सूर्यको नजिक पुग्ने पहिलो
नासाको सूर्ययान अर्थात् नासा स्पेसक्राफ्टले एक वर्षको यात्रामा सूर्यको सबैभन्दा नजिक पुगेर रेकर्ड बनाएको छ। सूर्य र पृथ्वीबीचको सम्बन्ध र सौर्यमण्डलको रहस्य बुझ्न नासाले सूर्यको नजिक ‘पार्कर सोलार प्रोव’ नामको स्पेसक्राफ्ट अघिल्लो वर्ष पठाएको थियो।
स्पेसक्राफ्ट पार्कर प्रोबलाई सूर्यको नजिक पठाउनुको उद्देश्य सूर्यलाई ताप दिने सोलार हावाको बारेमा जान्नु, सूर्यको हावाको स्रोतमा बन्ने चुम्बकीय क्षेत्रको विज्ञान तथा संरचना बुझ्नु र ऊर्जासहित कणको वेगको बारेमा जानकारी जुटाउनु रहेको छ। यो यानले सूर्यको धेरै नजिक पुगेर अध्ययन गरेपछि मात्रै यी विषय बुझ्न सम्भव हुने वैज्ञानिकले बताएका छन्।
सूर्यको कति नजिक छ पार्कर ?
पार्कर सोलार प्रोबलाई सात वर्ष अर्थात् सन् २०२५ सम्म सूर्यको २४ कक्षसम्म पुर्याउने लक्ष्य छ। अहिले उक्त यानले दुई कक्षको काम पूरा गरेर डाटा पनि पठाएको छ। यो मिसनमा पार्कर सूर्यबाट ६९ लाख किलोमिटरको दूरीसम्म पुग्नेछ। योभन्दा पहिले पठाएको सबै सूर्ययानभन्दा यो यान सात गुणा राम्रो छ। अर्थात् सूर्यको यति नजिकसम्म कुनै स्पेसक्राफ्ट पुग्न सकेको छैन। दुई कक्षमा पुगिसकेको पार्कर बुध ग्रहको कक्षसम्म पुगिसकेको छ। यात्रामा यो स्पेसक्राफ्टको गति ६ लाख ९० हजार किमी प्रतिघण्टा हुने दाबी गरिएको छ।
यो प्रोजेक्टको घोषणा सन् २००९ मा भएको थियो। यसका लागि डेढ अर्ब अमेरिकी डलर बजेट छुट्याइएको थियो। यो नासाको पहिलो स्पेसक्राफ्ट हो जसको नाम जीवित वैज्ञानिकको नामबाट राखिएको छ। सिकागो विश्वविद्यालयका भौतिकशास्त्री युजिन पार्करले सन् १९५० को दशकमा बाहिरी सौर्यमण्डलको बारेमा महत्वपूर्ण सिद्धान्त र अध्ययन गरेका छन्। उनकै सिद्धान्तअनुरूप यो मिसनको परिकल्पना गरिएको हो।
नासाले पार्कर प्रोबले दुई चरणमा डाटा पठाइसकेको छ। यो मिसनद्वारा सौर्यमण्डल, सूर्य र पृथ्वीबीचको सम्बन्धको बारेमा धेरै महत्वपूर्ण रहस्य खुल्ने दाबी गरिएको छ। यो मिसन सफल भयो भने पृथ्वीको जीवनलाई प्रभावित गर्ने तत्व, हावापानीसँग जोडिएका घटना र भविष्यवाणीसम्म जान्न सम्भव हुने वैज्ञानिकले बताएका छन्।