इमिलीः सेलिब्रिटी गधा
भारी बोक्ने जुनी बोकेर धर्तीमा आउने गधाको पनि सेलिब्रिटी हुने दिन आउँदो रहेछ। भारतको पुणेमा रहेको जनावर आश्रयस्थलकी एक गधा अहिले सेलिब्रिटी भएकी छे। उसको नाम हो, इमिली।
इमिली यत्तिकै सेलिब्रिटी भएकी होइन। उसको गायनले उसलाई ख्याति दिलाएको हो। ठूलठूला दाँत देखाउँदै उसले गाएको भिडियो सार्वजनिक भएपछि इमिली रातारात प्रसिद्ध भई, ‘इन्टरनेट सेन्सेसन’ भई।
रेस्क च्यारिटेबल ट्रस्ट नामक आश्रयस्थलमा बिरालो, कुकुर, गाई र भैँसीले संरक्षण पाइरहेका छन्। तर, त्यहाँका कर्मचारीका लागि इमिली विशेष प्यारी छे। किनभने, गायिका गधाको नामले प्रसिद्ध भएकी उसले ट्रस्टलाई पनि प्रसिद्धि दिलाएकी छे।
‘उसलाई खाना खुवाउँदा र फलफूल दिँदा ऊ खुशी हुन्छे र गाउँछे,’ ट्रस्टकी प्रमुख जेसिका रोबट्र्सले विश्वप्रसिद्ध समाचार संस्था एएफपीसँग भनिन्, ‘हामीले इमिलीले गाएको भिडियो ट्रस्टको फेसबुक पेजमा अपलोड गर्यौँ। त्यसपछि ऊ स्टार भई। मानिसहरूको प्रतिक्रियाले हामी दंग छौँ।’ यसअघि हारियट नामक आयरल्यान्डकी गधा पनि आफ्नो गायनका कारण प्रख्यात भएकी थिई।
ट्रस्टका कर्मचारीले दुई वर्षअघि इमिलीलाई सडकमा बेवारिस अवस्थामा भेटेका थिए। उसका जीउमा घाउचोट थिए। ‘हामीले उसलाई यहाँ ल्याउँदा ऊ दुःखी र उदास देखिन्थी,’ रोबट्र्सले भनिन्, ‘तर, छिट्टै नै ऊ हामीसँग रमाउन थाली। तीनचार महिनाअघि मात्रै हामीले उसको गायन प्रतिभाबारे थाहा पाएका थियौँ। अचेल त खाना खाने बेलामा मात्र होइन, खाना माग्नुपर्यो भने पनि उसले गाउने गरेकी छ।’