको आवाज सुन्दा आमा/हजुरआहरूले तीनै बजे उठेर जाँतोमा अन्नको ओइरो हालेको सम्झन्छु।

जिन्दगीको अर्को नामै ‘चल्नु’ रहेछ। चल्दो रहेछ जसरीतसरी। खानलाउन दुःख छैन। दुईजनाको टन्नै भत्ता आउँछ। तर, गाह्रो छ खेतीपातीको। नगरे पनि हुने नि ! मनै मान्दैन रे। चौरासी वर्षे पहर्नी माइजू गोरु नलाग्ने खेतका ससाना फोक्टा खनेर एक्लै रोपाइँ गर्छिन्। आली लगा आफैं। बाउसे गर् आफैं। बिउ रोप् आफैं। मामा खनजोत गर्न सक्दैनन्। डोकासोका बुनेर बस्छन्।

माथि गाउँमा कोदो रोप्न जान्छिन् पहर्नी माइजू। त्यहाँ पनि आफैं खन्ने। आफैं बीउ काढ्ने। आफैं रोप्ने। नल र खोस्टा पनि उतैबाट ल्याउँछिन्। स्कुल जाँदा बाटोमा भेट्छु। के भेट्छु भन्नु ! देख्छु मात्रै। पिलिक्क नजिकै देखेको मान्छे, छिनभरमै उकालो कटिसकेकी हुन्छिन्। चौरासीमा पनि यति बलिया खुट्टा पहर्नी माइजूका ! झुक्किएर हाडको साटो निर्माताले फलामको खुट्टा त बनाइदिएन ? ताज्जुबै लाग्छ। महिलालाई परनिर्भर ठानेर भन्छन् नि ‘स्वास्नी पाल्नु पर्छ’ हैन, मेरो छिमेकी मामालाई चौरासी पुगेर पनि माइजूले पो पालेकी छन् त !

पहर्नी माइजूको अनुहारमा चौरासीका हजारौं मुजा होलान् अनुहारमा। जीउ कुप्रिएर धनुषरूपी ‘ध’ हुँदा पनि काम भने लक्का जवानले झैं गरेकै छिन्। एकछिन घर बस्दिनन् पहर्नी माइजू। गाउँघरमा वनपात गर्न छाडिसके। तर, बूढी माइजू घाँसदाउरा गर्न वन कुदेको कुद्यै। हैन, ‘ज्यान लिएर आउनुपर्छ’ भनेको हो रहेछ क्यारे।

यी मामामाइजूको जोडी बाँधिनुको पनि अनौठै किस्सा रहेछ। पहर्नी माइजूको माइती र पहिलेको घर (दोरम्बा गाउँपालिका, टोकरपुर) नजिकै रहेछ। माइजू पचासतिर पुग्दा श्रीमान् बितेछन्। यता पहरी मामाकी श्रीमतीलाई फकाएर गाउँकै भिउसेन कार्कीतिर लगाइदिएछन् छिमेकीले। पहरी मामा एक्लै भए। अर्काको घर बिगार्ने कस्ता उल्लु छिमेकी ! चलिरहेको जहाज डुबाइदिने कति छली छिमेकी !

श्रीमान् बितेको केही वर्षमै उनी पहरी मामासँग पोइल आइछन्। हँ ? बुढेसकाल पनि यत्ति लजालु माइजू अधबैंसमा कसरी पोइल आइहोलिन् ? फकाउनेले फकाएपछि आउनेले आइदिनै पर्‍यो नि ! बिग्रेको घर सपारिदिने कस्ता गुणग्राही छिमेकी ! डुबेको जहाज उतारिदिने कति परोपकारी छिमेकी !

पहर्नी माइजूका दुइटी छोरी छन् रे उतापट्टिका। दसैंमा टीका थाप्न आउँछन्। बहुतै माया गर्छन् रे छोरीहरूले। पोइल गएकी सौताकै छोराहरू उनका ‘आफ्ना छोरा’ हुन्। छोराहरूले पनि ‘आफ्नी आमा’ मानेका छन्।

०००

२०७५ साउन १८ गते। एक्लै छु घरमा। साँझदेखि नै बेस्मारी पानी परेको छ। नजिकैको खहरे खोलामा ठूलै भल आउन थालेको छ। म टर्च बालेर घरिघरि खोलो हेर्न जान्छु। पानी बगिरहने खोलो हैन त्यो। साउने भेल बौलाएर आउने खहरे हो। लापर्बाह खनिएका सडकका कारण कताको भल कता पुग्छ टुंगो छैन अचेल। आज एउटा खोलामा आएको भल भोलि अर्कै खोलामा आउँछ।

