मैले प्रशंसा गर्न सक्ने एक मात्र अनुवाद
डोरिट रबिन्यनसित मिसेल जुरोभ
२२ जुलाई २०१९ मा अलजजिराले छापेको एउटा समाचारको शीर्षक थियो, ‘डोजरसहित गएको इजरायली सेनाले प्यालेस्टायनीहरूको घर भत्कायो।’ समाचारमा छ, ‘छिमेकी गाउँ र अन्तर्राष्ट्रिय समुदायहरूको विरोध हुँदाहुँदै पनि इजरायली सेना हटेन।’ त्यो गाउँमा मान्छे बस्दैनथे तर घर भत्किएका थिएनन्। छोडेर हिँडेका मान्छेलाई घर हुन्जेल फर्किने आशा हुन्छ। त्यो आशा घरसँगै भत्कियो। तिनले त्यो समाचार पढे होलान्। वा कसैले अब केही रहेन भनेर सुनायो होला। कस्तो महसुस हुँदो हो ?
डोरिट रबिन्यन इजरायलकी लेखक हुन् जसको ‘अल दी रिभर्स’ किताबले इजरायल–प्यालेस्टाइन सम्बन्धलाई दुई प्रेमीहरूको सम्बन्धमार्फत उधिनेको छ। मध्यपूर्वमा यी दुई देशबीच भइरहेको द्वन्द्वले पारेका मानवीय तहका पक्षहरूलाई यसले खोतलेको छ। उनीसँगको यो अन्तर्वार्ता यहुदी किताब काउन्सिलका लागि मिसेल जुरोभले लिएकी हुन्।
इजरायलको शिक्षा मन्त्रालयले तपाईंको भर्खरै अनूदित उपन्यास ‘अल दी रिभर्स’लाई किन प्रतिबन्ध लगायो जस्तो लाग्छ ?
किनकि मैले प्यालेस्टाइनीहरू पनि इजरायली जस्तै मान्छे हुन् भनेर देखाएँ। उपन्यासकी पात्र लियाट इजरायली हुन्। उनले हिल्मी नामक एक प्यालेस्टाइन केटोलाई फरक नजरले हेर्छिन्। देशको शिक्षा प्रणालीले उनको दिमागमा भरिदिएको प्यालेस्टाइनलाई हेर्ने तरिका भन्दाभिन्दै छन्। उनी ती तरिकाले सिकाएका स्टेरियोटाइप, डर र शंका विमुख नै त छैनन् तर त्यसभन्दा माथि उठेर आफ्नो व्यक्तिगत ज्ञानमा विश्वास गर्न भने सक्छिन्। त्यसैले आफूभन्दा फरक अरू मान्छेलाई चिन्न सकेकी छन्। आफूबाहेकको मान्छे पनि मान्छे हो भन्ने बुझेकी छन्। हिल्मीको पहिचानबारे थप खोजेपछि उनलाई आफूहरू उस्तै वातावरणमा हुर्किएको भए पनि आपसी पहिचानलाई एकअर्काविरुद्ध उचालिएको ज्ञात हुन्छ। शिक्षा मन्त्रालयको रिपोर्ट हेर्दा उनीहरू यही कुराबाट डराएका छन् भन्ने थाहा हुन्छ। उनीहरू मेरा पात्रले गरेका भावनात्मक यात्राको प्रभावलाई सहन सक्दैनन्। यो उनीहरूका लागि खतराको कुरा हो।
तपाईंले आफ्नो किताबमार्फत दिन खोजेको सन्देश यही थियो ?
म सन्देश दिन लेख्दिनँ। र, यो किताबमा त्यस्तो केही चिज छ जसलाई सन्देश भनेर भन्न सकिन्छ भने त्यो ‘हामी’ र ‘तिनीहरू’ दुवैको साझा पहिचान हो जसलाई एकअर्काको स्वीकारोक्ति चाहिएको छ। अरू इजरायलीहरूले जस्तो आँखा बन्द गरेर मै मात्र हुँ भन्दै बस्न सकिन्न।
लियटको जीवनमा घट्ने सबै साना साना घटनाले उनको इजरायली हुनुको दोषलाई प्रतिविम्बित गरेको हो कि जस्तो लाग्छ। के अरू औसत इजरायलीलाई पनि यस्तै लाग्छ ? वा तपाईं स्वयंलाई पनि कुनै अदृश्य दोष बोकिरहेको भान हुन्छ ?
