स्नातकमा बीबीए कि बीबीएम?
कञ्चनपुरकी सुष्मा पौडेलले भर्खरै बीबीएको पढाइ सकिन्। पदम कन्या बहुमुखी क्याम्पसबाट बीबीएतर्फ गत वर्ष उत्कृष्ट छात्राको उपाधि पाएकी पौडेलले दाजुसँगको सल्लाहमा उक्त कोर्स अध्ययन गरेकी हुन्। अध्ययन गर्दा अलि बढी एड्भान्स, प्राक्टिकल बेस र इन्टरएक्टिभ हुने बुझाइबाट उनले यो विषय अध्ययन रोजेकी हुन्।
पौडेलको बुझाइमा यो विषय अध्ययन पछि धेरैको रुचि बैंकिङ क्षेत्रतर्फ हुन्छ। यसको अध्ययनपछि रोजगारी पाउन सहज हुने र अब्बल बन्न सकिने बुझाइकै कारण आफूले बीबीए पढेको पौडेल बताउँछिन्। उनी भन्छिन् ‘प्लस टुको सन्तोषजनक नतिजापछि थप अध्ययन राम्रो बनाउन पनि विषय छनोटको महŒवपूर्ण भूमिका हुँदो रहेछ।’ यो विषय अध्ययन व्यावहारिक ज्ञानसँगै आधुनिक विषयको पढाइ भएको भन्दै पौडेलले यसलाई नै रोजेको बताउछिन्।
यस्तै पद्मकन्या क्याम्पसमा बीबीएम अध्ययन गरिरहेकी सगुन केसी अहिले चौथो सेमेस्टरमा छिन्। कुन विषय बढ्ने, कहाँ पढ्ने र विषय छनोट कसरी गर्ने भनेर सोचिरहेकी सगुन पनि छिमेकी दाजुले दिएको सल्लाहपछि बीबीएम अध्ययन गर्न थालिन्। कैलाली मल्टिपल क्याम्पसमा गत वर्षबाट सुरु भएको उक्त नयाँ विषयमा उनको ध्यान आकृष्ट भएको थियो। सोही कलेजमा अध्ययन गर्ने सोचाइसहित सिम्याटको परीक्षा दिए पनि अध्ययन गर्ने सिलसिला भने केसी काठमाडौं नै आइपुगिन्। उनले आफ्नो बीबीएम पढ्ने इच्छालाई पद्म कन्याबाटै पूरा गरेको उनी बताउँछिन्।
सुष्मा बीबीए र सगुन बीबीएम अध्ययनका प्रतिनिधि पात्रमात्रै हुन्। यी दुई विद्यार्थीजस्तै आफ्नो रोजाइअनुसार विषय छनोट गर्ने र कलेज अध्ययन गर्ने विद्यार्थीको जमात पछिल्लो समय बीबीएसँगै अब ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) तर्फ पनि हुन थालेको छ। बीबीएम नयाँ विषय हो। त्रिभुवन विश्वविद्यालयले गत वर्षदेखि मात्र निजी कलेजलाई पनि यो विषय पढाउन सम्बन्धन दिएको हो।
नयाँ विषय भएकोले बीबीएलाई परिस्कृत बनाएर ल्याएकोले पनि विद्यार्थीको रुचि बढ्दै गएको पिनाकल कलेज लगनखेलका प्रिन्सिपल ऋषि तिवारी बताउँछन्। तिवारीका अनुसार यो कलेजले बीबीए सुरु नगरी एकैपटक बीबीएमको अध्यापन गराइरहेको छ। बीबीए, र बीबीएस पुरानो भइसकेकोले अब विद्यार्थीको रुचि र परिस्कृत संस्करणमा जानको लागि नयाँ विषयको आवश्यकता देखिएको थियो। सोहीअनुसार सैद्धान्तिक ज्ञानमा मात्र सीमित विषयलाई परिमार्जित गर्दै व्यावहारिक बनाएर यो विषय आएको तिवारीको भनाइ छ।
बीबीए पढेर बाहिर बजारमा आएका विद्यार्थीको अभ्यास, विद्यार्थीको नयाँ विषयप्रतिको रुचि, छिमेकी मुलुक भारतमा पनि बीबीए नहुने बीबीएम मात्रै हुने गरेकोले त्यसको प्रभाव नेपाली बजारमा पर्न थालेको हो। स्नातक तहमा अध्ययन भइरहेका अन्य विषयसँगै बीबीएको अभ्यासपछि बीबीएमलाई नयाँ बनाइएको हो। तिवारीका अनुसार सूचना प्रविधिसहितको सहयोगमा बीबीएको कोर्स तयार भएको हुन्छ भने बीबीएसको सैद्धान्तिक ज्ञान मिलाएर तथा बीबीएको एड्मिनिस्टे«सनलाई व्यवस्थापन बनाइएको विषयका रूपमा लिन सकिन्छ बीबीएम।