घरिघरिको चट्याङको आग्नेय झड्काले सातो लिएको छ मेरो। बलेसी बर्सेर खोलाजत्रै भएको छ। खस्रो–खस्रो संगीतको धूनझैं मकैका पात खस्रिएर बजिरहेका छन्। मन कताकता, टाढा पुगेर फर्कन्छ। नफर्केर उतै कतै गएको गयै होलाजस्तो हुन्छ। तम्तम्याइलो भएको छ मन। एक्लो बस्नुपर्दाको पीडा।

मध्य रातमा भित्रबाहिर गरिरहन्छु। चट्याङले बत्ती बेल्कै निभाइदिएको छ। रात काट्न निकै गाह्रो भएको छ। निद्रा फिटिक्कै लागेको छैन। नजिक छिमेकी छैनन्। त्यो अन्धमुष्ठीमा, मध्यरातमा कतै जाने कुरा भएन। जान सम्भव पनि थिएन। दङदङ खोला कराइरहेको छ। डर मान्दिनँ भन्दा पनि डरैडरले लखेटिरहन्छ। हैन, यो ‘डर’ भन्ने जिनिस मनको कुन कुनामा बस्छ हँ ? जत्रै खोला आए पनि घरसम्म पुग्न सक्दैन त्यो। अनि किन लागेको होला डर ?

बल्लबल्ल रात कटाउँछु। हैन हैन, रात आफैं कट्छ। राम्ररी उज्यालो नहुँदै पहरी मामा ढोकामा देखा पर्छन्। उनी भिजेर मुसो भएका छन्। जीउबाट दलानमा तपतप पानी चुहेको छ। म ओछ्यानबाट उठेकै छुइनँ। हत्पती आफ्ना समस्या बताउन गाह्रो मान्ने मामा निकै छटपटिएका छन्। उनमा कुनै अव्यक्त पीडा अनुहारबाट व्यक्तिइरहेको छ। उनी ढोकाबाट भित्र मुन्टो छिराउँछन्। म भन्छु, ‘मामा, बिहानै आउनुभएछ, बसौं न।’

म बाहिर आउँछु। मामा खाटमा बस्छन्। उनी आत्तिएर भन्छन्, ‘घर पुरिहाल्यो सर ! भुँइसी सरको डाँडामा बाँध्न परो। के गरम् सर ?’ उनी भैंसी बाँध्ने ठाउँ भन्न आएका रहेछन्। ‘धत्, बूढा ! यस्तो बेलामा पनि सोधिरहन्छन् ! जता आडिलो छ उतै बाँध्नुपर्छ।’ भन्दै उठेर म डिलमा जान्छु। मामाको घरतिर हेर्छु। पैरोले करेसो पुरिसकेछ। कुदेर उहीँ पुग्छु। लौ, सिध्याइहालेछ नि ! तीस हातजति माथिदेखि जमिन चर्केर ठाउँ छाडिसकेको छ। अझै केही बेर पानी परे उनको घरखेतको चिनुमानु रहने अवस्था छैन। घरमाथिको खेत खसेर बडेबडे ढुंगाले घरको गाह्रो हानिसकेछ। पाखोरेखो सबै जलाम्मे भएको छ। घरखेत सबै सोहोरिएर खोलामा हामफाल्न मात्रै बाँकी छ। कुन बेला भुलुक्कै उम्लेर जान्छ के टुंगो !

पानी परी नै रहेको छ। भैंसी र बाख्रा छिट्टै अन्त नलगे तिमीहरूलाई पहिराले पक्कै सोहोर्छ। सेकेन्ड–सेकेन्ड समयको महत्त्व त्यति बेला बुझ्छु म। बूढाबूढीको जेथो। भैंसी उनीहरूको सर्वस्व हो। असी नाघेका बूढाबूढीले नसीनसकी पालेको भैंसी। ब्याउने दिन नजिकिँदै छ। ब्याउला र खाऊँला भनेर पर्खिबसेका बूढाबूढी। पहरी मामाको अनुहार बर्सिरहेको बादलजस्तै भएको छ। पहर्नी माइजू आशाको झिनो त्यान्द्रोमा अल्झिरहेकी छन्। छिटोभन्दा छिटो भैंसीको उद्धार गर्नु छ। पारि तार्नु छ। अन्त दायाँबायाँ लाने ठाउँ कतै छैन। साँघुरा खेतका गराबाट बढेमानको जन्तु कसरी पारि पुर्यानउने होला !

