खला
महिलाहरूले खेल्दा आमाको माया, बाबुको स्नेह, पतिबिछोडको पीडा जस्ता सन्दर्भ जोड्छन् गीतमा। पुरुषले चाहिँ रामायण, महाभारतका महात्म्यलाई महत्त्वसाथ उठाउँछन्।
कर्नाली–महाकाली पानीढलोमा मात्र सीमित छैन, गौराको रौनक। भारतको कुमाउँ गढवालतिर पनि उत्तिकै धूमधामले मनाइन्छ यो पर्व। गौरा पर्वसँग सम्बन्धित किंवदन्ती पनि शिवभक्तिमै आधारित छ। पार्वतीको अर्को नाम गौरा पनि हो। ज्योतिषीय मान्यताअनुसार पार्वतीको जन्मको लग्न ‘गो’बाट उठेकाले पार्वतीको नाम गौरा रहन गएको विश्वास छ। शिवलाई पतिका रूपमा पाउन उनले राखेको व्रत तथा सफल दाम्पत्य जीवनको गाथासँग सम्बन्धित छ, यो पर्व।
सांस्कृतिक पक्ष
एकान्तमा बसेर निराहार व्रत बसी भगवान् शिवलाई पतिका रूपमा पाउने पार्वतीको अभिलाषा अष्टमीका दिनमा पूरा भएको मानिन्छ। महिलाहरूले राख्ने तीजको व्रतभन्दा फरक छ, गौराको संस्कार। गौरा पर्वमा विवाहित र अविवाहित दुवै थरी महिलाले पञ्चमीदेखि नै व्रत बस्ने गर्छन्। बिरुडा भिजाउने काम पनि पञ्चमीमै हुन्छ। बिरुडा अर्थात् कलउँ, गुराँस, गहत, मास तथा गहुँ मिसाइएको पञ्चबीज। यी पाँच गरी बीउलाई तामाको चोखो भाँडोमा सफा पानीले धोई भिजाइन्छ र अष्टमीमा महिलाहरूले आफ्ना छोरा, नाति, बुहारी तथा आफन्तलाई घरमा बोलाई बिरुडाले पुज्ने गर्छन्, सुस्वास्थ्य र दीर्घायुको कामना गर्छन्। पुज्ने काममा मात्रै प्रयोग नभएर, भुटेर प्रसादका रूपमा खाने चलन पनि छ बिरुडालाई। बिहे भइसकेका चेलीबेटीहरू बिरुडाको प्रसाद ग्रहण गर्न अष्टमीको साइत पारी माइत आउने गर्छन्। सप्तमीको दिनमा गौरा र शिवको विवाह हुने दिन निराहार व्रत बसेका महिलाले पुरानो ‘दुबधागो’ फेर्ने गर्छन्। ‘दुबधागो’ रातो धागोबाट बनेको हुन्छ र त्यसलाई पुरोहितले पूजा गरी चोखो पार्छन्। स्थानीय भाषामा ‘अबसेक्नु’ भनिन्छ यो प्रक्रियालाई। अनि घाँटीमा बाँध्ने गरिन्छ। पुरुषहरूले जनै फेरेजस्तै हो, ‘दुबधागो’ फेर्ने काम। सदैव पतिपत्नी तथा सन्तानको कल्याण होस् भनी ‘दुबधागो’ लगाउने गरिन्छ।
पञ्चमीमा बिरुडा भिजाउने काम मात्र नभई गौराको मूर्ति बनाउने पनि चलन छ। व्रतालु महिलाले पञ्च वनस्पति (कुश, काँस, सौफ, अपमार्ग तथा तीतेपाती)बाट गौराको मूर्ति बनाउने गर्छन्। उक्त मूर्ति बनाउने कार्यमा चोखोनितो गरी बसेका पुरोहितले पनि सहयोग गर्छन्। गौराको अन्तिम दिन अर्थात् नवमीको दिनमा बिहेमा छोरीलाई अन्माईवरी बिदा गरे जसरी नै गौरालाई बिदाइ गर्छन् महिलाहरू। विरहका गीतहरू गाउँछन्, सबैका आँखाबाट आँसु बगिरहेको हुन्छ। अन्तिम दिन गौरालाई आफ्नो इष्टकुल देवता भएका थानमा शुद्ध गरी राखिन्छ, यसरी सेलाउने काम सम्पन्न हुन्छ। सेलाइसकेपछि अर्को वर्षका लागि निम्तो दिँदै गौरा पर्वको विधिवत् समापन गरिन्छ। गौरा भाद्र शुक्ल पक्षमा पर्यो भने यसलाई ‘उजेली’ गौराका नामले चिनिन्छ। उजेली गौरामा विवाहित र अविवाहित महिला दिदीबैनीले व्रत बस्न सक्छन्। भाद्र कृष्ण पक्षमा पर्ने गौरालाई ‘अन्यारी’ गौराको नामले चिनिन्छ। अन्यारी गौरामा विवाहित महिलाले मात्रै व्रत बस्ने गर्छन्। गौराको सँघारमा घर लिपपोत गर्ने, नयाँ लुगा सिलाउने र एकआपसमा भाइचाराको भावले महिला पुरुषहरूले मागल, देउडा, ढुस्को, ठाडी, धमारी खेल खेली रमाइलो गर्ने चलन पुरानै हो।
