भिडियोबाटै मन्त्रिपरिषद् बैठक सुरक्षित छ ? प्रधानमन्त्री कार्यालयले यसो भन्यो
काठमाडौं : भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्नुमा कुनै खतरा नरहेको प्रधानमन्त्री कार्यालयले दाबी गरेको छ। प्रधानमन्त्रीले टेली प्रिजेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्दा गोपनीयतामा खतरा नरहेको प्रधानमन्त्री कार्यालयले जनाएको हो।
प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले यो प्रविधि पूर्णरूपमा सुरक्षित रहेको दाबी फेसबुकमा गरेका छन्। उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्सबाट सोमबार मन्त्रिपरिषद् बैठक सञ्चालन गरेका थिए। सल्लाहकार अलीले मंगलबार मन्त्रिपरिषद् बैठक सञ्चालनका लागि प्रयोग गरिएको टेली प्रिसेन्स प्रविधि गोपनीयता भंग हुने खालको नभएको स्पष्ट पारेका छन्।
अलीले भनेका छन्-‘हिजो टेली प्रिजेन्समार्फत गरिएको ऐतिहासिक मन्त्रिपरिषद् बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु भएको छ, यसमा हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न भीपीएन (Virtual Private Network) प्रयोग गरेका छौं।'
अलीले यस प्रक्रियामा कसरी प्रविधि कनेक्ट गराइएको हुन्छ भनी जानकारी दिएका छन्। उनले सुरक्षा गोपनियताका कारण सबै जानकारी दिन नमिल्ने भन्दै यो फेसबुक कल, स्काइप कल, यूट्युब लाइभ जस्तो नबुझ्न र भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन्।