प्रचण्डको अध्यक्षतामा पहिलो पटक नेकपा सचिवालय बैठक

प्रचण्डको अध्यक्षतामा पहिलो पटक नेकपा सचिवालय बैठक

 काठमाडौं : सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालय बैठक बोलाएका छन् । ‘सोमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको छ’, महासचिव विष्णु पौडेलले अन्नपूर्णसँग भने, ‘पार्टीको संगठनात्मक एकताका बाँकी कामबारे छलफल गरी निर्णयमा पुग्ने काम हुन्छ ।’

पार्टी एकतापछि नेकपामा प्रधानमन्त्रीसमेत रहेका केपी ओली र दाहाल दुई जना अध्यक्ष छन् । एक जनाको अनुपस्थिति र सहमतिबिना अर्का नेताले बैठक बोलाउने र निर्णय लिने अवस्था थिएन । प्रधानमन्त्री ओलीको बेला–बेलाको विदेश भ्रमणका कारण पनि नेकपामा कतिपय अवस्थामा बैठक प्रभावित हुँदै आएका थिए ।

विधानमा दुई अध्यक्षको अधिकार बराबर छ । तत्कालीन एमाले र माओवादी एकताकै क्रममा पनि दुई अध्यक्षले बैठकको अध्यक्षता आलोपालो गर्ने समझदारी भएको थियो । दाहालले १५ महिनायता बैठकको अध्यक्षता गर्न पाएका थिएनन् । प्रधानमन्त्री ओलीले अध्यक्षता गर्ने, उनकै योजनामा बैठक बोलाउनुपर्नेलगायत कारण दाहाल सहयोगीका रूपमा मात्र देखिएका थिए ।

ओलीले बैठकको अध्यक्षता गर्नेदेखि अन्य अधिकार नदिएर दाहालको ‘ह्युमुलेसन’ मात्र गरिरहेको आरोप माओवादी पृष्ठभूमिका नेताले लगाउन थालेका थिए । दाहाल पनि आफ्नो भूमिका खुम्चिँदै गएकोमा सन्तुष्ट देखिएका थिएनन् ।

ओलीले ५ भदौको सचिवालय बैठकमा भने दाहाललाई आफ्नो अनुपस्थितिमा पनि बैठक बोलाउन र पार्टी निर्णय गराउने अधिकार दिए । त्यसपछि दाहालले सोमबारका लागि बैठक बोलाएका हुन् ।

नेकपामा केन्द्रीय आयोग, महानगर कमिटी, प्रवास कमिटीदेखि सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्चलगायत संगठनात्मक एकीकरणका काम टुंगो लगाउन बाँकी छ । ओलीले आफ्नो अनुपस्थितिमा यी काम सहमतिका आधारमा बैठक बोलाई अगाडि बढाउन दाहाललाई अधिकार दिएका थिए ।

ओली उपचारका लागि सिंगापुरमा छन् । उनको सिंगापुर बसाइ लम्बिने भएपछि दाहालले बैठक बसाल्न अन्य नेतासँग परामर्श गरेका थिए । उनले सचिवालयका अन्य नेतासँग एकसरो छलफल गरेका थिए । उनले आइतबार कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेतासँग भेट गरेका थिए । उनले वरिष्ठ नेता माधवकुमार नेपालसँग पटक–पटक छलफल गरेका थिए ।

बिहीबारको सचिवालय बैठकमा ओली र नेपालबीच चर्काचर्की परेको थियो । दुई नेताबीचको असमझदारी र विवाद मिलाउन दाहालले समन्वयकारी भूमिका निर्वाह गरिरहेको नेकपा नेता बताउँछन् । त्यसका लागि उनले नेता नेपाललाई भेटेका छन् भने ओलीलाई विगतका तिक्तता उठाइनराख्न आग्रह गरेका छन् ।

सचिवालय बैठक पनि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको छ । यसअघि मंसिर २९ देखि पुस १३ सम्मको स्थायी समिति बैठक मात्र पार्टी कार्यालयमा बसेको थियो । त्यसयता सचिवालयका ३३ औं पटक बैठक बसेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.