न्यायिक समितिमा हप्तादिनमै टुंगिन्छन् मुद्दा
सुर्खेत : कर्णाली प्रदेशका अधिकांश न्यायिक समितिले न्यायसम्पादन गर्न सकिरहेका छैनन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भने एक सातामै मुद्दाको छिनाफानो हुने गरेको छ। समितिमा परेका उजुरीबारे सम्बन्धित पक्षलाई बोलाएर बढीमा साताभित्रै मेलमिलापको माध्ययमबाट मुद्दा टुंग्याउने गरिएको हो।
समितिले इजलासको व्यवस्था गरेको छ। २०७५/७६ मा ७७ वटा मुद्दामा मेलमिलाप गराइएको समिति सदस्य दीपेन सुवेदी बताउँछन्। उनका अनुसार समितिमा मुद्दा पर्नेबित्तिकै दुवै पक्षलाई बोलाएर छलफल गरिन्छ। ‘न्यायमा नागरिकको पहुँज वृद्धि गर्न समिति तत्पर छ। हामीले सोहीअनुसार प्राथमिकता दिएर काम गरिरहेका छौं’, उनी भन्छन्, ‘समयमै निःशुल्क न्याय सेवा दिएर न्यायिक समितिप्रति नागरिकको पनि विश्वास बढाएका छौं।’
उनका अनुसार ठगिएको आरोपमा सबैभन्दा बढी मुद्दा आउने गरेका छन्। जग्गा विवाद, घरभाडा तथा ज्याला, रकम लेनदेन, अधिकार हनन् र हिंसाका घटनाबारे समितिमा मुद्दा बढ्न थालेको उनको भनाइ छ।