लाखौं लक्खीदेवी

लाखौं लक्खीदेवी

प्राध्यापन, सांगठनिकका अतिरिक्त सिर्जना, समालोचना, सम्पादन, अनुवाद आदि अनेक क्षेत्रका माध्यमबाट नेपाली साहित्यको साधनामा जुटेकी सुन्दासलाई हार्दिक श्रद्धाञ्जलि।


बीए दोस्रो वर्षको नेपालीमा एक विषय शोधपत्र लेख्न पाइने जानकारी पाएपछि हामी थुप्रै साथी हौसिएका थियौं। पछि विभागीय प्रमुख तथा क्याम्पस प्रमुखले अनेकतिर देखाएर शोधपत्र नलेख्नाका लागि दबाब दिन थालेपछि धेरै साथी वैकल्पिक विषयको कक्षामा हाजिर हुन थाले। म र मधुजी मात्र अटेरी भएर कक्षामा उपस्थित नभएकाले अन्त्यमा केही नलागी हामीलाई शोधपत्र लेख्ने अनुमति दिन क्याम्पस प्रशासन बाध्य भयो।

मधुजीले नेपाली समालोचना र मैले नेपाली महिला कथाकारसम्बद्ध क्षेत्र चयन गरी शोधप्रस्ताव बुझायौं। शोधप्रस्तावका नाममा केके लेखेर बुझाइयो अहिले सम्झँदा आफैंलाई हाँसो उठ्छ किनकि शोध एवं शोधप्रस्तावबारे केही जानकारी नै नभएको अल्लारेमा उत्सुकता अनि उत्साह मात्रै थियो। शोधप्रस्ताव स्वीकार भएर शोधपत्र लेख्ने अनुमति पाएपछि ठूलै विजय गरेजस्तो अनुभूति पनि नभएको होइन।

कथित शोधप्रस्ताव स्वीकार भएपछि सामग्री संकलनका लागि विभिन्न साहित्यकारलाई प्रत्यक्ष भेट्न पाइने कल्पनाले मेरो मन फुरुंग भयो। साहित्यकार भनेपछि अर्कै ग्रहबाट आएका एलियन हुन् कि जस्तो लाग्थ्यो त्यतिबेला। त्यसमाथि पनि तारानाथ शर्मा र पारिजातबारे अनेक किंवदन्ती सुनिन्थे सुनाइन्थे। त्यसैले उनीहरूसँग भेट्न एकदम उत्सुक थिएँ।

सामग्री संकलनकै निहुँ पारेर तारानाथ शर्मालाई भेट्न गएका बेला उहाँले दार्जिलिङका कथाकारबारे के गर्ने नि भनी सोध्नुभयो। थेसिस लेख्ने भनेर देखाएको अल्पबुद्धिको ठेट्नो उमेरको चुरीफुरी त त्यति बेलै कहाँ हरायो कहाँ पत्तै भएन। त्यसपछि उहाँले नै दार्जिलिङकी साहित्यकार लक्खीदेवी सुन्दास अहिले काठमाडौंमै हुनुभएको कुरा बताउँदै उहाँ बसेको मारवाडी सेवा समितिको गेस्ट हाउसको कोठा नम्बरसमेत दिनुभयो।

म लक्खीदेवी सुन्दास बसेको होटल खोज्दै गएँ र ६ नम्बरको ढोका ढकढकाएँ। उहाँले ढोका खोलेर भित्र बोलाउनुभयो, त्यतिखेर उहाँ पूजा गर्दै हुनुहुन्थ्यो। पूजा सकिएर बडो स्नेहपूर्वक मलाई प्रसाद लगाइदिएर नैवेद दिएपछि उहाँसँग कुराकानी सुरु भयो। मैले आफू आउनुको प्रयोजन बताएँ, उहाँले बडो स्नेहसाथ आफूले सम्झेजति महिला कथाकारका नाम र कथाकृतिका बारेमा टिपाउनुभयो। ठूलै खजाना फेला परेको अनुभूतिका साथ पछि भेट्ने सल्लाह गरी त्यस दिन हामी छट्टियौं। पछि उहाँ काठमाडौं आउँदा दुईपटक औपचारिक भेट मात्र भयो, अनौपचारिक कुरा हुन पाएन।

लामो समयपछि नेपाली महिला साहित्यकारको इतिहास लेख्ने योजना सुनाउँदै दार्जिलिङकी गीता छेत्रीसँग सामग्री संकलनका लागि सहयोग गर्न अनुरोध गरेकी थिएँ, गीताजीले त स्थानीय एउटा पत्रिकामा विज्ञापनै छपाइदिनु भएछ। त्यो विज्ञापन देखेर लक्खीदेवीले दार्जिलिङबाटै फोन गरेर आवश्यक सामग्री जुटाइदिने वचन दिनुभयो र त्यस क्षेत्रका अनेक व्यक्तिसँग सम्पर्क पनि गराइदिनुभयो। यसरी महिला साहित्यकारसम्बन्धी मेरो अध्ययनमा उहाँले बडो स्नेहसाथ निःस्वार्थपूर्वक मलाई सहयोग गर्नुभएको हो।

