जी उपाध्यक्षजी

जी उपाध्यक्षजी

अध्यक्षको कोठाबाट फाइल लिएर रामचन्दर आफैं आउँथे। रमैयादेवीले सही गर्नुअघि सोध्ने एउटै कुरा हुन्थ्यो, ‘कत्त’ सही कर परतै ?’


रामचन्दरले दरबाजामा मोटरसाइकल रोक्दा रमैयादेवी पनि दरबाजामा आइपुगेकी थिइन्। रामचन्दर ढोका ढकढकाउन पुग्नु र रमैयादेवीले ढोका खोल्नु एकै पटक भयो। रामचन्दरलाई देख्नेबित्तिकै रमैयादेवीले धोएका लुगाले भरिएको बाल्टिन तल राखिन्। टाउकोमा सारीको सप्को हालिन्।

‘की हालहाल ?’ रामचन्दरले फिस्स हाँस्दै सोधे। रमैयादेवीको जवाफ नकुरीकन उनी आँगनमा छिरे। उनी आँगनमा छिर्नु र रमैयादेवी बाहिर निस्कनु एकै पटक भयो। बाहिर आएपछि रमैयादेवीले मुन्टो फर्काएर रामचन्दरलाई पछाडिबाट हेरिन्। रामचन्दर हातमा मोटरसाइकलको चाबी घुमाउँदै ओसरातिर जाँदै थिए। त्यो त्यही चाबी थियो जुन रमैयादेवीका बाले उनको बिहेमा दाइजो दिएका थिए। तयारी त साइकल दिने थियो तर बिहेको दुई दिनअघि मोटरसाइकलको डिमान्ड आयो। त्यो डिमान्ड पूरा गर्न आफ्ना बाले गरेको भागादौडी उनले बिर्सेकी थिइनन्। काकाकी छोरीको सुन बेचेपछि बिहेको अघिल्लो साँझ आँगनमा मोटरसाइकल आएको थियो।

विवाहको पहिलो वर्षसम्म रमैयादेवीले पनि मोटरसाइकलको पछाडि बस्न पाइन्। त्यसपछि बिस्तारै त्यो क्रम पातलिँदै गयो। चौथो छोरीकी आमा बनेकी रमैयादेवीलाई रामचन्दरले अब त छोरा नपाउन्जेलसम्म मोटरसाइकलमा चढाउँदिनँ भनेर दोस्रो छोरीकै पालामा भनिसकेका छन्। रमैयादेवीले छोरा जन्माउन सकेकी थिइनन्। उनले सकून् पनि कसरी ! उनलाई थाहा पनि थिएन कि छोरा वा छोरी उनको वशमा थिएन। रामचन्दरलाई थाहा त थियो। आईएस्सीसम्म पढेका थिए। तर आफ्नो पुरुषत्वमा उनले खोट देख्न चाहेनन्, त्यसैले दोष रमैयादेवीकै टाउकोमा पारेर उनको टाउको फोरिरहे।

छोरा पाउन नसक्नु मात्र हैन, रामचन्दरलाई दहेज पनि कम भएको थियो। बिस्तारै रमैयादेवीको रङ पनि उनलाई मन पर्न छोडेको थियो। दाँत पनि उचो देख्न थालेका थिए। यी सबै ‘दोष’ले रमैयादेवीको शरीर र मन दुवैले सास्ती पाउन थालेको थियो। उनको सास्तीसँगै उनका बुवाको पनि सास्ती बढेको थियो। कैले कैले त सातामा दुई पटकसम्म पतिको माग लिएर रमैयादेवी माइती जान्थिन्। शरीरमा पतिले दिएको नीलडाम देखाएर पितासँग दुईचार हजार मागेर ल्याउनु रमैयादेवीको महत्त्वपूर्ण काम भइसकेको थियो। कुटाइ र अपमानका अनन्त शृंखला चलिरहेको बेला रामचन्दरले अचानक एउटा बयलगाडीको व्यवस्था गरेर रमैयादेवी र छोरीहरूलाई ससुरालीको दरबाजामै छोडेर आएका थिए। त्यसरी छोडेर आएको एक वर्षपछि रमैयादेवीको भेट रामचन्दरसँग त्यही दरबाजामै भयो। रामचन्दरले उनको हालचाल सोध्दा उनले जवाफ दिन सकिनन्। रामचन्दरलाई पनि उनको जवाफको मतलब थिएन। त्यसैले उनी सरासर भित्र पसे।

रामचन्दरले मधेस आन्दोलनपछि मास्टरी छाडे। राजनीतिमा लागे। दहेजविरुद्ध भाषण गरे। समानताका पक्षमा पनि भाषण गरे। उनको भाषणको शृंखला बढ्दै जाँदा रमैयादेवीका दुःख पनि उकालो लागिरहेका थिए। रमैयादेवीकी आमा रमैयादेवीपछिकी बहिनी पाएर बितिन्। त्योभन्दा माथि तीन दिदी र दुई दाइ थिए। दाइहरू दुबई गएका थिए। बुवाबाट भिन्न पनि भइसकेका थिए। सामान्य खेतीकिसानी गर्ने उनका बुवा पनि ज्वाइँका लागि पैसा खोज्दा खोज्दा आजित भएका थिए। त्योभन्दा रमैयादेवी माइती फर्केर तातो भात पकाइदिएकामा उनलाई हाइसन्चो भएको थियो। तैपनि सामुन्नेमै ज्वाइँ आएको देखेर उनले कुर्सी दिए।

यसपछिका घटनाक्रमहरू रमैयादेवीको जीवनमा सपनाजस्तो भयो। पति लिन आएको बेला जान्न भन्नु हुँदैन भनेर बुवा र गाउँ–समाजले भनेपछि रमैयादेवीसँग अर्को विकल्प थिएन। उनका लागि जीवनमा कहिल्यै कुनै विकल्प नै थिएन। विकल्प होला भनेर उनलाई कसैले भनेन। रामचन्दरलाई बिहेअघि देखेकै थिइनन्। बिहेपछि रामचन्दर आफैंले माइतीको ढोकामा नछाडुन्जेल त्यहाँबाट निस्कने विकल्प थिएन।

‘चारचार छोरी छन्, जा’, बाले सम्झाउँदै भने, ‘म अब धेरै बूढो भइसकेँ।’

पतिको घर फर्केको भोलिपल्टै उनी जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेको लाइनमा थिइन्।

‘यो उमेरसम्म नागरिकता किन नबनाएको ?’ झ्यालभित्रको मान्छेले ठूलो स्वरमा भन्यो। अहिले किन बन्दैछ भन्ने त उनलाई थाहा छैन, पहिले किन बनेन भन्ने उनलाई के थाहा !

