सुरक्षा घेरामा कश्मीर यात्रा
जम्मुदेखि बालटालसम्म सुरक्षाकर्मीको स्कर्टिङमा गाडीबाट सफर, अनि बालटालबाट अमरनाथसम्मै सुरक्षाकर्मीकै रेखदेखमा यात्रा।
मुस्लिम बाहुल्य जम्मु–कश्मीर राज्यमा अवस्थित हिन्दूहरूको एक पवित्र तीर्थस्थल, अमरनाथ गुफा। २०७६ असार २६ देखि साउन १२ सम्म १८ दिनको यात्रा। मुख्य गन्तव्यस्थल उत्तर प्रदेशका गोरखनाथ मन्दिर, अयोध्याको विवादास्पद रामजन्मभूमि, चक्रधाम भनेर चिनिने नैनीशरण, गोकुल–मथुरा–वृन्दावन, हरियाणाको कुरुक्षेत्र, पञ्जाबको अमृतसरमा रहेको स्वर्ण मन्दिर र फर्कंदा जम्मुको वैष्णवदेवी, हरियाणास्थित बज्रेश्वरी र ज्वालादेवी, हिमाञ्चल प्रदेशको छिन्नमस्ता र नयनादेवी र उत्तराखण्डको ऋषिकेश र हरिद्वारस्थित विभिन्न देवदेवीको दर्शन पनि गरियो। यो भ्रमण धेरै कोणबाट अविस्मरणीय, रोमाञ्चित र ज्ञानवर्धक भएको महसुस गरियो।
०००
एउटा सानो गुफा। त्यसको छत फुस्रो चट्टान तर छतमुनि हिउँको सेताम्मे टल्कने शिवलिंग। यो आफैंमा एउटा अच्चमित, अनुपम र अलौकिक सृष्टि देखिन्छ। सतीदेवीको अंग पतन भएको साथै पार्वतीलाई शिवले तीन लोकको ज्ञान दिएको पवित्र स्थल भनेर चिनिने यस स्थानको धार्मिक महत्त्व त आफ्नो ठाउँमा छँदै छ। मजस्तो न आस्तिक, न त नास्तिक मानिसलाई पनि तान्नसक्ने चुम्बकीय शक्ति रहेछ यस भूमिको। प्राकृतिक बनोट पनि अद्वितीय र रमणीय छ। वरिपरि फुस्रो हरियो डाँडाले घेरिएको मैदानी भागमा अझै तीन फुटजति गहिरो हिउँ रहेको यस ठाउँमा प्रवेश गर्दा आफू बेग्लै संसारमा पुगेको महसुस भयो। एकछिनका लागि भए पनि काम, क्रोध, लोभ, मोहबाट अलग हुँदा जीउ हलुंगो भयो, मन रमायो अनि भावविह्वल पनि भएँ। यस्तो अनुभूति गत साल उत्तराखण्डको केदार पुग्दा पनि भएको थियो।
०००
वर्षमा छ हप्ता मात्र (जुलाई १ देखि अगस्ट १५ सम्म) खुल्ने अमरनाथ यात्रा सहज र सरल छैन। बालटालसम्म गाडीमा सफर, त्यसपछि १५ किलोमिटर हिमाली लेकको ठाडो उकालो। भीरपाखाको साँघुरो र चिप्लो बाटो तर पैदल, घोडसवार र पाल्कीबाट सफर गरिरहेका कमिलाको ताँतीजस्तो देखिने यात्रीहरूको हुल। पैदल नै सबभन्दा सुरक्षित यात्रा तर हाम्रो समूहका २० जनामध्ये कृष्ण खनाल र केसी दम्पती गरी तीन जनामात्र यसमा सफल भए। कतिले बीच बाटोबाटै घोडसवार गरे तर यो झन् जोखिमपूर्ण। किनभने घोडाको लेन भीरको छेउमा। खस्यो भन्ने लास नै नभेटिने डर। फर्कने क्रममा चिप्लिएर घोडा लड्दा आफैं सामान्य घाइते भएँ, तर यो फराकिलो बाटो र फलामे बारले घेरिएको वैष्णवदेवीमा भएको थियो। यो दुर्घटना अमरनाथको बाटोमा भएको भए घोडा र आफू भगवान्को प्यारो हुन्थ्यौं होला। अहिले सम्झँदा पनि जीउ सिरिंग हुने गर्छ।
