‘नयाँ चालकले इशारा बुझ्दैनन्’
ड्युटी गर्न कस्तो लाग्छ, सर ?
काठमाडौँ आएको कति भयो ?
यहाँको घर कता पर्यो ?
बझाङ।
ट्राफिक प्रहरीको जागिर गर्न थालेको कति भयो ?
१० वर्ष भइसक्यो।
जागिर खानुअघि के गरिन्थ्यो ?
गाउँमा खेतीकिसानी गर्थें।
१० वर्षमा कहाँ–कहाँ ड्युटी गरियो ?
धनगढी, बझाङ, महेन्द्रनगर, बैतडी, त्यसपछि काठमाडौँ सरुवा भयो।
काठमाडौँमा कता–कता ड्युटी गर्नुभएको छ ?
सुकेधारा, दरबारमार्गमा गरेँ। अहिले थापाथलीमा छु।
काठमाडौँभित्र र बाहिर ड्युटी गर्दा के फरक पाउनुभयो ?
राजधानीबाहिर काम गर्न धेरै सजिलो नि ! त्यहाँ न त धुलोधुवाँ हुन्छ, न सवारीको चाप यहाँजस्तो हुन्छ। काठमाडौँमा धुलोधुवाँ त्यस्तै ! सवारीको चाप थेगिनसक्नु छ। चालकले पनि उस्तै हेप्छन्। जिल्लामा यस्तो कहाँ हुनु ?
ट्राफिक प्रहरी भएपछि जीवन बदलियो कि ?
धेरै बदलियो। बोल्ने तरिकादेखि अनुशासनमसम्म धेरै कुरा जागिरले सिकायो।
बाल्यकालदेखि नै ट्राफिक प्रहरी बन्ने सोच थियो ?
सोच त थिएन। फारम खुलेको थाहा पाएँ। ट्राफिक प्रहरीका लागि चाहिने सबै योग्यता आफूमा देखेपछि फारम भरेँ। नाम निस्कियो र ट्राफिक प्रहरी बनियो।
कस्तो छ जागिर ?
जाडो–गर्मी, घामपानी केही नभनी हरेक बेला जनताको हितको लागि काम गर्छौं। मलाई त यो काम नभई जनताको सेवा होजस्तो लाग्छ।
थापाथलीतिर के भइदिए काम गर्न सजिलो हुन्थ्यो ?
अरू ठाउँभन्दा यहाँ सवारीको चाप बढी हुन्छ। ट्राफिक लाइट छैन। हातले इशारा गर्नुपर्ने हुन्छ। इशारा गर्दा–गर्दा हात थाक्छ। ट्राफिक लाइट भइदिएको भए काम गर्न सजिलो हुने थियो।
ट्राफिक प्रहरीले दिएको इशारा नमान्न्ने चालक पनि भेटिन्छन् कि ?
भर्खर गाडी चलाउन सिकेका नयाँ चालकले हातका इशारा बुझ्दैनन्। त्यसैले इशारा मान्दैनन्।
चार वर्षमा काठमाडाँैको बाटोमा कत्तिको सुधार पाउनुभयो ?
पहिलाभन्दा अहिले धेरै ठाउँमा बाटो बनेका छन्। रिङरोडतिर बाटो चौडा भएको छ। कलंकी, सातदोबाटो रुटमा राम्रोसँग लेन बनेका छन्। जसले हामीलाई काम गर्न सजिलो भएको छ।
पैदलयात्रीले जेब्रा क्रसिङ प्रयोग गर्छन् कि नाइँ ?
आजभोलि पैदलयात्री पहिलाभन्दा धेरै सजग भएका छन्। प्रायःले जेब्रा क्रसिङबाटै बाटो काट्छन्।
गल्ती गरेका चालकले ‘एकचोटिका लागि माफ गरिदिनुस्’ भन्दा के गर्नुहुन्छ ?
त्यस्तो भन्ने त धेरै भेटिन्छन्। ‘एकचोटि मात्र हो, सर माफ गरिदिनुस्, आइन्दा यस्तो हुन्न’ भन्छन्। ठूलो गल्ती हो भने माफ गर्दैनौँ। सानोतिनो के कस्तो गल्ती हो, हेरेर छोड्छौँ।
जाडो महिनामा काम गर्न सहज कि गर्मीमा ?
काम गर्न त जाडोमा ठीक लाग्छ। गर्मीमा त घामले पोलेर हैरान हुन्छ।
एक जना ट्राफिक प्रहरीसँग कति वटा ड्रेस हुन्छ ?
तीन जोर ड्रेस हुन्छ। हरेक वर्ष नयाँ आउने गर्छ।
एक जोर लुगाले कति दिन ड्युटी गरिन्छ ?
यस्तो धुलोधुवाँमा कति दिनसम्म सफा रहला र ड्रेस ? धुलोमाटो, पसिनाले एक जोर एक दिनका लागि मात्र पुग्छ।
प्रस्तुतिः आशक्ति फुयाल