दुई वर्षदेखि गाउँपालिकाको काम मन्दिरबाटै
मलंगवा : गाउँपालिका भवन नहुँदा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादव मन्दिरमा बसेर गाउँपालिकाको कामकाज गर्दै आएका छन्।
भवन अभावमा मन्दिरको एकपट्टि अध्यक्ष र अर्कोपट्टि उपाध्यक्षको कोठा बनाइ कार्यालय संचालन गरिएको हो। बीचको कोठामा हनुमानको प्रतिमा रहेको छ। मन्दिरको बरण्डामै गाउँ कार्यपालिकाको बैठक, तालिम तथा गोष्ठीहरु समेत हुने गरेको छ।
गाउँपालिका संचालन गर्न कृषि सेडको भवन अपुग भएपछि अध्यक्ष र उपाध्यक्ष दुई वर्षदेखि मन्दिरमै बस्दै आएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख मुकेशकुमार पाठकले जानकारी दिएका छन्।
बजारको बीचमा रहेको कृषि सेडमा चारवटा स–सना कोठा रहेको अध्यक्ष यादवले बताए। चार कोठामा गाउँपालिकाको सम्पूर्ण कामकाज गर्न कठिनाइ भएपछि आफु मन्दिरमा गएर बस्न थालेको यादवको भनाइ छ। ‘भाडाको लागि कुनै भवन बजारमा नपाएपछि बाध्य भएर मन्दिरमा बस्नु परेको हो', यादवले भने, ‘अन्य स्थानमा लगे विवाद चर्किने देखिएपछि मन्दिरमै बस्नु ठिक ठानेँ।’
'सेडमा कार्यालय प्रमुख, स्वास्थ्य, प्रशासन र योजना शाखा संचालन छ। अन्य शाखाहरु सेडको बरण्डामै संचालन भइरहेका छन्। कर्मचारीलाई बस्ने ठाउँ छैन। मन्दिरको कोठामा झ्याल छैन। गर्मीमा जसोतसो बसेर काम गर्नु परेको छ। मन्दिरका साधुहरुसमेत बेलाबेलामा मन्दिर खाली गर्नका लागि हल्ला गर्छन्',
यादवले दुखेसो गरे।
गाउँपालिकाको आफ्नो भवन नभएपछि कामकाज गर्न अहिले निकै कठिनाइ भएको निमित्त कार्यालय प्रमुख मुकेश पाठकले बताए। 'अहिले हामीसंग चारकोठा मात्र छ। त्यो पनि कृषि सेडको हो। कुन दिन त्यो कोठा पनि छोड्नुपर्छ ठेगान छैन। मन्दिरको सानो बरण्डामा तालिम गोष्ठी चलाउनु परेको छ', उनले भने, 'अहिले गाउँपालिकाको भवन निर्माणाधीन अवस्था छ। त्यो बन्न अझै १ वर्ष लाग्छ। भवन निर्माणका लागि थप बजेट नहुँदा झन ढिलाइ हुने देखिन्छ।'