अतीतको मेरो गौरा
चाडबाडको बेला साना नानीहरूको नयाँ परिकार र पहिरनप्रतिको चासो र उत्सुकता देख्दा आफ्नै बाल्यकाल सम्झिन पुग्छु म। नेपाल र भारतलाई छुट्ट्याउने महाकाली नदीको किनारमा भारतपट्टि अवस्थित सानो सहर छ, झुलाघाट। हरेक वर्ष भदौ महिना मेरा बाबा किनमेल गर्न जानुहुन्थ्यो त्यहाँ। भदौ महिना अर्थात् गौराको महिना। मनमा एक किसिमको छटपटी सुरु हुन्थ्यो। त्यति बेला अहिलेको जस्तो यातायातको सुविधा थिएन। झुलाघाटबाट मेरो घर बैतडी फर्किन झन्डै तीन दिन लाग्थ्यो। कहिले बुवा घर फर्किनुहोला, मेरो लागि कस्तो रङको लुगा ल्याउनु होला ? त्यो लुगा दर्जीलाई कहिले सिलाउन दिने होला ? दर्र्जीले उक्त लुगा सिलाउन कति दिन लाउने होलान् ? यस्तै कुराहरू मनमा खेल्थ्यो। दर्र्जीलाई दिइसकेपछि न्यायालयमा जसरी वादी प्रतिवादी बारम्बार उपस्थित हुन्छन्, त्यसैगरी हप्तौंसम्म उनको दैलोमा पुग्ने गरेको सम्झना हुन्छ। कतै त्यो सालको गौरा नयाँ लुगा नलगाईकनै जाने पो हो कि भन्ने पीरले उत्तिकै सताउँथ्यो। हजुरआमाले गौराका लागि भनेर दिएको पाँच रुपियाँको नोट पाउँदा कति खुसी हुन्थेँ म !
दमाई बाजाको धुन पछ्याउँदै नयाँ लुगामा सजिएर लावालस्कर उर्लन्थ्यो उबेला। स्थानीय देवीदेवताहरूको नाम पुकार्ने एउटा हुन्थ्यो भने उसले भट्ट्याइसकेपछि पछ्याउने काम अरूले गर्नुपथ्र्याे। ‘ये कला झालकी जै, राजा उदयदेउकी जै, वासुलिंग शक्तिमान प्रभु कि जै, निंग्लासैनी माता कि जै’ इत्यादि स्थानीय देवी देवताको जयजयकार गर्ने गरिन्थ्यो। सुदूरपश्चिम र मध्यपश्चिममा गौरापर्वको महत्त्व मूलधारको बडादसैंजस्तै भएकाले यो पर्वमा टाढाटाढा रहेका आफन्तजन अनिवार्य घर फर्किने गर्थे। कालापार गएकाहरू घर फर्किंदा अलिअलि पैसाको जोहो गरी हातमा टेप रेकर्डर घन्काउँदै आउँथे। गाउँ फर्केकाहरूको शान नै बेग्लै हुन्थ्यो। त्यतिखेर सञ्जय दत्तको फिल्म ‘साजन’ चर्चामा थियो। सञ्जय दत्तको जस्तै लामो कपाल पाल्ने, उनले साजनमा लगाएको जस्तै पहेँलो रङको पाइन्ट लगाउने गर्थे धेरै।
सामाजिक (अ)न्यायको पर्व
साथीसँगी मिलेर विभिन्न ठाउँमा भएका गौराका खलाहरूमा गई खेल खेल्ने तथा भेटघाट गर्ने हुनाले यसलाई सद्भावको पर्वका रूपमा लिन सकिन्छ। स्मरण रहोस्, गौरामा खेल खेल्ने ठाउँलाई स्थानीय भाषामा ‘खला’ भनिन्छ। गोडाको चाल मिलाएर खेल खेलिन्छ र गोलाकार भएर एकअर्काको हात समाई खेलिन्छ। महिलाहरूले खेल्दा आमाको माया, बाबुको स्नेह, पतिबिछोडको पीडाजस्ता सन्दर्भ जोड्छन् गीतमा। पुरुषले चाहिँ रामायण, महाभारतका महात्म्यलाई महत्त्वका साथ उठाउँछन्।
