झुटी आँचल
बोली फेर्ने मामिलामा आँचल शर्मा नामुद मानिन्छिन्। एकछिनअघि बोलेको कुरा नै एकछिनपछि होइन भन्दिन्छिन्। अनि जे गर्दिन भन्छिन्, त्यही गर्न पुग्छिन्। जस्तो कि, उनले एक समय भीडभाडका फिल्म नगर्ने घोषणा गरिन्। लगत्तै ‘दालभात तरकारी’ खेलिन्, जहाँ कलाकार नै कलाकारको भीड थियो।
त्योभन्दा पहिला उनले रक्सीको प्रवद्र्धन गर्ने खालका दृश्यमा अभिनय नै नगर्ने बताएकी थिइन्, तर ‘शत्रुगते’ मा यस्तै दृश्यमा देखिइन्। कुनै समय उनले मेडिकल डाक्टर फिटिक्कै मन नपर्ने भन्दै उनीहरूसँगको सम्बन्ध कल्पना पनि नगर्ने घोषणा गरेकी थिइन्। तर, आजभोलि आँचल डाक्टर उदीप श्रेष्ठको प्रेममा छिन्।
यता उदीपसँगको प्रेम एक कान, दुई कान मैदान हुँदै गएपछि उनले पल शाहसँगको प्रेम भने प्रेम नै नभएको बताउन थालेकी छिन्। पल उनको राम्रो साथी मात्र रे ! आँचलको बोलीको इतिहास हेर्दा, जे गर्दिनँ भन्छिन्, त्यही गरेको देखिन्छ। अर्थात्, उनले पलसँग प्रेम थिएन भनिन्। मतलब प्रेम थियो ! दुनियाँले देखेको कुरामा पनि कति झुटो बोल्न सक्या हो, आँचलले ?