भौंरी

भौंरी

नामको मात्रै जोई भएको मान्छेको घरमा बसेर कुण्ठाले मर्नु छैन मलाई। आफूलाई जता पनि पाल्न सक्छु। म मेरो मन पछ्याउँछु, अर्काको रोटीको टुक्रा होइन।


चारजना छोरापछि जन्मिएकी भौंरी परिवारकी एक्ली छोरी थिई। अन्तिममा आएकी, ढिलो देखापरेकी यो सन्तानप्रति उसकी आमाको मनमा विशेष स्थान थियो। आमाले उसलाई उर्वर गर्भबाट निस्किएकी अन्तिम ‘गर्भ पुछुवा’ भनेर बोलाउँथी, र उसको दरिलो, सुडौल शरीर गर्वसाथ हेर्थी। छोरी जन्मिँदा निन्याउरो अनुहार लगाउने र कहिलेकाहीँ सुँडेनीलाई ती बच्चीहरूलाई सास थुनेर मार्न वा अफिम खुवाउन लगाउने माथ्लो जातका मान्छेहरूजस्ता थिएनन् लोहारहरू। खासमा, छोरीहरूलाई त स्वागत गरिन्थ्यो। उनीहरू घरको आरनमा काम गर्थे, र बिहाको बेला राम्रो मूल्य पनि घर ल्याउँथे। तर भौंरीकी आमाले आफ्नी छोरीको दुलही–मूल्य तोक्न अस्वीकार गरेकी थिई। ‘म भौंरीलाई लिएर बावली (सिँढी भएको फराकिलो इनार)मा हामफाल्छु’, उनीहरूकी बलिष्ठ छोरीका लागि आएको मोटो रकमको प्रस्तावले श्रीमान् लोभिएपछि उसले धम्की दिएकी थिई। ‘म तिम्रो सात पुस्तालाई सराप्छु ! मेरी छोरीलाई बेच्यौ भने बाँचेकालाई सान्त्वना दिन र लासलाई पानी दिन पनि कोही बाँकी रहनेछैन !’

भौंरीको बाबु पछि हट्यो। उसलाई थाहा थियो, यो उसको पत्नीको घुर्की मात्र थिएन। उसको आफ्नै परिवारले उसलाई एउटा बूढो मान्छेलाई बेचिदिएको थियो। सयवटा गाईबस्तु, अलिकति जमिन र पहिलेकी श्रीमतीबाट चारजना सन्तान भएको गुज्जर मुखियासँग। ‘ऊ चाउरिएको कोदोको डाँठजस्तो निम्छरो थियो, अनि त्यस्तै रूखो पनि’, भौंरीले धेरैचोटि आफ्नी आमाले भनेको सुनेकी थिई।

एक दिन, एउटा जवान लोहार वृद्ध गुज्जरको गाउँतिर आइपुग्यो। उसलाई आफ्नो गाडाका लागि एक जोडी राँगा किन्नु थियो। भौंरीकी आमाले उसलाई बस्तुभाउ देखाई। उसले सहजै तिनीहरूलाई तह लगाई, उछल–कुद गरिरहेका वर्षे जन्तुहरूलाई पछाडि तानी। अनि अजंगका, भारी–भरकम राँगाहरूलाई उसको निरीक्षणका लागि अघि सारी। लोहार उसको तागत देखेर दंगै पर्‍यो। पछि, उसले लोहारलाई मोही र पिरो, रातो खोर्सानी अनि लसुन पिसेको चटनीसँग बाजराका रोटी खान दिई।

जवान लोहारले टुक्रुक्क बसेर हुक्का तान्दै गर्दा सुस्ताएका उसका दरिला पाखुरा र उसले लगाएको खस्रो सुतीका मुन्तिर उसका बलिया तिघ्रामाथि दुलहीका नजर लामो समयसम्म टिकिरहेको बुढो गुज्जरले देखेको थियो। मरुभूमिको आतिथ्यको कडा नियमअनुसार पाहुनालाई कहिल्यै पनि फर्काउन पाइँदैनथ्यो। फेरि उसलाई सम्भावित ग्राहक उम्काउनु पनि त थिएन। गुज्जर धुर्त थियो, उसले धेरै वर्ष मरुभूमिका कष्ट झेलेको र त्यसबाटै फलिफाप भएको थियो। उसले छिटोछिटो कदम चाल्यो। एक गाग्री पानी लिएर सानो भण्डारकोठामा भएको ओछ्यानमा पोख्यो र कपडालाई डोरीमा सुकायो। त्यसपछि भित्री चोकमा दुईतीनवटा बाख्रा बाँध्यो। ‘दुःखको कुरा’, उसले आँखा चम्काउँदै हात जोडेर लोहारलाई भन्यो, ‘आज तपाईंलाई सुत्न दिने खाट नै भएन। मेरी जहानले एकैपल्टमा सबै तन्ना धुने मुख्र्याइँ गरिछे। त्यसको केही सुद्दी छैन र धेरै झगडालु पनि छे। तर त्यसलाई दोष पनि दिन्न म। जाबो आइमाई त हो, मूढ र सजिलै विचलित हुने। मेरो आँगनको खाटमा सुत्न सक्नुहुन्छ, तर आज यहाँ यी सबै रोगी बाख्राहरू छन्। भगवती माईको हैजा यतातिर निकै फैलिएको छ र तिनीहरूलाई म आफैंले हेरविचार गर्नुपर्छ।’