अमरनाथ यात्राको तेस्रो विकल्प पाल्की सवार जसको प्रयोग हाम्रो समूहका चार दम्पती र एक वृद्ध गरी नौ जनाले गरे। पाल्की गत वर्ष उत्तराखण्डको यमोनत्री यात्रामा प्रयोग गरेको जस्तो फराकिलो र सहज थिएन। अमरनाथमा पाइने पाल्की भनेको दुईवटा बाँसमा डोरीले बाँधेको एक साँघुरो प्लास्टिकको मेच जसलाई चारजनाले बोक्ने गर्छन्। पाल्की बोक्नेहरूको पाइलामा सन्तुलन नमिल्दा आफू चढेको पाल्की पल्टियो। धन्न यो घटना हिउँले ढाकिएको मैदानी भागमा भयो, भिरालो बाटोमा भएको भए कथा अर्कै हुन्थ्यो। कहीँ बाटो यस्तो पनि छ जहाँ पाल्की बोक्ने चारजनाले एकैपल्ट पाइला टेक्ने ठाउँ हुँदैन। यस्तो अवस्थामा पाल्कीबाट ओर्लेर उकालो चढ्नेबाहेक अरू विकल्प नहुने। यस क्रममा हाम्रा सहयात्री राजकुमार श्रेष्ठ र लीला लामिछाने बिरामी भए। अमरनाथ भ्रमण उमेर छँदै र बल हुँदै गर्नुपर्ने रहेछ ताकि पैदलै यात्रा गर्न सकोस्।
सुरक्षा घेरामा यात्रा
अमरनाथ यात्रा अरू धामको यात्राभन्दा भिन्न हुनुको एउटा प्रमुख कारण त्यसमा अन्तर्निहित जोखिम हो। अमरनाथ भारत नियन्त्रित कश्मीरमा पर्छ। सात दशकदेखि कश्मीर विवादास्पद ठाउँ हो यसमा भारत, चीन, पाकिस्तान र आजाद कश्मीरका लागि लडिरहेका हतियारधारी समूह संलग्न छन्। हिन्दू तीर्थयात्रीका लागि एउटा जोखिम (भारतीय भाष्यमा) मुस्लिम आतंकवादीबाट हुने हमलाको खतरा। पच्चीस वर्षयता फाटफुट रूपमा यस्तो घटना हुँदै आएको पनि छ। भारत सरकारको सुरक्षाव्यवस्था कडा र कठोर रहेको पाइयो। त्यसमा पनि भाजपाको हिन्दूत्वको विस्तार अभियानको गन्ध मिसिएको देखिन्छ। घटनाक्रमले प्रमाणित गर्यो कि यो त कश्मीरको स्वायत्तता निल्न गरेको पूर्वाभ्यास रहेछ।
जम्मुदेखि बालटालसम्म सुरक्षाकर्मीको स्कर्टिङमा गाडीबाट सफर, अनि बालटालबाट अमरनाथसम्मै सुरक्षाकर्मीकै रेखदेखमा यात्रा। बाटोमा मानिसको चहलपहल नहुने तर राजमार्गमा पनि हरेक १०/१५ मिटरको ग्यापमा हतियारसहित सुरक्षाकर्मीको पहरा। स्थिति अघोषित कफ्र्युजस्तो। तीर्थयात्रीको गाडीलाई उच्च प्राथमिकता दिँदा स्थानीय व्यक्ति र सवारी साधनले अनावश्यक दुःख भोगेकोे देखियो। सुरक्षा घेराभित्रको दिनचर्या कश्मीरीहरूको नियति नै बनेको देखिन्छ। एक समय स्वर्गको एक टुक्रा भनेर चिनिने श्रीनगर अहिले उजाड देखिन्छ। बहुमतको ज्यादती भएको शासनमा अल्पसंख्यक समुदाय कसरी पिल्सिन्छ भन्ने उदाहरण जम्मु–कश्मीरका मुस्लिमहरूको अनुहारमा पढ्न सकिन्छ।
सुरक्षा घेराभित्रको यात्रा सहज र स्वाभाविक नहुँदो रहेछ। त्यसमा पनि भ्रमण अनुमति लिनुपर्ने र यात्रीलगायत उनीहरूको भारी झोलाहरू ठाउँठाउँमा चेकिङ गराउनुपर्दा यात्रा झन्झटिलो र कष्टप्रद पनि रह्यो।