मकै या धान बाली लगाएर कालापार गएकाहरू हुन् या अन्य देश गएकाहरू–गौराको छेको पारी घर आउने तथा एकआपसमा नाचगान तथा देउडा भाकामा रम्ने गर्छन्। त्यसैले यो पर्वलाई सामाजिक एकताको पर्वका रूपमा लिन सकिन्छ। सामाजिक न्याय तथा सद्भाव झल्काउने पर्वका रूपमा मनाइने भए पनि महिलाहरूको दैनिकी भने निकै सकसपूर्ण बित्छ। यस कोणबाट हेर्दा गौरालाई सामाजिक सद्भाव र न्यायको पर्वका रूपमा पूर्णतः नमान्न पनि सकिन्छ। सामाजिक न्यायको पर्र्व नै हुन्थ्यो भने महिलाहरू किन विरह तथा पीडाका गीतहरू गाउँदा हुन् ? पार्वतीको सफल व्रतलाई मानक बनाई व्रत बस्नुपर्ने एउटा पक्ष छँदै छ भने अर्कोतर्फ कामको चटारो उस्तै।
देउडा खेल खेल्दा सबै जातका मानिस खेलमा एकसाथ जुट्ने भएकाले यसलाई एकता र सद्भावको पर्व मान्न सकिएला रे। तर सुदूरपश्चिममा अझै पनि छुवाछूत न्यून भएको छैन। छाउपडीको दुष्चक्र कायमै छ। खेल खेल्ने समयमा जस्तै कथित तल्लो जातिलाई अरू कार्यमा पनि यसै गरी समावेश गराउने र महिलाप्रतिको सद्भाव र संवेदना बढाउने काम अरू समयमा पनि गर्न सके मात्र यस पर्वले दिएको एकता र सद्भावको सन्देश व्यवहारमा रूपान्तरण हुने थियो।
बदलिँदो गौरा
विश्वव्यापीकरण तथा बसाइँसराइको प्रभावले अहिलेको गौरा धेरै बदलिसकेको छ। आजभोलि पनि काठमाडौंमा गौरा मनाउन जाने गर्छु, म। भेटघाट हुन्छ पुराना साथीभाइसँग। देउडा नाचमा पनि सरिक हुन्छु। तर त्यो बेलाको आनन्द र उत्सुकता अहिले कहाँ पाउनु ? विज्ञान र प्रविधिले फड्को मारेको यो समयमा पुराना संस्कृति र चालचलन पुरानो पुस्तासँगै हराउँदै छ। सामाजिक सञ्जालको सहज उपलब्धतासँगै बाह्य संस्कृतिको प्रभाव बढ्दैछ गौरामा पनि। त्यसैले त समय घर्किंदै गएपछि स्थानीय गीत र देउडाको चाललाई हिन्दी र अंग्रेजीका आइटम डान्सले प्रतिस्थापन गर्न थालेको देखिन्छ।
पाका पुस्ताले पर्वको महत्त्व नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्नुले पनि गौरा छायाँमा पर्दैछ दिनानुदिन। ढुस्को, ठाडी भाका तथा धमारी खेल हाल्ने मान्छेहरू बसाइँसराइँको कारणले बैतडी, दार्चुलामै पनि भेटिन छाडिसके। पछिल्लो समयमा नेपाली चलचित्रमा देउडा गीतसंगीतको प्रवेशले केही आशा भने जगाएको छ। ठाडी भाकालाई फेरि ब्यूँझाइरहेकी डोटीकी डिक्रा वादीको पछिल्लो प्रयासले अझ उत्साह थपेको छ। त्यसमाथि डिक्रा दिदीको सत्प्रयासमा झुमा लिम्बू तथा महेश औजीजस्ता गायक गायिकाहरूले दिएको साथ र सहयोगले रैथाने गीतसंगीत र संस्कृति फेरि जाग्नसक्ने आधार देखिन्छ। भूपी शेरचनले इलामको सुन्दरताबाट मुग्ध भएर ‘नेपालभरि अलि अलि इलाम छर्न पाए’ भावमा कविता कोरे। भूपीभावमै भन्न चाहन्छु म पनि, भदौ महिनाको आरम्भ सारा नेपाललाई गौरामय बनाउँदै गर्न पाए ?
चन्द प्राध्यापन पेसामा संग्लग्न छन्।