तीज हिन्दुको मात्र होइन : कमल थापा
काठमाडौं : राप्रपा अध्यक्ष कमल थापाले नेपालमा धार्मिक द्वन्द्वको खतरा रहेको दाबी गरेका छन्। धर्म परिवर्तनले डरलाग्दो अवस्था सिर्जना गरेको उल्लेख गर्दै थापाले यसलाई बेलामा सम्बोधन नगरे धार्मिक द्वन्द्वको खतरा बढ्न सक्ने बताए।
'केही समय यता धर्म परिवर्तनले डरलाग्दो अवस्था सिर्जना गरेको छ', पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले तीजको अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, 'समयमै सम्बोधन नगर्ने हो भने धार्मिक द्वन्द्वको खतरा बढ्न सक्नेमा सचेत रहनुपर्छ।' धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन गरी सनातन धर्म, मूल्य मान्यता, परम्परा र रीतिरिवाजलाई निशाना बनाइएको उनको भनाई छ।
थापाले जनस्तरमा मौलिक संस्कृति र परम्पराको रक्षा गर्ने चेतनाको बढोत्तरी हुनु सन्तोषजनक अवस्था रहे पनि देश र सनातन धर्मका लागि आवश्यक परे आन्दोलनका लागि रहन अपील गरे।
'तीज हिन्दुको मात्र होइन'
संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही।
तीज रमाइलोको विषय मात्रै नभएर नारी मुक्तिको सन्देश प्रवाह गर्ने सशक्त आन्दोलन पनि भएको उनले बताए। तीज हिन्दुहरूको मात्र नभएर साझा सांस्कृतिक पर्व भएको उनको तर्क छ। 'तीज पर्व केवल हिन्दुहरूको मात्रै होइन', अध्यक्ष थापाले भने, 'यो नेपालका सबै जातजाति, भाषा, संस्कृति भएका, हिन्दु बौद्ध जस्ता सनातन धर्म मान्नेहरूको साझा सांस्कृतिक पर्व हो।'
पार्टीका वरिष्ठ नेता दीपक बोहराले धार्मिक सहिष्णुता जोगाइराख्न तीज पर्वको विशिष्ट महत्व रहेको चर्चा गरे। हिन्दु राष्ट्र पुनर्स्थापना गरेर राष्ट्रिय पहिचान जोगाउने उनले सुनाए।
सहायक महामन्त्री एवं राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाहीले धर्म, संस्कृति र परम्परामाथि निरन्तर आक्रमण भइरहेकोले राष्ट्रिय पहिचानलाई जोगाउन महिलाहरू एकजुट हुनुपर्ने अवस्था आएको चर्चा गरिन्।