'संविधान दिवसको बिदा बियर खान र तास खेल्न होइन'

'संविधान दिवसको बिदा बियर खान र तास खेल्न होइन'

काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिइएको बताएका छन्।

संविधान दिवस मूल समारोह समिति अन्तर्गतको उपसमितिको बैठकमा मन्त्री बाँस्कोटाले घुम्न वा अरु कुनै रमाइलोका लागि बिदा नदिइएको प्रष्ट पारे। मान्छेको ध्यान आकर्षित हुने गरी दिवसको प्रचार गर्नुपर्ने उनले बताए।

बुधबार मन्त्रालयमा आफू नेतृत्वको संविधान दिवसको प्रचारप्रसार उपसमितिको बैठकमा उनी उक्त दिन सार्वजनिक बिदा दिनुको कारणबारे बोल्दै थिए।

'त्यो दिन तास खेल्नको निम्ति, पिकनिक खानको निम्ति, बियर खानको निम्ति, गर्ल फ्रेन्ड लिएर हिँड्नको निम्ति, ब्वाइफ्रेन्ड भेट्न जानको निम्ति दिएको बिदा होइन', मन्त्रालयमा भएको कार्यक्रममा उनले भने, 'घुम्न जानको निम्ति पनि होइन। राष्ट्रिय दिवस नै मनाउन बिदा दिएको हो।'

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति गठन भएको छ। मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार समितिको अध्यक्ष मन्त्री बाँस्कोटा छन्।

२०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय सरकारले गरेको छ। यसपटक मानिसहरूको ध्यान आकर्षित गर्ने गरी राष्ट्रिय झण्डा देखिनेगरी व्यापक प्रचार गर्नुपर्ने उनले सुनाए।

'मान्छेको ध्यान आकर्षित हुने गरी दिवसको प्रचार गर्नुपर्‍यो', बाँस्कोटाले भने, 'राष्ट्रिय झन्डा भएको चिज (प्रचार) गर्ने...', बाँस्कोटाले भने, 'कसले गर्ने, कतिसम्म गर्ने, कहाँ गर्ने कार्यक्रम बनाउँदैछौँ। सुझाव दिनुहोला।'

बाँस्कोटाले युवाहरूलाई लक्ष्य गरी टुँडिखेल र दरबार क्षेत्र जस्ता ठाउँमा कन्सर्ट गर्ने पनि योजना सुनाए। 'कार्यक्रम सिफारिस गरौँ। युवाहरूलाई टुडिँखेल, दरबार स्क्वायरमा कन्सर्ट गर्न सकिन्छ', उनले भने।

घरघर र हातहातमा राष्ट्रिय झण्डा

गुठी विधेयकविरुद्ध भएको प्रदर्शनमा राष्ट्रिय झण्डासहित हिँडेका प्रदर्शनकारी। फाइल फोटोः अन्नपूर्ण


संविधान दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने राससले लेखेको छ। सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको समाचारमा उल्लेख छ।

प्रचारप्रसार उपसमितिको बुधबारको बैठकमा दिवसका दिन राष्ट्रिय झण्डा र राष्ट्रियतालाई केन्द्रमा राखी संविधानको महत्त्व झल्काइने जानकारी सरकारले दिएको हो।

बाँस्कोटाको अध्यक्षतामा गठित उपसमितिले संविधानबारे विशेष सामग्री प्रकाशन, प्रसारण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह पनि गरेको छ।

'संविधान त्यतिकै आएको होइन, अब संविधान संशोधन भए पनि अर्को राष्ट्रिय दिवस हुँदैन। जो जो जतिसुकै उफ्रेपनि गणतन्त्र रहन्छ', सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले भने, 'कतिपय अवस्थामा अराजकता पनि देखिन्छ, अधिकारको उन्माद र कर्तव्यको शून्यता देखिन्छ। यस्तो अवस्था अन्त्यका लागि युवापुस्तालाई पनि समेट्ने कार्यक्रम गरौँ।'

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले दिवसलाई व्यापक र जनस्तरमा लैजान भदौ ४ गते सम्पन्न मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री एवं मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनानुसार उपसमितिले काम थालेको बताए।

यस्तो छ कार्यक्रम

मूल समारोह समितिले यस वर्ष असोज २ गतेदेखि त्रिदिवसीय मुख्य कार्यक्रम तय गरेको छ, जसमा असोज २ गतेदेखि ४ गतेसम्म साँझ दीपावली गर्नेलगायत छन्।

समितिले राष्ट्रिय झण्डा, व्यानरसहित सरसफाइ, असोज ३ गते सूर्योदयका साथ नेपाली सेनाले बिगुल बजाउने, सहिदप्रति श्रद्धाञ्जलि प्रकट गर्ने, सबै कर्मचारीले हात हातमा राष्ट्रिय झण्डासहित मुख्य कार्यक्रममा उपस्थित हुने, सांस्कृतिक झलक गर्ने, सबै जिल्लामा वृक्षरोपण र रक्तदानलगायका मुख्य कार्यक्रम तय गरेको छ।

दिवसलाई सङ्घ, प्रदेश र स्थानीय तहमा मनाउन पत्राचार गरिएको छ। मूल समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको संयोजकत्वमा ३१ सदस्यीय सदस्यीय उपसमिति गठन गरेको थियो।

उपसमितिले असोज २ गते नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष परिसंवाद र प्रचारप्रसार गर्ने, राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क प्रकाशन गरी संविधानको बहुआयामिक पक्षलाई उजागार गर्ने, सबै सञ्चार माध्यमबाट संविधानको महत्व प्रसारण गर्ने जनाएको छ।

असोज ३ गतेको मूल कार्यक्रम नेपाल टेलिभिजन, रेडियो नेपाललगायत राष्ट्रिय प्रसारणका साथ प्रत्यक्ष प्रसारण गर्ने, रेडियो नेपालले असोज ४ गते जागरण गीत सम्मेलन गर्ने, ‘मास एसएमएस’ गर्ने, सिनेमा हलमा सिनेमा प्रारम्भ हुनुअघि राष्ट्रिय गान बजाउने आदि कार्यबारे जिम्मेवारी बाँडफाँट गरेको छ।

दिवसलाई औपचारिक नबनाई जनजनमा संविधानबारे चेतना फैलाउनुपर्ने, प्रचार सामग्री तयार गर्ने, संविधानसँगका जल्दोबल्दो विषय पहिचान गर्नुपर्ने, व्यवसायीले सामानहरुमा विशेष छुट दिने, निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, विद्यालय तहमा संविधानबारे प्रचार गर्ने आदि सुझाव बैठकमा दिइएको राससले जनाएको छ।

दिवसको मूल नारा ‘संविधान तथा राष्ट्रिय दिवस हर्षोल्लासपूर्वक मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ तय भएको छ।

उक्त नारा मोबाइलमा एसएमएस सन्देशमार्फत सबैलाई दिवसका अवसरमा पठाइनेछ। सन्देशमा झण्डाको रङ र आकारका बारेमा पनि जानकारी दिइनेछ।

सुझाव यस्ता यस्ता

बैठकमा राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले जनस्तरमा संविधानबारे जनचेतना पुर्‍याउन विद्यार्थीमाझ संविधान र यससँग सम्बन्धित हाजिरीजवाफ गर्न सकिने सुझाव दिएका थिए।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संविधानबारे पर्याप्त प्रचार सामग्री तयार गरी वितरण गर्नुपर्ने बताए।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले पनि सुझाव राखे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.