‘भारतीय नेपाली महिला साहित्यकार’ नामक कृतिको विमोचन सिलिगुडीमा हुने तय भएपछि सिलिगुडी घुम्ने, अग्रज साहित्यकारसँग भेट्ने कल्पना गर्दा मनमा एकप्रकारको उत्साह पलाएको थियो। यसपालि त लक्खीदेवी सुन्दासको घरैमा गएर उहाँको आशीर्वाद थाप्ने विचार गरेकी थिएँ र विन्द्या सुब्बालगायत अन्य साथीहरूलाई भनेकी पनि थिएँ। तर आयोजकले त्यसै दिनको टिकट तय गरेका रहेछन्। साहित्यकारसँग भेट्नु त परैको कुरा मलाई भेट्नै भनेर निकै टाढाबाट आएका साथीहरूसँग समेत विमोचन स्थलमै पनि भलाकुसारी गर्न पाइएन। प्लेनका लागि ढिलो हुन्छ भन्दै माला, खादासमेत नफुकाली त्यहाँबाट हामी झापातर्फ लाग्यौं। यति हतार कि होटलमा भएको लगेजसमेत लिन नभ्याएकाले पछि विभु, विमल र प्रभाकरले ल्याइदिए। त्यहाँका अग्रज साहित्यकार विशेष गरी लक्खीदेवीसँग भेट्न नपाएका कारण मन खिन्न भइरह्यो। उडान छुट्छ भनेर धोती न टोपी गर्दै त्यहाँबाट हिँडेका हामी झापा आइपुगेपछि चौटा खान गाकी बूढीको स्थितिमा पुग्यौं।

लक्खीदेवीसँग कुनै न कुनै दिन त फेरि भेट्ने मौका जुर्ला नि भनेर आशावादी भए पनि उहाँको स्वास्थ्यस्थिति निकै दयनीय हुँदै गएको जानकारी पाइरहेका बेला एउटा नराम्रो समाचार सुन्नुप¥यो। नेपालका मनिषि मदनमणि दीक्षित महायात्रामा प्रस्थान गरेकै दिन उता लक्खीदेवी पनि यस भौतिक संसारबाट बिदा हुनुभएछ। उहाँसँग आशीर्वाद लिने अनि उहाँप्रति कृतज्ञता ज्ञापन गर्ने धोको अधुरै रहन गयो।

लक्खीदेवी सुन्दासको जन्म १९३४ मार्च २७ का दिन कलकत्तामा भएको हो। दर्शनशास्त्र र नेपालीमा एमएसम्मको शिक्षा हासिल गरेकी सुन्दासले एलएलबीलगायत हिन्दीमा साहित्यरत्न र नेपालीमा विद्यावारिधि गरेको देखिन्छ। लरेटो कलेज दार्जिलिङमा प्राध्यापन गर्नुका साथै दार्जिलिङ सरकारी महाविद्यालयको नेपाली विभागको अध्यक्ष तथा सोही संस्थाको प्राचार्यसमेत रहेकी यिनले पश्चिम बंगाल सरकारको पार्वत्य सचिवका रूपमा पनि काम गरेको देखिन्छ। नेपाली साहित्य सम्मेलन दार्जिलिङको अध्यक्ष, भारतीय नेपाली नारी साहित्यिक मञ्च वसुधाको अध्यक्ष एवं संरक्षक रहेकी सुन्दासले विवेचन, दियालो तथा वसुधाजस्ता पत्रिकाको सम्पादन पनि गरेकी थिइन्।

लक्खीदेवी सुन्दासका सम्भावित अर्थ समर्पित एकान्त शीर्षक कविता, आहत अनुभूति शीर्षक कथा तथा समय र समीक्षण नामक समालोचनात्मक कृति प्रकाशित छन्। समकालीन एवं अग्रज साहित्यकारका थुप्रै कृतिको सम्पादन गरेकी लक्खीदेवीले अंग्रेजीमा लेखिएको ‘बल्लतोल : मलायम पोइट’ नामक कृतिलाई वल्लतोल नाम दिई नेपालीमा अनुवाद गरेकी छन्। यिनले कलिलै उमेरमा लेखेका थुप्रै नाटक कलकत्ता तथा दार्जिलिङमा मञ्चन गरिएको उल्लेख पाइन्छ।

