'नेकपाभित्र आलोचना गर्न पाइन्छ !'
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आलोचना नेता/कार्यकर्ताले गर्न पाउनुपर्ने धारणा व्यक्त गरेका छन्। पार्टी र सरकारलाई दिशानिर्देश गर्न आलोचनात्मक टिप्पणी आवश्यक रहेको उनको भनाइ छ।
प्रवक्ता श्रेष्ठले बुधबार ट्वीट गर्दै सार्वजनिक रुपमा व्यक्तिगत टिप्पणी गर्ने प्रवृतिलाई निरुत्साहन गर्ने निर्णय पार्टी गरे पनि आलोचनालाई बन्द नगरेको बताएका छन्।
'फेरि स्पष्ट पार्न चाहन्छु,पार्टी कमरेडहरुले पनि पार्टी र सरकारबारे आलोचनात्मक टिप्पणी गर्न पाइन्छ। पाइन्छ मात्र होइन, गर्नुपर्छ। त्यसले पार्टी र सरकारलाई सही दिशामा लैजान मद्द्त गर्छ,' उनले लेखेका छन्,'आम जनताको निम्ति त यो अधिकार सुनिश्चित नै छ। खालि पार्टीकाले ब्यक्तिगत टिप्पणी भित्रै गरौं भनिएको हो।'
फेरि स्पष्ट पार्न चाहन्छु,पार्टी कमरेडहरुले पनि पार्टी र सरकारबारे आलोचनात्मक टिप्पणी गर्न पाईन्छ।पाईन्छ मात्र होइन,गर्नुपर्छ।त्यसले पार्टी र सरकारलाई सही दिशामा लैजान मद्द्त गर्छ।आम जनताको निम्ति त यो अधिकार सुनिश्चित नै छ।खालि पार्टीकाले ब्यक्तिगत टिप्पणी भित्रै गरौं भनिएको हो।
— NKShresthaPrakash (@nksthaprakash) August 27, 2019
गत सोमबार बसेको नेकपा सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत आलोचना गर्न प्रतिवन्ध गरेको थियो। यदि व्यक्तिगत आलोचना गर्नुपरे प्रक्रियागत ढंगले पार्टीभित्र मात्रै गर्नुपर्ने बैठकले प्रष्ट पारेको थियो।