सहायता जुटाउँदै सहयोगी हात
सानै उमेरदेखि समाजसेवामा रुचि राख्थे शुभाशिष श्रेष्ठ। १५ वर्षीय श्रेष्ठ बेलायतको ब्यासिङ्स्टोक सहरमा जन्मिएका हुन्। उनले हालै ‘अल्दवर्थ स्कुल’बाट कक्षा १० पास गरेका छन्। उतै जन्मिए हुर्किए पनि उनको मनभरि नेपालको माया छ। आफ्नो कला र संस्कृतिप्रति झुकाव छ। नेपालका अनाथ बालबालिकाका बारेमा उनी सोचिरहन्छन्। यसले उनलाई ती बालबालिकाका लागि केही गर्न घचघच्याइरहन्छ।
नेपालका अनाथ, असहाय, गरिब तथा मेहनती बालबालिकालाई सहयोग गर्नु उनको सपना हो। यही सपना पूरा गर्न उनले बेलायतमा विभिन्न सांस्कृतिक च्यारिटी सोहरू गरेर रकम जुटाउने गरेका छन्।
शुभाशिषले यो काम अन्य सातजना साथीसँग मिलेर गर्ने गरेका छन्। समूहको नाम इभोलुसन डान्स क्रिउ हो। समूहमा १० वर्षीय एन्जल गुरुङ, १३ वर्षीय आरोन गुरुङ, १३ वर्षीय एन्गी गुरुङ, १७ वर्षीय बिस गुरुङ, १४ वर्षीया एरिना गुरुङ र १४ वर्षीया आयुषा गुरुङ छन्। समूहका सदस्यहरूले आफ्नो नृत्य प्रस्तुति गर्दा दौरासुरुवाल, ढाका टोपी र पटुकीमा सजिएर नेपालीपनको झल्को दिने गरेका छन्।
समूह बनेको जम्मा दुई वर्ष मात्र भयो। दुई वर्षको अवधिमा पनि समूहले नेपालका बालबालिकाका लागि धेरै सहयोग जुटाइसकेको छ।समूहका सदस्य सबै एउटै स्कुलमा पढ्छन्। यो सहयोग अभियानमा उनीसँगै उनका भाइ सुशान्त पनि लागेका छन्। उनी अहिले कक्षा ७ मा पढ्छन्। समूहले गर्ने कार्यक्रममा उनी गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्छन्।
यी दाजुभाइ बेलायतमा नेपालीले गर्ने कार्यक्रम हेर्न बेलाबेलामा जाने गर्थे। ‘हामी पनि यस्तै च्यारिटी गरेर पैसा जम्मा गर्न पाए हुन्थ्यो’, उनकी साथी आयुषाले भनेका कुरा सम्झँदै उनले भने, ‘आयुषाले यस्तो भनेपछि च्यारिटीबाट पैसा उठाएर नेपालका अनाथ बालबालिकालाई सहयोग गर्न पाए गजब हुन्थ्यो जस्तो लाग्यो र हामीले काम सुरु गर्यौं।’
शुभाशिष जिज्ञासु स्वभावका छन्। उनी फुर्सदको समयमा पढ्न रुचाउँछन्। नयाँ विषयमा खोजी गर्नु पनि उनको रुचिभित्रै पर्छ। उनीमात्र होइन, उनको समूहका हरेक सदस्य उत्तिकै सक्रिय छन्। ‘सुरुसुरुमा नृत्य देखाउनका लागि हामीले कार्यक्रमहरू खोज्दै हिँड्नुपथ्र्यो। तर अहिले आफैं बोलाउन थालेका छन्’, खुसी हुँदै उनले भने। उनका अनुसार एउटै कार्यक्रमबाट सयदेखि डेढ सय पाउन्डसम्म रकम संकलन हुने गरेको छ।
यो समूहको उद्देश्य पैसा कमाउनु मात्र होइन। यसले नेपाली भाषा, कला र संस्कृतिलाई जोगाउने काममा पनि योगदान पुर्याएको छ। समूहप्रति शुभाशिषलाई पहिले त्यति रुचि थिएन। तर आफ्नो वास्तविक पहिचान भनेको कला, संस्कति, भाषा र भेषभूषा रहेछ भन्ने बुझेपछि उनको झुकाव पनि बढ्दै गयो। ‘म यो गु्रपमा नलागेको भए सायद म को हुँ, मेरो पहिचान के हो ? भन्ने नै थाहा हुने थिएन होला’, उनी थप्छन्, ‘हामीले विश्वभर नेपाललाई चिनाउन यो काम निरन्तर गरिरहनेछौं।’ अब छिट्टै नै नेपाली बोल्न नजान्ने बेलायतका नेपाली बालबालिकालाई नेपाली भाषा कक्षा सञ्चालन गर्ने सोच उनले बनाएका छन्।
गत वर्ष यो समूहले पोखरास्थित संस्कृत माध्यमिक विद्यालयमा ई–लाइब्रेरी स्थापना गरेको थियो। शुभाशिषले भने, ‘नेपालका धेरै विद्यालयमा पुस्तकालयको अभाव छ। त्यसमाथि अलि गरिब वा पिछिडिएका वर्गका छोराछोरीले सुविधासम्पन्न स्कुलमा पढ्न पाउँदैनन्। त्यसैले उनीहरू पढ्न पाऊन् भनेर हामीले ई–लाइब्रेरेरी खोलेका हौं।’ त्यसैगरी समूहले एकजना बिरामीलाई उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेको छ। यसै महिना उनीहरूले फेरि एउटा लाइब्रेरी खोल्ने योजना बनाएका थिए। तर सबैको समय नमिलेका कारण यो सम्भव भएन।
आफ्नो समूहले छोटो समयमा उपलब्धिमूलक काम गरेकाले विदेशीलगायत विभिन्न नेपाली संघसंस्था वा समुदायबाट पनि आर्थिक सहयोग प्राप्त गर्ने गरेको उनले बताए। यसले उनीहरूलाई काम गर्न अझै उत्प्रेरित गरेको छ।
उनी अहिले केही दिनका लागि नेपाल घुम्न आएका छन्। घुम्नुसँगै यहाँका अनाथ बालबालिकाका अवस्थाबारे पनि अध्ययन गरिरहेका छन्। नेपालका गरिब, असहाय तथा अनाथ बालबालिकाको शैक्षिक अवस्था एकदमै कमजोर रहेको उनको बुझाइ छ। यस्ता बालबालिकाको सहयोगका लागि आफू सधैं जुटिरहने उनले बताए।