आफ्नै छोरी मारेर घाटमा पुर्ने बुबा पक्राउ
भैरहवा : २१ वर्षअघि आफ्नै छोरीको हत्या अभियोगमा फरार बुबा पक्राउ परेका छन्। रुपन्देहीस्थित गैडहवा गाउँपालिका– ६ गुलरियाका ६३ वर्षे पूर्णवासी लोनिया पक्राउ परेका हुन्।
लोनियाले ०५४ सालमा घरायसी विवादका कारण आफ्नो १५ वर्षीया छोरी कान्ति लोनियालाई कुटेर हत्या गरेको रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले बताए। आफ्नै छोरीको हत्या गरेर उनले गाउँघरमा छोरी हराएको बताएका थिए।
प्रहरीका अनुसार छोरीको हत्या गरेर उनले घर नजिकैको घाटमा लगेर शवलाई पुरेका थिए। स्थानीय महिलाहरु घाँस काट्ने जाने क्रममा करिब एक महिनापछि मानिसको कंकाल देखेपछि र उखुबारीमा कान्तिको कपडा देखेपछि कान्तिको हत्याबारे खुलेको थियो।
स्थानीयहरुले बुबा लोनियालाई छोरीको सनाखतको लागि बोलाउँदा उनी फरार भएका थिए।पक्राउ परेका लोनियाले छोरीको हत्या गरेको स्विकार गरेको डिएसपी भण्डारीले बताए। फरार रहेका लोनियालाई २१ वर्षपछि भैरहवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।