स्याउ किसान चिन्तित

स्याउ किसान चिन्तित

कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाको लेकाली क्षेत्र सिप्टीमा उत्पादित स्याउले बजार नपाउँदा किसान चिन्तित बनेका छन्। बगैंचामा लटरम्म फलेको स्याउ बिक्री नभएपछि उनीहरू चिन्तित बनेका हुन्।

जिल्लामै पहिलोपटक स्याउ जोन कार्यक्रम लागू भएको सिप्टीमा एक सयभन्दा बढी रास्कोटका किसानले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन्। सिप्टीमा स्याउ खेती गर्दै आएका किसान गोकर्ण न्यौपानेले आफूहरूले उत्पादन गरेको स्याउले बजार नपाएको बताए।

उनले भने, ‘नजिकै स्याउ बिक्री गर्ने बजार छैन, टाढा लैजान यातायातको सेवा पनि छैन। बगैंचामा फलेका स्याउ पशुले खाने गरेका छन्।’ बर्सेनि बगैंचामा फलेको स्याउ केही आफूले खाने र आफन्तलाई पनि दिएर बचेको चराचुरुंगी र पशुले खाने गरेको उनले पीडा सुनाए। गत वर्षबाट सिप्टीमा स्याउ जोन कार्यक्रम लागू भएपछि नगरपालिकाले सडक खन्न सुरु गरेको छ। तर, सडकमा परेका जग्गाधनीको विवादले सडक निर्माणको काम पनि अवरुद्ध छ।

यस्तै सिप्टीमा व्यावसायिक स्याउ खेती गर्ने किसान कलबहादुर रोकायाले आफूले बगैंचामा उत्पादन गरेको स्याउ बर्सेनि खेर जान थालेपछि स्याउबाट उत्पादन हुने जाम, जेलीलगायत वस्तु उत्पादन गर्न थालेको बताए। उनले भने, ‘स्याउ खपत हुने बजारको अभाव छ, बर्सेनि खेर जाँदै आएको स्याउबाट जाम, जेली, चानालगायत वस्तु उत्पादन गर्न थालेको छु।’ उनले त्यो पनि बिक्री कहाँ गर्ने भन्ने चिन्ता रहेको बताए। रास्कोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष डबल बोगटीले आफ्नो वडाका मात्र ३० जना किसानले सिप्टीमा उत्पादन गरेको स्याउ खेर गइरहेको बताए।

उनले अब सिप्टीको स्याउ नगरले नै खरिद गर्ने र बजारीकरण गर्ने तयारी गरेको बताए। उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइले कालिकोटको रास्कोट नगरपालिकाको सिप्टीलाई स्याउ जोन लागू गरी स्याउ खेती प्रवद्र्धनमा काम गरिरहेको छ। रास्कोट नगरपालिकाको सिप्टीमा हाल पाँच सय हेक्टर जमिनमा किसानले स्याउ खेती गर्दै आएका छन्।

बिक्री नभएपछि मदिरा

रुकुमपूर्वको पुथा उत्तरगंगामा उत्पादन भएको स्याउ बिक्री नहुँदा किसानले त्यसको मदिरा बनाउने गरेका छन्। स्याउ उत्पादन हुने ठाउँसम्म सडक सञ्जाल नभएकाले किसानले उत्पादन गरेको स्याउ कुहिएर जाने गरेको हो।

मैकोटका किसान अमरजित पुनले ढुवानी समस्याले स्याउ बिक्री नभएको बताए। खच्चडमार्फत बजार ल्याउँदा महँगो पर्ने भएकाले बिक्री नहुने समस्याले स्याउबाट मदिरा उत्पादन गर्ने गरेको पुनले बताए।

अर्का किसान कुमारो बुढाले भने, ‘स्याउ बिक्री नहुने भएपछि त्यत्तिकै खेर फाल्नुभन्दा प्रयोग गरौं भनेर हामी रक्सी (मदिरा) बनाउँदै आएका छौं।’ २०४० सालदेखि आफूहरूले स्याउ खेती गर्दै आएको भए पनि अहिलेसम्म बिक्री नगरेको प्रेस बुढाले बताए।

आफ्नै घरमा आर्थिक आम्दानीको राम्रो स्रोत भए पनि दुर्गम भएका कारण रक्सी बनाउनमा मात्रै प्रयोग गर्नुपर्दा दुःख लाग्ने गरेको किसानको गुनासो छ। पुथा उत्तरगंगा गाउँपालिकामा मात्रै बर्सेनि करिब २० लाखभन्दा बढीको स्याउ उत्पादन हुने गरेको छ। तर यातायातको अभावले यहाँका किसानले आफूले उत्पादन गरेको स्याउ बजारमा बिक्री गर्न पाएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.