प्रेम
उसले अन्नालाई ट्रेनमा भेटेर अनुहारैभरि र कुममा म्वाइँ खाँदा, बिदा गर्दा अन्ना कति उदास भएकी थिई होला भन्ने पनि उनीहरूले कल्पे। उनीहरूलाई लाग्यो पनि, अन्ना खुब सुन्दर थिइन् होला।
दिउँसोको खाना काइदाको थियो। पाइ, क्रेफिस र मटन कटलेट। खाना खाइरहँदा भान्छे निकानोर आएर के खाने भनेर पाहुनालाई सोधेको थियो। ऊ मध्यम उचाइको मान्छे थियो— गोलो–गोलो सुलुत्त परेको अनुहार, चिम्सा आँखा, दाह्री सफाचट। जुँगाचाहिँ खौरेको होइन कि जस्तो लागेको थियो, उखेलेको हो कि !
अल्योइनका अनुसार सुन्दर रूपकी पेलागयासँग यो भान्छेको लभ परेको छ। रक्सी खाएर टिल पर्ने र रिसाहा स्वाभावको भएकाले पेलागया निकानोरसँग बिहा गर्न अनिच्छुक छे। बिहे नगरे पनि यत्तिकै सँगै बस्ने उसको इच्छा। तर, निकानोर धार्मिक खालको भएकाले ऊ विचारमा कट्टर छ। त्यही कट्टरताले उसलाई पेलागयासँग बिहे नगरीकन ‘यत्तिकै सँगै बस्ने’ छुट दिएको छैन। त्यसैले बिहे गर्नुपर्छ भन्ने दबाब दिन्थ्यो ऊ, अर्थोक गर्न मानेको थिएन। जाँड खाएर टिल पर्दा मायालुको कसम खान्थ्यो केटोले, अनि पिटपाट पनि पार्दिन्थ्यो। निकानोर जाँडले त्यसरी मातेको बेला पेलागया माथिल्लो कोठामा गएर लुकेर रुन्थी। यस्तो हुँदा घरका अन्य नोकरचाकर र अल्योइन स्वयं भएर पेलागयालाई नरुन भन्थे, फकाउँथे।
अब गफ प्रेमस्रेमतिर मोडियो।
‘प्रेमको सुरुआत कसरी भो होला है’, अल्योइनले भन्यो, ‘भित्री र बाहिरी आवरण दुवै राम्रो भएको आफूजस्तै मान्छेसँग पेलागयाको लभ किन नपरेको होला ? त्यो निकानोरजस्तो थेत्तरो मूर्खसँग किन लभ पर्या होला उसको ? हामीले उसलाई मूर्ख भन्छम्। प्रेममा व्यक्तिगत खुसी कतिसम्म महत्त्वपूर्ण हुन्छ होला ? प्रेमबारे एउटा मात्रै सर्वमान्य तर्क गर्दै आइएको छ, त्यो हो, ‘प्रेम ठूलो रहस्य हो।’ प्रेमबारे गरिएका सबै तर्क समाधान होइनन्, अनुत्तरित प्रश्नहरूका कारखाना हुन्।’ एउटालाई मिल्ने उदाहरण अन्य दर्जनौैं कथाका लागि नमिल्न पनि सक्छ। सबभन्दा गजब त के हुन्छ जस्तो मलाई लाग्छ भने, हरेक प्रेमसम्बन्धका उदाहरणलाई छुट्टाछुट्टै व्याख्या गर्नुपर्छ। कुनैलाई पनि सामान्यीकरण गर्न हुँदैन। प्रत्येक प्रेम सम्बन्धको आआफ्नै अनुभव हुन्छ। त्यसैले प्रत्येकलाई एउटै डालोमा राखेर हेर्नु हुँदैन, डाक्टरहरू त्यसै भन्छन्।’
‘हो त नि। बिलकुल सही हो।’ बुर्किन सहमत भयो।
‘यस्तै सिकाइएका हामी रुसीको कमजोरी नै यही हो, हामी यी अनुत्तरित प्रश्नको उत्तर दिन सक्दैनौैं। प्रेमलाई सामान्यतया, काव्यिक बनाइन्छ, गुलाफको फूल र कोइलीको विम्ब भिडाइन्छ। तर, हामी रुसीचाहिँ ती डरलाग्दा विम्बमार्फत प्रेमलाई आकर्षक बनाउन खोज्छौं र सबभन्दा कम रोमाञ्चकता जे छ त्यही रोज्छौं। मस्कोमा जब म विद्यार्थी थिएँ, ऊसँग मैले स्वर्णिम समय बिताउँथेँ। उसलाई अँगालोमा बेर्थें। हामी नारिएर हिँड्थ्यौं। त्यति बेला ऊ जतिखेरै के सोच्थी भने, उसलाई मैले एक महिनालाई हाउसकिपिङ गर्न दिन्थेँ कि दिन्नथेँ होला, गाईको मासुको मूल्य कति होला। यस्तै सोचीबस्थी ऊ। त्यसैगरी, जब हामी प्रेममा हुन्छौं नि, त्यति बेला हामी एकअर्काको सम्मान गर्छौं कि गर्दैनौं, प्रेम गर्नु राम्रै कुरा हो कि मुख्र्याइँ होला, यो प्रेमले हामीलाई कहाँ पुर्याउला। आदि इत्यादि। यसो गर्नु राम्रो हो कि होइन, त्यो त मलाई थाहा भएन तर यसले बाधा पुर्याउँछ। असन्तोष र झिझ्याहटको स्रोत बन्छ भन्ने कुरामा चाहीँ म पक्का छु।’