बीबीए र बीबीएम दुवै चारवर्षे आठ सेमेस्टरको पढाइका विषय हुन्। औसतमा बीबीए अध्ययनको तुलनामा एक डेढ लाख रुपैयाँ बीबीएम पढ्दा सस्तो पर्ने कोर्स हो। हाल बीबीएमको औसत शुल्क पाँच देखि ६ लाख रुपैयाँ हो भने चारवर्षे कोर्सकै लागि बीबीएको लागि यस्तो शुल्क ७ देखि ८ लाख रुपैयाँ औसत हुने गरेको छ। विद्यार्थीको रुचि र बजारको माग अनुसार पिनाकलले व्यावहारिक ज्ञान समेत दिने गरी बीबीएमको पढाइ सञ्चालन गरिरहेको तिवारीको भनाइ छ।
ऋषि तिवारीका अनुसार पिनाकल कलेजमा बीबीएम पढ्न भर्ना हुने विद्यार्थीलाई नियमित पठनपाठनको साथमा विभिन्न व्यावसायिक दक्षता, नेतृत्व क्षमता, आत्मविश्वास बढाउने तथा कुनै पनि प्रकारको रोजगारीमा जाँदा कठिन परिस्थितिमा पनि काम गर्न सक्ने क्षमताको विकास गराउने तालिमहरू दिइनेछ।
यसबाहेक समयसमयमा उत्कृष्ट उद्योग तथा व्यवसायमा संलग्न व्यक्तिहरूलाई विद्यार्थीमाझ ल्याएर उनीहरूको अनुभव सुनाउने, विद्यार्थीलाई पनि सफल उद्योग तथा व्यवसायको भ्रमणमा लैजाने, उद्यमशीलताको विकास गर्न प्रेरित गर्ने र एकअर्काबीच अनुभव सुनाउनेलगायतका गतिविधिमा संलग्न गराइन्छ।
यो विषय पढ्ने विद्यार्थीलाई नियमित पढाइको साथमा केस स्टडी गराउने, अनुसन्धानमा लगाउने, विभिन्न प्रतिष्ठित उद्योग तथा प्रतिष्ठानहरूमा इन्टर्नसिपको लागि लैजाने र उत्कृष्ट विद्यार्थीलाई तत्कालै सोही कम्पनीमा रोजगारीका लागि पहल गर्ने तथा यसका लागि कलेजले सम्बन्धित उद्योगसँग सम्झौतासमेत गर्ने कलेजले जनाएको छ।
एभरेस्ट कलेज थापाथली प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुहरि पाण्डेका अनुसार बीबीएम रोजगारी खोज्नेभन्दा पनि सिर्जना गर्ने गरी विकास गर्न खोजिएको कोर्स हो। बीबीए अमेरिकी मोडल हो भने बीबीएम ब्रिटिस मोडल भएको पाण्डे बताउँछन्। दुवै विषय सेमेस्टर बेसको कोर्स हुन्। आठ सेमेस्टर र एक सय २० क्रेडिट आवरका क्लासका विषय हुन्। दुवै कोर्सको उत्तिकै मान्यताको विषय भएकोले विद्यार्थीले पनि आफ्नो रुचिअनुसार अध्ययन गर्न सक्छन्।
दुवै विषयको संकाय एउटै, गेस्ट लेक्चर, प्रोजेक्ट वर्क, केस स्टडी, रिपोर्ट राइटिङ, इन्टरभ्यु टेक्निक, लिडरसिप ग्रुमिङसहितका साझा विधा हुन्छन्। शिक्षण अध्ययनको दृष्टिले उत्तिकै महत्वपूर्ण विषय हुन्। दुवै विषय उत्तिकै महŒवपूर्ण भएकोले विद्यार्थीले जुन विषय अध्ययन गर्दा पनि तात्विक फरक भने नभएको पाण्डे बताउँछन्। केवल लोकप्रियताको हिसाबले विगत १४ वर्षदेखि पठाइँदै आएको बीबीएलाई पुरानो कोर्स भयो भनेर नयाँ दिन बीबीएम अगाडि देखिएको मात्रै हो।