मन परेको लेखकका सबै किताब पढ्छु
पोखरा मल्डिमोडल क्याम्पसका क्याम्पस प्रमुख कृष्ण केसीसित फुर्सद–वार्ता :
कत्तिको फुर्सद हुन्छ ?
बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म कलेजको ड्युटीले अलि कमै फुर्सद हुन्छ भन्नुपर्यो।
अलिकति भएको फुर्सदमा के गर्नुहुन्छ त ?
लेखपढ नै हो।
अनि संगीत–सिनेमा नि ?
सिनेमा नहेरेको धेरै भयो। संगीतमा लोकगीतहरू र केही हिन्दी मेलोडीहरू सुन्छु।
पछिल्लो पटक हेरेको सिनेमा ?
बागवान। मन पर्यो, मलाई यो।
किन मन पर्यो ?
पारिवारिक कथा भएकाले।
पछिल्लो पटक पढेको किताब ?
रामचन्द्र गुहाको ‘गान्धी : द इयर्स द्याट चेन्ज द वल्र्ड’, महाराजकृष्ण रसगोत्राको ‘अ लाइफ इन डिप्लोमेसी’ अनि मधुरमण आचार्यको ‘नेपाल वल्र्डभ्यु’।
सिरानीमा किताब ?
स्टिफिन एल मजको ‘लेफ्टिजम रिइन्भेन्टेड’।
हातमा भएको किताब ?
‘क्वेस्चनिङ प्याराडाइम्स, कन्स्ट्रक्टिङ हिस्ट्रिज : अ फेस्टरिफ्ट फर रोमिला थापर’।
थाती राखेको किताब ?
पराग खन्नाको ‘द फ्युचर इज एसियन’।
धेरै पल्ट पढेको किताब ?
फरिद जकरियाको ‘द पोस्ट अमेरिकन वल्र्ड’। प्रताप भानु मेहताको ‘द बर्डेन अफ डेमोक्रेसी’।
पहिलो (बच्चाको) किताब ?
बोधविक्रम अधिकारीको शिशिर र वसन्तको दन्त्यकथा।
धेरैपल्ट उपहार दिएको किताब ?
किताब धेरै उपहार दिइँदैन तर केही साथीलाई दिएको विजयकुमारको ‘खुसी’।
धेरैपल्ट उपहार पाएको किताब ?
धेरैले त उपहार दिएका छैनन् तर सौभाग्यवश पाएको गनेस पौडेलले दिएको ‘सेपियन्स : अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’ र केदारभक्त माथेमा सरले दिनुभएको फरिद जकरियाको ‘इन डिफेन्स अफ लिवरल एजुकेसन’।
पढ्न मन लागेर नपाएको किताब ?
एरिक होब्सबमको ‘दी एज अफ एक्स्ट्रिम्स’।
कहाँ किन्नुहुन्छ ?
धेरैजसो रिडर्स कर्नर्स पोखरामा र काठमाडौं मण्डला बुक पोइन्ट, एजुकेसन बुक सप र केही इन्डियाबाट साथीभाइहरूसँग मगाइन्छ।
कसरी किन्नुहुन्छ ?
म आफू लेखक केन्द्रित पाठक भएकाले धेरैजसो उनीहरूका पुस्तकहरू किन्छु। जस्तै— शशि थरुरका सबै। अमत्र्य सेनका सबै। प्रताप भानु मेहताका सबै। एजाज अहमदका सबै। पवन बर्माका सबै। सुनिल खिलनानीका सबै। मन परेको लेखकका सबै पढ्छु।
समीक्षाहरूमा विश्वास छ ?
पढ्दा रमाइलो लाग्छ।
पढिसकेपछि राम्रो लागेको किताब अरूले पनि पढून् भन्ने लाग्छ कि सकेसम्म नभेटून् ?
अरूले पढून् भन्ने त पक्कै लाग्छ। पुस्तक दिएपछि फिर्ता आउँदैन कि भन्ने डर पनि उत्तिकै लाग्छ।
पुस्तकबारे प्रतिक्रिया लेख्न मन लाग्छ ?
सम्भव भएसम्म लेखिन्छ।
पढ्दै गर्दा मन परेको, नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने गर्नुहुन्छ ?