लियटको पात्रमार्फत देखाउन खोजेको दोषलाई पहिचान गरिदिनुभएकामा धन्यवाद। उनले हिल्मीलाई भेट्ने निर्णय गर्नु र भेट्नु नै पनि इजरायलका लागि अपराध हो। उनी दोषी हुन्। हिल्मीलाई भेटेपछि भने आफू द्वन्द्वको बलियो पक्षतिर भएका कारण उसलाई स्वीकार गर्नुपर्छ भन्ने उनलाई लाग्छ। उनले त्यस्तो सोच्नु पनि आफ्नो समुदायलाई धोका दिनु हो। धर्मले कसैसँग पनि आत्मीकरण नगर्नू भनेर दिएको आदेश नमान्नु हो। उनको दोष यतिमै सकिँदैन किनकि यो यहुदी दोष मात्र हैन। यहुदीमा पनि इजरायली यहुदी दोष हो। मेरो पुस्ता र अहिलेको पुस्ता फरक छन्। अहिलेको पुस्ता चर्को राष्ट्रियताको भेलमा बगेको छ। त्यो राष्ट्रियता अतिवादी राजनीतिक वातावरणको उपज हो। यी सबै कुरा सुधार्न सकिन्छ भनेर बाचा गर्नेहरू आए र गए। हामी ती बाचामा लट्ठियौं र ब्यूँझियौं। शान्ति प्रक्रियाहरूले पनि ‘शान्ति सम्भव थियो’ मात्र भने, शान्ति ल्याएनन्। मेरो किताब पढ्न प्रतिबन्ध लगाइएका यी सहस्राब्दीका बच्चाहरूलाई उनीहरूको जीवन द्वन्द्वको प्रभुत्वमा छोपिनुपर्ने र द्वन्द्वबाट निर्धारित हुनुपर्ने हैन भन्ने थाहा नै भएन। त्यसको सम्भावनासम्म पनि उनीहरूले पाएनन्। कसैमाथि प्रभुत्व जमाउने र कसैको भाग खोस्ने काम भारी हुन्छ। त्यो भारी बिसाएर स्वतन्त्र बन्न सकिन्छ भन्ने पनि उनीहरूलाई थाहा छैन। यो दोषको स्वाद हामीले पनि चाख्यौं। उनीहरूले पनि चाखे। स्वाद हरेक दिन फेरिँदो छ।
आफ्नो किताबले मानिसको जीवनमा उल्लेख्य फरक पार्यो जस्तो लाग्छ कि लाग्दैन ?
मेरो किताब भावनाबाट सुरु हुन्छ। म आफ्नो दिमागलाई परिवर्तन गर्न उपन्यास लेख्न थाल्दिनँ। बरु आफ्नो भावनासँग यात्रामा निस्किनका लागि सुरु गर्छु। ‘अल दी रिभर्स’ उपन्यासले समानुभूतिको सल्लाह दिन्छ। समानुभूति साहित्यसँग भएको उत्कृष्ट जादु हो। कथावाचक र पात्रहरूको पहिचानमा डुब्दा कोही जस्तो हुनु भनेको कस्तो रहेछ भन्ने जान्न पाइन्छ।
तपाईंले ‘अरू धेरै मानिस बितेका वर्षहरूमा विफल भइरहेकै थिए तर हामी यति नजिक भएर पनि, यति धेरै माया गरेर पनि, कसरी असफल भयौं ? म बुझ्नै सकिरहेकी छैन।’ लेख्नुभएको छ। हिल्मी र लायटको सम्बन्धले दुई देशबीचको समग्र द्वन्द्वलाई कसरी प्रतिविम्बित गर्छ ?
उनीहरूको सम्बन्ध दुई देशबीचको द्वन्द्वको प्रतिविम्ब हो जस्तो मलाई लाग्दैन। बरु मध्यपूर्वका दुई देशमा बस्ने ती साना प्रेमीहरूले द्वन्द्वलाई आफूभित्रै बोकेर हिँडिरहेका छन् भन्ने तथ्यको प्रतिविम्ब भने हो। यो उनीहरूको आत्मकथाको भाग मात्र हैन। तिनको व्यक्तित्व र संसारलाई हेर्ने दृष्टिकोण अब एक तत्त्वझैं भइसकेको छ। उनीहरू द्वन्द्वलाई बोकिरहेका छन्। इजरायली र प्यालेस्टाइन हुनुको जटिल द्विविधामा रुमल्लिएका छन्। लायटले उनको यहुदीको पहिचानलाई सुरक्षित राख्नु परेको छ। सँगै प्रजातान्त्रिक जीवनले उनलाई दिएको उदारवादी मूल्य–मान्यतालाई जोगाउनु पनि छ। आफूभित्रको यहुदीपन र प्रजातान्त्रिक सोचले उनको भावनात्मक र मानसिक दायरालाई रंगीन बनाएको छ।
इजरायली र प्यालेस्टाइनी रोमान्टिक सम्बन्धप्रतिको तपाईंको धारणा जीवनभरमा परिवर्तन भएको छ ? हो भने त्यसलाई परिवर्तन गर्न यो उपन्यासले कसरी भूमिका खेलेको छ ?
