असल शिक्षा
गाउँको छेउमा रहेको बाँसघारीमा धेरै थरीका चराहरूले गुँड लगाएका छन्। त्यही ठाउँमा एक जोडी रूपीले आफ्ना दुईवटा बच्चा हुर्काउँदै छन्। खुइले र झ्याप्ले नाम भएका बच्चा त्यही गुँडमा बस्छन्। उनीहरूका पखेटा भर्खर मात्र उड्नका लागि तयार भएका छन्।
उड्न थाल्नुभन्दा अघि उनीहरू दिनभर त्यही गुँडमा चारो पर्खेर बसिरहन्थे। आमा चरी र बा चरोले गुँडमा भरेर ल्याएको चारोले उनीहरूको पेट भर्नु पथ्र्यो। बा आमा चरा खानेकुरा खोज्न टाढा टाढासम्म उडेर जान्थे। बचेरालाई पहिले अघाएपछि मात्र उनीहरू आफ्नो लागि चारो खान्थे। बा आमाले कुनैबेला अन्न, गेडागुडी र फलफूल चारो ल्याउँथे। कुनैबेला ससाना कीरा फट्याङ्ग्राहरू चुच्चोमा चेपेर ल्याइदिन्थे।
बचेरा साना हुन्जेल त तिनीहरूको पेट भर्न बा आमालाई सजिलै थियो। तर बच्चा हुर्कंदै गएपछि उनीहरू जति खाए पनि नअघाउने भएका थिए। जति बेलै मुख बाएर च्याँ च्याँ गरिरहन्थे। भर्खर पलाउँदै गरेका पखेटा भ्याट भ्याट पार्दै आफूआफूमा खुब झगडा गर्थे। एकअर्कालाई ठुँङाठुँङ गरेर गुँडबाट तल झर्छन् कि भनेर माऊ चराहरू चिन्तित हुन्थे।
झ्याप्लेका पखेटा बाक्ला र झ्याप्प परेका थिए। उसका जीउभरि राम्रा प्वाँख पलाएका थिए। तर खुइलेका प्वाँख पातला थिए। उसको तालुमा रौं पलाएका थिएनन्। झ्याप्लेले उसको दाजुलाई सधंै तालु खुइले भन्थ्यो। झ्याप्लेभन्दा खुइले कमजोर थियो। उसको भागको खानेकुरा पनि भाइ झ्याप्लेले खोसेर खाइदिन्थ्यो। बा आमाले खुइलेको मुखभित्र पर्ने गरी दिएको खानेकुरा पनि झ्याप्लेले थुतेर खान्थ्यो। पेटभर खान नपाउँदा ऊ दुब्लो थियो। बलियो झ्याप्लेले खुइलेलाई सधैं हेप्ने गर्दथ्यो।
माऊ चराहरूले आफ्ना दुवै बचेराहरूलाई बराबर माया गर्थे। उनीहरूले दुवै बचेरालाई बिस्तारै उड्न सिकाए। एक हाँगाबाट अर्को हाँगामा उड्ने तरिका सिकाए। उडेर टाढाटाढा चारो खोज्न साथै लिएर जान थाले। शत्रुका आँखा छलेर चारो टिप्न र शत्रुबाट जोगिने उपाय पनि सिकाए। आफू चनाखो हुने, सिकारीबाट जोगिने र एकआपसमा मिलेर काम गर्ने कुरा पनि बा आमा चरीले बचेरालाई सिकाए।
माऊ चराले सिकाएका सबै कुरा सिक्दै गए पनि उनीहरूले एकआपसमा झगडा गर्न छोडेनन्। ठुँङाठुँङ गरेर तिनीहरूका कलिला पखेटाहरू च्यातिएका हुन्थे। सपक्क परेका प्वाँखहरू भुत्लिएर छरपस्ट भएका देखिन्थे।
