भिंद्यः अर्थात 'असल देवता'को पाटन परिक्रमा

भिंद्यः अर्थात 'असल देवता'को पाटन परिक्रमा

काठमाडौं : भिंद्यः अर्थात असल देवता। नेपाल भाषामा ‘भिं’ भनेको असल/राम्रो र ‘द्यः’ भनेको देवता हो। त्यही असल देवता भिंद्यःलाई शनिबार साँझ पाटन परिक्रमा गराइएको छ। पाटनमा रहेका चार प्रमुख भीमसेनमध्ये एक भिंद्यःको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको हो।

हरेक वर्ष भाद्र  कृष्ण नवमीका दिन पाटनमा भिंद्यः जात्रा निकालिन्छ। भिंद्यःलाई व्यापारीले शुभ देवताका रुपमा पुज्ने गर्छन्। नेवारी समुदायले यस देवतालाई शुभ र शक्तिको प्रतिक मान्दै आएका छन्।
यो जात्रालाई भीमसेनजात्रा पनि भनिदै आइएको छ।

धेरैले भिंद्यः र भीमसेनलाई एउटै माने पनि यी दुवै एकै देवता नभएको संस्कृतविद् ओम धौभडेल बताउँछन्। धौभडेल भन्छन्, ‘नेवारहरुले पूजा गर्ने देवता भीमसेन नभएर भिंद्यः हो। भिंद्यःको कुनै आकृति नहुने भएकाले महाभारतको भीमसेनलाई नै कालान्तरमा भिंद्यः मानिएको हो।’  अहिले पनि पुराना भिमसेन मन्दिरहरुमा राखिएको देवताको आकृति हुँदैन। त्यहाँ ढुङ्गामात्र राखिएको हुन्छ। उदाहरणको रुपमा दोलखाको भिमसेन मन्दिरलाई लिन सकिने धौभडेल बताउँछन्।

भिंद्यःको आकृति खोज्ने क्रममा पाटनका राजा श्रीनिवास मल्लले कलाकारहरुलाई भिमसेनको आकृति बनाउन सुझाएका थिए। श्रीनिवास राजा सिद्धीनरसिंह मल्लका छोरा थिए। तर कलाकारले उक्त रुप बनाउन असमर्थ हुँदा श्रीनिवास निकै क्रोधित भएछन्। त्यही क्रोधित अर्थात रौद्र मुद्रालाई कलाकारहरुले भिमसेनको अवतारको रुपमा उतारेको धौभडेलले बताए।

पाटनको भिमसेन मन्दिरमा स्थापना गरिएको मूर्ति तिनै राजाको रौद्र रुप मानिन्छ। उक्त मूर्तिलाई अमात्य गुठियारहरुले बिहान श्रृंगार गरेका थिए। जात्रा निकालिने भीमसेनलाई मन्दिरको माथिल्लो तलाबाट झिकेर मन्दिरको पछाडीको सत्तलमा राखि  रंगरोगन गरेर सजाइयो। त्यसपछि पाटनका राजोपाध्यायले तान्त्रिक बिधीबाट मूर्तिलाई विशेष पूजा गरी प्राण प्रतिष्ठापन गरे। यसलाई तान्त्रिक विधी अनुसार जिवन्यास पूजा भनिन्छ।

पूजा गरेपछि मात्र जात्राको धार्मिक विधि सुरु हुन्छ। खट यात्रामा सहभागिताको आधारमा ललितपुरको रातो मच्छिन्द्रनाथ जात्रा पछिको यो दोश्रो ठूलो जात्रा हो। यस जात्रामा काठमाडौं, भक्तपुर र थिमीका व्यापारीले क्षमा पूजा गर्दै सरिक हुने परम्परा छ। भिंद्यःलाई धातुको विशेष खटमा राखेर सौगल, ओकुबहाल , हौगल , तिच्छुगल्ली , पुर्णचण्डी , पिम्बहाल कुम्भेश्वर हुदै मंगलबजार पुर्‍याएर समापन गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.