अमरनाथ यात्राका लागि अनुमतिपत्र अनिवार्य। तर त्यो कहाँ र कसरी लिने भन्ने विषयमा हाम्रो टोलीका कसैलाई पनि जानकारी थिएन। भोकभोकै र पोलिने घाममा आधा दिन दौडधुपपछि बल्ल पञ्जीकरण गर्ने स्थान र अनुमतिपत्र दिने कार्यालय (पञ्जाब बैंक) भेटियो। यस क्रममा बैंकका एक पदाधिकारीले दिएको अर्तिबुद्धि स्मरणीय छ। उहाँको अनुभवमा कश्मीर भ्रमण गर्ने विदेशीमध्ये नेपाली मात्र यस्तो वर्गमा पर्दो रहेछ जसले जानकारी राख्ने गर्दैन यद्यपि आवश्यक जानकारी गुगल सर्च गर्दा सजिलै भेटिन्छ। कुरा मनासिब हो तर यस विषयमा आवश्यक जानकारी जम्मु प्रवेशद्वारका रूपमा रहेको पथानकोटमै दिने गरेको भए इन्टरनेटमा अभ्यस्त नभएका तीर्थयात्रीहरू लाभान्वित हुन्थे होला। यस कुरामा ती पदाधिकारीले प्रतिक्रिया दिन चाहेनन्।
१९५० को सन्धि
अर्को विषयमा पनि ती पदाधिकारी मौन बसे। नेपालीलाई अरू विदेशीसरह बिमाशुल्क प्रतिव्यक्ति भारु एक हजार पाँच सय। भारतीय यात्रुका लागि एक सय ५० मात्र। नेपाल र भारतबीचको १९५० को सन्धिअनुसार भारतीयलाई नेपालमा र नेपालीलाई भारतमा आफ्नो देशको नागरिकसरह सुविधा दिनुपर्छ। गत सालसम्म भारतीय र नेपाली तीर्थयात्रीको बिमा रकम एउटै थियो। तर निर्वाचित सरकार विघटन गरी राष्ट्रपति शासन लागू भएको जम्मु–कश्मीरका गभर्नरले हालै एक फरमान जारी गरे— बिमा शुल्क लिँदा नेपालीलाई अरू विदेशीसरह ट्रिट गर्नु। भारत नियन्त्रित कश्मीरमा भारतकै राजकाज चल्ने हो भने एक जिम्मेवार पदाधिकारीले दुई देशबीचको सन्धि उल्लंघन गर्न पाउँछ र ? भित्री कुरा अर्को हुन सक्छ। सम्भवतः भारत सरकारले एउटा यस्तो सन्देश दिन चाहेको छ कि संसद्मा दुई तिहाइ बल भएको नेपालको कम्युनिस्ट सरकार १९५० को सन्धि परिवर्तन गर्न चाहन्छ तर त्यो सर्वसाधारण नेपालीको हितमा छैन।
भीडभाडमा च्यापिँदा
यात्राका अनेकौं स्मरणीय घटनामा वृन्दावनस्थित बाँकेविहारी मन्दिरको दर्शन। ६ बजे मात्र खोलिने मन्दिर दर्शन गर्न ४ बजेदेखि लाइनमा उभियो। दर्शनार्थीको घुइँचो यस्तो अनियन्त्रित र अव्यवस्थित थियो कि न अगाडि बढ्न सक्ने न त पछाडि फर्कन मिल्ने। पाँचजनाबाहेक हाम्रो समूहका सबै यात्रु सकसपूर्ण रूपमा दर्शन नगरी फर्किए। महिला सहयात्री सुशीला गौतम र प्रेमा घिमिरेको आँट, साहस र प्रेरणाले अर्धांगिनीसहित आफूले पनि दुई घण्टा भीडमा च्यापिएर भए पनि दर्शन त गरियो। तर फर्केर हेर्दा यस्तो मूर्खतापूर्ण दुस्साहस गर्न हुँदैनथ्यो जस्तो लाग्यो किनभने भीडभाडले थिचेर तीर्थयात्रीहरू मरेका घटना धेरै छन्।
