प्रतिबद्धता कार्यान्वयन नै मेरो राजनीति
०४६ सालको आन्दोलनपछि राजनीतिमा होमिएका बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन दक्षिण ललितपुरलाई नेपालको दोस्रो कर्णाली मान्छन्। उनी भन्छन्, ‘म मन, वचन र कर्मले नै मुलुकको दोस्रोे कर्णाली बागमती गाउँपालिकालाई उपत्यकाकै स्तरमा उठाउनेछु।’ पार्टीको विभिन्न इकाइदेखि क्षेत्रीय सचिव, क्षेत्रीय सभापति, निर्वाचित जिल्ला सदस्य हुँदै ०७४ को चुनावमा गाउँपालिकाको अध्यक्ष बने।
उपत्यकामा रहेर पनि अत्यन्त विकट यो गाउँपालिकाको विकासका लागि निर्वाचनका समयमा व्यक्त प्रतिबद्धता कार्यान्वयन आफ्नो राजनीति ठान्छन् उनी। त्यस विकट क्षेत्रमा भए÷गरेका काम कारबाहीबारे बागमती गाउँपालिका अध्यक्ष लोप्चनसँग अन्नपूर्णकर्मी नितु घलेले गरेको कुराकानी :
तपाईंको राजनीतिक यात्राबारे बताइदिनुहुनुस् न ?
म पहिले संयुक्त राष्ट्रसंघअन्तर्गत वनजंगलसम्बन्धी कार्यक्रममा काम गर्थें। १३ वर्षसम्म वनजंगल संरक्षणको उत्प्रेरक भएँ। स्थानीय बासिन्दालाई वनजंगलको आवश्यकता र महŒवबारे बुझाउँथेँ। गाउँमा मेरो एकखाले पहिचान बनिसकेको थियो। ०५३ सालमा त्यो कार्यक्रम बन्द भयो। ०४७ देखि नै विभिन्न इकाइमा काम गरिसकेकाले ०५३ पछिको पूरा समय राजनीतिमा दिएँ।
०७४ को चुनावमा बागमती गाउँपालिकाका ७ वडा मध्ये १, २, ३, ४ मा सेट (नेपाली कांग्रेस) ले जित्यो। सांगठनिक संरचना बलियो हुनुका साथै व्यक्तिगत छविका कारण जनताले मलाई चुनेका हुन्।
गाउँपालिकामा विकास निर्माणका लागि भए/गरेका काम के–के हुन् ?
भूगोलका हिसाबले बागमती दोस्रो कर्णाली हो। विकट क्षेत्र भएकाले प्रत्यक्ष देखिनेगरी काम गर्न गाह्रो छ। विकासको पूर्वाधार निर्माणअन्तर्गत प्रत्येक गाउँमा सडक पुर्याउने काम भएको छ। भूकम्पले तहसनहस बनाएको गाउँको पुनर्निर्माण गर्न सडक अपरिहार्य थियो। गाउँगाउँमा ढुवानीका सामग्री लैजान गाह्रो थियो। त्यसैले वडाका ८/१० घर भएका प्रत्येक टोलमा बाटोको सुविधा पुगेको छ। तर, वर्षाले समस्या बढाएको छ।
पानीले बगाएका मुख्य सडक अझै बन्न सकेका छैनन्। कान्ति लोकपथले दक्षिण ललितपुरका बासिन्दालाई केही हदसम्म सजिलो बनाएको थियो। तर, पहिरोले बिग्रिएको उक्त सडकखण्डको मकवानपुरलाई जोड्ने सडक अझै सुचारु भएको छैन। लगनखेलबाट २८ किलोमिटर टाढा मात्रै भए पनि दक्षिणको भौगोलिक विकटता अचम्मको छ।
डोजर र असारे विकासले विनाश निम्त्याएको आरोप तपाईंहरूमाथि छ नि ?
यस पटकको झरीले कहिल्यै नभत्किएका ठाउँ पनि बगाएको छ। कालोपत्रे गरिएका मुख्य सडक नै बगेका छन्। हामीले बाटो खनेकाले विनाश आएको होइन। काम गर्ने सिलसिलामा यस्ता आरोप लाग्नु स्वाभाविकै हो। जमिनले धेरै पानी थेग्न नसकेर यस्तो भएको हो। डोजर र असारे विकासले मात्र विनाश निम्त्याएको होइन।
विकास निर्माणका लागि कुनै ठोस योजना ?