‘हजुर पहिले चाहिएको थिएन’, रामचन्दरले रमैयादेवीलाई साइड लगाएर आफ्नो टाउको देखाए। टाउकोसँग दाँत पनि देखाए।

‘खै के हो के हो ?’ रामचन्दरमाथि पनि त्यो कर्मचारीलाई खासै विश्वास लागेन। त्यो दिन काम भएन। सबै प्रमाण पुर्‍याएर गएपछि एक दिनमा बन्नुपर्ने नागरिकता बनेन। भोलिपल्ट भने बन्यो। चार सन्तान जन्मिँदा पनि विवाह दर्तासमेत नगरेका रामचन्दरले आफ्नो नागरिकता बनाउन गरेको हतारो रमैयादेवीको समझमा आएन। नागरिकता हुँदा र नहुँदा उनलाई केही फरक परेको पनि थिएन। न उनको बैंक खाता थियो, न आफ्नो नाममा मोबाइलको सिमकार्ड। न उनको नाममा जमिन थियो, न त घर। मतदाता नामावलीका लागि खिचाएको फोटोसहितको एउटा कार्ड मात्रै उनको परिचय सनाखत गर्ने कागज थियो। त्यो चिर्कटो ०६४ सालको निर्वाचनका लागि बनेको थियो। रामचन्दरले भनेका चिह्नमा उनले आफ्नो मत दिइन्। को थियो उम्मेदवार, कुन थियो पार्टी, उनले केही मेसो पाइनन्।

एक महिनापछि भने रमैयादेवीले आफ्नो नागरिकता किन बनेको रैछ भन्ने चाल पाइन्। अघिल्लो रात रामचन्दरले नयाँ सारी ल्याएर उर्दी जारी गरे, ‘काल्हि १० बजे तयार रहब।’ रामचन्दरले छोरीहरूका लागि पनि नयाँ लुगा ल्याएका थिए। नयाँ लुगाले मनमा उत्साहभन्दा पनि ‘कता लैजान लागेको होला’ भनेर रमैयादेवीको मनमा थोरै भय ल्याएको थियो।

बिहानैदेखि रामचन्दरले हतारो लगाए। ‘जल्दी जल्दी’ हजारचोटि त पक्कै भने। रमैयादेवी सारी लगाएर छोरीहरूको हात समाएरै जसै दरबाजाबाट बाहिर निस्किइन्, उसै रामचन्दरले सयपत्री फूलको माला उनको गलामा पहिर्‍याइदिए। परर ताली बज्दा रमैयादेवी झसंग भइन्। ओहो, एकडेढ सयको भीड पो छ। बाजा बजिरहेको छ। ‘भौजी जिन्दावाद’को नारा लाग्न थाल्यो। रमैयादेवीले आफूमाथि के भइरहेको छ थाहा पाउँदा नपाउँदै रामचन्दरले उनको हात समाएर हिँडाए। छिमेकबाट लोग्नेमान्छेहरू थपिँदै गए। स्वास्नीमान्छेहरूले अलिकति उदेक, अलिकति हाँसो ल्याएर सडकसम्म आएर रमैयादेवीलाई हेरे। निधारमा लामो सिन्दूर, रातो टीका, सुन्तला रङको सारीमा अघिसम्म ऐनामा आफूलाई उज्यालो देखेकी रमैयादेवी यतिखेर अबिरको रङ र मालाको बन्धनले बेरंगी महसुस गरिरहेकी थिइन्। उनी घरिघरि रामचन्दरलाई र कलुवालाई हेर्छिन्। दुवैले उनलाई हात हल्लाएर ङिच्च गर्न इसारा गरे। यसरी सारा तामझामसाथ निर्वाचन आयोगको कार्यालयमा लर्बराएका हातले सही गर्दै रमैयादेवी बसरिया गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार भइन्। उहिले जवानीमै प्रौढ कक्षा भर्ना भएकी उनले आफ्नो नाम लेख्नेबाहेक अरू सबै अक्षर बिर्सिसकेकी थिइन्। आफ्नै नाम लेख्न पनि उनले जेठी छोरी कविताको मद्दतले एक हप्ताअघि सिकेकी थिइन्। मास्टरकी पत्नीलाई नाम पनि लेख्न आउँदैन भनेर आफ्नो इज्जत जाने भन्दै रामचन्दरले नै छोरीलाई आमालाई नाम लेख्न सिकाउने जिम्मा दिएका थिए।

रमैयादेवीलाई रामचन्दरले मास्टरी किन छाडे र पार्टीमा किन लागे केही थाहा थिएन। रामचन्दरले भन्दैनथे। सोधीखोजी गर्न उनले जानेकी थिइनन्। फुर्सद पनि थिएन। घरमा आउने पार्टीका नेता र कार्यकर्ताका लागि खाना खुवाउने क्रममा उनले कविताका बाउले अब मास्टरी गर्दैनन् भन्ने बुझिन्। देश संघीयतामा गएको पनि उनलाई होस थिएन। राजा मरे भन्नेसम्म उनले सुनेकी थिइन्। बाँकी उनलाई एउटा छोरा भइदिएदेखि मोटरसाइकलको पछाडि बसेर पतिसँग यताउता हिँड्नेबाहेक अन्य कुरामा चासो थिएन। कसैले कहिल्यै चासो राख्नुपर्छ भनेनन्। एक पटक एउटा कार्यकर्तालाई ‘घर कत्त’ भेल ?’ भनेर सोधेबापत पाएको रामचन्दरको फट्कार उनले बिर्सेकी थिइनन्।

