दमकल छन्, आगलागी हुँदा काम लाग्दैनन्

दमकल छन्, आगलागी हुँदा काम लाग्दैनन्

काठमाडौं : काठमाडौं महानगरपालिकासँग भएका अधिकांश दमकल बिग्रेर थन्केका छन्। महानगरको वारुणयन्त्र कार्यालयमा भएका ८ मध्ये अहिले ३ दमकल मात्र चल्ने अवस्थामा छन्। बाँकी ५ वटा भने बिग्रिएका छन्। बेलायतले महानगरलाई विसं १९९२, १९९४, २००१ र २०६९ सालमा क्रमशः मोरिस, डेनिस, लहरी र भोल्भो गरी ४ दमकल दिएको थियो। तीमध्ये मोरिस, डेनिस र लहरी दमकल कामै नलाग्ने गरी बिग्रेर थन्किएका छन्।

महानगरपालिका जुद्ध वारुणयन्त्र कार्यालयका प्रमुख लीलाराज गच्छा मगरका अनुसार सबै दमकल पार्टपुर्जा अभावमा मर्मत हुन नसक्दा थन्केका हुन्। लामो समय यसै थन्किएका दमकल अब म्युजियममा राख्न मिल्ने भएको उनले बताए। त्यसबाहेक बेलायतले दिएको भोल्भो दमकलको गियर बक्स बिग्रिएको छ। जापानले दिएको मोरिता दमकलको पनि इन्जिन बिग्रिएको छ। दुवै दमकल मर्मतका लागि पठाइएको प्रमुख गच्छाले जानकारी दिए। ‘विदेशबाट ल्याएका अधिकांश दमकलको पार्टपुर्जा पाइँदैनन्,’ उनले भने, ‘पाए पनि ज्यादै महँगोे हुन्छ। मर्मतका लागि टेन्डरको लामो प्रक्रिया अपनाउनु पर्ने भएकाले बिग्रेपछि धेरैजसो थन्किन्छन्।’

अहिले बारुणयन्त्र कार्यालयमा भएकामध्ये जापानी फूसो दमकल, इटालीयन मर्सिडिज दमकल र भारतीय आइसर दमकल गरी ३ वटा मात्र चलाउन मिल्ने ठीक हालतमा छन। ३ दमकलले अहिले आपत्कालीन अवस्थामा आगलागी नियन्त्रण गर्न र सबैतिर भ्याउन मुश्किल पर्ने गरेको छ। महानगरमा कम्तीमा ४ वटा स्टेसन र हरेक स्टेसनमा २/२ वटा दमकल भए सहज हुने कार्यालय प्रमुख गच्छाले बताए।

दमकलबाहेक वारुण यन्त्रमा अहिले उद्धार गर्न रोड रेस्क्यु जिप ३ वटा छन्। तीमध्ये २ चल्ने अवस्थामा छन्। एउटा बिग्रेको छ। दुर्घटनापश्चात् उद्धार सामाग्रीसहितको फायर बाइक ८ मध्ये ४ वटा मात्र ठीक छन्। त्यसबाहेक साँघुरा गल्लीमा प्रयोग गरिने लाइट पोर्टेबल पम्प ५ मध्ये एउटा बिग्रिएको छ। नचल्ने धेरै यन्त्र पार्टपुर्जा अभावमा थन्किएको कार्यालयले जनाएको छ।अनुदानकै भर

महानगरले यतिन्जेलसम्म आफैैंले दमकल किनेको रेकर्ड छैन। जुद्ध वारुण यन्त्रमा भएका अधिकांश अग्नि नियन्त्रक यन्त्र विदेसीले अनुदान दिएका मात्र छन्। महानगरमा भएका ८ दमकलमध्ये ४ वटा बेलायतले, २ वटा जापाले र १/१ वटा इटाली र भारतले दिएका हुन्। कार्यालयमा दमकलले नभ्याउने अग्ला ठाउँमा पुग्न २ वटा सिँढी छन्। एउटा इटाली र अर्को जापानले दिएको हो। यसबाहेक रोड रेस्क्यु ट्रक, जिप पनि धेरैजसो अनुदानकै छन्। यसरी आएका यन्त्र प्रयोग भइसकेका र पुराना पनि हुने बताउँछन् कार्यालय प्रमुख गच्छा।

त्यस्ता यन्त्र छिट्टै बिग्रने र मर्मतका लागि पार्टपुर्जा अभावमा थन्किने उनको भनाइ छ। पुराना विदेशी यन्त्र अनुदानमा ल्याउनु भन्दा महानगरले आफैँ किने लामो समय चल्ने उनले बताए। ‘अनुदानबाट ल्याएका केही समय चल्छन्। अनि बिग्रन्छन्,’ उनले भने, ‘सामान फेर्न करोड खर्च हुन्छ। त्यै पनि पाइँदैन। नयाँ किने लामो समय समस्या आउँदैन।’

उपत्यकाभरि भ्याउनु पर्छ

जुद्ध वारुण यन्त्रका प्रमुख लीलाराजका अनुसार अहिले उपत्यकाका २२ स्थानीय तहमध्ये काठमाडौं, भक्तपुर र ललितपुर महानगरपालिकामा मात्र दमकल छ। अहिले काठमाडौं महानगरमा ३, भक्तपुर नगरपालिका र ललितपुर महानगरमा २/२ वटा गरी ७ वटा दमकल छन्। यीनै ७ ले उपत्यकाभरि भ्याउनु पर्ने उनले बताए। कतिपय अवस्थामा उपत्यकाबाहिर पनि जानुपर्ने उनले बताए। अहिले सबै स्थानीय तहसँग दमकल नहुँदा समस्या छ।

काठमाडौं महानगरपालिका विपत् व्यवस्थापन विभागका निर्देशक रविनमान श्रेष्ठले महानगर ३ दमकल किन्ने प्रक्रियामा रहेको बताए। ‘यस वर्ष हामीले दमकल खरिदका लागि १० करोड छुट्याएका छौँ,’ उनले भने, ‘३ वटाको खरिद प्रक्रिया अघि बढाएका छौँ। टेन्डरका लागि स्पेसिफिकेसन चार्ट तयार गर्दै छौँ।’ महानगरसँग भएका दमकलमा ३० मिटर उचाइसम्म पानी फ्याँक्न सक्ने क्षमता छ। नयाँ खरिद प्रक्रियामा रहेकाले कम्तीमा ६० मिटर उचाइसम्म भ्याउने उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.