रेडपाण्डाको छालासहित एक पक्राउ
जाजरकोट : विश्वमै दुर्लभ रेडपाण्डाको छालासहित जाजरकोटमा एक जना पक्राउ परेका छन्। रेडपाण्डा ( हाव्रे ) का दुई थान छालासहित जाजरकोट छेडागाड वडा नम्बर ५ का ६२ वर्षीय रामबहादुर घर्तीलाई प्रहरीले थलहबजारबाट पक्राउ गरेको हो।
पक्राउ परेका घर्तीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार दुर्लभ वन्यजन्तु ओसारपसार कसुर सम्बन्धी मुद्धा चलाउने तयारी भइरहेको डिभिजन वन कार्यालयका रेञ्जर पुर्णबहादुर चन्दले बताए। घर्तीलाई अनुसन्धानका लागी जिल्ला अदालत जाजरकोटले तीन दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ।
उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको चन्दले बताए। कसुर ठहरिए एकदेखि १० वर्षसम्म कैद वा दुई लाखदेखि १० लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा भएको रेञ्जर चन्दको भनाई छ।
जाजरकोटका कुशे, जुनीचाँदे र बारेकोटमा पाइने रेडपाण्डाको चोरी सिकार गरि छाला बिक्री गर्दा रेडपाण्डा लोप हुने अवस्थामा पुगेपछि डिभिजन वन र प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबहादुर खत्रीले बताए।