बंगलादेश र कतारका लागि राजदूत नियुक्त
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दुई आवासीय राजदूत नियुक्त गरेकी छन्। बंगलादेशका लागि डा.वंशीधर मिश्र र कतारका लागि प्राध्यापक नारदनाथ भारद्वाजलाई नियुक्त गरेकी हुन्।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी हुन्। उनीहरूसँगै सिफारिसमा परेको दुई राजदूतको भने अग्रिमो (सहमति) आउन बाँकी छ। अस्ट्रेलियाका लागि महेश दाहाल र स्पेनका लागि आङफुटी शेर्पाको नाम सिफारिस भइ सुनुवाइसमेत सकेर अग्रिमोको लागि पठाइएको छ। ६ महिनासम्म सहमति नआए स्वत सिफारिस निस्क्रिय हुनेछ।
सरकारले झण्डै एक वर्षदेखि दक्षिण अफ्रिका र दक्षिण कोरियामा राजदूत सिफारिस गर्न सकेको छैन। श्रीलंकाका राजदूत प्रा.डा विश्वम्भर प्याकुरेलले परराष्ट्र मन्त्रालयले सहयोग नगरेको भन्दै राजिनामा दिएर आएपछि त्यहाँ पनि एक महिनादेखि रिक्त छ।