भीआईपी आत्मकथा
अपांगता भएकाप्रतिको हाम्रो आग्रह र पूर्वाग्रह, पाप र अपराध, चिन्ता र चिन्तन, दया र माया, अवसर र आरक्षण, विचार र विमर्शबारे गहिरो र फराकिलो गरी सोच्न यो पुस्तक प्रमुख सन्दर्भसामग्री हुनेछ।
मेरा साथी र आफन्त विद्यालय जाँदा मचाहिँ पिँडी या आँगनमै हुन्थेँ । उनीहरू मेरो घर नजिकै आएर डेरे, अन्धो भनेर चिच्याउँथे । आमालाई यी सब सहन गाह्रो हुन्थ्यो । त्यसपछि म विद्यार्थी स्कुल जाने र फर्कने समयमा घरभित्र बस्ने थालेँ ।
०००
घरमा कोही आउँदा आमा मलाई पहिले नै भित्र गएर बस्न सुझाउनुहुन्थ्यो । किनभने उनीहरू जहिले पनि हाम्रो दृष्टिविहीनताबारे कठैको भावमा कुरा गर्थे । पछि पछि त आमाले नभने पनि म घरभित्रै बस्न थालेँ ।
०००
दृष्टिविहीन हुनु पापको परिणाम थियो भन्ने नै लाग्यो मलाई पनि । आफ्नै जीवन पूर्वजन्मको पापको प्रतिफल ठान्थेँ, म । हरेक एकादशीका दिन म पनि आमासँगै व्रत बस्न थालेँ । अरू बेला नुहाउन मरेतुल्य लाग्ने म एकादशीका दिनचाहिँ जाडोको समेत वास्ता नगरी सबेरै आमासित गैंडे खोलामै गएर पवित्र बन्थेँ । एकादशीमा म वरदान माग्थेँ— मेरो ठूलो दाइ चिरञ्जीवी र मैले आँखा देख्न पाऊँ । मैले नछुटाई माग्ने वरदान अर्को पनि थियो— भगवान् ! मेरा दाइ, दिदी अनि साथीले जस्तै पढ्न सक्ने बनाइदेऊ ।
०००
ठूलै धर्म गरेर भगवान् खुसी पार्ने हुटहुटी ममा यति थियो कि मैले धर्मकै डरले १२ वर्षसम्म कुखुराको मासु खाइनँ । किनभने, आमाले पनि खानुहुन्थेन । निकै धर्म गरेर अर्को जन्ममा आँखा देख्ने मान्छे भएर जन्मने इच्छा जाग्थ्यो ।
२०५९ सालमा बाको निधन भएपछि १३ दिने काजकिरियामा बसेका बेला पण्डितले गरुड पुराण सुनाए । भन्थे— पूर्वजन्ममा पुस्तक चोरेका मान्छेले यो जन्ममा आँखा नदेख्ने भएर बाँच्नुपर्छ । पण्डित पुराण सुनाएर गइजान्थे । तर यता म मथिंगल हल्लिएर हल्लिइरहन्थेँ ।
०००
१२ वर्षमा खोलो फर्किन्छ भनेझैं मेरो जीवनमा पनि अनेक हन्डरपछि पढ्न पाउने दिन आयो । १२ वर्षको हुँदासम्म मेरो संसार अँध्यारो थियो । जब मैले पढ्ने अवसर पाएँ, त्यसपछि मलाई यो संसार कहिल्यै अँध्यारो लागेन । भक्तपुर आएर होस्टेलमा बसेर पढ्न थालेँ । ममा पढाइको भोक यति थियो कि म प्रथम भएँ ।
एक कक्षा पढेपछि म अर्को वर्ष पाँच कक्षामा पढेँ । यो सबको लामो कहानी छ ।
पढ्दै गरेको स्कुल बन्द भइदियो । म नयाँ संघर्षमा हेलिएँ । सिकाइको बाटोमा कयौं अवरोध, लान्छना, एक्ल्याइ, निराशा, यातना, अपमानका तगारा तेर्सिए । म तिनमा ठोक्किँदै र पन्छाउँदै अघि बढिरहेँ । पारिवारिक, सामाजिक, आर्थिक कारणले बेला बेला निराश र हतोत्साही नभएको हैन, तर मैले आफूलाई पछाडि धकेलिनँ ।