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्माका अनुसार बीबीए र बीबीएम दुवै फरकफरक कार्यक्रम हुन्। बीबीए आफैंमा प्रोफेसनल कोर्स हो। अहिले नयाँ आएको बीबीएम भने बीबीए र बीबीएसलाई मिलाएर बनाइएको दीर्घकालीन योजनाको कार्यक्रम हो। शिक्षा प्रणालीलाई सेमेस्टर प्रणालीमा लागू गर्न खोजिएकोले भविष्यमा बीबीएसको विकल्पको रूपमा प्रयोग गर्न सकिने गरी ल्याएको विषय बीबीएम भएको शर्माले जानकारी दिए।
शर्माका अनुसार विद्यार्थीको रुचिअनुसार विभिन्न विषयलाई समेटेर अध्ययनलाई उपयोगी, प्रोफेसनल र आफैं उद्यमी बन्न सक्ने शिक्षा प्रणालीको रूपमा बीबीएमलाई लान खोजिएको हो। यसको सुरुआत ५÷६ वर्ष अघिदेखि नै भइसकेको छ। यो विषयको अध्यापन गराउन गत वर्ष त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एकै पटक विभिन्न ५० वटा क्याम्पसलाई सम्बन्धन दिएको हो। हाल यो विषय निजी र आंगिकसहित करिब ६५ वटा क्याम्पसमा पढाइ हुन शर्मा बताउँछन्।
बीबीएलाई पनि डेढ दशक अगाडि नै ल्याएको हो। त्रिविले विभिन्न ४४ वटा क्याम्पसका लागि यो विषय अध्ययन गराउने अनुमति दिएको छ। शर्माका अनुसार दुवै विषयको अध्ययनमा कुनै ठूलो फरक छैन्। एउटा विषयभन्दा अर्को विषय बढी राम्रो भनेर तुलना गर्न मिल्ने पनि होइन्। दुवै विषयको समान कोर्स र अवधि छन्। दुवै विषय पढ्ने विद्यार्थीको भविष्य उत्तिकै राम्रो छ। सर्वसाधारणको पहुँच पुग्ने गरी अबको शिक्षा प्रणालीलाई परिमार्जन गरेर जानुपर्छ भन्ने दीर्घकालीन भिजनअनुसार नै नयाँ कोर्समा ढाल्न खोजिएको बुझाइ प्राडा शर्माको छ। उनका अनुसार विषयलाई कुन ढंगबाट हेर्नेभन्दा पनि कति दीर्घकालीन भिजनमा आयो भनेर बुझ्नुपर्छ। बीबीएमलाई अहिले वाइड भिजनका साथ अगाडि बढाइएको कोर्सको नाममा भने बुझ्न सकिन्छ।
अहिले बीबीए र बीबीएम समान विषय हो भनेर उस्तै प्रकारको कोर्स तय भएको पनि त्रिभुवन विश्वविद्यालयको भनाइ छ। विद्यार्थीले तिर्ने शुल्कमा पनि धेरै फरक हुँदैन। डिन कार्यालयले परीक्षा र प्रवेशबाहेकको शुल्क पनि निर्धारण गर्दैनन्। सम्बन्धित कलेजले नै शुल्क निर्धारण गरिरहेका छन्। ‘प्राइभेटको तुलनमा स्वाभाविक रूपमा आंगिक क्याम्पसको शुल्क फरक भने पर्छ। तर, अब हामीले सबै क्याम्पसमा एकरूपता भने ल्याउनुपर्छ भनेर गृहकार्य थालेका छौं,’ शर्माले भने।
शर्माका अनुसार एउटा निश्चित सीमा तोकेर त्योभन्दा माथि जान नपाउने गरी शुल्क निर्धारण गर्ने पक्षमा आवश्यक तयारी गर्नुपर्ने बेला भएको छ। अब यो विषयमा आवश्यक गृहकार्य भने गर्न हामीले प्रयास गरिरहेका छौं। कम्तीमा कलेजको लागि शुल्क निर्धारणको अधिकतम सीमा तोकेर सबै कलेजमा पढाइसँगै विद्यार्थीबाट लिइने शुल्कमा पनि एकरूपता भने हुनुपर्ने बुझाइ प्राडा शर्माको छ।