यहुदी पहिचानको मि श्रण वा निरन्तरताबारे जान्ने अवस्थामा छु जस्तो मलाई लाग्दैन। उपन्यास लेखिरहँदा मिश्रित जोडीहरूबारे अझै खोजेर कुराकानी गरेको भए हुन्थ्यो भन्ने मलाई लागिरह्यो। तर पछि उपन्यासको थिम लायटले हिल्मीसँग अनुभव गरिरहेको प्रेममा सीमित छैन जस्तो लागेर उक्त विचार त्यागिदिएँ। यो उपन्यास प्रेमबारे अवश्य हो तर प्रेमभन्दा पनि धेरै घरभन्दा बाहिर हुनुको डायस्पोरिक साहसले दिएको खोजको अवसर र त्यसप्रति उनको मनमा भएको डरबारे पनि हो। इजरायलमा यो अनुभव एकदमै धेरै चुनौतीपूर्ण छ। यो सामान्य हुँदै हैन। प्यालेस्टाइनीका लागि इजरायल पुग्नु र एकअर्काको नजिक भएर घुलमिल हुनु असाध्यै दुर्लभ दृश्य हो। यो सहज छैन। तर लियाट र हिल्मी असीमित अवसरको बाचाबाट बढारिएका भने छैनन्। भलै आफूले चाहेको जस्तो स्वच्छन्द हुन सम्भव छैन। आफूसँग भएको शक्तिले अगाडि ठेल्न मात्र हैन, पछाडि तान्न पनि सक्छ। आफूबारे आफैंले बुझ्ने भयानक स्वीकारोक्ति हो यो।
तपाईंको लेखन प्रक्रियाको सबैभन्दा कठिन खण्ड कुन हो ?
दोहोरिइरहने क्लिसे चिजहरूलाई निषेध गर्नु। इजरायलको साहित्य, सिनेमा र कलाले द्वन्द्वलाई आदर्श बनाइरहन्छ। त्यसमा पनि सिमाना वारपारका महिला र पुरुषबीचको सम्बन्धलाई त झनै बहकाइन्छ। म द्वन्द्व कुनै पनि हिसाबले आदर्श हुनुपर्ने कारण देख्दिनँ। अझ हामीले भोगिरहेको युद्ध कसरी आदर्श हुन सक्छ ? कथा लेखिरहँदा म आफैं पनि विषयलाई आदर्शीकरण गर्छु कि भनेर डराउँथे। लियट र हिल्मी राजनीतिक रूपमा सचेत छन्। सँगै यस्तो आदर्शीकरणको पासोमा पर्न सक्ने खतराबाट सचेत छन्।
लियट र हिल्मीको सम्बन्ध एक जना प्यालेस्टाइन कलाकारसँग तपाईंको आफ्नै सम्बन्धमा आधारित हो भन्ने मलाई थाहा छ। यो उपन्यासलाई त्यसको प्रतिविम्ब हो भन्न सकिएला ?
हसन नामक प्यालेस्टाइनी युवा कलाकारबाट प्रभावित भएँ। ऊ प्रतिभावान् थियो। अनुहार उज्यालो भएको। ऊ वरपर भएको सजिलै थाहा हुन्थ्यो। उसलाई मैले सन् २००२ मा न्युयोर्कमा भेटेको थिएँ। म एक प्यालेस्टाइनीसँग त्यति नजिक हुन पाएको पहिलोपल्ट थियो। अक्सर गइरहने प्यालेस्टाइनी लेखक र कलाकारको समूहमा ऊ पनि आबद्ध थियो। भिन्न व्यक्तिसँगका ती भेटघाट र आपसी कुराकानीले मलाई अझै सशक्त बनाउँथे। तर त्यही विषयलाई लिएर उपन्यास नै लेखिहाल्छु भन्नेचाहिँ मलाई थाहा थिएन। त्यो सम्बन्धका केही चिजहरूले यी कुरा माग्दै गए। हामीले संवादलाई जारी राख्नु थियो।
लियाट र हिल्मी प्रेम सम्बन्धमा छन्। तपाईंहरू हुनुहुन्थ्यो ?
