बहुप्रतीक्षित ‘द आइरिसम्यान’

बहुप्रतीक्षित ‘द आइरिसम्यान’

के छ आखिर यो सिनेमामा त्यस्तो ? किन यो महत्त्वाकांक्षी सिनेमा तयार हुन यति लामो समय लाग्यो ? हालसम्म यसका बारेमा थाहा भएका कुराहरू के हुन् त ?


केही दिनअघि संसारभरका सिनेमाप्रेमीहरू खुसीले तीन बित्ता उफ्रिए। किनभने लामो समयदेखि उनीहरूले पल पल गनेर कुरिरहेको एउटा विशेष सिनेमाको प्रदर्शनबारे अन्ततः निश्चित खबर आयो। त्यसको औपचारिक ट्रेलर आयो। निर्देशक मार्टिन स्कसेजीको बहुप्रतीक्षित र त्योभन्दा बढी बहुचर्चित सिनेमा ‘द आइरिसम्यान’को त्यस ट्रेलरमा रोबर्ट डी निरोको परिचित र विशिष्ट आवाजमा ‘हलो’ भन्ने एक शब्दले नै मात्रै पनि एक किसिमको रोमाञ्च उत्पन्न गरिदियो। एघार वर्षअघि सन् २००८ मा घोषणा भएको बेलादेखि संसारकै आँखा तानेको यो चलचित्र बन्ने नबन्ने उथुलपुथुलका बीच चर्चामा रहिरह्यो। त्यसका केही विशिष्ट कारण छन्। तर हजारौं विवाद र तगाराहरू नाघेर अन्ततः यो चलचित्र तयार भएको छ। आउँदो सेप्टेम्बर २७ मा न्युयोर्क फिल्म फेस्टिवलको प्रमुख आकर्षणका रूपमा यसको प्रथम प्रदर्शन हुने पनि निश्चित भएको छ। एकदमै सीमित चलचित्र भवनहरूमा प्रदर्शन भएर नेटफ्लिक्समा मात्र उपलब्ध हुने ‘द आइरिसम्यान’को के कारणले यत्रो चर्चा भएको हो त ? के छ आखिर यो सिनेमामा त्यस्तो ? किन यो महत्त्वाकांक्षी सिनेमा तयार हुन यति लामो समय लाग्यो ? हालसम्म यसका बारेमा थाहा भएका कुराहरू के हुन् त ?

यो चलचित्र सन् ६० र ७० को दशकमा अमेरिकाको तत्कालीन कुख्यात माफियाका लागि काम गर्ने फ्रान्क सिरान भन्ने व्यक्तिको सत्य कथामा आधारित छ। सिरानलाई ‘द आइरिसम्यान’को नामले चिनिन्थ्यो। भनिरहनु नपर्ला, रोबर्ट डी निरो यसको शीर्ष भूमिकामा छन्। त्यही बेला जिम्मी हफा नामक एक प्रभावशाली अमेरिकी युनियन नेताहरूको पनि उदय भएको थियो। सन् १९३० मा युनियनको कार्यकर्ता भएकै बेलादेखि हफाको संगठित अपराधको माफियासँग हेलमेल थियो। युनियनमा प्रगतिसँगै त्यति बेलाका रस्सेल बफालिनो र एन्जेलो ब्रुनो नामक माफिया डनहरूसँग उनको उठबस पनि बढ्दै गयो। हफा सन् १९५७ देखि १९७१ सम्म टिमस्टर्स युनियनको अध्यक्ष बनेको बेला उनले त्यसलाई सर्वाधिक शक्तिशाली बनाएका थिए। त्यति बेला भनिन्थ्यो, उनी अमेरिकाको राष्ट्रपतिपछि दोस्रो शक्तिशाली मानिस थिए। तसर्थ माफियासँगको संलग्नतालाई लिएर उनलाई गिराउनका लागि धेरै प्रयास भयो जसको नेतृत्व तत्कालीन राष्ट्रपति केनेडीका भाइ रोबर्ट कनेडीले गरेको थिए। उनी संगठित अपराधलाई अमेरिकमा टिक्न दिन चाहँदैनथे। तर ती कुनै प्रयास पनि हफालाई सजाय दिलाउन सफल भएनन्। ज्युरीलाई प्रभावित पार्न खोजेको कुरामा फसाएर भए पनि हफालाई तेह्र वर्षका लागि झ्यालखान हालियो। तर केनेडीको हत्यापछि बनेका राष्ट्रपति निक्सनले माफी दिएर उनलाई बीचमै कैदमुक्त गरे। यो सबै प्रसंगमा पनि माफियाको चलखेल थियो भन्ने शंका गरिन्छ।