०००
सुन्न, बोल्न, देख्न नसक्ने बहुअपांगता भएकी हेलेन केलर जन्मेको झन्डै सय वर्षपछि जन्मेका भए पनि कमल उनीभन्दा बढी अपांगता भएको जस्तो हुन पुगे । हेलेनको सातै वर्षमा शिक्षारम्भ भयो, कमललाई १२ वर्ष लाग्यो । अझ कमलका दृष्टिविहीन दाइ चिरञ्जीवीले कहिल्यै पढ्न नै पाउनुभएन । उहाँको १४ वर्षकै उमेरमा बिहे भयो । र, उहाँको जीवनले बेग्लै धार समायो । जब कि कमलका बाकै बिहे २० वर्षको उमेरमा भएको थियो ।
कमल लामिछानेको जिन्दगी पढ्दा लाग्छ, कुनै स्वैरकाल्पनिक करुण कहानी पो पढिरहेको छु कि ! अनि फेरि लाग्छ, कुनै उत्साहजनक उपन्यास पो पढिरहेको छु कि ! कमलले पाएको दुःख पनि हदैसम्मको छ र उनले पाएको सुख–खुसी पनि हदैसम्मको छ । १२ वर्षको उमेरमा बल्ल अक्षरारम्भ गर्न पाएका उनको अध्ययन र अनुसन्धान अनि प्राध्यापन प्रेम–फ्रेम यस्तो छ कि उनको सेतो छडी अहिले विख्यात विश्वविद्यालय हार्वर्डका कोठा–चोटामा ट्याकट्याक गर्दो छ । यो सबलाई के भन्ने ? दुवै भन्न सकिन्छ— उनी संघर्षका सारथि हुन् र सफलताका सिम्बोल पनि ।
‘उपयुक्त अवसर र वातावरण दिइयो भने अपांगता सफतलाको मार्गमा बाधा होइन’, कमल भन्छन्, ‘अपांगता भएका मानिसलाई शिक्षा, शिक्षा र फेरि पनि शिक्षा जरुरी छ । यसकै जगमा स्वावलम्बन, सशक्तीकरण र समावेशीकरणका ढोका खोलिँदै जान्छन् ।’
कमल विद्यावारिधि गर्ने पहिलो दृष्टिविहीन नेपाली त हुँदै हुन् । उनले सहपाठी साथीहरूबाट सुनेरै परीक्षामा त्यही लेखाएरै प्रमाणपत्र तहमा फ्याकल्टी टप गरेका थिए ।
दृष्टिविहीन हुनुको सबैभन्दा लामो पीडा यहाँलाई कहिले अनुभव भयो ? कमल यसको जवाफ सोचविचार गरेर दिँदैनन् । उनी फटाफट भन्छन्, ‘जति बेला पढ्न पाइएन, त्यो कालखण्ड सबैभन्दा पीडादायी थियो । स्कुल गए पनि ब्रेलमा पुस्तक पढ्न नपाएका क्षण र अरूमै भर पर्नुपरेका अवस्थाहरू निकै चुनौतीपूर्ण थिए ।’
कमलले पुस्तकमा आफ्नो परिवार— विशेष गरी हरि दाइ— को व्यवहार अन्तिमका धेरै खण्डमा लेखेका छन् । आत्मकथाका नाममा छापिएका धेरै पुस्तकमा आफ्ना तीता कुरा लुकाइन्छ भनेर टिप्पणी गर्नेहरूले नै यस पुस्तकमा घरपरिवारको कुरा धेरै लेख्यो भनेको पनि पढियो । आत्मकथामा आफू, घर, परिवार वरपरको समाजशास्त्र नलेखेर के लेख्ने होला त ? फेरि कमलले यसमा लेखेको कुरा लाग्छ— घरघरको कहानी हो । र यो बेवास्ता गर्नुपर्ने नितान्त व्यक्तिगत कुरा होइन, यो राजनीतिक कुरा हो । मूल कुरा उनले सम्पत्तिमा लोभ हैन, आत्मसम्मानको खोजी गरेको देखिन्छ, पुस्तक पढिसक्दा ।