उम्मेदवारीको नामांकनपछि रमैयादेवीको काम थपियो। दिनदिनै जुलुसमा सहभागी हुनु, नमस्कारमाथि नमस्कार गर्नु र पाउनु, कसैले केही सोधे पतितिर हेर्नु र पतिले दिएको जवाफमा ङिच्च गर्नु उनका थप काम थिए। रामचन्दर निकै जोसमा देखिन्थे। जतिखेर पनि उनको अट्टाहास सुनिन्थ्यो। मक्ख थिए। ‘बतासियाकेँ के भोट देतै ?  ओकर पतिकेँ समाज कत्ते मोजर दै छै से हमरासभकेँ नइँ बुझल अछि की ?’ उनी सुनाइरहन्थे। अरूले ‘हँ हँ’ गर्थे। यसरी रमैयादेवीले आफू नामांकन गरेर फर्किंदा मालाले पुरिएकी अर्की महिलाको नाम बतासिया रैछ भन्ने थाहा पाएकी थिइन्।

मौन अवधि सुरु हुनुअघि रमैयादेवीले हात कपाउँदै माइक समाइन् र भनिन्, ‘हमरा भोट दिय।’

पचासौं भेलामा सहभागी हुँदा उनले बोलेको यत्ति थियो। यत्ति नै काफी पनि भयो। रमैयादेवी बसरिया गाउँपालिकाको उपाध्यक्ष भइन्।

शपथ ग्रहणपछि रमैयादेवीलाई लिएर रामचन्दर गाउँपालिका कार्यालयको एउटा कोठामा पसे। कोठामा एउटा थोत्रो कुर्सी, टेबल, टेबलमा एउटा गमला थियो। गाउँपालिकाका एक कर्मचारीले हतारहतार एउटा तौलिया कुर्सीमा राखिदिए, ‘बैसू भौजी !’

रमैयादेवीले रामचन्दरतिर हेरिन्। उनको सहमति पाएपछि उनी बसिन्। त्यसको अलि दिनमा कुर्सी, टेबल, भित्ताको रङ धेरै कुरा फेरिए। भित्तामा घडी, कोठामा सोफा, एसी धेरै कुरा थपिए। यी चिजहरू थपिनु वा फेरिनुमा रमैयादेवीको कुनै हात थिएन। उनले त शपथपछि कुनै पत्रकारलाई फोटो खिच्नुपर्‍यो भनेमात्र फेरिएको कुर्सीमा बस्न पाउँथिन्। अरू बेला त घुम्ने कुर्सीको छेवैमा राखिएको अर्को साधारण काठको कुर्सीमा बस्थिन्। उपाध्यक्षको कुर्सीमा रामचन्दर बसीबसी घुम्थे।

बैंकमा रमैयादेवीको खाता खोलियो तर उनी कहिल्यै बैंक गइनन्। छोरीले भनेर थाहा पाइन्, बैंकले दिएको पैसा झिक्ने कार्ड रामचन्दरको खल्तीमा थियो। चेकमा पनि साइन गराएर लिएका थिए। रामचन्दरले भनेका ठाउँमा हात थरथर कपाउँदै उनी सरसर सही गरिरहेकी थिइन्। उनले भनेका वाक्य नै दोहोर्‍याइरहेकी थिइन्। कतै बाहिर जानुपर्‍यो भने रामचन्दर पनि सँगै गइरहेका थिए। गाउँपालिका अध्यक्ष रमैयादेवीसँग नमस्कार आदानप्रदानबाहेक बाँकी सल्लाह रामचन्दरसँगै गर्थे। कुनैकुनै बेला त अध्यक्षको कोठाबाट फाइल लिएर रामचन्दर आफैं आउँथे। रमैयादेवीले सही गर्नुअघि सोध्ने एउटै कुरा हुन्थ्यो, ‘कत्त’ सही कर परतै ?’ त्योबाहेक उनले अरू केही सोध्दिनथिन्। सोध्नुपर्ला भन्ने उनलाई कहिल्यै लागेन।

मास्टरी छाडेर राजनीतिमा छिरेका रामचन्दर पहिला त पार्टीले संघीय सांसदको टिकट देओस् भन्ने चाहन्थे। त्यो नपाएपछि प्रदेशको सांसद र त्यो पनि नपाएपछि गाउँपालिकाको अध्यक्ष चाहन्थे। तर उनले केही पनि पाएनन्। केही नपाएपछि रामचन्दरले ठूलै हंगामा गरे। गाउँमै अर्को पार्टीलाई सघाउने भनेर पार्टी नेतृत्वलाई धम्क्याए। आखिरमा रामचन्दरले केही नपाएपछि उनकी पत्नीलाई उपाध्यक्ष दिने सहमति भयो। यसरी उनले केही नपाउँदा रमैयादेवीले उपाध्यक्ष पाएकी थिइन्। उनी उपाध्यक्ष भएसँगै रामचन्दर मुखियापति भएका थिए। त्यसैका लागि आफैंले अब चाहिँदैन भनेर ससुराली पुर्‍याएकी पत्नी लिन रामचन्दर गएका थिए।

यसैबीच गाउँपालिकामा एउटा गाडी आयो। अध्यक्षका लागि भनेर गाडी आएपछि रामचन्दरको अनुहारको उज्यालो हराएजस्तो रमैयादेवीलाई लागिरहेको थियो। गाउँसभामा उपाध्यक्षका लागि पनि गाडीको कुरा उठेको थियो तर बहुमतले त्यसलाई स्विकारेन।

त्यो दिन रमैयादेवी घरमै थिइन्। टाउको दुखिरहेकाले गाउँपालिका जान सकिनन्। अनुहार नै लत्रेको देखेपछि रामचन्दरले पनि केही भनेका थिएनन्। खाना खाएर ओछ्यानमा ढल्केर रेडियो सुन्ने मौका वर्षौंपछि मिलेको थियो। निदाउनै लागेकी रमैयादेवीको कानमा यस्तो समाचार पर्‍यो, ‘बसरिया गाउँपालिकाकी उपाध्यक्षद्वारा गाउँपालिकामा तालाबन्दी !’ पहिला त रमैयादेवीले विश्वास नै गरिनन्। आफू आफ्नो घरमै भएको निक्र्योल गर्न ओछ्यान छामिन्। अनि निद्रामा अर्कै कुरा सुने भनेर फेरि आँखा चिम्लिइन्। तर समाचारको अन्त्यको मुख्य समाचारमा फेरि त्यही कुरा सुनिन्।

