महिला अधिकारका प्रेरक
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सबैले सम्झने नाम हो मंगलदेवी सिंह। विशेषगरी नेपाली महिलाको जागरण र अधिकारको संघर्ष इतिहासमा मंगलादेवी सधैं अमर र प्रेरक भएकी छन्। यिनी नेपाली भूमिबाट बिदा भएको समय बित्दै गए पनि महिला अधिकारका लागि गरेको संघर्ष एवं योगदान सधैं नयाँ इतिहास बनेर हरेक नेपालीको मनमस्तिष्कमा गुन्जिरहेको छ। प्रजातान्त्रिक पद्धतिको राजनीतिक वृत्तमा केही व्यक्ति संस्थासरहको व्यक्तित्व निर्माण गर्न पुग्छन्। विश्वको प्रजातान्त्रिक चिन्तनमा अब्राहम लिंकनको जुन भूमिका छ, व्यक्ति स्वतन्त्रताको पक्षमा पूर्वीय धरातलमा भगवान् श्रीकृष्णको जुन भूमिका छ, लगभग त्यस्तै किसिमको भूमिका भएका व्यक्ति प्रशस्त भेटिन सक्छन्।
नेपालको प्रजातान्त्रिक आन्दोलनको कुरा गर्ने हो भने केही व्यक्ति प्रजातान्त्रिक संस्था र त्यसको समग्र आन्दोलनको अग्रपंक्तिमा रहेको देखिन्छ। जस्तो– बीपी कोइराला, नेपाली माटोमा पहिलोपटक बहुलवादी दर्शन, समाजवादी, प्रजातन्त्रको प्रणयकर्ता र प्रयोगकर्ताका रूपमा स्थापित छन्। त्यसैगरी नेपाली महिलाको लोकतान्त्रिक आन्दोलन र महिला मुक्तिको प्रणयकर्ताका रूपमा सधैं मंगलादेवीलाई स्मरण गरिन्छ। उनले निरंकुश राणाशासनको समयमा पनि भूमिगत रूपमा महिलालाई संगठित गरी नेपाल महिला संघलाई सञ्जीवनी शक्ति प्रदान गरिन्। त्यसैले उनी हरेक महिलाको मानसपटलमा एक उज्ज्वल नक्षेत्रको रूपमा चम्किरहेकी छन्।
द्वितीय विश्वयुद्धपछि संसारभरि राष्ट्रिय मुक्ति आन्दोलनको लहर आयो महात्मा गान्धीले नेतृत्व गरेको भारतीय स्वाधीनता संग्रामको प्रेरणाले तेस्रो विश्व त्यसै पनि तरंगित थियो। त्यसैबेलादेखि नै मंगलादेवीमा आत्मचेत र क्रान्तिचेत उदाएको हो।
राणाको दबदबा र निरंकुशता चिर्दै प्रजातन्त्रको अस्तित्व खोज्दै महिलाको पहिचान र अस्तित्वको सवाल बोकेर महिला अधिकारको शंखनाद गर्दै अघि बढ्ने महिलाको नाम हो मंगलादेवी। राणाकालमा महिलाले पढ्न, भोट दिन र संगठित हुन नपाउने व्यवस्था थियो। तर उनले निर्भयताका साथ तत्कालीन प्रधानमन्त्री पद्मशमशेरकहाँ गएर महिलालाई मत हाल्ने अधिकार दिनुपर्छ भन्ने माग राखिन्। त्यो घटना प्रजातान्त्रिक आन्दोलनमा महिला अधिकारका लागि पहिलो संघर्ष थियो। मताधिकारका लागि पश्चिमी मुलुकमा ठूलो संघष गर्नुपरेको थियो भने ठूला लोकतान्त्रिक मुलुक संयुक्त राज्य अमेरिकामा सन् १९१८ मा आएर मात्रै महिलाले मताधिकार पाएका थिए भने बेलायती संसद्ले सन् १९२८ मा मात्र महिला मताधिकारलाई पूर्णता दियो।
समग्र रूपमा नेपाली महिलाको स्मृति, प्रेरणा, अधिकार, सक्रियता र ऊर्जा क्षेत्रमा मंगलादेवी स्रोत स्तम्भका रूपमा स्थापित हुन पुगेकी छन्।
नेपालमा २०१० सालमा नगरपालिकाको निर्वाचनमा महिलाले मत हाल्ने र उम्मेदवार बन्ने अवसर पाएको देखिन्छ भने २०१५ सालको प्रतिनिधिसभा निर्वाचनमा द्वारिकादेवी चन्द ठकुरानी डडेलधुराबाट जितेर बीपी कोइरालाको मन्त्रिमण्डलमा पहिलो स्वास्थ्य सहायक मन्त्री बन्न सफल भइन्। यो सबै मंगलादेवीले गरेको संघर्षको फल नै थियो। आज तिनै चरणको निर्वाचनपछि स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशमा ३४ प्रतिशत र संघमा ३३ प्रतिशत महिला नीतिनिर्माण तहदेखि विकास गर्ने थलोसम्म पुगेका छन्।
