विद्यार्थीको घर जाँदा...

विद्यार्थीको घर जाँदा...

उनका एक दाइ कारागारमा सजाय भोग्दैछन्। गरिबी, त्यसमाथि घरको कलह, बालकमा कस्तो असर परिरहेको होला ? हामी अपेक्षाचाहिँ धेरै गर्दा रहेछौं !


शिक्षकले स्कुलमा पढाएर मात्र पूर्ण रूपमा विद्यार्थीको अवस्था यकिन गर्न मुस्किल पर्ने रहेछ। मलाई लाग्थ्यो— विद्यार्थीले किन नपढेका होलान् ! किन आफ्नो व्यवहार नसुधारेका होलान् ! जाबो एउटा वाक्य पनि किन लेख्न नसकेका होलान् !

तर जब म विद्यार्थीसँग घुलमिल हुन थालेँ अनि उनीहरूसँग कक्षा कोठाभन्दा बाहिर कुरा गर्न थालेँ, त्यसपछि अलिअलि गर्दै उनीहरू मसँग खुल्न थाले। केहीले खाजा खान बोलाउन थाले, केहीले घरमा बस्न आउनु न भनेर आग्रह गर्न थाले। यसरी उनीहरूको आग्रह स्वीकार्दै म होम भिजिटमा जान थालेँ, मेरा विद्यार्थीकहाँ।

पहिलो चोटि होम भिजिट जा“दा म यहाँ (तालामराङ, सिन्धुपाल्चोक) पढाउन आएको एक महिना बित्दै थियो। त्यो बेला मेरो रमजान पर्व चलिरहेको थियो। मलाई मेरा सहकर्मीले विद्यार्थीको घर जाने हो भनेपछि मैले तुरुन्तै जान्छु भनिहालेँ। तिमीलाई गाह्रो होला है भनेर सोध्दा मैले केही हुँदैन भनेँ। मलाई त्यो अवसर गुमाउनु थिएन। त्यसपछि हामी सँगै निस्क्यौं।

हामीले नेपाने भन्ने ठाउँमा एकछिन विद्यार्थीलाई पर्खियौं। चारजना विद्यार्थी आइरहेको देखेपछि उनीहरूतर्फै लम्क्यौँ। त्यसपछि हाम्रो यात्रा सुरु भयो पञ्चकन्यातिर। झन्डै एक घण्टाको हिँडाइपछि हामी एकएक गर्दै विद्यार्थीका घरमा बस्दै गयौं। उनीहरूका परिवारसँग कुरा गर्‍यौं। विद्यार्थी र तिनका परिवारको अवस्था बुझ्दै जाँदा मेरा विद्यार्थी किन कमजोर भएका रहेछन् भन्ने कारण खुल्दै गए।

चार–पाँचजना विद्यार्थीको घर गएपछि हामी मानेभञ्ज्याङको उक्कालो उक्लियौं। त्यो बेला म साह्रै थाकिसकेको थिएँ। माथि पुग्दा पानी परिरहेको थियो। एकजना विद्यार्थी अन्तै जान लागेकी रहिछन्। हामीलाई देखेपछि उनले घरभित्र आउन आग्रह गरिन्। उनको घर जस्ता पाताले बनेको थियो। सायद भूकम्पपछिको अस्थायी घर होला। प्रायः सबैको घर यस्तै देखिन्थ्यो। कोठाभित्र उनकी हजुरआमा हुनुहुन्थ्यो। तामाङ भाषामा उहाँले खोइ के भन्नुभयो, हामीले बुझेनौं। उहाँलाई देख्दा बिरामी देखिनुहुन्थ्यो। ती विद्यार्थीले चाउचाउ पकाएर ख्वाइन्। त्यो बेलासम्म हामी १०­–१२ जना भइसकेका थियौँ। उनले सबैलाई खुवाइन्। व्रत भएकाले मैलेचाहिँ खाइनँ।

केही बेरको कुराकानीपछि हामी त्यहाँबाट निस्क्यौं। पहाड उक्लिँदै, झर्दै अनि जंगलमा भेटिएका ऐँसेलु टिप्दै हिँड्यौं हामी। मैले त खाइनँ तर अरूहरूले रमाइलो मान्दै टिप्दै खाए। व्रत बसेको मैले पहिलो पटक होम भिजिटको अनुभव बटुलेँ।

दोस्रो पटकको होम भिजिटले ममा परिवर्तन ल्यायो। आफूले सोचेको विषय र त्यसको वास्तविकता अर्कै हुँदो रहेछ।

मैले यहाँ पढाउन थालेको तीन महिना पुग्दै थियो। पहिलो त्रैमासिक परीक्षा चलिरहेको थियो। शुक्रबारको दिन। कक्षा ८ पढ्ने एउटी छात्राले आफ्नो घर आउन आग्रह गरिन्। उनले धेरै दिनदेखि कर गरिरहेकी थिइन्। मलाई भने उनको घर जान अप्ठ्यारो लागिरहेको थियो। कारण— म केटौले पुरुष शिक्षक। त्यसरी कुनै छात्राको घर जाँदा समाजले के सोच्ला ?        परिवारले के भन्ला भनेर उनको अनुरोधलाई टारिरहेको थिएँ। उनले धेरै ढिपी गरेपछि जान तयार भएँ।