चैतको घाम टाउकोको सप्को छेडेर टाउकोभित्रै पसिरहेको थियो। अझ हस्याङफस्याङ गर्दै गाउँपालिकाको कार्यालय पुग्दा पसिनाले उनको सिन्दूर बगेर नाकको टुप्पोमा आइपुगेको थियो। गाउँपालिका कार्यालय अगाडिको भीड छिचोलेर आफ्नो कार्यालयको ढोका पुगिन्। एउटा ठूलो ताल्चा झुन्डेको थियो। रामचन्दर हातमा साँचो बोकेर हान्ने गोरुझैं यताउता गरिरहेका थिए।

‘भौजी एलैथ’, कसैले भीडमा भन्यो।

‘उपाध्यक्ष आएर के गर्नु’, भीडमै अर्कोले भन्यो, ‘मुखियापतिले जे भन्छन्, त्यही हुन्छ।’

पतिलाई देखेर रमैयादेवी खुत्रुक्कै भइन्। रामचन्दरले उनलाई आँखा तरेर हेरे। फर्किने इशारा गरे। उनी सरक्क फर्किन पनि लागेकी थिइन्। एक पत्रकारले रोकेर सोधिहाल्यो, ‘उपाध्यक्षजी जनताके एम्बुलेन्स अखैन धरी नै नैमिलल् छै। आँहा के गाडी किया चाहि ?’

‘हमरा गाडी नै चाहि।’ रमैयादेवीको मुखबाट फुत्त निस्किहाल्यो। कुरो त त्यही थियो, उनलाई गाडी चाहिएको थिएन। तर उनले कहिल्यै आफूलाई के चाहिएको छ र के चाहिएको छैन भनेर बोल्नै पो कहाँ सकेकी थिइन् र ! पत्रकारलाई पनि उनले पन्छाएर अघि नबढेकी हैनन् तर भीडबाट परसम्म पत्रकारले पछ्याइराख्यो र उनलाई बोलाई छाड्यो।

‘उपाध्यक्षलाई गाडी चाहिएको छैन, तपाईंले तालाबन्दी किन गर्नुभएको ?’ पत्रकारले रामचन्दरको अघि पनि माइक तेस्र्यायो।

‘के कहलकय उपाध्यक्षके गाडी नै चाहि ?’ रामचन्दर कड्किए।

‘उपाध्यक्ष स्वयंले’, पत्रकारले रमैयादेवीले बोलेको बाइट नै बजाएर सुनाएपछि रामचन्दर हान्निँदै घर पुगे।

रमैयादेवीको शरीरमा कुनै ठाउँ बाँकी नराखी रामचन्दरले चेतावनी दिए, ‘बेसी जानकार नै बन्’। रमैयादेवीको ज्यानले रामचन्दरको चेतावनी सहजै पचाउन सकिनन्। कुटाइको चोटले आएको ज्वरो चार दिनसम्म नझरेपछि उनलाई अस्पताल लगियो। रमैयादेवीका बालाई सह्य भएन, प्रहरीमा उजुरी गर्न पुगे। अस्पतालमा स्लाइन चढाइरहेका बेला आएका इन्स्पेक्टरले ‘पतिपत्नीको झगडालाई ठूलो नबनाउने’ सुझाव दिएर गए। उनलाई पनि ठिकै लाग्यो। न्यायिक समितिकी संयोजक रमैयादेवीलाई आफूले न्याय खोज्न पर्छ भन्ने लागेन। धन्न अस्पतालमै उपचार चलिरहेकाले बचिन् नत्र बुवाले गरेको उजुरीको हर्जाना पनि उनले पाउन सक्थिन। अस्पतालको बसाइमा रामचन्दर जिल्लाका नेतासहित दलबल लिएर भेट्न आए। भर्‍याङ नै नभएको घरमा उनले रमैयादेवी भर्‍याङबाट लडेको वृत्तान्त सुनाए।

‘रामचन्दरजी कहिले घरमा भर्‍याङ लगाउनु भयो ?’ भनेर एक नेताले व्यंग गरे।

‘त्यसो भए कलमा चिप्लेको मान्नुस्’, रामचन्दरको जवाफले कोठामा हाँसोको ठहाका लाग्यो। रमैयादेवीले हाँसोको त्यो विरूपता देखेर आँखाभरि आँसु पारिन्।

रमैयादेवी अझै पनि केही बोल्थिनन्। कुटाइ खानु र थला पर्नु उनले वर्षौंदेखि भोगेको कुरा थियो। अस्पतालले डिस्चार्ज दिएको दिन छोरी कविता र उनका बा आएका थिए।

‘माय, हम भलेहि मइर जाइ, मुदा एनाक’ पिट’बला वर (दूल्हा)सँ त बियाह नइँ करब।’ छोरीले उनको सारी पट्याएर झोलामा राख्दै भनी।

‘हम तोरालए नीक वर (दूल्हा) खोजबौ’, रमैयादेवीले आफ्ना बातिर हेर्दै भनिन्।

अस्पतालबाहिर निस्केकी रमैयादेवीले कमलीकुमारीलाई भेटिन्। उसका दाँत झरेका रहेछन्। लोग्नेस्वास्नीको झगडामा एकदुई खेप न्यायिक समितिमा आएकी थिई।

‘न्यायिक समितिमे निवेदन दियौ’, उनको मुखबाट फुत्त निस्कियो। रामचन्दरले गाउँगाउँ जाँदा घरेलु हिंसाका कुरामा यसै भन्न सिकाएका थिए।

‘पहिने अहाँ निवेदन दियौ तहन हम देबै।’ कमलीले च्याँट्ठिएर भनी, ‘हम पुलिस लग जेबई।’

रमैयादेवी खिस्रिक्क परिन्।

प्रहरीमा उजुरी गरेपछि रामचन्दरले अस्पतालमा भएकी रमैयादेवीलाई केही नभने पनि ससुरालाई भने बाँकी राखेनन्। ज्वाइँले आफूलाई तथानाम भनेका हुनाले रमैयादेवीका बा घरभित्र जान मानेनन्। दरबाजामा छोरीको हात समाएर ‘उपाध्यक्ष तुँ छिही, एत्तेक बुझिहेँ’ भने।