कमलले लेखेका छन्, ‘मेरै घरमा दाइ र दिदीको विवाहमा मैले जे भोगेँ, त्यसले मलाई धेरै नै पीडा दियो । मैले आफूलाई अस्तित्वहीन, आत्मसम्मानहीन र अनावश्यक अपमानित व्यक्ति ठानेँ ।’
विवाहमा त अर्को परिवार जोडिएको हुन्छ, त्यो परिवारका अघि आफू उभिँदा विवाह संस्कार नै भाँडिन सक्ला रे । उनले जेनतेन चित्त बुझाएछन् । तर, घरका सबै सदस्य काठमाडौं आएर पशुपतिमा लाखबत्ती बाल्दा आफू यहीँ भएर पनि बेखबर भएको पाउँदा उनलाई धेरै नै पीडा भएछ । भन्छन्, ‘सबै प्रतिकूलताको दोष समाजलाई थोपर्ने हाम्रो प्रवृत्ति मलाई मिथ्या लाग्यो । आफ्नै घरका सदस्यहरू आएर लाखबत्ती बाल्दा यहीँ होस्टलमा भएको मलाई सहभागी गराउन कुनै बाह्य परिवेश अनि समाज पक्कै बाधक थिएन ।’ अनुभवको गहिराइबाट आएको यो उनको उद्गारले खास महत्त्व राख्छ ।
नेपालमा मात्र किन जापानमै पनि उनले यस्तो भोगे । अपांगताबारेको गलत बुझाइ विकसित देशमा पनि छ भन्छन् उनी ।
सन् २००६ मा उनी अन्तर्राष्ट्रिय सम्बन्ध र विकास अर्थशास्त्रको कक्षामा थिए । जापानी भाषामा आफू कमजोर भएका कारण अंग्रेजीमा पढाइ हुने कक्षातिर उनी मोडिएका थिए । कक्षामा अंग्रेजी राम्रोसँग बोल्ने कोबायासी थरकी केटीसित उनको परिचय भयो, भनौं न हिमचिम भयो । ऊ कल्चरल एन्थ्रोपोलोजीकी विद्यार्थी । करिब एक वर्ष उनीहरू घनिष्ठ भए । उसले आफूहरूको सम्बन्ध स्वीकारिदिन आफ्ना बाआमालाई अनुरोध गरी । कमलले पनि दुई पटक उसका बाआमालाई भेटे ।
केटीका बाले भनेछन्, ‘अपांग व्यक्ति दुर्भाग्यपूर्ण जीवन बाँच्छन् जस्तो लाग्छ । हामी जापानीहरू उनीहरूलाई सहयोग त गर्छौं तर यसको अर्थ उनीहरूलाई सकारात्मक रूपले हेर्छौं नै भन्ने होइन । जापानीहरूले जे सोचेका हुन्छन्, त्यो भन्दैनन् ।’
कमल कोमल हुन्छन्, ‘आफूहरूको सम्बन्ध अस्वीकार गर्नुको कारण पहिलो त दृष्टिविहीन हुनु र दोस्रोचाहिँ म विदेशी हुनु हो । जति मेहनत गरे पनि हामीले हाम्रो सम्बन्ध दीर्घकालीन हुने गरी अगाडि बढाउन सक्ने सम्भावना देखिएन । सोचेँ, ऊ मेरी भएर पनि हुन सकिनँ ।’
०००
कमललाई आफ्नो विद्यावारिधि शोधप्रबन्ध परिमार्जन गरेर पुस्तक निकाल्न मन लाग्छ । उनी क्याम्ब्रिज युनिभर्सिटी प्रेसमा प्रस्ताव पठाउँछन् । २४ घण्टाभित्र अस्वीकृतिको इमेल आउँछ । उनी छक्क पर्छन् तर निराश हुँदैनन् । क्याम्ब्रिजकै एक सम्पादकसँग कुरा गरेपछि उनी संशोधन गर्छन्, १८ महिना लगाएर । स्वीकृत हुन्छ ।
‘डिस्याबिलिटी, एजुकेसन एन्ड इम्प्लोयमेन्ट इन डिभेलोपिङ कन्ट्रिज : फ्रम च्यारिटी टू इन्भेस्टमेन्ट’ शीर्षक जुराएर उनले पाण्डुलिपि पठाउँछन् । तर उताबाट ‘फ्रम च्यारिटी टू इन्भेस्टमेन्ट’ हटाउन भनिन्छ । तर, कमल मान्दैनन् । भन्छन्, ‘दया र सहानुभूतिका आधारमा हेरिने दृष्टिकोणलाई लगानीका कोणबाट विस्थापित गर्नु पुस्तकको मूल सन्देश हो । फ्रम च्यारिटी टू इन्भेस्टमेन्ट हटाउने हो भने पुस्तकको आत्मा नै मर्छ ।’