वास्तविक जीवन किताबका पात्रझैं नाटकीय हुँदैनन्। हामी सहजताका साथ हिँडिरह्यौं। सम्बन्ध निर्मित थिएन त्यसैले स्वाभाविक थियो। त्यो सहजताले गर्दा मैले लायट पात्रलाई अझै प्रतिविम्बित गर्न सकेँ। आफ्नो नराम्रो गुणहरूलाई पनि उनको गुण बनाउन सकेँ। उनी आत्मालोचना गर्छिन्। डरपोक र इमानदार छिन्। उनीभन्दा बढी म आफूलाई माफी दिन सक्छु होला।
उनलाई कम माफी दिन सक्ने किन बनाउनुभएको ?
म एक सोचको खोजीमा थिएँ, जसले छिमेकीको पहिचानको कारण हराउँदै गएको इजरायली यहुदी व्याकुलतालाई प्रतिविम्बित गरोस्। यसमा कोही मिसिएको होस्, जुन कसैको क्षेत्रमा प्रत्यक्ष संलग्न भएको होस्। यसमा कसैको वातावरणमा उडेको हावा मिसिएको होस्। यी सबै कुरा त्यसरी होऊन् जसले कसैलाई पहिचानभन्दा बाहिर हुत्याओस्। त्यसैले पनि मैले उनलाई धेरै आत्मालोचक बनाउनु पथ्र्यो।
हिब्रु भाषालाई आफ्नो अपनत्वको प्रतिविम्ब हो भन्ने बताउनुभएको छ। अहिले उपन्यास अन्य धेरै भाषामा अनुवाद भइसक्यो। अन्य भाषामा त्यो अपनत्व पुगेको पाउनुहुन्छ ?
म आफूलाई भाग्यमानी ठान्छु किनकि धेरै उत्कृष्ट अनुवादकले मेरो भाषा अनुवाद गरेका छन्। यसको अंग्र्रेजी अनुवाद जेसी कोहेनले गरिन् जसको काम अद्भुत छ। पढिरहँदा उनको घाँटीबाट कसैले कविता वाचन गरिरहेझैं लाग्छ। मैले पढ्न र प्रशंसा गर्न सक्ने एक मात्र अनुवाद यही हो।
उपन्यासको शीर्षकले इजरायल–प्यालेस्टाइन सम्बन्धबारे तपाईंको विश्वासलाई कसरी दर्शाउँछ ?
प्रकाशनगृहका सम्पादकले ‘अल दी रिभर्स’ राख्न सुझाव दिएका हुन्। मलाई त्यसै दिन काव्यिक गहनता सुन्नासाथै मन पर्यो। यसले समुद्रको थिमलाई उग्गाएर उपन्यासको सुरुआतमा खन्याउँछ। यसले सीधै समुद्र भन्दैन तर सबै नदी समुद्रमा पुग्छन् भन्ने संकेत गर्छ। समुद्र हाम्रो असीम इच्छा र व्याकुलताको प्रतिविम्ब हो। यसले उपन्यासमा मात्र हैन, द्वन्द्व पनि ठूलो भूमिका खेल्छ। प्रकृतिमा भएको यो एक मात्र त्यस्तो शक्ति हो जो धेरै परिवर्तन भएको छैन। जमिन बाँडिए। तिनमा रेखा कोरिए। पर्खाल लगाइए। तिनलाई फरकफरक ढाँचामा बदल्न मिल्छ। कित्ताकाट हुन्छ। तर समुद्रको यो दृश्य हाम्रो र उनीहरूको पुर्खाहरूले एकैपल्ट देखेको दृश्य हो। हामी हुँदा उनीहरू पनि यसको वरपर नै थिए। उत्तरतिर हेर्दा यही दृश्य देखिन्थ्यो। निष्कर्षमा पुग्ने हो भने पनि उनीहरू हामीभन्दा फरक छैनन्। हामी उनीहरूभन्दा फरक छैनौं। यी दृश्य हेर्दै र एउटै घाम ताप्दै हुर्किएका हामीमा धेरै समानता छन्। तर अहिले बीचमा पर्दा लागेको छ। आफ्नो (भनिएको) शत्रुसँग यति धेरै कुरा साझा पाउनु ताजुबको कुरा भएको छ।
तपाईंले उपन्यासलाई मौसमअनुसार विभाजन गर्नुभएको छ। किन ?