‘हमरा त वएह बनौने छै’, रमैयादेवीले बाबाट हात छुटाइन्।

‘बनौने हेतउ, बाबु फेरो कहलक, बनल ओ नइँ तुँ छिही।’ बा त्यति भनेर हिँडे। पहिला त्यही लोग्नेसँग पठाएका बा किन बदलिए भन्ने रमैयादेवीले बुझिनन्। छोरीको जीउको घाउले दुखायो कि आफूलाई भनेको तथानामले ! रमैयादेवीले धेरै सोचिनन्।

रमैयादेवीका त्यसपछि कैयौं दिन फेरि पहिलेजसरी नै बिते। गाउँपालिका अध्यक्ष र रामचन्दर वा भनौं उपाध्यक्ष रमैयादेवीबीच रामचन्दरका लागि पल्सर बाइक किन्ने सहमति भयो। त्यही बाइकमा चढेर रामचन्दरले भनेको ठाउँमा जानु, भनेको ठाउँमा हात कपाउँदै सही गर्नु रमैयादेवीको काम भयो।

गाडी काण्डपछि रमैयादेवीलाई रामचन्दरले पत्रकारबाट झनै टाढा राखे। उनीसँग फोन त पहिलेदेखि नै थिएन। जे जति फोन आउँथ्यो, रामचन्दरलाई आउँथ्यो। रमैयादेवीको ‘हँ’ जरुरी भएमात्र उनको कानमा फोन पर्थ्यो।

०००

त्यो दिन घाम लागेको थिएन। चैतमै पानी परेर बाटो हिलैहिलो भएको थियो। रेनकोट नलिई हिँडेका रामचन्दर भिजेर आएका थिए। घर आउनेबित्तिकै उनी नुहाउन पसे। टेबलमा राखेको फोन बारबार बजिरह्यो। तीनचार पटक बेवास्ता गरेपछि रमैयादेवीलाई सारै सकसक भयो। उनले छोरीलाई ‘फोन कसरी उठाउने’ भनेर सोधिन्। छोरीले हरियो बटनलाई दायाँ स्वाइप गरेर आमाको कानमा राखिदिई।

‘मुखियापतिजी नमस्कार’, उताबाट पुरुष आवाज आयो।

‘हलो’, यताबाट महिला आवाज गयो।

‘इ नम्बर त मुखियापतिके छै ने ?’ उताको मान्छे अलमलमा पर्‍यो।

‘हँ’, रमैयादेवीले थर्थराउँदै भनिन्। फोन उठाइसकेपछि उनमा भयले कब्जा गरिसकेको थियो।

‘के बजैछी ?’ उताबाट सोधियो।

‘मुखियापतिके पत्नी रमैयादेवी।’

‘उपाध्यक्षजी’, उताको आवाज उत्साहित भयो, ‘अहाँसँ बात कर’लेल त एक सप्ताहसँ फोन कैरते के कैरते छी। मुखियापति त अहाँ बिमार छी से कहैत छलैथ।’ यो मान्छेले उनलाई भौजी भनेन। सीधै उपाध्यक्ष भनेर बोलायो। रमैयादेवीका कान झन्झनाए।

रामचन्दरले नै आफू बिरामी भएको कुरा भनेपछि रमैयादेवीले खोकेजस्तो गरिन्, ‘ठीक भऽ रहल छि।’

‘तपाईं फस्दै हुनुहुन्छ’, उताको मान्छेले सचेत गरायो, ‘त्यो पुलको ठेक्का त्यो लफंगा ठेकेदारलाई दिनुभयो। अब त्यसले बनाएको पुल सदर गर्नुहुन्छ ?  हेर्नुभएको छ कस्तो छ पुल ? उसको कुनै काम ठीक छैन। तपाईंले पैसा लिएर जनताको ज्यानमा खेलाँची गर्न मिल्छ ?’

रमैयादेवी एकछिन चुप लागिन्। के भन्ने उनले मेसो पाइनन्। लगातार केही दिनदेखि शैलेन्द्र यादवको आफ्नो घरमा आवतजावत बढेको थियो। उसले उनलाई एउटा सारी र छोरीहरूलाई लुगा लिएर आएको थियो।

‘मुखियापति होइतो अहाँके गाडी नइँ अछि’, रामचन्दरलाई शैलेन्द्रले सहानुभूति दिएको थियो।

‘हलो, हलो’, उताबाट आवाज आएपछि रमैयादेवी झस्किइन्।

‘हम त सारी मात्रे लेने छी’, उनले कुरा फुस्काइन्।

‘मुखियापतिले ठूलै डिल गर्नुभएको छ’, उताबाट बोल्नेले भन्यो, ‘पुलमे किछु उपरनिचा भेलै त अहाँके जेल सेहो जाय परत। ओहुना अहाँके नामसँ बहुतो फजुल काजसभ भेल छै, जवाब त अहीँ के देब’ परत।’

‘अहाँ के छी ?’ रमैयादेवीले सोधिन्। जेल जाने कुराले उनलाई अत्यायो। अस्पताल पुग्दै उनी गलिसकेकी थिइन्।

‘साथ हमार रेडियोबाट बोल्दैछु’, बोल्नेले आफ्नो नाम राकेश भन्दै आफ्नो थोरै प्रचार गर्‍यो, ‘हाम्रो पत्रिका पनि आउँछ।’

पत्रकार भनेपछि रमैयादेवीले हत्तपत्त फोन काटिन्। फोन राखेर थचक्क खाटमा बसिन्। गाउँमा कहाँ पुल बन्दैछ पनि उनलाई थाहा थिएन। वर्षौं उनीहरूले तरिरहेको काठको सिसकिया खोलामा हो कि उनले अनुमान् लाइन्।