सिर्जना, समालोचना, सम्पादन, अनुवाद आदि अनेक क्षेत्रमार्पmत नेपाली साहित्यको सेवामा जुटेकी सुन्दास रत्न श्री स्वर्ण पदक, भानुभक्त पुरस्कार, लोकप्रियादेवी पुरस्कार, सैन्यध्वज–नन्ददेवी पुरस्कार, मोहनलाल साह पुरस्कार, माइकल मधुसूदन दत्त अन्तर्राष्ट्रिय पुरस्कार, भारतीय साहित्य अकादमी पुरस्कार प्राप्त गर्नुका साथै नेपाल र भारतका अनेक संघसंस्थाबाट सम्मानित पनि भइसकेकी छन्।

नेपालबाहिरको नेपाली समाजमा नेपाली जातीयताको अस्तित्व संकटमा परेको भाव अभिव्यञ्जित लक्खीदेवी सुन्दासका कवितामा नेपाली जातीय अस्तित्वलाई सबैले मिलेर जोगाउनुपर्ने दृष्टिकोणको प्रस्तुति पाइन्छ। यिनका कवितामा देश र जनताका लागि जीवन समर्पित गर्ने सहिद अमर एवं सौभाग्यशाली हुन्छ भन्ने भावको प्रकटीकारणका साथ सहिद र तिनका परिवारप्रति सम्मान प्रकट गरिएको छ। वर्तमान विश्वमा मानवीय मूल्यहरू हराउँदै गएको र मानवीय अस्तित्वको जगेर्ना हुनुपर्ने भाव अभिव्यञ्जित यिनका कवितामा संकटपूर्ण अवस्थामा बाँच्न विवश मान्छेको मनोदशा पनि चित्रित छ। लैंगिक विभेदको विरोधका साथ समतामूलक समाजको अपेक्षा पाइने यिनका कवितामा पौराणिक विम्ब र प्रतीकको प्रयोग सहज ढंगमा भएको देखिन्छ।

युगीन जीवनका विकृति, विवशता, अभाव आदिका कारण धराशयी हुन पुगेको मानवीय संवेदना अभिव्यञ्जित लक्खीदेवीका कथामा पितृसत्तात्मक समाजमा नारीले भोग्नुपर्ने शारीरिक एवं मानसिक प्रताडनाहरू समेटिएका छन्। मनोविश्लेषणको प्रधानता पाइने यिनका प्रायः कथामा मानिसभित्र रहेको हीनताग्रन्थीको विश्लेषण गरिएको छ। अहिलेको शिक्षाले ज्ञान दिए पनि विवेक दिन नसकेको दृष्टिकोण अगि सारिएका यिनका कथामा मानवीय अस्तित्वको खोजी पनि गरिएको छ। यिनले रूपनारायण सिंहको भ्रमर उपन्यासकी सहभागी मायालाई प्रयोग गरेर पनि कथा सिर्जना गरेकी छन्। यसरी अग्रज साहित्यकारका पात्रलाई प्रयोगशील ढंगले सहभागीको प्रयोग गर्दै नारीवादी अवधारणा अगि सार्नु यिनको कथात्मक वैशिष्ट्य रहेको छ।

लक्खीदेवी सुन्दासका समालोचनात्मक लेखहरूमा भारतीय नेपाली साहित्यका विविध पक्ष समेटिएका छन्। दार्जिलिङका स्रष्टा र तिनका कृतिमा केन्द्रित भए पनि यिनका कतिपय समालोचना पश्चिमी साहित्यमा देखापरेका विपठन, विनिर्माणवाद तथा नारीवादका निकट देखिन्छन्। समालोचनाबाहेक एक दर्जनजति साहित्यिक कृतिको सम्पादन गरेकी यिनको समालोचकीय कौशल सम्पादित कृतिमार्पmत पनि देखिन्छ। यिनले भूमिका लेखेका कृतिमा पनि समालोचक व्यक्तित्वको प्रभाव भेटिन्छ। सैद्धान्तिक, ऐतिहासिक, तुलनात्मक, निर्णयात्मक, जीवनीपरक, समाजशास्त्रीय, मनोवैज्ञानिक आदि विभिन्न प्रकारका समालोचना लेखेको पाइए पनि यिनको लेखनमा देखापरेको मूल प्रवृत्तिचाहिँ प्रभाववादी समालोचना हो।

प्राध्यापन, सांगठनिकका अतिरिक्त सिर्जना, समालोचना, सम्पादन, अनुवाद आदि अनेक क्षेत्रका माध्यमबाट नेपाली साहित्यको साधनामा जुटेकी सुन्दासलाई हार्दिक श्रद्धाञ्जलि।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.