वीरगन्जका मेयरमाथि खनिए उपप्रधानमन्त्री यादव
वीरगन्ज : समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव वीरगन्ज महानगरका मेयर विजय सरावगीमाथि खनिएका छन्। वीरगन्जमा नवनिर्मित बसपार्क टर्मिनल भवनको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवलले मेयर सरावगीको आलोचना गरेका हुन्।
सरावगीले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उपप्रधानमन्त्री यादवलेसरावगीको चर्को अलोचना गरे। मेयर सरावगीले पनि वीरगन्ज महानगरको विकासका सवालमा संघ र प्रदेश सरकारले असहयोग गरेको गुनासो गरे।
‘मैले पनि वीरगन्जका जनतासँग भेटेर कुरा गरेको छु, उनीहरुले जे अपेक्षा गरेका थिए त्यो अनुसारको विकासको काम भएको छैन’, उपप्रधानमन्त्री यादवले भने,‘जनताको अपेक्षा अनुसार काम भएन भने भोलि जनताले प्रश्न उठाउने छन् र त्यसको जवाफ वीरगन्जका जनप्रतिनिधिले दिनु नै पर्छ।’
वीरगन्जमा रहेको नारायणी अस्पतालाई टर्सरी अस्पताल बनाउने निर्णय गरी संघीय सरकारले १ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिसकेको भएपनि महानगरपालिकाले अहिलेसम्म जग्गा उपलब्ध गराउन नसकेको असन्तुष्टि पनि उनले व्यक्त गरे।