उनको संघर्षको जीवनबाट हामीले केही पाठ सिक्नैपर्छ। दृढ निश्चयी व्यक्तित्वका रूपमा आफू नेता गणेशमान सिंहसँग विवाह भएको दुई महिना नपुग्दै एक र्कासँग बिछोडिनुपर्ने विवशता आयो। परिस्थितिको प्रवाह नगरी आफ्नो परिवारप्रतिको दायित्वका साथै राष्ट्र र समाजप्रतिको कर्तव्यलाई आत्मसात गर्दै आफ्नो भावना र आस्थालाई निष्ठापूर्वक निभाउँदै गणेशमान सिंहको पनि राजनीतिक सहकर्मी बनेर निरन्तर गन्तव्यमा अघि बढिरहिन्। २०१७ साल पुस १ गते निरंकुश कदमको विरोध गर्दा उनलाई बन्दी बनाइएको थियो। यसको विरुद्धमा उनी निरन्तर क्रियाशील भइरहिन्।
विश्वबाट साम्यवाद आफैं पलायन हुँदै गएको र भएका साम्यवादीका बीचमा पनि सैद्धान्तिक तथा आपसी विवाद र झगडा तीव्र हुँदै गएको अवस्थामा उनले साम्यवादीको भविष्य नभएको भन्दै कांग्रेस सिपाही भएर काम गर्न पुगिन्। राष्ट्रियता, प्रजातन्त्र, समाजवादप्रति अटल निष्ठा र आस्था राख्ने नेता बीपी कोइराला, गोल्डामायर र इन्दिरा गान्धी आदिको विचारबाट निकै प्रभावित भएकी थिइन् उनी। त्यसैले नेपालमा प्रजातन्त्र प्राप्ति र पुनः प्राप्तिको आन्दोलनमा अग्रपंक्तिमा उभिन पुगिन्।
नेपाली महिला सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा शदीयौंदेखि पछाडि परे। शिक्षा र चेतनाको अभावमा महिला घरको चार दिवारभित्र सीमित हुन पुगे भने आज पनि आर्थिक, शैक्षिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा अझै अघि बढ्न सकेका छैनन्। महिलामाथि गरेको दुर्व्यवहार, लैंगिक विभेदका साथै हिंसा र बलात्कारका घटना रोकिएका छैनन्। आर्थिक रूपले महिलाहरू अझै परनिर्भर छन्। मंगलादेवीले महिला मुक्तिको आन्दोलनमार्फत देखेको सपना अझै पूरा भएको छैन। एकजना अमेरिकी लेखिका हेलन किलरले भनेकी छन्, ‘दृष्टि भएर पनि दृष्टिकोण नहुनु दृष्टिविहीन हुनुभन्दा खराब हो।’ त्यसैले मंगलादेवीले एउटा दृष्टिकोण, उद्देश्य, एउटा गन्तव्यको संकल्प बोकेर सुरु गरेको नेपालको महिला मुक्ति आन्दोलन अझै सकिएको छैन।
मंगलादेवी चिन्तनशील व्यक्तित्व हुनुका साथै एकलव्य भाव राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, महिला हक अधिकार, महिला जागरण र शदीयौंदेखि थुनिएर छेकिएर अशिक्षा र कुसंस्कारको जाँतो बोकेर घरेलु जीवनको कहर काटिरहेका तमाम महिलाको चेतनाको ज्योतिको मसाल दिएर राष्ट्र निर्माणको र समाज परिवर्तनका लागि महिला पनि पुरुषसरह काम गर्न सक्छन् भन्ने मान्यता मंगलादेवीले स्थापना गरेकी छन्। अल्पायुको मानव जीवनमा गरिने एकदुइटा यस्तै उदाहरणीय कामले मान्छे अमर बन्ने हो, मान्छे समाजको उद्देश्य स्तम्भ बन्ने हो। यसरी हेर्दा मंगलादेवी पनि अविस्मरणीय महिला अधिकारको स्रोत स्तम्भका रूपमा स्थापित भएकी छन्। उनी आज पनि समग्र नेपाली महिलाको स्मृति, प्रेरणा, अधिकार, सक्रियता र ऊर्जाको क्षेत्रमा परिव्याप्त छिन्, उनीप्रति भावपूर्ण श्रद्धाञ्जली !