बोलबमको मेला लागेकाले हरिद्वारको यात्रा पनि सहज भएन। त्यहाँको मुख्य आकर्षण साँझको आरती दर्शन तर भीड यस्तो थियो कि कोसौं टाढासम्म बस्ने ठाउँ थिएन। मनसादेवी र चन्दीदेवीको पनि दर्शन गर्न पाइएन किनभने भीडभाडबाट बच्न यात्रा छोट्याउनु पर्यो। यद्यपि यसले गर्दा जीवनमा पहिलोपल्ट तीर्थयात्रा गरेका सीधासादा हेरा महर्जन र सानुभाइ महर्जनमाथि न्याय नभएको महसुस भयो।
सतर्कता
भारतमा यात्रा गर्दा अधिकांश नेपाली धेरै सशंकित हुँदा रहेछन्, कहीँ कतै चोरी हुन्छ कि वा ठगिइन्छ कि भनेर। अमरनाथमा बिताएको दुई दिनबाहेक सबै यात्रास्थल प्रचण्ड गर्मी हुने ठाउँ। सम्भवतः आत्मविश्वासको कमीले होला, व्यवस्थापक विनोद दवाडी बस्दा सुत्दा पनि धेरै खल्ती भएको फिडरको हाफ जाकेट र एउटा भारी झोला छोड्नु हुन्नथ्यो। महर्जनद्वयले सधैँ दुई सर्ट लाउने गर्थे। स्याङ्जाली श्रेष्ठ दाइ दुइटा झोलासहित हिँडडुल गर्नुहुन्थो। परिणाम वृन्दावनको प्रेम मन्दिरको परिसरमा पुगेर पनि उहाँ भित्र छिर्न पाउनुभएन। राधेराधे समूहबाट नवनिर्मित प्रेम मन्दिर एउटा यस्तो सुन्दर र मनमोहक स्थल हो जहाँ आधुनिक विज्ञान र प्रविधिमार्फत द्वापर युगको कृष्णलीला देखाइन्छ। भारतमा असल मान्छेको कमी छैन भन्ने कुरा एउटा घटनाले पनि देखाउँछ।
अयोध्याबाट नैनीशरण जाँदा बीचमा रोकेको एउटा धावामा सहयात्री ऋषि लामिछानेको पैसा र महत्त्वपूर्ण कागज भएको एउटा सानो झोला छुट्यो। करिब ६० किलोमिटर अगाडि गइसकेको गाडी फर्काएर सोही स्थानमा पुग्दा झोला सही सलामत भेटियो। यसको मतलब यो होइन कि बिन्दास भएर यात्रा गर्नुपर्छ। आफू जोगिनका लागि गोकुलको पन्डा, वृन्दावनको बाँदर र अमरनाथका कुल्लीसँग त सतर्क हुनैपर्ने रहेछ। अहिलेको महँगीमा पनि २२ दिने तीर्थयात्राका लागि प्रतिव्यक्ति नेरु २५ हजार मात्र।
समग्रमा यात्रा रमाइलो भयो। यात्रीहरू सन्तान थरीथरीका। मुखभन्दा दिमाग बढी चल्ने प्राध्यापक कृष्ण खनाल। जिज्ञासु हेरा महर्जन र सानुबाबु महर्जन, तन तीर्थयात्रामा भए पनि ध्यान आफ्नै व्यापारमा लगाउने राजकुमार श्रेष्ठ, पहलमानजस्तो देखिने शशी केसी, मिलनसार विनीता, शालीन प्रेमा घिमिरे, सुशील कोइरालाको डुब्लिकेटजस्तो देखिने शान्त प्रकृतिका राम पौडेल, प्रसंग मिले पनि नमिले पनि ठूलो स्वरले बोलिरहने स्याङ्जाली श्रेष्ठ दाइ, छेउबाट उहाँलाई जिस्क्याइरहने ओम शर्मा र ऋषि लामिछाने, जेमा पनि अगुवाइ गर्न तम्सिने सुशीला गौतम, भजनको गीत बज्यो कि जीउ हल्लाइहाल्ने उमा गौतम, आआफ्ना पतिदेवलाई यो गर त्यो नगर भनेर उपदेश दिइरहने कमला, प्रमिला, लीला, प्रतिमा र लक्ष्मी। साथै मदिरा निषेध क्षेत्रले नछुने कृष्ण हाछेथु र साथ दिने राजकुमार श्रेष्ठ।