सन् ७५ को जुलाई ३० का दिन हफा रहस्यमयी ढंगले गायब भए। उनको त्यसपछि केही पनि पत्तो लागेन। उनलाई बेपत्ता बनाउने र सम्भवतः हत्यामा सिरानको संलग्नता थियो भनिए पनि त्यसलाई प्रमाणित गर्न सकिएन। उक्त घटनालाई बीसौं शताब्दीको कुख्यात संगठित अपराधको रहस्यका रूपमा लिइन्छ। आजसम्म पनि त्यसको निश्चित समाधान भएको छैन। यो समाधान हुन नसकेको घटनाले अनेकौं किसिमका हल्ला र सम्भावनालाई जन्म दिएको थियो। कसैले हफालाई न्यु जर्सीको जायन्ट्स फुटबल रंगशालामा गाडिएको थियो होला भने। उनको लाससँगै कारलाई कुच्याएर कवाडी धातुका रूपमा जापान निर्यात गरिएको थियो भन्नेहरू पनि प्रशस्तै थिए। अर्का थरीले उनको लासलाई डेट्रोइटको कुनै ग्रामीण सडकमा गाडिएको थियो भन्ने ठोकुवा गरे। तर, एफबीआई लगायतले आकाश पाताल जोडेर न्वारानदेखिको बल लगाएर गरेको अनुसन्धानबाट पनि उनलाई कसले र कहाँ गायब बनायो भन्ने कुराको कुनै भेउ पाउन सकिएन। माफियाका लागि फ्रान्क सिरानले नै हफालाई मारेर गायब पारेको हो भन्नेमा चाहिँ सबै विश्वस्त छन्। तिनै आइरिसम्यान सिरानसँग लेखक चाल्र्स ब्रान्टले चार वर्ष लगाएर अन्तर्वार्ता लिएर लेखेको उनको जीवनी ‘आई हर्ड यु पेन्ट हाउसेज’मा आधारित छ ‘द आइरिसम्यान।’

हालै सार्वजनिक भएको ट्रेलरका आधारमा भन्ने हो भने यस सिनेमामा हफाको उदय, पतन र सम्भावित हत्याबाहेक अरू धेरै कुराको झलक हुनेछन् भन्ने भेउ पाइन्छ। ट्रेलरमा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यामा माफियाको संलग्नताको प्रसंग मात्र हैन, सरकार र ठूला व्यापारीहरूको माफियासँगको सम्बन्ध पनि घुमाउरो पाराले प्रस्तुत भएको छ। क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोको हत्या गर्न सीआईएले बनाएको योजनामा अन्डरवर्ल्डसँग सहयोग लिइएको प्रसंग पनि आई हर्ड यु पेन्ट हाउसेजमा छ। के सिनेमामा पनि त्यसको बारेमा केही देखाइएको होला त ? आधारमा सिनेमाले २०औं शताब्दीको अमेरिकी राजनीति, त्यति बेलाको माफिया, संगठित अपराध र भ्रष्ट युनियनको एकअर्कासँग जेलिएको जालोको बारे पनि धेरै कुरा स्पष्ट पार्ने आशा गर्न सकिन्छ।

