कर्तव्य निर्वाह नहुँदाको परिणति
विख्यात भारतीय साहित्यकार प्रेमचन्दको भनाइ छ, ‘त्याग र सेवाभन्दा बढी अधिकार अरूतिर पाइँदैन।’ त्यागले सेवाभाव पैदा गर्छ। सेवामा समर्पित हुँदा लोभ र अहंकार समाप्त भई सत्य र निष्ठाको जागरण हुन्छ। यो मानव जीवनको शाश्वत पनि हो। आदिकालदेखि यिनै मान्यताको अनुसरणले सभ्य समाज निर्माण भएको छ। पछिल्लो समयमा नेपाली समाजले ती मान्यतलाई आत्मसात गरेको पाइएन। प्रेम र सद्भावको ठाउँमा घृणा र दुर्भाव भित्र्याइयो। जसको परिणति आज अधिकार पाएर पनि कर्तव्यपथबाट दिनानुदिन च्युत हुँदै छ।
कर्तव्यविमुख मानिसमा अहंकारयुक्त दम्भ भरिएको हुन्छ। त्यही दुर्गुणले उसको लक्ष्य अवरुद्ध हुन्छ। अधिकारको लडाइँ समाप्तिपश्चात् सफल सञ्चालन हुनु अनिवार्य मानिन्छ। उचित व्यवस्थापनको अभावमा गन्तव्यपूर्व नै कैयन् मुलुक धराशायी भएको दृष्टान्त विश्व इतिहासले देखाएको छ। यहाँ पनि अधिकार प्राप्तिका लडाइँ प्रशस्त भए। त्यसको सफलतापछि नागरिक चाहना पूरा गर्नेतर्फ कहिल्यै सोचिएन। आफू र आफ्नो समूहको फाइदाका लागि सिंगो मुलुक दाउमा राख्न पनि संकोच मानिएन, जसबाट राष्ट्रिय एकतालाई खण्डित तुल्याउने प्रतिस्पर्धा तीव्र भएको छ।
तराई, पहाड, गाउँसहर जताततै अधिकारको पाठ घोकाइयो। कर्तव्यपालन हुँदा मात्र अधिकार संरक्षित हुन्छ भन्ने तथ्य स्वीकार गरिएन। सभ्य एवं समृद्ध समाज निर्माणका लागि राजनीतिलाई मियो मानिन्छ। यहाँ राजनीतिले सही मार्ग पहिल्याउन सकेन। लक्ष्यविहीन मार्गमा अघि बढ्दा भीरबाट खसिन्छ। अहिले यसलाई बिनागन्तव्य जर्बजस्ती डोर्याइएको छ। जतिबेला पनि दुर्घटना निम्तिने सम्भावना प्रबल देखिन्छ। नेतृत्वमा समेत सामथ्र्य हराइसक्यो। तर उनीहरू आफूलाई अझै क्षमतावान् सम्झिरहेका छन्। त्यो उनीहरूको भ्रम हो। कुनै दिन राजनीतिका मुख्य पात्रले यथार्थ स्वीकार गर्नैपर्छ। अरूको सुझाव नलिए पनि एकान्तमा बसी एकाग्र भावले चिन्तन गर्दा उचित हुन्छ।
अन्तर्मनबाट उब्जिएको परामर्शलाई आत्मसात गर्दा विनाशको दृश्य झल्झली देखिन्छ, जसले नेतृत्वलाई समाप्तिको मार्ग त्याग्न प्रेरणा मिल्छ। यहाँ त्यसो गरिँदैन। मानसपटलमा भरिएको दम्भले सत्कर्मतर्फ फर्किन दिँदैन। यिनै नेताले गरिब र दुःखीलाई सपनाको महलमा सुताए। आमूल परिवर्तन ल्याउँछौं भने। परिवर्तन त भयो, आफू र आफ्ना नजिककाहरूमा मात्र आमूल परिवर्तन गराए। सर्वसाधारणको दिनचर्या हिजोभन्दा कष्टकर छ।
राष्ट्रलाई समृद्धिको शिखरमा पुर्याउँछौं भनियो, आज नेताहरूकै परिवार र आफन्तजन समृद्ध भए। कर्तव्यनिर्वाह नगर्दाको परिणाम यस्तै हुन्छ, जुन भइरहेको छ। बाँसको चोयाको हातेपंखा किन्न नसक्नेहरू आज संसद्मा एसी नभएको भनी छट्पटाइरहेका छन्। त्यसैलाई जनआवाज भन्न पछि पर्दैनन्। कतिसम्म लबस्तरो पारा हो ? सिटामोल नपाएर मृत्युवरण गर्नुपर्ने नियति नागरिकले भोग्नुपर्छ। समाज बनाउँछु भन्नेहरू अधिकार दुरुपयोगमै अभ्यस्त भए। यसलाई नागरिकले कहिलेसम्म सहिदिनुपर्ने ?