हामीले गत वर्ष कुल बजेटको ५५ प्रतिशत र यसवर्ष ४० प्रतिशत बजेट पूर्वाधार निर्माणमा लगाएका छौं। आर्थिक स्रोतको आधार नै पूर्वाधार हो। जबसम्म पूर्वाधार निर्माण गरिँदैन तबसम्म कुनै पनि ठाउँको विकास सम्भव हुँदैन। काठमाडौंमा पुग्ने दुग्धजन्य वस्तु दक्षिण ललितपुरकै हो। दूध, तरकारीजस्ता स्थानीय उत्पादनलाई बजारसम्म अझै ल्याउन नसकेको स्थिति छ।
ती वस्तु बिक्री गर्ने ठाउँसम्म पुर्याउन सर्वप्रथम सडकको आवश्यकता पर्छ। तसर्थ पनि सडक सञ्जाललाई महत्त्व दिएका छांै। कृषिमा स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउनका लागि योजना तर्जुमा गरेका छौं। साथै, दिगो विकासका लागि स्थानीय बासिन्दासँग हातेमालो गरी वृक्षरोपण, ढलनिकास, खानेपानी, स्वास्थ्य, शिक्षालगायतमा सबैको पहँुच पुर्याउने उद्देश्यसाथ काम भइरहेको छ।
समग्र गाउँको विकासका लागि कसरी बजेट विनियोजन गर्नुभयो ?
गाउँपालिकाको सातै वटा वडामा करिब एक करोड रुपैयाँका दरले बजेट छुट्ट्याइएको छ। गत वर्ष विकास बजेट १० करोड थियो। यसपटक १२ करोड बनाएका छौं।
चुनावका बेला गर्नुभएका प्रतिबद्धता कत्तिको पूरा गर्नुभयो ?
चुनावमा बाटो, खानेपानी र पर्यटकीय क्षेत्रको विकासमा मेरो मुख्य एजेन्डा थियो। सबैतिर सडक पुगेको छ। एक घर एक धाराको कार्यक्रम जारी छ। विकास निर्माणका लागि विभिन्न योजना चालु छन्। वडा नम्बर ३ को सातकन्यामा (हवाई) राडर क्षेत्रलाई पर्यटकीय हिसाबले आकर्षणको केन्द्रविन्दु बनाउन पहल गरेको छु। जसका लागि गत वर्ष ३१ लाख र यस वर्ष ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ। यहाँबाट हिमाल, तराईलगायत रमणीय क्षेत्र अवलोकन गर्न सकिन्छ।
शिक्षा क्षेत्रमा केही सुधार गरिएको छ कि ?
प्रदेश सरकारबाट ‘पूर्णभर्ना अभियान’ सफल भएकोमा हाम्रो गाउँपालिकालाई प्रमाणपत्र दिइसकेको छ। हामीले शिक्षा नियमावली बनाएर त्यसैअनुसार काम गरेका छौं। विद्यालय सुधार कार्यक्रमअन्तर्गत दरबन्दी मिलान र विद्यार्थी नभएका ३ वटा स्कुल मर्ज गरेका छौँ। राज्यको लगानी खेर नजाओस् भनेर विद्यार्थी नभएका ठाउँमा सातवटा स्कुललाई घटुवा गर्यौँ। कक्षा ८ सञ्चालन भएकोमा ५ मात्र बनायांै। त्यहाँका विद्यार्थी अर्को विद्यालयमा जान्छन्। १५ वटा विद्यालयको शिक्षकको दरबन्दी मिलान गरेका छौं। यहाँ १० मावि, ५ निमावि र ३५ प्रावि सञ्चालित छन्।
विकासका लागि विशेष रूपमा गर्न चाहेका काम र क्षेत्र के–के छन् ?
कृषि र पशुपालन यस क्षेत्रको मुख्य व्यवसाय हो। यसबाट आयआर्जन राम्रो हुने प्रचुर सम्भावना छ। त्यसैले सातै वडालाई ध्यानमा राखेर तरकारी संकलन केन्द्र बनाउन पहल गरेका छांै। उत्पादनको ग्रेडिङ, प्याकेजिङ, संकलन र बजारसम्म पुर्याउने व्यवस्था मिलाएका छौं। स्थानीय बासिन्दालाई उत्साहित बनाउन तरकारी, फलफूल, पशुपालनलगायतमा अनुदान दिने कार्यविधि बनाएका छांै।
गाउँपालिकाको मुख्य आम्दानीको स्रोत के हो ?
ढुंगा, गिट्टी र बालुवा निकासीबाट हुने आम्दानी नै यहाँको मुख्य स्रोत हो। प्रदेशको कानुनअनुसार प्रतिक्युफिट ९ रुपैयाँ लिन्छौं। तर, स्थानीय सरकारले ४० प्रतिशत र प्रदेशले ६० प्रतिशत कर लिने व्यवस्था गरेको छ।
जनताको मन जित्ने कुनै योजना ?
मेरो कुनै व्यापार व्यवसाय छैन, त्यसैले फुलटाइम जनताको सेवा एवं विकास निर्माणमा समर्पित हुन्छु।
विकास निर्माणमा भएका अन्य उपलब्धि केही छन् कि ?
यहाँका जनता आधारभूत सुविधाबाट वञ्चित छैनन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रमा त्यस्तो दुःख छैन। दुई वटा वडामा ल्याबको व्यवस्था गरिएको छ। एक जना डाक्टर बस्छन्। चार ठाउँमा बर्थिङ सेन्टर छ। प्युटारमा सुविधासम्पन्न अस्पताल बन्ने भएको छ।