‘द आइरिसम्यान’को घोषणा हुँदा नै यसका निर्देशक, अभिनेता र प्राविधिकहरूको नामै मात्र पनि कान ठाडो बनाउन पर्याप्त थियो। अहिले त झन् ट्रेलरमा हलिउडको इतिहासकै महानतम् अभिनेताहरूलाई देख्दा दर्शकहरू रोमाञ्चित नहुने कुरै भएन। स्कसेजी र डी निरोको जोडीले यसअघि पनि मिन स्ट्रिट्स, ट्याक्सी ड्राइभर, रेजिंग बुल्, गुडफेल्लाज र क्यासिनोजस्ता उत्कृष्ट सिनेमाहरू बनाइसकेकोले पनि द आइरिसम्यानप्रति दर्शकहरू बढी आशावादी हुनु स्वाभाविकै हो। झन् यसमा हफाको भूमिकामा अर्का चर्चित अभिनेता अल पचिनो पनि देखिने भएपछि यसको चर्चा अझै चुलिएको थियो। रेजिंग बुल र द गुडफेल्लाजका लागि सह–अभिनेताको एकेडेमी पुरस्कार जितेका जो पास्कीले डी निरो र स्कसेजीसँगको सम्बन्धका कारण यसै सिनेमाका लागि स्वघोषित सन्न्यास फिर्ता लिएका थिए।

‘द आइरिसम्यान’मा आबद्ध वरिष्ठहरूको नामावली यतिमै सकिँदैन। यसमा एकेडेमीलगायतका अरू प्रतिष्ठित पुरस्कारका लागि नामांकित तथा विजेताहरूको भरमार नै छ। आना प्याक्विन, बबी क्यानावेल, जेस प्लेमोन्स र रे रोमानो अरू केही त्यस्ता नाम हुन्। जिब्रो टोक्नुपर्ने कुरा के भने, यस चलचित्रका सबै अभिनेताको समग्रमा हिसाब गर्दा उनीहरू १९ एकेडेमी, ३५ गोल्डन ग्लोब्स र २७ एमीका लागि मनोनीत भइसकेका छन्। त्यसमध्ये उनीहरूले पाँच एकेडेमी, पाँच गोल्डन ग्लोब्स र सात इमी अवार्डस् हात पारिसकेका छन्। यो त भयो क्यामराअगाडि देखिनेहरूको कुरा। निर्देशक मार्टिन स्कसेजी, सम्पादक थेल्मा स्कुनमेकर, पटकथा लेखक स्टेभन जिलियन र सिनेम्याटोग्राफर रोद्रिगो प्रियेतो पनि २५ एकेडेमी पुरस्कारका लागि मनोनीत भएर पाँचवटा जितेका हस्तीहरू हुन्। यतिका धेरै प्रतिभाशाली नामहरू संलग्न भएको ‘द आइरिसम्यान’ बन्नका लागि किन यति लामो समय लाग्यो होला त ?

‘द आइरिसम्यान’ निर्देशक मार्टिन स्कसेजीको वर्षौं पुरानो महत्त्वाकांक्षी र मनको नजिकको योजना हो। सन् २००८ मै उनले यसको निर्माणको कुरा चुहाएका थिए जुन साल उनको अर्को बहुचर्चित सिनेमा ‘सटर आइल्यान्ड’ प्रदर्शन भयो। तर ‘द आइरिसम्यान’ भने कहिले कुन त कहिले कुन कारणले सरिरह्यो। स्कसेजीले धमाधम ह्युगो, द वुल्फ अफ वालस्ट्रिट र साइलेन्स जस्ता अरू एक से एक सिनेमा बनाइरहे। तैपनि स्कसेजीको मन मगजबाट ‘द आइरिसम्यान’ हटेन। अन्नतः सन् २०१७ मा प्यारामाउन्ट र एक अर्को निर्माण संस्था आबद्ध भएपछि यसले फेरि सन् २०१९ मा प्रदर्शन हुने योजनाका साथ गति लियो। यो कसरी नेटफ्लिक्सको पोल्टोमा आइपुग्यो त ?