त्यसपछि पनि रमैयादेवीले रामचन्दरलाई सोध्न सकिनन् कि मेरो नाममा कहाँ कहाँ के बिगार्‍यौ। उनले एउटा कामचाहिँ गरिन्, बा बिरामी छन् भनेर छोरीहरू साथ लगाएर माइत गइन्। रामचन्दरले एक साता त कुरे तर पनि नआएपछि लिन पठाए। रमैयादेवीले अझै समय लाग्ने खबर पठाइन्। जेनतेन दुई साता रमैयादेवीले कुनै कागजमा सही गरिनन्। संयोगले रमैयादेवी घर आउनु रामचन्दरकी भान्जीको बिहेको निम्तो आउनु एकै समय भयो। रमैयादेवी आफ्नो स्वास्थ्य र छोरीहरूको पढाइ धेरै छुटेको बहाना पारेर घरै बसिन्। रामचन्दर १५ दिनमा केही बित्दैन भन्दै भान्जीको बिहेका लागि बिहारको जमलपुर गए। वर्षौँ दिदीको घर नगएका उनलाई दिदीले २० दिनको दिन मात्रै फर्किन दिइन्। उनी फर्किएपछि पनि केही बदलिएको थिएन। उनी मुखियापति नै थिए, रमैयादेवीको डोरो उनकै हातमा थियो। यसबीचमा रामचन्दरले ख्याल नगरेको एउटा कुरा के थियो भने अब रमैयादेवीका हात सही गर्दा काँप्न छाडेका थिए। लाइन सीधा पारेर उनी आफ्नो नाम लेख्थिन्।

शैलेन्द्र यादव घर आइरहेकै थियो। उनका लागि थप दुईतीन सारी लिएर आएको थियो। कुनैको रङ मन परेन त कुनैको कपडाको गुणस्तर कमसल भनेर उनले सारी फर्काइन्। निकै नम्र भएर। शैलेन्द्रले र रामचन्दरले थोरै शंकाले हेरे। तर उनीहरूले राम्रो कुरा खोज्नु त राम्रै होला भनेर हाँसेर उडाए।

वैशाखमा चारैतिर मेलाको रौनक थियो। रमैयादेवी पनि छोरीहरूसित छेवैको मेला गएकी थिइन्। छोरीहरू शैलेन्द्र यादवले ल्याइदिएको लुगा लगाउन थालिसकेका थिए। बल्लतल्ल उनले उनका बाले किनिदिएका लुगा लगाएर लगिन्। आफूले पनि बाले बिदाइमा दिएको सारी लगाइन्। मेला सकेर थाकेर फर्केका उनीहरू दरबाजामा आउँदा रामचन्दर उनीहरूको बाटो कुरिरहेका थिए। साँझको ६ बजिसकेको थियो। उनीहरूले त्यतिखेरसम्म आइपुग्ने नै भनेर गएका थिए। तर पनि रामचन्दरलाई नै दरबाजामा देख्दा रमैयादेवीका खुट्टा लुला भए।

‘पञ्चैती छै गाममे’, उनले मोटरसाइकल स्टार्ट गरे, ‘बेटी, भितर जो।’

‘कथीके पञ्चैती ?’ रमैयादेवीले मोटरसाइकलमा बस्दै सोधिन्।

‘सुकदेवको छोराको’, रामचन्दरले मोटरसाइकल हुइँक्याउँदै भने।

रमैयादेवी छक्क परिन्। सुकदेवको छोराले बुधनीकी छोरीको बलात्कार गरेको कुरा सारा गाउँमा थाहा थियो। तीन दिनअघिको घटना। बुधनी आएकी थिई उनलाई भेट्न। जेठी छोरीले न्यायिक समितिले त्यस्तो जघन्य अपराधको सुनुवाइ गर्दैन, प्रहरीकहाँ जानुपर्छ भनेर स्थानीय सरकारको सञ्चालन ऐन नै खोलेर पढी। रमैयादेवीले आफ्नो काम के के रैछ भनेर छोरीलाई पढ्न लगाएको पनि रामचन्दरलाई थाहा थिएन। बुधनी त्यसपछि पुलिसकहाँ गएकी थिई। बाँकी रमैयादेवीलाई अरू थाहा थिएन।

रमैयादेवीलाई जसै रामचन्दरले सुकदेवको नाम लिए, त्यतिखेरै मोटरसाइकलबाट हामफाल्न मन लागेको थियो। तर सकिनन्। गाउँको मध्यमा ठूलो बरको बोटमुनि गाउँले भेला भएका थिए। एकातिर बुधनी पासवान र उनका मान्छेहरू टुक्रुक्क बसेका थिए। अर्कोपट्टि सुकदेव यादव र उनका मान्छेहरू बेन्चीमा बसेका थिए। बीचमा गाउँपालिका अध्यक्ष, केही वडाअध्यक्षसहित कुर्सीमा बसेका थिए। रमैयादेवीलाई पनि एउटा कुर्सी दिए। रामचन्दरलाई हेरिन्। उनले बस्न भनेपछि उनी बसिन्।

‘गाम के बात छै’, अध्यक्षले कुरा सुरु गरे, ‘गाममे मिलावयै परतै। सुकदेव खर्च देतै। अब यकरा बेसी आगा नै बढावी। झगडा मिलाववाला उपाध्यक्षजी यही ठाम छथिन्।’ बोलिसकेर अध्यक्षले रामचन्दरतिर हेरे। उनले आफ्नो बत्तिसा देखाउँदै मुन्टो हल्लाए।

रमैयादेवी सधैंजस्तो चुपचाप थिइन्। अध्यक्षले त्यति बोलिसकेपछि उनलाई कुरो सकिएको लागेको थियो। तर बुधनीले मानिन। बुधनी र उनका मान्छेहरू जोरजोरले हल्ला गर्न लागे। भिडन्तको अवस्था हुन लाग्यो। बुधनीले रमैयादेवीतिर हेरी र भनी, ‘अपनेके बेटी रहथी त कि करितौ ?  थु !’ थुकको छिटा रमैयादेवीको अनुहारसम्म आयो।

भीडमा निकै खैलाबैला हुन थालेपछि भोलि गाउँपालिकामै कुरा गर्ने भनेर रामचन्दरले रमैयादेवीलाई मोटरसाइकलमा बसाले।

उनीहरू घर फर्कंदा कमेजको खल्तीबाट पैसाको बिटो लिँदै रामचन्दर कोठाभित्र पसे। रमैयादेवीको मुखमा घिनको थुक उडलिएर आयो। उनले पिच्च थुकिन्।

भोलिपल्ट बिहान रामचन्दर गाउँ घुमेर आउँदा रेडियो खुल्लै थियो। दलित युवतीको बलात्कार मिलाउने प्रयासमा गाउँपालिका उपाध्यक्ष भनेर समाचार बजिरहेको थियो। आफ्नो नाउँ आएपछि भान्छाबाट ओसरामा रमैयादेवी आइपुग्दा रामचन्दरले ‘बेकारके पत्रकार’ भन्दै रेडियो बन्द गरे। रमैयादेवीलाई हातैले ‘भान्छामै फर्की’ भन्ने आदेश गरे।