मेरोमा गुहार माग्नुअघि नै पहरी मामाले वरपरका अरू छिमेकीलाई बोलाइसकेका रहेछन्। रातभरि जागै बसेछन् बूढाबूढी। खेतमा आउने घरमाथिको पानी कटाएछन्। यता कुदेछन्। उता कुदेछन्। घनघोर पानीमा बूढो शरीर रातभरि कान्लैकान्ला कसरी हामफाल्दै कुद्यो होला ! पानीले कति थेतार्योस होला ! जताजता पानी कटाए पनि आकासै घोप्टिएपछि के लाग्थ्यो र !

पाँचसात जना छिमेकी आइपुग्छन्। अब भैंसीलाई छिट्टै फुकाएर खेद्नु छ। तर भैंसीको कफल्लो जात, जोगाउन ज्यादै गाह्रो हुन्छ। ‘यसरी पारि तार्ने’ भनेर कसैले जुक्ति निकाल्न सक्दैनन्। ‘यसै खेर गो, उसै खेर गो’ भन्दै शूरा एकजना छिमेकी भैंसी फुकाउँछन्। खेतैखेत कुदाउँछन्। पछि बस्नेले पुच्छर समात्छन्। ‘कि ढाँटले खान्छ, कि आँटले खान्छ’ भनेको हो रहेछ। म हेरेको हेर्‍यै हुन्छु। धन्न, भैंसीले धर्म छाडेन। बर्खाको पानीले गलेको माटो, त्यसिमाथि भीरको बाटो। बल्लबल्ल भैंसी डाँडामा पुग्छ। हाम्रो ‘उद्धार मिसन’ पूरा हुन्छ। भैंसी बाँचेकोमा मामामाइजूको अनुहार एकाएक उज्यालिएको देखिन्छ।

अब पहरी मामा मेरा एकदमै नजिकका छिमेकी बन्छन्। छिमेकीले गोठ बनाइदिन्छन्। बूढो मान्छेले के गर्न सक्नु थ्यो र। ‘मेरोमै सुत्नु मामा’ भन्दा मामा मानेनन्। ब्याउने बेला भएको भैंसी उनले छाडेनन्। घरैबाट बत्ती तानेर गोठमा बालिदिएँ। अपर्झटको आपत्ति। अरू बाधा कति कति !

यसो हेर्छु, कान्लाबाट झरेको भलले गोठ पूरै हिलो भएको छ। बाछिटाले ओछ्यान पनि भिजेजत्तिकै छ। अँगेनु सधैं चिसाको चिसै। आगो कसरी बल्दो हो ! यो जिन्दगी भनेको कस्तो अजीव चिज रहेछ ! भैंसीको गोबरझैं सोहोरेर फाल्न नसकिने। के गर्नु ! जत्ति आपत् परे पनि चल्नैपर्ने।

भोलिपल्टै कान्छो छोरा आइपुगे। पहिरोमा परेको घर हेरे। बाआमालाई अराउपराउ गरे। हिँउद लागेपछि गाउँ जानुपर्छ भने। तर यत्ति आपत् पर्दा पनि उनीहरू गाउँ जान मानेनन्। खानेपानीकै कारण मानेनन्। टाढाबाट कसले बोकिदिने पानी ! बस्तुभाउ पालेको मान्छेलाई घरमा एउटा पनि भएन भने चित्तै बुझ्दैन।

केही दिनपछि पहरी मामाको भैंसी ब्यायो। पाडो हुर्कियो। बर्खा सकियो। उनको घरमाथिको पहिरो त्यतिकै अधकल्चो भएर बस्यो। घर बगाएन। ढुक्कसित बस्न सक्ने अवस्था पनि रहेन। ठ्याक्कै दुई महिना मेरो बाँझो खेतमा बसे पहरी मामा। मैले ‘दसैंपछि सर्नू’ भनेँ। मानेनन्। असोजको १८ गते उनी आफ्नै थलोमा सरे। दुई महिना एकदमै नजिक बसेको छिमेकी खोलापारि गएपछि मन खल्लो भएर आयो। निकै दिनसम्म न्यास्रो लागिरह्यो।

पोहोरकै पानीले चिराचिरा पारेको छ जमिन। करेसामा ग्याबिन पर्खाल उठाएर घरमाथिको भीरलाई अड्याइएको छ। माथि बडेमानका ढुंगा घरै ताकेर मुख बाएर बसेका छन्। पहिरोमुनि बसेका छन्, पहरी मामा। यी बूढा छिमेकीले अझै कतिवटा बर्खा त्राहीत्राही र अत्यासमै कटाउनुपर्ने हो !


[email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.