सुरुमै १० करोड डलरको बजेट अनुमान गरिएको ‘द आइरिसम्यान’को बजेट बीस करोडको हाराहारी पुग्ने अनुमान गरियो। किनभने यसमा रोबर्ट डी निरो, अल पचिनोलगायत अरू अभिनेतालाई तरुनो अवस्थाको देखाउनु आवश्यक थियो। त्यसका लागि हलिउडमै पनि महँगो मानिने सीजी आई डी–एजिंग भन्ने प्रविधि प्रयोग गर्नुपर्ने थियो। त्यसै कारण यसअघिका केही सिनेमामा यो प्रविधि एकदमै थोरै मात्रामा प्रयोग गरिएको थियो। तर ‘द आइरिसम्यान’को पहिलो आधा भागमा अधिकांश अभिनेतालाई तरुनो देखाउन पर्ने थियो। यस कारण प्यारामाउन्ट र उसको जोडीदार निर्माण संस्था हच्कियो। उनीहरूले लगानी गरेको ‘द साइलेन्स’ पाँच करोड डलरको सिनेमा थियो जसले बक्स अफिसबाट साढे दुई करोडभन्दा बढी सुक्को दाम उठाउन सकेको थिएन। त्यसैले अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा डराएजस्तो भयो। ‘द आइरिसम्यान’ एउटा उत्कृष्ट चलचित्र बन्नेमा कुनै शंका नभए पनि त्यसले लगानी उठाउनचाहिँ सक्दैन कि भन्ने डरले अघिल्लो वर्ष उनीहरूले यसको निर्माणबाट हात झिके। तर त्यही बेला परम्परागत रूपमा सिनेमा हलको विकल्पका रूपमा आक्रामक बजार विस्तार गरिरहेको कम्पनी नेटफ्लिक्स यो खतरा मोल्न तयार भयो। स्कसेजी आफैं पनि यो कुरा स्वीकार्छन्। उनले हालै एक अन्तर्वार्तामा भनेका छन्,

‘द आइरिसम्यानमा लगानीको हिसाबले खतरा छ। त्यसैले त छ सात वर्षसम्म कोही अगाडि आएन।’

सार्वजनिक गरिएको ट्रेलरमा डी निरो र पचिनोको तरुनो रूपलाई त्यति धेरै स्पष्ट र धेरै देखाइएको छैन। त्यसैले अहिलेको मितिमा उनीहरूको तरुनो रूपलाई दर्शकहरूले कुन रूपमा लिन्छन् भन्ने कुरा किटेरै भनिहाल्न सक्ने अवस्था छैन। तर स्कसेजी जस्ता दक्ष निर्देशक अनि डी निरो र पचिनो जस्ता उत्कृष्ट अभिनेताहरूले दर्शकको ध्यान त्यता जान दिनेछैनन् भन्ने कुरामा सिनेमाका विज्ञहरू ढुक्कै छन्।

हुन त स्कसेजी र डी निरो दुवै सिनेमा भवनको ठूलो पर्दामा नहेरी कुनै पनि सिनेमाको वास्तविक अनुभव लिन सकिँदैन भन्ने कुराको पक्षपाती रहिआएका हुन्। घरको सोफामा बसेर हेर्नका लागि सिनेमा बनाउनु हुँदैन भनेर वकालत गर्ने यी दुई हस्तीहरूकै महत्त्वाकांक्षी सिनेमाचाहिँ नेटफ्लिक्समार्फत धेरै दर्शकसमक्ष पुग्ने अवस्था आउनु एक हिसाबले विडम्बना पनि हो। तर न्युयोर्क फिल्म फेस्टिभलपछि केही सीमित सिनेमा भवनमा यसको प्रदर्शन हुने छ। एकेडेमी अवार्डलगायत अरू पुरस्कारहरूको दौडमा सहभागी हुनका लागि पनि यो आवश्यक छ। अरू जेसुकै भए पनि चलचित्रको इतिहासमा ‘द आइरिसम्यान’ एउटा महत्त्वपूर्ण कोसेढुंगा हुनेछ भन्ने कुरामा चाहिँ शंका गर्ने ठाउँ छैन। यो अहिले नै विश्वको आँखा तान्ने सिनेमा भइसकेको छ। सिनेविज्ञहरूले यसले कतिवटा एकेडेमी अवार्ड लैजान्छ भन्नेमा तर्क गर्न थालिसकेका छन्।


रोटनटोमाटोजबाट। अनुवाद : ब्रजेश। ब्रजेश सिनेमा लेखक र कलाकार त हुँदै हुन्। उनले ‘यायावर’, ‘जुनेली’ र ‘साइड हिरो’ पुस्तक पनि लेखेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.