गाउँपालिका पुग्दा बुधनी र उनका मान्छे आएका थिएनन्। सुकदेव दलबलसहित अध्यक्षको कोठामा पुगिसकेको थियो। भलै रमैयादेवीलाई थाहा थिएन तर हिजोको खैलाबैला राष्ट्रिय सञ्चारमाध्यममा आइसकेको थियो। मान्छेहरू उनलाई गाली गरिरहेका छन् भन्ने उनलाई पत्तो थिएन। राकेश ‘रमैयादिदी रमैयादिदी’ भन्दै कराउँदै थियो। रमैयादेवी रामचन्दरको पछिपछि अध्यक्षको कोठामा छिरिन्।

‘बुधनी खै, बोलाउन पठाऊ’, अध्यक्ष बाहिर निस्केर कसैलाई अह्राउँदै थिए। प्रहरीको भ्यान आएर रोकियो। गुर्र आएका प्रहरीले सुकदेव र उनका छोरालाई पाखुरामा समाएर लगे।

‘गाउँमा मिलाउन नसकेर हंगामा गरेर हामीलाई अप्ठेरोमा पार्नुभयो’, प्रहरीको नाइकेले अध्यक्षलाई भन्यो, ‘माथिबाट तुरुन्तै पक्रनू भनेको छ।’

रमैयादेवीले राहतको लामो सास फेरिन्। तिनी पहिलोपटक धर्मराएकी थिइन्। के गर्ने होला भनेर दुईपटक सोच्दै थिइन्।

राहतको सास फेर्न सधैं त्यस्तो संयोग जुर्नेवाला थिएन। रमैयादेवीका अगाडि अर्को संकट आइपुगेको थियो। शैलेन्द्र यादवले बनाएको पुलको मुख सानो भएर उसैको ट्र्याक्टर खोलामा खसेको थियो। ड्राइभर रामेश्वर कुशवाह गम्भीर घाइते भयो।

‘रामेश्वरको उपचार गर्छु’ भनेर शैलेन्द्र आफ्नो भुक्तानीका लागि धाइरहेको थियो।

‘मलाई मात्र मिलाएर कहाँ हुन्छ’, रामचन्दरले शैलेन्द्रलाई घर आएको बेला भनेको थिए, ‘सबलाई मिलाउनुपर्छ।’

‘अनुगमनको कागज त भौजीबाटै पास हुन्छ’, शैलेन्द्रले ङिच्च गरेको थियो।

‘भौजीको चिन्तै नगर’, रामचन्दरले आफ्नो हात देखाएर भनेका थिए, ‘उसको हात नै मेरो हात हो।’

रामेश्वरकी पत्नी त्यस दिन गाउँपालिका नआएकी भए रमैयादेवीलाई निर्णय गर्न मुस्किल हुन्थ्यो। खरानी रङको सारी, उस्तै उडेको रङको चोलो लगाएर खाली खुट्टै सातवर्षे छोरो साथमा लिएर आएकी समैकादेवी भुइँमा टुक्रुक्क बसेकी थिई।

‘यो किन दिनदिनै आउँछे ?’, रामचन्दरले कोठामा पस्दै सोधे। रमैयादेवी पछिपछि थिइन्।

‘मरदावाके दबाई किन’के है, ढौवा नइँ हई’, समैकादेवीले बिस्तारै भनी, ‘मालिक पैसा दिलाइदिनू।’

‘के बक्छे यो ?’ रामचन्दरले स्वर उचो बनाए, ‘दिन्छु भनेकै छ त !’

‘किच्छो नइँ देने छै’, उसले भनी, ‘मेरो मरदलाई केही भयो भने मेरो बच्चा बेसहारा हुन्छ।’

‘केही हुँदैन तेरो मरदलाई !’ किच्छो नइँ हेतौ तोहर मरदावाके। रामचन्दरले कुर्सीमा घुम्दै भने, ‘जा जा गइहाल् !’

‘जँ किछ भेलै त माँ कसम, हम ककरो नइँ छोरबै।’ समैकादेवी अचानक जंगिई।

‘मेरो मरदले आँखा पनि खोलेको छैन। बेहोसको बेहोस छ।’ उत्ति नै खेर डाँको छोडेर रुन थाली।

‘भाग् !’ रामचन्दर कुर्सीबाट जुरुक्क उठे, ‘ए, भगाओ यसलाई। बहुलाई यो !’

‘हम नैजेबो’, समैकादेवी अझै जोडले रुन लागी, ‘शैलेन्दर ठेकेदारले मेरो मरदलाई हेरेन।’

‘तुरुन्ते निकाइल दही एकरा’, रामचन्दरले कडा आदेश दिएसँगै दुईजना पुरुषले समैकादेवीको पाखुरा समाए।

‘छोड् सालाहरू’, समैकादेवीले हात झट्कारी र रामचन्दरलाई थुकी, ‘तँलाई भगवान्ले मार्छ। तैंले पैसा खाको छस्। सबलाई थाहा छ।’

उसले बलिन्द्र आँसु झार्दै रमैयादेवीलाई हेरेर हात जोडी, ‘उपाध्यक्षजी हमर मरदके बचा दियौ।’

त्यसपछि त उसलाई लछारपछार पारेरै बाहिर पुर्‍याए। रमैयादेवीले ऊ गएको हेरिरहिन्। समैकादेवी पहिलो मान्छे थी गाउँपालिकामा जसले रमैयादेवीलाई उपाध्यक्ष भनेर बोलाएकी थिई। त्योबाहेक उनको बाले उनलाई भनेका थिए, ‘उपाध्यक्ष तँ होस्’ अनि पत्रकारले खोजेको थियो उपाध्यक्षजी भन्दै फोनमा।

अलि दिनपछि रामचन्दर बिहान गाउँको चियापसलमा राजनीतिक चर्चा गरेर नफर्कंदै रमैयादेवी गाउँपालिका गइसकेकी थिइन्। यो दिन शैलेन्द्रको अनुगमन रिपोर्ट पास हुनुपर्ने थियो। रामचन्दर गाउँपालिका पुग्दा शैलेन्द्र यादव गेटमा थियो। उसैले तारतार फोन गरेर रामचन्दरलाई बोलाएको थियो।