‘मेराबारे केही चिन्तै नलिनुस्’, जवान लोहारले उत्तर दियो। ‘मलाई मेरो गाडामै आनन्द लाग्छ। यसमै निदाउने बानी छ।’

लोहार गाडातिर गइसकेपछि, चतुर गुज्जरले आफ्नो डोरी खाट ढोकाको छेउको आँगनमा राख्यो। उसको निद्रा पातलो थियो, र उसकी श्रीमती घरबाहिर निस्किए उसले सुनिहाल्थ्यो। आफूले ढोकामा पहरेदारी गरेपछि जवान पाहुनासँगको भेटघाटका लागि बूढी लुकेर निस्कन सक्दिन भनेर ऊ ढुक्क थियो। भौंरीकी आमाले भावशून्य भएर उसका तिकडम हेरिरही। मध्यरातमा, उसले आफ्ना गह्रौं पाउजुको झन्कार दबाउन तिनको वरिपरि कपडाका टालोहरू बाँधी, कोठाको फुसको छानो उचाली, र धामन सर्पजस्तै बाहिर घिस्रिई।

घरदेखि केही पर, गाउँ मरुभूमिमा परिणत हुने ठाउँमा, लोहारको गाडा थियो। उसले मस्त निदाइरहेको लोहारलाई काँधमा झक्झक्याएर ब्यूँझाई। ‘मीठो पानी नपाएर चमेली फूल ओइलाएझैं म सुकिरहेकी छु’, लोहारको गाडाको खाँबो समात्दै उसले भनी। जीर्ण जूनले मरुभूमिको फैलावटको अघि उसलाई तरल, कामुक रेखाहरूले कोरिदियो। ‘मलाई तिमीसँग लग। म तिम्रो आरनमा काम गर्छु र तिमीलाई खाना पकाइदिन्छु र तिम्रा सन्तान जन्माउँछु।’ लोहारले चट्याङझैं आँखा लिएर आफ्नो अघिल्तिर उभिइरहेकी महिलालाई हेर्‍यो। उसका नग्न पाखुरा बबुलका हाँगाझंै चम्किरहेका थिए, कुर्तीमा कैद उसको वक्ष चलायमान थियो। बालुवाको ढिस्को र मरुभूमिको वायुजस्तो उसको वासनाले लोहारलाई छोप्यो। ‘तिमी महिलाले जन्माएको पुरुष हो भने’, उसले चुनौती दिई, ‘मलाई लग।’ ऊ लोहारभन्दा जेठी थिई, र उसको श्रीमान् सम्पन्न थियो, गुज्जर समुदायको पञ्च। फेरि लोहारलाई उसले मेजमानी पनि गरेको थियो; जवान लोहारले उसको घरको अन्न र नुन खाएको थियो। तर लोहार मन्त्रमुग्ध थियो। आतिथ्यको अनुबन्धलाई तोडे पनि वा शक्तिशाली व्यक्तिसँग शत्रुता साँध्नु परे पनि, उसलाई वास्ता थिएन। उसको इच्छा यही महिला थिई। प्रातःकालअगावै ऊ हिँड्यो— आफ्नो गाडालाई आवश्यक नयाँ राँगा नलिईकनै, तर आफूले खुबै चाहेको श्रीमती लिएरै।