उनीहरू कन्भिन्स्ड हुन्छन् र पुस्तक कमलअनुसारै छापिन्छ ।
०००
कमलले रडियो सगरमाथामा ‘समानताका स्वरहरू’ रेडियो कार्यक्रम चलाउँथे । आफ्नो अन्तर्वार्ता लिन आएका जापान सोसाइटी फर द रिहाबिलिटेसन अफ पर्सन्स विथ डिस्याबिलिटिजका जापानीहरूलाई उनी पहिल्यै रडियोमा अन्तर्वार्ता लिइदिन्छन् । कमल भन्छन्, ‘मेलै अन्तर्वार्ता लिँदा उनीहरू यति नर्भस थिए कि कार्यक्रम नसकिउन्जेल खाना त परको कुरा, चियासम्म पनि पिएनन् । एकातिर अंग्रेजीमा बोल्नुपर्ने र अर्कातिर सञ्चारमाध्यमको अनुभव, त्यो पनि विदेशी मिडियामा ।’
पछि उनीहरूले कमलको अन्तर्वार्ता लिए । कमल उत्साहित र गम्भीर थिए । किनकि यसले उनको देशान्तर शैक्षिक ढोका खोल्नेवाला थियो । उनलाई मन पर्ने र नपर्ने तीन तीनवटा शब्द कारणसहित बताउन भनियो । कमलले एकछिन सोचर भने, ‘आई बिलिभ इन ड्रिम, आई बिलिभ इन चेन्ज एन्ड आई बिलिभ इन पेसेन्स एन्ड पोजिटिभ थिंकिङ ।’
कमल जीवन यात्रा हो र सपनाचाहिँ गन्तव्य हो भन्दै भन्छन्, ‘म अहिले पनि यिनै तीन कुरामा विश्वास गर्छु ।’
हामीले सुन्दा होस् या पढ्दा कमल आफूलाई धेरै प्रेम गर्छन् । यो उनको आत्मविश्वास घरिघरि कसैलाई घमण्डका रूपमा पनि देखिँदो रहेछ । तर, उनी प्रयास गर्न सकेसम्म कहीँ केही छोड्दैनन् । उनलाई दृष्टिविहीनले यो सक्दैन, त्यो सक्दैन भन्ने सुन्दा त्यही काम गरेर देखाइदिन मन लाग्छ ।
उनी आफूलाई भीआईपी बताउँछन्, अब कसको के लाग्छ !
‘अन्य मानिस जो केही हासिल गरेपछि मात्रै भीआईपी बनेका हुन्छन्, मचाहिँ जन्मजातै भीआईपी हुँ । भीआईपी अर्थात् भिजुअल्ली इम्पेयर्ड पर्सन ।’
२००७ जनवरीमा जापानको तेन्जी माइनिची पत्रिकाले वर्षका उत्कृष्ट व्यक्तिहरू भनेर उनलाई पनि समेटेको थियो । जापानकै सबैभन्दा पुरानो अंग्रेजी दैनिक ‘जापान टाइम्स’ले २००९ जुन ६ मा उनीबारे एउटा लामो फिचर स्टोरी छापेको रहेछ, नेप्लिज भीआईपी एड्भोकेट्स इन्भेस्टिङ इन डिस्याबिलिटी भनेर ।
संसारका थुप्रै बौद्धिक र विकासे फोरममा उनले प्रस्तुति दिएका छन् । तहल्का मच्चाएका छन् । सम्मान पाएका छन् । जस्तै : २०१५ मेमा दक्षिण कोरियाको इन्चियोनमा झन्नै १३० देशका शिक्षामन्त्री र सरकारका प्रतिनिधि, दुईपक्षीय र बहुपक्षीय संस्थाका प्रमुखलगायतको सहभागिता थियो । कमललाई पनि निम्त्याइएको थियो । अपांगता भनेको बढी खर्च लाग्ने क्षेत्र हो भन्ने नीतिनिर्माताको भ्रम र पन्छाइ चिर्नु थियो, उनलाई । उनले तथ्यांकसहित मन्तव्य दिए, अपांगतालाई शिक्षाका लक्ष्यमा समावेश नगर्दा कसरी गरिबी घट्छ भनेर ।
