सुडान घोटाला प्रकरण : ठेकेदार भारती पक्राउ
काठमाडौं : चर्चित सुडान घोटालामा दोषी देखिएका ठेकेदार शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रबार बिहान ललितपुरस्थित भैसेपार्टीबाट पक्राउ गरिएको हो।
सर्वोच्चले दोषी ठहर गरेसँगै फरार रहेका भारतीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरो (सीर्आइबी) का प्रमुख डीआइजी निरज शाहीले जानकारी दिए। उनलाई शुक्रबारै सर्वोच्च अदालतमा पेश गरिने शाहीले बताए।
नेपालस्थित ठेकेदार प्रतिनिधि भारतीलाई एपीसी आपूर्तिमा निर्णायक भूमिकामा रहेको भन्दै १४ करोड २० लाख आठ हजार रुपैयाँ जरिवाना र त्यति नै बिगो भराउने अदालतले फैसला गरेको छ। भारतीलाई एक वर्ष जेल सजायसमेत तोकिएको थियो।
सर्वोच्च अदालतले सुडान घोटाला मुद्दामा तत्कालिन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरेको थियो।
सुरक्षाकर्मीका लागि गुणस्तरहीन सामग्री खरिद गर्न २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेषले यो भ्रष्टाचार प्रकरणमा गरेको फैसला चित्त नबुझेपछि अख्तियारले पुन सर्वोच्चमा पुनरावेदन गरेको थियो।
सर्वोच्च अदालतले २०६४ को बहुचर्चित सुडान घोटाला प्रकरणलाई राष्ट्रिय लज्जाको विषय भनी व्याख्या गरेको छ ।