एकदिन चारो खोज्न बाआमासँग दुबै दाजुभाइ चरा नजिकैको गहुँबारीमा गएका थिए। गहुँबारीमा मानिस गहुँ काट्दै चुट्दै गरिरहेका थिए। तिनीहरूसँग साना साना छोराछोरीहरू पनि गहुँबारीमा थिए। बारीमा झरेका गहुँका गेडा टिप्दै चराहरूले चारो बटुल्दै थिए। यत्तिकैमा खुइलेले एउटा फट्याङ्ग्रो भेट्यो। उसको चुच्चोमा फट्याङ्ग्रो देखेर झ्याप्लेले रिस गर्यो। ऊ त्यो खोस्न खुइलेलाई ठुङ्न थाल्यो। तिनीहरू कहिले रूखमा त कहिले भुइँमा लडीबुडी गरेर लडाइँ गर्न थाले। तिनीहरूको कल्याङमल्याङ आवाज सुनेर नजिकै खेलिरहेका केटाकेटी छेउमा आए। ती झगडालु चराले मान्छे छेउमा आएको पत्तो पाएनन्। केटाकेटीले तिनीहरूलाई टिपेर आफूसँगै लिएर गए।
बच्चा लगेको देखेर माउ चराहरू उड्दै केटाकेटीहरू गएतिरै गए। बचेरा समाऊ र केटाकेटीहरू नजिकैको गोठभित्र पसे। बा आमा चराहरू गोठको छेउको रूखमा बसेर बचेरा कुरिरहे। साँझ पर्दै गयो। बास बस्ने बेला भयो। तर बचेरा फिर्ता आएनन्। उनीहरू निराश भएर बसिरहे। गुँडमा फर्कन पनि सकेनन्।
गहुँ काटेर चुटिसकेपछि ठूला मानिस गोठभित्र पसे। छोराछोरीका हातमा चराका साना बचेरा चिँ चिँ गर्दै कामिरहेका देखेर छक्क परे। उनीहरूले बचेरा उडाइदेउ भनेर भने। तर केटाकेटीले मानेनन्। चराका बच्चा घरमा लिएर जाने, घरमै पाल्ने र बोल्न सिकाउने भनेर तिनिहरू जिद्दी गर्न थाले।
रूपीका साना साना बचेराहरू डरले कामिरहेका थिए। तिनीहरूको मुटु ढुकढुक भइरहेको थियो। मानिसका हातबाट उम्कन तिनीहरू भर्याक भर्याक गर्थे। तर मानिसले झन् दह्रो गरी तिनीहरूलाई मर्याक्क पारेर समाएका थिए। पखेटा दुखेर बल गर्न नसक्ने भए। उनीहरूलाई बा आमा चराको याद धेरै आइरहेको थियो।
बाहिर अँध्यारो भइसकेको थियो। माऊ चराहरू च्याँच्याँ गर्दै गोठ वरपर उड्न थाले। चराको बिजोक देखेर केटाकेटीकी आमाले सम्झाउनु भयो।
कसैलाई पनि जबर्जस्ती आफूसँग राख्नु हुँदैन। उनीहरूका बा आमा रुँदैरुँदै वरपर उडिरहेका छन्। आफ्ना छोराछोरीलाई केही नराम्रो हुने हो कि भनेर तिनीहरू आत्तिरहेका छन्। तिमीहरूलाई कसैले हामीबाट छुटाएर लग्यो भने हामी कति दुःखी हुन्छौ। त्यस्तै हो यिनीहरूलाई पनि। यिनीहरूको बुद्धि नभएर एकआपसमा लडाइँ गरेकाले मात्र तिमीहरूले पक्डन सक्यौं। नत्र सक्ने थिएनौ। त्यसैले हामीले पनि सधैं मिलिजुली बस्नुपर्छ। एकआपसमा सहयोग गर्नुपर्छ। आज यी चराका माऊ बचेरा आपत्मा परेका छन्। यिनीहरूलाई हामीले यस्तो आपत्मा राख्नु हुँदैन। छाडिदेओ यिनीहरूलाई।
धेरैबैर फकाएपछि उनीहरूले बचेरालाई उडाइदिए। दाजुभाइ चरा भुर्र उडेर आफ्ना बाआमा भएको छानामा गएर बसे। चारैजना सँगै भए। उनीहरू बा आमासँग लुटुपुटु भए। अबदेखि दाजुभाइ झगडा नगर्ने सधैं मिलेर बस्ने कुरा पनि भने। उनीहरू सबैजना गुँडमा फर्किए। न्यानो गुँडमा दाजुभाइ बचेरा मिलेर लुटुक्क निदाए। माऊ चराहरू पनि आफ्ना बचेरा मिलेको देखेर ढुक्क भए।