वातावरण घमाइलो थियो। अरू विद्यार्थी पनि हामीसँगै गइरहेका थिए। एक घण्टाको हिँडाइपछि हामी उनको घर पुग्यौँ। घर जानासाथ उनी गृहस्थीमै व्यस्त हुन थालिन्, राति अबेरसम्म। खाजा पकाउने, भाइबहिनीलाई ख्वाउने, भाँडा माझ्ने र रातिको खाना बनाउने। उनले सबै काम सक्दा रातको १० बजिसकेको थियो।

त्यसपछि के पढ्न खोजेकी थिइन्, निद्रादेवीले उनलाई आफ्नो संसारमा बोलाइहालिन्। बिहान उठेपछि पनि उनलाई गृहस्थीले छोडेन। उनले बिहानको सबै काम सक्दा ७ बजिसकेको थियो। अतिरिक्त कक्षाका लागि उनी ८ बजे स्कुल पुग्नुपथ्र्यो। त्यसअघि एक घण्टाको यात्रा तय गर्नुपथ्र्यो उनले।

अघिल्लो साँझ उनकी आमासँग कुरा गर्दा र उनको विचार सुन्दा साह्रै छटपटी भएको थियो मलाई। कारण ? आफ्नै छोरीमाथि अविश्वास। उनले भनेकी थिइन्— सर मेरी दुइटै छोरीले भागेर विवाह गरिन्। यो पनि उत्ताउली छे। खै यसको पनि विश्वास लाग्दैन। कहिले हो, यो पनि जाने हो भनेर भन्दै गर्दा एक वर्षपछि उनको कुरा साँचो साबित भएछ। अहिले उनी गर्भवती छिन् रे। काठमाडौंमा काम गर्छिन् रे भनेर उनकै साथीहरूबाट सुन्नमा आएको छ। उनी पढाइमा राम्रै थिइन्। तर घरको आर्थिक अवस्था दयनीय भएकाले घरकाले पनि प्रोत्साहन गरेनन्। उनीमाथि अविश्वास भएको हुँदा सायद उनले त्यस्तो अवस्थासँग गुज्रिनु पर्‍यो होला। होम भिजिटले मलाई अनुभव गराएको कुरा त्यो पनि हो।

अर्को कुरा, विद्यार्थीसँगै होम भिजिट गर्दा उनीहरू खुल्ने गर्छन्। आफ्ना कथाव्यथा बताउँछन्। एक जना मैले पढाउने विद्यार्थी पढ्न त कोसिस गर्थे तर सधैं डराएजस्ता देखिन्थ्यो। पछि उनले मलाई कारण बताए। उनका आमाबुवाबीच प्रायः झगडा पर्ने गर्दो रहेछ। उनीहरूबीच हात हालाहालसमेत हुँदा उनलाई साह्रै डर लाग्दो रहेछ। कति दिन त उनी एक्लै जंगलमा सुतेका रहेछन्। कहिलेकाहीँ साथीहरूकहाँ बास बसेको बताए उनले मलाई। उनका एक दाइ अहिले कारागारमा सजाय भोग्दै रहेछन्। अब भन्नुस्, गरिबी अनि घरको कलहले गर्दा बालबालिकामा कस्तो असर परिरहेको होला ? त्यस्तो अवस्थामा हामीले उनीहरूबाट के अपेक्षा गर्ने ?

म अर्को विद्यार्थीको घर पनि पुगेँ। भुइँचालोले भत्केको उनको घर अहिलेसम्म बनाउन सकिएको रहेनछ। उनको परिवार अझै गोठमा बसिरहेको देख्दा मेरो मन खिन्न भयो।

गाउँघरतिर मलाई बिहेभोज, व्रतबन्ध अनि पास्नीमा बोलाउँछन्। त्यस्तो जमघटमा आर्जन गरेको मेरो अनुभव गजबको छ। त्यस्ता कार्यक्रममा मैले उनीहरूको संस्कारसँग घुलमिल हुन पाएँ। स्थानीय परिकार खाँदै उनीहरूका दुःखसुखका कुरा सुन्न पाएँ। उनीहरूसँग सम्बन्ध जोड्न पाएँ। कसैको दाइ हुन पाएँ, कसैको भाइ अनि कसैको गफ गर्ने साथी।

होम भिजिटकै कारण विद्यार्थी चिनेर उनीहरूको पढ्ने सोख र अवस्था थाहा पाएँ। त्यसपछि कक्षा ११ र १२ पढ्नका लागि पा“च जना विद्यार्थीलाई काठमाडौंको जेभियर इन्टरनेसनल कलेजमा छात्रवृत्ति दिलाउन सफल पनि भएँ। होम भिजिटले विद्यार्थीका कतिपय विषय पारदर्शी गर्ने रहेछ। त्यसअनुसार उनीहरूलाई सहयोग गर्न उत्प्रेरित गर्दो रहेछ।

वास्तवमा शिक्षकहरूलाई होम भिजिटका लागि प्रोत्साहन गरेमा विद्यार्थी र समाजमा सकरात्मक परिवर्तन ल्याउन सकिने रहेछ।


— लेखक टिच फर नेपालमार्फत श्री तेर्से माध्यमिक विद्यालय, तालामराङ, सिन्धुपाल्चोकमा अध्यापन गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.