त्यही कार्यक्रमको अन्त्यमा एउटा मात्र प्रश्न लिने भनियो । उनले सुरुमै हात उठाएर त्यो एक प्रश्न आफ्नो नहुन्जेल हात तल झार्दै झारेनन् । मान्छेको भीड छिचोल्दै श्रीमती अनुले डोहोर्याएर माइक भएको ठाउँमा लिएर गइन्, उनलाई ।
कमलले भने— तपाईंहरूले यो कार्यक्रम जसरी सञ्चालन गर्नुभयो, त्यो निकै राम्रो हो । महिलाको शिक्षामा लगानी गर्दा १० प्रतिशत प्रतिफल आउने कुरा पनि सही नै हो । सँगसँगै अर्को सही तर बेवास्ता गरिएको कुरा के पनि हो भने त्यस्तै लगानी गरिदिने हो भने अपांग व्यक्तिमा त्यस्तो प्रतिफल झन्नै १९ देखि २५ प्रतिशतसम्म हुने मलगायतले गरेका अध्ययनले सिद्ध गरिसकेका छन् । चाहे नेपाल भन्नुस् या बंगलादेश या फिलिपिन्स, ती सबैमा गरिएका अध्ययनले शिक्षाको भूमिका अपांगता भएका नागरिकमा अझै बढी महत्त्वपूर्ण देखिएको छ । तपाईंहरूलाई थप जानकारी आवश्यक भए म सहयोग गर्न तयार छु । तर, कुनै पनि अर्थमा सन् २००० मा सेनेगलको डकारमा झैं अपांगतालाई शिक्षाका लक्ष्यहरूमा नसमेट्ने छुट यसपटक हामीलाई छैन ।’
कमलले कमाल गरे । हल तालीले गुञ्जायमान भयो ।
श्रीमती र ह्वाइट केनको साथमा भीड छिचोल्दै बोल्न अघि बढेका उनी फर्किएर आफ्नो सिटमा आउँदा धन्यवाद र अंकमाल धेरै पाए । कमलको प्रस्तुति र कमेन्ट यस्तो भइदियो कि निर्देशक इरिना भोकोबाले भनिन्— तपाईंले भन्नुभएजस्तै गरी अनुच्छेद ७ मा अपांग व्यक्तिहरूको शिक्षाबारे समेटिएपछि त खुसी हुनुहुन्छ होला नि !
कमलले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूमा अपांगतालाई समावेश गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । अपांगतालाई दयाको सट्टा लगानीको अवधारणाले हेरिनुपर्ने भनेर उनले पुस्तकमार्फत उठाएको दृष्टिकोणलाई धेरैले ‘रियल गेम चेन्जर’का रूपमा टिप्पणी गरेका छन् ।
कमल खुसी छन् । कमल खुसी छैनन् ।
खुसी किन छन्, भन्नै परेन अब । दुःखी चैं किन छन् त ?
संसारमा जति नाम र दाम कमाए पनि उनी आफ्नो देश सम्झेर दुःखी हुन्छन् । यहाँका बाटाघाटा यस्ता छन् कि उनी भन्छन्— लडिसकेपछि मात्र थाहा पाउने हाम्रो नियति हुन्छ । आफू पढ्दाजस्तो तीन दशक पहिलेकै अवस्था छ, अपांगता भएकाका लागि । परीक्षामा सहयोगी कसैले नलेखिदिने हो भने परीक्षा आफैंले दिन सक्ने व्यवस्था छैन ।
यहाँका एटीएममा बोल्ने प्रविधि छैन । प्रविधिले फड्को मार्दासमेत बैंकिङ कारोबारमा सही गर्न नसक्नेहरूले अझै पनि ल्याप्चेकै भर पर्नु परेको छ । स्वतन्त्रतापूर्वक—गोप्यपूर्वक पैसा भिक्न र निकाल्न कस्तो समस्या !