भ्रमपूर्ण अभिव्यक्ति नै नेताहरूको पहिचान बनिसक्यो। झूटो बोल्दै राजनीतिको खेती गर्न अझै छाडिएन। काम बढाउनेतर्फ ध्यान जाँदैन। रोजगारका आधारभूत योजनासमेत निर्माण गरिएन। आफ्ना सन्तान विदेशका महँगा शिक्षालयमा पढाउँछन् र जनताका छोराछोरी अध्ययन गर्ने ठाउँमा हडताल गर्दै क्रान्तिकारी बन्ने परिपाटी पनि रोकिएन। यस्तै भ्रमको खेती मौलाएको छ यहाँ। हुँदाहुँदा १७ हजार नागरिक बलिवेदीमा पुर्याउँदा पनि मैले कीरा मारेको छैन। म शान्तिको हिमायती हुँ भन्नसमेत लाज मान्दैनन्। यसलाई के भन्ने ? जीवन जिउने क्रममा देखिएको छटपटी हो वा जनता केही होइनन्। जे भन्दा पनि पत्याइहाल्छन् भन्ने दम्भी हठ हो ?
लोकतान्त्रिक प्रणालीमा हाम्रा आदर्श र मूल्यमान्यतालाई पछ्याउन सक्नुपर्छ। त्यसैबाट लोकतान्त्रिक प्रणाली जीवन्त बन्ने छ।
अबका नागरिकमा खराब र असल छुट्ट्याउने सामर्थ्य पैदा भएको छ। अगुवाले बेलैमा हेक्का राख्दा हुन्छ। राजनीति सही विचारको सफल कार्यान्वयन हो। यहाँ त्यसैलाई विवेकशून्य बनाइयो। विचारको सधैं अवमूल्यन भयो। आजको युगमा हतियारको दम्भबाट राजनीति हुँदैन। त्यो अपराधतर्फ उन्मुख हुन थाल्छ। धन र बल प्रयोग गर्दै निर्वाचन जित्ने अभियान चलाइयो। लोकतान्त्रिक अधिकार प्रयोग गर्दा कर्तव्यप्रति कोही इमानदार भएनन्। सत्ता र शक्तिको आडमा राज्य दोहन गर्ने परिपाटीलाई परिवर्तनको महान् उपलब्धि भनी भट्याउनसमेत छोडिएन।
२०४७ को संविधानमा दल र दरबारले कर्तव्यपालनप्रति देखाएको दम्भले अल्पायुमै प्रणाली ध्वस्त भयो। २०१५ सालको निर्वाचित सरकार र तत्कालीन महाराजबीच अधिकारको विषयमा मनोमालिन्य भएको अहिले पनि चर्चा हुन्छ। त्यतिबेला दुवै शक्तिले कर्तव्य निर्वाहमा इमानदारी देखाएको भए २०१७ को अनिष्ट मुलुकले व्यहोर्ने थिएन भन्ने विश्लेषण राजनीति वृत्तमा अद्यापि गरिन्छ। बीपी कोइराला र राजा महेन्द्रजस्ता दूरदर्शी राजनेता हुँदा पनि समयको आकलन गरिएन। जसले गर्दा वर्षौंसम्म मुलुक पछि पर्यो। समयलाई वशमा पार्छु भन्ने दम्भले मूर्धन्य पात्र पनि ओझेलमा परेका छन्। यसको पछिल्लो उदाहरण महाराज ज्ञानेन्द्रको शासनलाई लिन सकिन्छ।
अधिक परिश्रम गर्दा लाभ पनि बढी नै हुन्छ। त्यसको जगेर्नाका लागि त्याग र सेवा हुनुपर्छ। इमानदारीको अर्को रूप कर्तव्यमा प्रतिबद्ध हुनु हो। यो यथार्थलाई अहिलेको राजनीतिले अंगीकार गर्न चाहेन। शक्तिमा पुग्दा असल र खराब पहिल्याउन नसक्दा दुष्प्रवृत्ति हावी भयो। जुनसुकै परिवर्तनपछि राम्रो–नराम्रो दुवै प्रवृत्ति भित्रिन्छ। सुझबुझपूर्ण नेतृत्वले राम्रो छान्दै र नराम्रो मिल्काउने गर्छ। अहिलेको राजनीतिले खराबजति आफूमा राख्ने असल पक्ष मिल्काउने काम गर्यो, जसले गर्दा मुलुकवासीले सुखद् अनुभूति गर्न पाएनन्। मौलिकता छोडियो भने त्यहाँ पतन अवश्यम्भावी छ। दोस्रो विश्वयुद्धको समाप्तिपछि युरोपमा त्यहाँको परम्परा, मूल्यमान्यतालाई अग्रस्थानमा राखेर राजनीति सञ्चालन गरियो। फलस्वरूप युरोपका राष्ट्र समृद्ध बन्न सफल भए।