जाडोको कारणले। म कथाको रफ्तारमा जाडो मौसम मिसाउन थाहन्थेँ। यी दुई पात्रको पहिचान र एक्लोपना न्युयोर्कका ठन्डी सडकपेटीमा रुमल्लियोस् भन्ने चाहन्थेँ। जाडो मौसमले उनीहरूलाई घरको याद दिलाओस्। घर फर्किन चाहँदा उनीहरूले कुनै मैदान वा माटो याद गर्ने हैनन्। आफ्नो मातृभूमिको न्यानो अँगालो खोज्नेछन्। म त्यसको महसुस कथामा सुनाउन चाहन्थेँ।
उपन्यासको अन्तिम दृश्यमा हिल्मी र लियाटले सँगै फोटो खिच्दै हुन्छन्। त्यस्तैमा हिल्मी भन्छे, ‘तिमी हाँस्दै छौ ? ’ किताबलाई यो क्षणमा ल्याएर अन्त्य गर्न किन खोज्नुभएको ?
म लियाटको त्यो असहजपनाको नजिक पुगेँ जुन उनी र हिल्मीको सम्बन्धले सिर्जना गरेको थियो। उनले प्रेमबाहेक आफ्नो इजरायली र उसको प्यालेस्टाइनी पहिचानबीच रहेका विभाजन र पृथकीकरणको खाल्डोलाई नाघ्नु परेको थियो। हिल्मी त्यो रोमान्टिक र भावनात्मक सम्बन्धलाई सम्पूर्णता र सामूहिकताका रूपमा हेर्छ। यसको मतलब दुई भिन्न पहिचान एक नभई सम्भव छैन। तर लियाट समाहित हुन वा मिसिन डराउँछिन्। सधैं प्रार्थना गरिरहेको ‘दुई राज्य समाधान’ नहुने हो कि भन्ने डर उनलाई छ। सँगै अरबको रङबाटै विमुख भइन्छ कि भन्ने भय पनि छ। ‘दुई राज्य समाधान’ र ‘एक राज्य समाधान’ उनीहरूले द्वन्द्वलाई हेर्ने मात्र नभएर मायालाई हेर्ने तरिका पनि हुन्। म व्यक्तिका रूपमा आफू हुने र उनीहरूसहितको समूह हुने कुराबीचमा दोहोरी खेलिरहन्छु। लियाटलाई कुनै सिमानाबिना समाहित हुने कुरामा लागेको डर इस्लामिक क्षेत्रमा भएको यहुदीले सामञ्जस्यपूर्ण अस्तित्वप्रति मानेको डरजस्तै हो। हुनसक्छ, इजरायलीको अचेतन मनमा शान्तिपूर्ण एकीकरणप्रति पनि डर छ। हाम्रो दिमागमा भएको त्यो व्याकुलताको पोखरीमा हामी कति डुबेका छौं भने बीचमा भएका धेरै आपसी साझा कुराहरू स्वीकार्नै सकिरहेका छैनौं। वा हाम्रो यहुदीपन यो अरब क्षेत्रमा कति दौडिरहेको छ भन्ने देख्न पनि हामीलाई गाह्रो भइरहेको छ।
अहिले केमा काम गर्दै हुनुहुन्छ ?
एउटा नाटक लेख्ने कुरा दिमागमा चलिरहेको छ। साहित्यिक लेखनभन्दा फरक भाषा हो यो तर पनि यसले धेरै कुरा माग्छ। मैले फिल्मको स्क्रिप्ट पनि लेखेको छु। सँगै टीभी सिरिजका बारेमा पनि सोचिरहेका छौं। मैले भिन्दाभिन्दै विधाहरूमा आफ्नै पृथक् कथा भन्ने शैलीको विकास गर्नुपर्छ भन्ने लागेको छ। आफ्नो क्षमताको फरक पाटो थाहा पाउने एक तरिका यो पनि त हो।
त्यसमा पनि इजरायल र प्यालेस्टाइन पहिचान झल्काउने सांस्कृतिक विभाजनहरूले नै मुख्य स्थान पाउने होलान् हैन ?
मैले लेख्ने वा बताउने भनेकै इजरायली जीवन हो किनकि मैले यही कुरा झेलिरहेकी छु। मेरो एन्टेनाले व्यक्तिगत जीवन वरपर भइरहेका समस्याहरूलाई नै टिप्छ। यो यसै पनि यथार्थमुनि दौडिरहने आफ्नो अचेतन शक्तिहरूको प्रतिविम्ब नै त हो।