भौंरीकी आमाको परिवार क्रुद्ध भयो। ऊ भागेको सुन्नेबित्तिकै उसका दाजुहरू दम्पती खोज्न हिँडे। अन्ततः लोहारले डेरा जमाएर बसेको गाउँमा उनीहरूले उसलाई पहिल्याए। ‘तैंले किन श्रीमान्को घर छोडिस् ? ’ युवतीलाई उनीहरूले र्‍याखर्‍याख पारे। ‘त्यो पनि मरुभूमिको एकलकाँटे, परित्यक्त उँटजस्तो निश्चित थातथलो नै नभएको मान्छेका लागि।’ भौंरीकी आमालाई रत्तिभर वास्ता थिएन। ‘म माथ्लो जातकी महिला होइन। नामको मात्रै जोई भएको मान्छेको घरमा बसेर कुण्ठाले मर्नु छैन मलाई’, उसले जवाफ फकाई। ‘आफूलाई जता पनि पाल्न सक्छु। म मेरो मन पछ्याउँछु, अर्काको रोटीको टुक्रा होइन।’

‘तँलाई तेरो मुटु त्यस्तो महत्त्वपूर्ण लाग्छ र बूढाको घरको रोटीलाई हेला गर्छेस् ? त्यहाँ त दामी अन्न र नौनी खान्थिस्। यो कंगालले तँलाई सबैभन्दा खस्रो बाजरा पनि दिन सक्दैन’, तिनीहरू कराए। भौंरीकी आमाले तिनीहरूलाई बस्तीबाट घचेटेर निकालिदिन्थी होला, तर लोहार शान्त थियो। गुज्जरले माग गरेको दुलही–मूल्यका साथै जरिवाना तिरेर उसको परिवार र पहिलाको श्रीमान्सँगका विवाद सल्टाउन उसले मान्यो।

‘त्यसले मेरो एउटै सन्तान पाएकी छैन, छोरा न छोरी’, विवाद मिलाउन डाकेको समितिमा गुज्जरले भन्यो। ‘फलका लागि न लहरालाई स्याहार्ने हो।’ समुदायका अगुवाहरूले सहमतिमा टाउको हल्लाए, तर भौंरीकी आमा रिसले आगो भई। ‘फलहीन म होइन। मालीलाई सोध, उसले कुनै बीउ रोप्यो कि रोपेन’, उसले सबैले सुन्ने गरी भनी। ‘उसको छेउमा पानीबिनाको माछाजस्तै औडाहामा बिताएका रातहरूको बदलामा मलाई पो जरिवाना तिर्नुपर्छ।’ भेला भएका पुरुषहरू हाँसे र महिलाहरूले उसको तिखो वचनअघि जिब्रो टोके, तर कुलका अगुवाहरूले जरिवाना तिर्नैपर्ने निर्णय गरे। ‘नतिर’, भौंरीकी आमाले आफ्नो नयाँ श्रीमान्लाई भनी। ‘मलाई नकिन।’

‘मैले तिम्रो मूल्य तिरेको होइन। मैले बूढा मान्छेलाई ओछ्यान तताउन सिरक किन्ने पैसा दिएको हुँ’, उसले हाँस्दै भन्यो, र आफूले बचत गरेको सबै रकम दिइदियो।

त्यो निर्णय मानेको भएर आजको दिनसम्म पनि भौंरीकी आमाले लोहारलाई गिज्याइरहन्थी। ‘खुबै वीर छ, तर म बाँझी छु भन्ने बूढा, नपुंसक मान्छेको अघि सिङ र पुच्छर नहल्लाई खुरुक्क जरिवाना तिर्‍यो— जब कि मेरो कोखले उसकै बीउ हुर्काइरहेको थियो’, उसले भन्थी। ‘तर यति बुझ मायालु, तिमीले मलाई किनेका होइनौ। म आफ्नै मर्जीले आएकी हुँ।’

भौंरीको बुवाले उत्तर दिँदै गर्दा उसले जुँगाको पछाडि अर्धमुस्कान लुकेको देख्थी, ‘मैले कहाँ तिमीलाई किन्नु, भाग्यवती, मैले आफूलाई पो तिमीलाई बेचेँ।’ र भौंरीका आमाका तेजिला आँखा लामो समयसम्म आफ्ना श्रीमान्लाई नियालिराख्थे।


अनुकृति उपाध्यायद्वारा लिखित र हार्पर कोलिन्स इन्डियाद्वारा प्रकाशित लघुउपन्यास ‘भौंरी’ को अंश ऋचा भट्टराईले अनुवाद गरेकी हन्। उनी लेख्न मन पराउँछिन्। र, त्यो भन्दा बढी पढ्न। उनको ‘फिफ्टिन एन्ड थ्री क्वाटर्स’ कथासंग्रह प्रकाशित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.