गलत उपचारले पीडा
सिरहा : मिर्चैया नगरपालिका–३ सिसवनीकी ३० वर्षीया शोभा चौधरी अस्पतालबाट डिस्चार्ज भएर आएदेखि अरुको सहारामा हिँडडुल गर्छिन्। राम्रोसँग बोल्न सक्दिनन्। रक्त श्राव पूर्ण रुपमा रोखिएको छ। साउन २६ गते प्रसूति व्यथाले च्यापेपछि उपचारका लागि लहानस्थित मेरी गोल्ड पोलिक्लिनिक एण्ड डाग्नोस्टिक सेन्टर प्रालिमा पुर्याइयो। त्यहाँको गलत उपचारले उनको बच्चाको ज्यान गयो। उनी डेढ हप्ताको उपचारपछि घर फर्केकी छन्।
मेरी गोल्डमा उपचारको क्रममा गम्भीर भएकी शोभालाई पोलिक्लिनिकका सञ्चालकले थप उपचारका लागि विराटनगर लगेका थिए। उनी नोबेल र गोल्डेन अस्पतालमा डेढ हप्ता आईसीयूमा उपचार गराएर घर फर्किन्। तर उपचारपछि विराटनगरमा चिकित्सकले लेखेको औषधि र रिर्पोट शोभालाई मेरी गोल्डका सञ्चालकले दिएका छैनन्। उपचारको रिर्पोट र औषधि लेखेको पूर्जा मेरी गोल्डका सञ्चालक चन्दन साहले लुकाएको शोभाले बताइन्।
२६ गते भर्ना भएकी सोभालाई मेरी गोल्ड पोलिक्लिकिकी नर्सिङ निरीक्षक सुनिता श्रेष्ठ रायले ‘नर्मल डेलेभरी’ हुन्छ भनी आस्वश्त पारिन्। घण्टौँ बित्दा पनि बच्चा नजन्मेपछि बिरामीका आफन्त लिलसा चौधरीले यहाँबाट बाहिर लैजान दिनुपर्ने भन्दै पटक–पटक आग्रह गरे। समान्य तरिकाले बच्चा जन्मिने भन्दै पोलिक्लिनिकका सञ्चालक र चिकित्सले रोकिरहे। चिकित्सकले १६ घण्टापछि राती साढे १२ बजेतिर शोभाको पेटबाट ‘सक्सन’ (बच्चा निकाल्ने औजार) लगाएर बच्चा बाहिर निकाल्न खोजे। बच्चाको घाँटीमा साल बेरिएको थियो। बच्चा निकाल्दै गर्दा साल चुँडियो।
अस्पतालमै बच्चाको ज्यान गयो। सोभालाई पनि अत्यधिक रक्त श्राव हुन थाल्यो। आफन्तले अस्पतालको लापरवाहीबाट बचचाको ज्यान गएको भन्दै प्रहरीलाई खबर गरे। प्रहरीले तत्कालै बिरामीलाई नजिकै रहेको सप्तऋषि नर्सिङ होममा पसर्याए। त्यहाँका चिकित्सकले उपचार गर्न नसक्ने भन्दै विराटनगर रेफर गरे।
‘डाक्टरको लापरवाहीले बच्चाको ज्यान गयो। धन्न आमा अहिलेसम्म बाँचिरहेकी छन्’ त्यस दिनको घटना सुनाउँदै सोभाकी आफन्त लिलसाले भनिन्,‘यहाँको उपचारमा भरोसा छैन, अन्यत्र लैजान्छौं भन्दा डाक्टरले मानेनन्।’ शोभाका पति प्रेमकुमार चौधरी ९ महिना अघि वैदेशिक रोजगार कतार गएका थिए। घटनापछि उनी पनि घर फर्किएका छन्। चिकित्सकको गलत उपचारले बच्चाको ज्यान गएको र सुत्केरी पनि जोखिममा परेको पीडित पक्षको आरोप छ।
घटनापछि सञ्चालकहरुले पोलिक्लिनिक बन्द गरेका छन्। जनस्वास्थ्य कार्यालयबाट पोलिक्लिनिकले प्रसूति सेवाको अनुमति बिना नै सञ्चालन गरिएको पाइएको छ। स्वास्थ्य कार्यालयका शाखा अधिकृत उमेशलाल कर्णले अनुगमन गरी बन्द गर्न निर्देशन दिएको बताए।
उपचारमा स्वास्थ्यकर्मीको लापरवाही देखिएपछि उपचारमा संलग्न चिकित्सकमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बर्ता। उनका अनुसार सञ्चालक चन्दन साहलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालबाट ५ दिनको म्याद थप गरिएको छ।