कालिकोट छाप्रेमा पहिरो : करिब १ करोडको क्षति
कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका- ७ छाप्रेको ढाँडखोलामा गएको भीषण पहिरोबाट ९३ लाख ३० हजार बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार छाप्रेको पहिरोबाट ९३ लाख ३० हजार बराबरको क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी श्यामबाबु ओलीयाले छाप्रेमा गएको पहिरोबाट भएको एकिन क्षतिको विवरण संकलन गरी मुचुल्का उठाइएको जानकारी दिए।
उनका अनुसार तिलागुफा नगरपालिका ७ का १८ परिवारको ठूलो धनराशीको क्षती भएको छ। डिएसपी ओलीयाका अनुसार तिलागुफा नगरपालिका-७ का हर्षबहादुर शाहीको खरको छानो भएको कच्ची घर, खेतबारी, अन्न कपडा गरी १० लाख, सत्यबहादुर शाहीको खरको छाना भएको कच्ची घर, अन्न, कपडा, २० पाथीको धान रोपेको खेतबारी, सुधारिएको पानी घट्ट गरी १५ लाख, अक्कलबहादुर शाहीको दुई तले पक्की घर, २५ पाथी धान रोपेको खेत, ४ वटा बाख्रा गरी १५ लाख, रिठु शाहीको दुई तले टिनको छाना भएको घर, १२ वटा कुखुरा, ४ वटा खरायो, भाँडाकुडा, धान खेत गरी १२ लाख बराबरको क्षति भएको छ।
यस्तै, तिलागुफा ७ कै नयाँ शाहीको १२ पाथीको धान रोपेको खेत ३ लाख, धनसिंह शाहीको १५ पाथी धान खेत गरी ४ लाख, अनील शाहीको खानेपानी पाइप र धारा गरी एक लाख, कर्ण शाहीको १५ पाथीको धान रोपेको खेत गरी ४ लाख, धनजित शाहीको ६ पाथीको धान रोपेको खेत गरी १ लाख ५० हजार, दिपक शाहीको १५ पाथीको धान रोपेको खेत गरी ४ लाख, तन्त शाहीको १४ पाथीको धान रोपेको खेत गरी ३ लाख ६० हजार, बिर्ख शाहीको एउटा गाई २० हजार, नरबहादुर शाहीको खेत ६ सय ४७ वर्गमिटर गरी १ लाख, राजेन्द्र शाहीको पानी घट्ट एक लाख, शेरबहादुर शाहीको पानी घट्ट एक लाख, पलम शाहीको पानी घट्ट एक लाख, श्रीबहादुर शाहीको पानी घट्ट एक लाख, मलइबहादुर शाहीको पानी घट्ट र १० पाथी खेत गरी १ लाख ५० हजार बराबरको क्षति भएको छ।
यस्तै डिएसपी ओलीयाका अनुसार पहिरोले घरमा क्षति नपुर्याए पनि २२ परिवार विस्थापित भएका छन्। उनीहरुको घर खेत तथा अन्य कुनै प्रकारको क्षति नभएपनि पहिरोको घेरामा बस्ती परेकाले २२ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ।
गाउँमा बसोबास गर्न नमिल्ने २२ घरधुरी गरीका ४० परिवार विस्थापित भएका छन्। कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले पहिरोग्रस्त क्षेत्रमा उद्धारका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय खटिएको जानकारी दिए।
उनका अनुसार नेपाल प्रहरी, सशष्त्र प्रहरी र नेपाली सेनाको टोली पहिरो स्थलमा खटिएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँ नै पहिरोमा पर्ने देखिएकाले गाउँलेको अन्न, भाँडाकुडा, लत्ताकपडासहित बस्ती नै सुरक्षित ठाउँमा सारिएको बताए।
तिलागुफा नगरपालिकासँग समन्वय गरी विस्थापित परिवारलाई आवश्यक लत्ताकपडा, खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तु नगरपालिकाले उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए।