मुन्द्रेको 'कमेडी क्लब’ सक्कलबमोजिम नक्कल

मुन्द्रेको 'कमेडी क्लब’ सक्कलबमोजिम नक्कल

नेपालमा प्रसारित कतिपय टेलिभिजन कार्यक्रम अन्तर्राष्ट्रिय कार्यक्रमका हुबहु कपी लाग्छन्। विदेशी कार्यक्रमलाई नेपालीकरण गरेर प्रस्तुत गरिएको पाइन्छ।


पछिल्लो समय नेपालमा प्रसारण हुने कतिपय कार्यक्रम अन्तर्राष्ट्रिय टेलिभिजनमा आउने कार्यक्रमका नक्कल देखिन्छन्। विदेशी टेलिभिजनमा लोकप्रिय भएका कार्यक्रमलाई नेपालीकरण गरी चलाउने क्रम बढ्दो छ। तीमध्ये धेरैजसो भारतीय टेलिभिजबाट प्रभावित देखिन्छन्। तर, ‘आफ्नै मौलिक कल्पना हो’ भन्ने तर्क दिँदै कार्यक्रम सञ्चालनमा आइरहेका छन्।

भारतमा निकै रुचाइएको कार्यक्रम हो, ‘द कपिल शर्मा सो’। त्यस कार्यक्रमका नेपालमा पनि थुप्रै दर्शक छन्। त्यसैबाट प्रभावित देखिन्छन्, हास्य कलाकार जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’। उनको र कपिलको कार्यक्रम उस्तै–उस्तै देखिन्छ। सेट डिजाइनदेखि कार्यक्रम सञ्चालनको शैलीमा खासै फरक छैन। कपिलको सोमा पहिला नवजोत सिंह सिद्धु र अहिले अर्चना पूरन सिंह बसेझैँ जितुको कार्यक्रममा दीपाश्री निरौला बस्ने गरेकी छिन्। उनले आफ्नो कार्यक्रमलाई ‘मौलिक’ भन्ने गरेका छन्। ‘केही मात्रामा कार्यक्रमको फम्र्याट मिल्छ,’ जितु भन्छन्, ‘तर, यसलाई नक्कल भन्न मिल्दैन। अहिलेका अधिकांश रियालिटी सोका कार्यक्रम उस्तै छन्। के ती सबैलाई नक्कल गरेको भन्ने त ?’

भारतीय टेलिभिजन च्यानल सोनीबाट प्रसारण हुन्थ्यो, ‘सीआईडी’। भारतमा धेरै रुचाइएको त्यो कार्यक्रम नेपालमा पनि त्यति नै पपुलर थियो। अपराध र अनुसन्धानमा केन्द्रित त्यस टेलिसिरियलबाट प्रभावित कार्यक्रम नेपालमा पनि प्रसारणमा आयो। नाम थियो– किलो ट्यांगो माइक। सन् २०१५ ताका कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको कथावस्तुदेखि पात्रसम्म उस्तै देखिन्थे। कार्यक्रमको ब्याकग्राउन्ड म्युजिक पनि ‘सीआईडी’सँग मेल खान्थ्यो। चर्चित कार्यक्रमबाट प्रभावित भए पनि नेपालमा किलो ट्यांगो माइकले खासै चर्चा कमाउन सकेन। केही समयपछि कार्यक्रम बन्द भयो।

सन् २०१५ मा सञ्चालन भएको कार्यक्रम ‘डान्स नेपाल डान्स’ भारतीय रियालिटी डान्स सो ‘डान्स इन्डिया डान्स’ जस्तै थियो। कार्यक्रमका दुई सिजन भए। नामदेखि कार्यक्रमको फम्र्याटसम्म भारतीय कार्यक्रमसँग मिल्थ्यो। 

सन् २००४ बाट सुरु भएको भारतीय टक सो ‘कफी विद करन’ लाई कपी गरे, नरेश भट्टराईले। भारतीय टेलिभिजन च्यानल स्टार वल्र्डबाट प्रसारण हुने कार्यक्रममा बलिउड सेलिब्रिटीदेखि खेलाडीसम्म आउने गरेका छन्। ‘चियापान विद नरेश भट्टराई’ को रूपरेखा पनि करनको कार्यक्रमजस्तै देखिन्छ। नरेशको कार्यक्रममा पनि नेपाली सेलिब्रिटी आउने गरेका छन्। कार्यक्रम युट्युबबाट प्रसारण हुन्छ।


‘प्रभाव हो, नक्कल होइन’
जितु नेपाल, कलाकार

मेरो कार्यक्रमको फम्र्याट ‘द कपिल शर्मा सो’ बाट प्रभावित छ। तर, यसलाई नक्कल भन्न मिल्दैन। अहिलेका अधिकांश रियालिटी सोका कार्यक्रम उस्तै छन्। के ती सबैलाई नक्कल गरेको भन्ने त ? ‘मुन्द्रेको कमेडी क्लब’ र ‘द कपिल शर्मा सो’ मा निकै अन्तर छ। हाम्रो सेट एउटा घरको बैठक छ। दीपाश्रीलाई अध्यक्ष राखेका छौँ। कार्यक्रममा नेपाली कलाकार आउँछन्।

यति भयो भन्दैमा नक्कल गरेको भन्न पाइन्छ ? उनीहरूले अगाडि नै कार्यक्रम निर्माण गरे। पछाडि कार्यक्रम बनाउँदा हामीलाई नक्कलको आरोप लाग्यो। हामीले कपी गरेर कार्यक्रम बनाएका होइनौँ। हाम्रो आफ्नै मौलिकता छ। नेपाली परिवेश दिएका छौँ, दर्शक नेपाली छन्।

अन्नपूर्ण सम्पूर्णका लागि युवराज भट्टराईको रिपोर्ट (सक्कलबमोजिम नक्कल)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.