‘म आएँ अब सब ठीक हुन्छ’, रामचन्दरले शैलेन्द्रको हातबाट फाइल लिए।

रामचन्दर कोठामा पस्दा रमैयादेवी उपाध्यक्षको कुर्सीमा बसेकी थिइन्। कोठामा दुईतीनजना मान्छे मुखियापतिको प्रतीक्षामा थिए। रामचन्दर कोठामा पसेलगत्तै उनीहरू उठे।

‘के लेखेको यो ?’ रामचन्दरले टेबलमा फाइल बजारे।

‘शैलेन्द्र यादवको कम्पनीले निर्माण गरेको पुलको अनुगमनमा म नगएको हुँदा म यस अनुगमनलाई सदर गर्दिनँ’, रमैयादेवीले आफ्नो टिप्पणी पढेर सुनाइन्, ‘पुलमा हालै भएको दुर्घटनाको छानबिन पनि जरुरी छ।’

‘हम गेल रही अनुगमनमे’, रामचन्दर कड्किए, ‘तैंले यस्तो लेख्ने आँट कसरी गरिस् ? साली !’

‘इ गाउँ पालिकाके उपाध्यक्ष छी हम’, रमैयादेवीले भनिन्, ‘म गएको छैन।’

‘तँ गए पनि म गएँ पनि के भो त !’

‘देख्नुभएन के फरक पर्‍यो ?’ रमैयादेवीले रामचन्दरका आँखामा आँखा जोतेर भनिन्, ‘अब उपाध्यक्षको काम म आफैं गर्छु।’

रामचन्दर सकपकिए। रमैयादेवीले ‘जी, जी’ बाहेक अरू बोलेको उनलाई थाहा थिएन। उनलाई रमैयादेवीले आँखामा आँखा राखेर कुरा गरेको पनि थाहा थिएन।

‘सर् उता !’ उनले स्थिति सम्हाल्न खोजे।

रमैयादेवीले सुनेको नसुन्यै गरिन्।

‘सर् उता’, पाखुरा समाएर जुरुक्क उचालूँलाझैं गरेर रामचन्दरले कुर्सी आफ्ना लागि छाड्न भने।

‘ओ कुर्सी खाली छै’, रमैयादेवीले आफू सधैं बस्ने काठको कुर्सी देखाइन्।

झड्याम्म ! रमैयादेवीका गालामा रामचन्दरको झापड पर्‍यो, ‘भाङ खाकी छेस्। धेरै बढी भइस् !’

पटापट अरू दुईचार झापड लगाउँदै थिए रामचन्दर, पछाडिबाट कसैले जोडले समाएर तान्यो। ‘मैले भनेको थिएँ असइसा’ब मलाई मेरो पतिबाट असुरक्षा छ। मलाई मार्न पनि सक्थ्यो यदि मैले बेलैमा तपाईंलाई खबर नगरेको भए’, रमैयादेवीले आफूलाई सम्हालिन्, ‘लानुस् यो मान्छेलाई उजुरी लेख्न, म पछिपछि आउँछु।’

असई केही बोल्न खोज्दै थियो। रमैयादेवीले रोकिन्।

‘चमाड त म पनि लाउन सक्छु तर कानुन आफ्नो हातमा लिन चाहन्नँ। तपाईंको काम के फेरि ?’ अनि हात जोड्दै भनिन्, ‘लोग्नेस्वास्नीको झगडा परालको आगो नभन्नुहोला। मार खाँदा बहुत दुख्छ, जीउमा पनि मनमा पनि। तपाईंलाई के थाहा ?’

रामचन्दर खंग्रंग भए। के गरौं ?  के गरौंको भावमा यताउता हेरिरहे। शैलेन्द्र अघिसम्म ढोकामा थियो। प्रहरी आउनासाथ बाटो लागिसकेको थियो। अध्यक्षको कोठासम्म हल्लाखल्ला पुगेपछि उनी पनि आए।

‘के भयो रामचन्दरजी ?’, अध्यक्षले सहानुभूति जनाए।

‘उपाध्यक्षजीलाई झापड लाउनुभयो’, असईले भन्यो, ‘पहिलाजस्तो कलबाट लडेको होइन अहिले ! अब केस बन्छ।’

अध्यक्षले कोठामा चियाए। रमैयादेवी कुर्सीमा बसेकी थिइन्। रामचन्दर हल्लिरहने कुर्सीमा रमैयादेवीलाई देखेर अध्यक्ष पनि सकपकाए।

‘कोनो काज रहए अध्यक्षजी ?’ रमैयादेवीले सोधिन्।

‘छैन, छैन’ भन्दै अध्यक्ष गए।

रामचन्दरलाई प्रहरीले गेटमा पुर्‍याइसकेका थिए। रमैयादेवी केही सम्झिएझैं गरेर कुर्सीबाट उठिन्। ‘थाम् थाम्’ भन्दै रोकिन्।

‘एकैछिनमा मति फिरेछ’, रामचन्दर र प्रहरीले सायद यही सोचेका थिए। रमैयादेवी छेउमा गइन्। कमेजको अगाडिको खल्तीबाट रातो पेन, मोटरसाइकलको चाबी निकालिन्। दायाँ साइडको गोजीबाट पर्स निकालेर एटीएम कार्ड निकालिन्।

‘लैजानुस्’, रमैयादेवी सरासर भित्र आइन्। फर्केर पनि हेरिनन्। किलामा मोटरसाइकलको चाबी झुन्ड्याइन्। सारीको सप्कोमा पेन भिरिन् र बेल बजाइन्।

‘जी भौजी’, कार्यालय सहयोगी कोठामा आए।

‘घरम भौजी, अइय उपाध्यक्षजी कहु !’ रमैयादेवीले शान्त भएर भनिन्, ‘एक गिलास ठन्डा पानी पिलाउनुस्। माथा गरम भएको छ।’

‘जी उपाध्यक्षजी’, कार्यालय सहयोगी पानी लिन गए।


‘कम्युनिस्ट’ (कथासंग्रह), ‘मान्छेको रङ’ (उपन्यास) की लेखक @Aanbika को पछिल्लो पुस्तक ‘आमाले सक्नुहुन्छ’, 'सानीका ज्ञानी कुरा' हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.