हाम्रा छिमेकमा भएको प्रगति पनि त्यहाँको मौलिक परिवेश र आफ्नो पन हो। यहाँ भने बिब्ल्याँटो मार्गमा समाजलाई हिँडाइँदै छ। धरातलीय यथार्थ बुझ्ने प्रयत्नसम्म गरिएन। धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण हुन सकेन। सबैमा अधिकार मात्र चाहियो। यसले गर्दा मूल्य मान्यता ध्वस्त भए। विदेशी संस्कृति र मान्यतामा भुल्याउन थालियो। जुनसुकै राष्ट्रको गौरव भनेको त्यहाँको ऐतिहासिक गाथा हुन्छ। नयाँ पुस्तामा इतिहासको सामान्य ज्ञानसमेत दिइएन। कृषिजन्य उत्पादन घटाइयो। मद्यपान खपत व्यापक बनाइयो। कहाँसम्म भने निर्धक्कसँग विदेशी नेताको गीत गाइन्छ। स्वदेशी वीरवीरङ्गनाको नामसमेत लिइँदैन। गणतन्त्रको नाममा छाडातन्त्र आयात गरियो। यसरी भिœयाइएको छाडा प्रवृत्तिलाई नागरिकले कहिलेसम्म थेगिरहनुपर्ने हो ?
पूर्वीय दर्शन अध्ययन गर्दा ज्ञान मात्र प्राप्त हँदैन, त्यहाँ अधिकारका साथै कर्तव्यपरायण बन्न पनि सिकाउँछ। राम राज्यमा कोही दुःखी नहोऊन् भन्ने ठानी भगवान् राम परिवारबाट अलग रहनुपर्यो। राष्ट्रका लागि देवव्रतले आजीवन विवाह नगर्ने प्रण गरेका छन्। शासनमा बस्दा लोकतान्त्रिक आचरण अवलम्बन गर्नुपर्ने शिक्षा दिइएको छ। सत्ताको दुरुपयोग गर्ने अत्याचारी शासकलाई जनतामाझ नांगेझार पार्दै नाश गरिएको उदाहरण पाइन्छ। देश र जनताको हितमा यस्ता कयौं आदर्शले हामीलाई सत्कर्म गन प्रेरित गर्छ। अहिले हाम्रा तिनै सिद्धान्त र आदर्शलाई विमुख पारिँदै छ। कर्तव्यच्युत बनाउनेतर्फ व्यापक कसरत भएको छ। विश्व मानचित्रमा अंकित हाम्रो प्रतिष्ठा र पहिचान छिन्नभिन्न बनाइएको छ।
अबको एक मात्र खाँचो भनेको त्यही गुमेको साख र प्रतिष्ठालाई पुनर्स्थापित गर्नु हो। जसको प्राप्तिले हामीलाई राष्ट्र विकास र समृद्धितर्फ डोर्याउनेछ। राष्ट्रिय एकता सबल बन्ने बाटो खुल्नेछ। अब देशले द्वन्द्व चाहेको छैन। रगत बगेको हेर्न पनि चाहेको छैन। मुलुकले प्रेम र सद्भाव खोजेको छ। प्रेमचन्दले भने झैं राजनीतिले सेवा र त्याग देखाउन सक्नुपर्छ। त्यसैबाट कर्तव्य निर्वाह गर्ने अठोट जागृत हुन्छ। नागरिक चाहनाविपरीत लोकतन्त्र सार्थक हुँदैन। लोकतान्त्रिक प्रणालीमा हाम्रा आदर्श र मूल्यमान्यतालाई पछ्याउन सक्नुपर्छ। त्यसैबाट लोकतान्त्रिक प्रणाली जीवन्त बन्ने गरेको तथ्य इतिहासले सिद्ध गरेको छ।