‘इन्द्रध्वजा’ बोझ होइन, परम्परा
काठमाडौं : काठमाडौंमा मनाइने ‘येंयाः’ पर्व अर्थात इन्द्रजात्राको तयारी जोडतोडले भइरहेको छ। जात्रालाई उल्लासमय बनाउन काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दाको समन्वयनमा तयारी भइरहेको हो। आठ दिनसम्म मनाइने यो पर्व काठमाडौंमा धुमधामसँग मनाउने परम्परा छ।
जात्रा सुरु गर्न भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको यंसी (लिङ्गो) ठड्याउनु पर्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष भाद्र २४ गते मंगलबार बिहान ९ बजेर १७ मिनेटको समयलाई लिङ्गो (इन्द्रध्वजा) ठड्याउने साइत निकालेको छ। नालास्थित जगंलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।
हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरू हुन्छ। यसरी ठड्याइएको लिङ्गोलाइ ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। कुनै समय इन्द्रध्वजा स्थापनालाई राज्यको सुख समृद्धिका लागि स्थापना गरिन्थ्यो। हाल शुभ कार्यको थालनी गर्नु भन्दा पहिले यंसी (लिङ्गो) ठड्याउने प्रचलन छ।
लिङ्गो ठड्याउने मात्र होइन लिङ्गो बनाउनको लागि वन यात्राको साइत पनि निर्णायक समितिले निकालिसकेको छ। वन यात्राको साइत भाद्र १५ गते आइतबार बिहान ११ बजेर ७ मिनेटको छ। इन्द्रध्वजाको लागि वन यात्रामा जोनदेखि हनुमान ढोका सम्म ल्याएर विधिपूर्वक त्यसलाई ठड्याउने जिम्मा नेवार समुदाय भित्रका मानन्धरले गर्छन्। तर लिङ्गो लिन जाने, लिएर आउने र ठड्याउने पक्रिया निकै परम्परागत शैलीको छ। यो शैलीलाई समय अनुसार परिमार्जन गर्नुपर्ने केन्द्रिय मानन्धर संघका सचिव गजेन्द्र मानन्धर बताउँछन्।
काभ्रेपलाञ्चोकको नालास्थित जगंलबाट इन्द्रध्वजा बनाउनका लागि काटिएर ल्याइएको सालको रुख ल्याउन दुई दिन लाग्छ। उक्त इन्द्रध्वजालाई जगंलबाट २८ किलोमिटर पार गर्दै हनुमान ढोकासम्म मानवीय बल प्रयोग गरेरै ल्याइन्छ। यो रुखलाई नगर प्रवेश गराउँदा कुनै गाडीको प्रयोग गर्न नहुने परम्परा छ। तर पछिल्लो समय भएको सडक विस्तार र ‘ट्राफिक जाम’ का कारण रुखलाई घिसारेर ल्याउँदा जनधनमा क्षति पुग्दै आएको छ।
मानन्धर भन्छन्, ‘डोरीले बाँधेर घिसार्दै ल्याइने लामो रुखले लागेर कतिपय घाइते भएका छन्। भने सवारी साधन र ट्राफिक बुथमा समेत नोक्सान पुगेको छ। ‘हामीले रुख काट्नेदेखि नगर प्रवेश गराउने र त्यसलाई इन्द्रध्वजको रुपमा ठड्याउने कार्यसम्म परम्परागत शैलीमै काम गर्दै आएका छौं,’ मानन्धर भन्छन्। यसबाट निम्तिने समस्या रोक्न परम्परागत साधनका सट्टा ट्रली र क्रेनको प्रयोग गर्न सकिने उनी बताउँछन्।
संस्कृतविद डा. त्रिरत्न मानन्धरको धारणा भने केही फरक छ। उनका अनुसार जबसम्म संस्कृतिलाई बोझका रुपमा लिइँदैन तबसम्म यो परम्परालाई परिमार्जन गर्न आवश्यक छैन। तर समयानुकुल सामान्य परिमार्जन गरेर लग्न सकिन्छ। ‘संस्कृतिलाई बोजको रुपमा लिएपछि परम्परा आफै परिमार्जन हुँदै जान्छ,’ डा. त्रिरत्नले भने, ‘तर अहिलेसम्म मानन्धर समाजले यसलाई बोझ मानेका छैनन्।’
यो वर्ष मानन्धर संघले रुखलाई तानेरै ल्याउने बताएको छ। अर्को वर्षका लागि भने नयाँ प्रविधीको प्रयोग गर्ने बारे संघमा छलफल चलेको सचिव गजेन्द्र मानन्धर बताउँछन्। छलफलका क्रममा गुठी संस्थानले क्रेनबाट रुख ल्याउन मञ्जुरी दिए पनि मानन्धर संघले भने परम्परा तोड्न नहुने मत राखेको थियो।