उनी धेरै देश—विश्वविद्यालय निर्धक्क घुमेका छन् । तर, उनलाई आफ्नै देश अझ भनौं राजधानी सहर घुम्न जति सकस त्यता परेन । उनी सडक विस्तारलाई लिएर तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई चिठी–लेख लेख्छन् । उनी ‘उही मुटु, उही भावना’ स्तम्भमार्फत सात वर्षदेखि नेपालका ‘उही समस्या, उही कारण’बारे लेखिरहेकै छन् । हाल उनको स्तम्भ अन्नपूर्ण पोस्ट्मा मासिक रूपमा छापिन्छ ।
०००
यति पठनीय पुस्तक पहिलो पाण्डुलिपिमै छापिएको हो कि जस्तो चाहिँ नहुनुपर्ने । पुस्तकमा त्रुटि भरमार छन् । महाभारतमा कर्णले बलरामसित धनुर्विद्या सिकेका होइनन् । विश्वविद्यालयको नाम सिराक्यु होइन । पीएचडीको उपाधि पाउने पहिलो दृष्टिविहीन नेपाली, १२ वर्षको उमेरपछि सधैं बाहिरै बसेँ, यस्ता केही प्रसंग धेरै ठाउँमा लेखिएको छ । पाठकले सुरु परिच्छेदमै थाहा पाइसकेका कुरा पछिल्तिर पनि आइरहेका छन् ।
आत्मकथा भनेर छापिएको पुस्तकमा ‘उही मुटु, उही भावना’ स्तम्भका केही असान्दर्भिक लेख समेट्ने लोभ किन गरिएको होला ? विवेदपूर्ण, आवज, अध्ययक्ष, रामहरिकि बहिनी, समाइलोका लागि, चङ्गचेट, सकनँ, वाधाजस्ता बग्रेल्ती हिज्जेगत त्रुटिले पठनमा बाधा पार्छ । उही पृष्ठमा कतै बीबीसी, कतै बिबिसी पनि भएको छ ।
‘दुई हप्ते चुकुबाको बसाइ’ कि ‘चुकुबाको दुई हप्ते बसाइ’ ? ‘आफैं बोक्सी, आफैं धामी’ जस्तो अन्धविश्वासी–आपराधिक उखान कमल सरको जस्तो आई ओपनर पुस्तकमा अलि सुहाएन कि ? (उखान प्रयोग नै गर्न नहुने होइन, ‘नहुनु मामाभन्दा...’ उखान प्रयोग गरेजसरी वा असहमतिको टिप्पणीसहित प्रयोग गर्न सकिन्थ्यो होला ।)
‘अन्तर्दृष्टि’ आत्मकथा आद्योपान्त पढिसक्दा यति आशामुखी लाग्यो कि आत्महत्या गर्नै आँटेको अघोरै उदास, निराश र हतास मान्छेले पनि एक पल्ट पढ्यो भने ऊ भन्दो हो— लभ यु डियर जिन्दगी !
अपांगता भएका अझ विशेषगरी दृश्यविहीनहरूप्रतिको हाम्रो आग्रह र पूर्वाग्रह, पाप र अपराध, चिन्ता र चिन्तन, दया र माया, अवसर र आरक्षण, विचार र विमर्शबारे गहिरो र फराकिलो गरी सोच्न यो पुस्तक प्रमुख सन्दर्भसामग्री हुनेछ । दृश्यविहीनहरूले गर्ने प्रेम र यौनको अनुभूति र अनुभव पनि यसमा रोचक छ ।
‘तपाईं आफैंले यो किताब ब्रेलमा पनि नछापेको चाहिँ किन हो नि सर ?’ हालैको भेटमा मैले सोधेँ । उनले भने, ‘यो पुस्तक हामी जस्ताले भन्दा पनि तपाईंहरूजस्ताले पढ्न जरुरी छ ।’
हुन पनि हो, हामी जस्ता ‘शिक्षित असाक्षर’ (कमलले धेरै ठाउँमा लेखेको शब्दावली)ले आफ्नो सोच बदल्न यो पुस्तक पढ्नुपर्छ । छुवाछूतविरुद्धको चेतनामूलक कार्यक्रममा विभेदकारी समुदाय झनै सहभागी हुनुपर्छ नि त ! महिला हिंसाबारेको कार्यक्रममा महिला विरोधी तत्त्व त झनै सहभागी हुनुपर्छ नि त !