सकेसम्म केरमेट नगरौं भने पनि महत्त्वपूर्ण वाक्यांश र तर्कमा केरमेट र अन्डरलाइन भइहाल्छ।
अक्सर कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?
अक्सर बेलुका र फुर्सद पाए बिहान, दिउँसो पनि पढिन्छ। तर मुडमा भर भने पर्छ।
यहाँसँग भएको दुर्लभ पुस्तक ?
प्रफुल विद्वाईको ‘द फिनिक्स मोमेन्ट’। यो उनको देहान्तपश्चात्को पुस्तक हो। तारिक अलीको ‘द क्ल्यासेस अफ फन्डामेन्टलिज्म’।
राष्ट्रपति, प्रधानमन्त्री, पुष्पकमल र शेरबहादुरलाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
यो हाम्रो कामभन्दा पनि उहाँहरूका सल्लाहकारहरूको काम हो। फुर्सदै छैन होला हाम्रा नेताज्यूहरूलाई पढ्नका लागि। त्यसैले सिफारिसका लागि के सिफारिस गर्ने ? तर पनि गुरुचरण दासको ‘द डिफिकल्टी अफ बिइङ गुड’ सबैले पढे हुन्छ। त्यस्तै पूर्वप्रधानमन्त्री प्रचण्ड एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सन्जय बारुको ‘द एक्सिडेन्टल प्राइममिनिस्टर’ पढ्दा राम्रो हुन्छ होला। किनकि डा. मनमोहन सिंह भारतीय प्रधानमन्त्री हुँदा उनको कार्यालय कसरी सञ्चालन हुन्थ्यो एवं नीतिनियमहरू कसरी बनाइन्थे भन्ने कुराको व्यापक चर्चा गरिएको छ उक्त पुस्तकमा।
किनेको सबैभन्दा महँगो पुस्तक ?
‘द अक्सफोर्ड ह्यान्डबुक अफ इन्डियन फरेन पोलिसी’। अक्सफोर्ड प्रेसको यो पुस्तकले झन्डै मण्डला बुकमा पैसा नपुगेर मेरो बेइज्ज्त नै गराएको नि !
बढ्ता होहल्ला भएको औसत पुस्तक ?
लेखकले लेख्न बसिसकेपछि कमजोर पुस्तक लेख्दैन। उनका लक्षित पाठकका लागि प्रत्येक पुस्तक उत्तिकै महत्त्वपूर्ण हुन्छन्। सानोमा पढ्दा शिशिर र वसन्तको कथा उत्तिकै महत्त्वपूर्ण थियो।
कम होहल्ला भएको गज्जबको पुस्तक ?
यो छुट्ट्याउनु पनि जटिलै कुरा हो। तर मेरो विचारमा एजाज अहमदको ‘लिनिअजेज अफ द प्रिजेन्ट : आइडियोलोजी एन्ड पोलिटिक्स इन कन्टेम्पररी साउथ एसिया’ कम चर्चामा भएको ज्यादै महत्त्वपूर्ण पुस्तक हो। त्यस्तै निसिद हजारीको ‘मिड नाइट फ्युरी’ पनि गम्भीर पुस्तक छ।
रोजाइमा साहित्य कि गैरसाहित्य ?
रोजाइमा त दुवै हुन्। तर गैरसाहित्य बढी पढ्छु।
कुन लेखक पढ्न चाहनुहुन्छ ?
साथीहरूले देशीभन्दा विदेशी लेखकलाई प्राथमिकता दिन्छस् भनेर आरोपै लगाउँछन्। अमत्र्य सेन, प्रताप भानु मेहता, रोमिला थापर, एजाज अहमद, रामचन्द्र गुहा मेरा मन पर्ने लेखक हुन्। नेपालमा पनि अहिले राम्रा लेखक छन्। सरुभक्त, नारायण वाग्ले, हरिबहादुर थापा, चैतन्य मिश्र, सुधीर शर्मा, बसन्त बस्नेत, झलक सुवेदी, सरस्वती प्रतीक्षा, गनेस पौडेल, तीर्थ गुरुङ आदि। त्यसबाहेक हरि शर्मा, प्रत्यूष वन्त, महावीर पौड्याल, विष्णु सापकोटा, टीका ढकालका बौद्धिक आलेखहरूले मनै लोभ्याउँछन्।