अल्योइनले केही कथा भन्न खोज्दै छ भन्ने थाहा भयो। एकान्तमा जीवन बिताउनेहरूको दिमागमा सधैं केही न केही कुरा हुन्छ जसबारे खुल्ने रहर गरेका हुन्छन्। बिहा नगरेका केटाहरू सहरबजारका भट्टीतिर गएर गफसफ जोत्ने बहाना खोजिरहन्छन्। कहिलेकाहीँ वेटरलाई नै आफ्ना चाखलाग्दा कथा भन्छन्। र, गाउँतिर चाहिँ त्यस्ता मानिसले घरमा आएका पाहुनालाई आफ्ना कथा भन्छन्। बाहिर अहिले हामीले कालोकालो आकाश र भिजेका रूख देख्न सक्छौं। यस्तो मौसममा बाहिर निस्कन पनि सकिँदैनथ्यो। त्यसैले घरमै बसेर आफ्ना कथा भन्ने र अरूका सुन्ने गर्नु परेको थियो।
‘लामो समयदेखि म सोफिनोमा बसेर कृषिको काम गर्दै थिएँ’, अल्योइनले कथा भन्न सुरु गर्यो, ‘विश्वविद्यालयको पढाइ सकेपछि। खासमा, मेरो पढाइले मलाई धुलो माटोसँग खेल्न दिएको थिएन र म किताब पढ्न मन गर्ने मान्छे पनि थिएँ। तर, घर आउँदा पो थाहा पाएँ हाम्रो घरजग्गा त धितोमा पूरै डुबेको रैछ। मेरो पढाइमा व्यापक लगानी गर्नु परेकाले बालाई ठूलो ऋण लागेको थियो। त्यसैले ऋण नतिरुन्जेल यो ठाउँ नछाडी काम गरिरहने विचार गरेँ। यही सोचेर काम थालेँ। नढाँटी प्रस्ट भनौं न, काम गर्ने मन त कत्ति पनि लागेको थिएन। यहाँको जग्गामा खासै धेरै उब्जनी भएन। कृषिमा घाटा भएको छैन भने कामदार राखे पनि हुन्छ। नभए त आफैं किसान भएर परिवारसँगै जोतिनु पर्छ। अरू त उपायै छैन। ती दिनमा म त्यतातिर लागिनँ। सकेको सबै काम गरेँ, छिमेकी गाउँका सबै किसान, पुरुष, महिलालाई बोलाएर सँगसँगै काम गर्यौं। म आफैंले जोत्ने, छर्ने र बाली भित्र्याउने काम गरेँ। यो काम मलाई साह्रै गाह्रो र झिँजोलाग्दो लाग्यो, भोकले इन्तु न चिन्तु भएर दुगुरेको बिरालोले जे पायो त्यही खाएझैं लाग्यो। थकानले म लखतरान हुन्थेँ, घुँडामा मुन्टो घुसारेर सुत्थेँ, हिँड्दा हिँड्दै निदाउँथेँ।
‘सुरुमा त मलाई लागेको थियो, यो दुक्खलाई मैले अलि व्यवस्थित र सभ्य जीवनले व्यवस्थापन गर्न सक्छु। त्यसका लागि केही बानी सुधार्नु पर्ला अनि सकिएलाजस्तो पनि लागेको थियो। त्यसपछि, म माथिल्लो तलाको सबभन्दा राम्रो कोठामा बस्न थालेँ। लन्च र डिनरपछि कफीलगायत पेय पदार्थ लिन थालेँ, नोकरचाकरबाट मगाएर। सुत्नुअघि ‘दी मेसेन्जर अफ युरोप’ पनि पढ्थेँ। एक दिन के भो भने, हाम्रो पुरेत, फादर इभान आएर सबै पेय पदार्थ घुटुटु पारेर सक्दियो, ‘दी मेसेन्जर अफ युरोप’ पनि आफ्नी छोरीलाई लगिदियो। गर्मीको बेलामा, खासगरी पराल ओसार्नेताका म खाटमा जान सक्दिनथेँ। त्यसैले गोठ वा काठसाठ राखनधरन गर्ने भण्डारमा सुत्थेँ। त्यस्तोमा सुत्दा कसरी पढ्न सक्थेँ र ? बिस्तारै म तल्लो कोठातिर सरेँ, नोकरचाकरसँगै भान्छामा खान थालेँ। यसरी मेरो सुविधाको कुनै कुरा बाँकी रहेन, म नोकरचाकर सँगै रहन थालेँ। बाको हेरचाहमा राखिएका उनीहरूलाई कामबाट निकाल्नु पनि पीडादायकै थियो।
‘सुरुका दिनमा म मानार्थ न्यायाधीश पनि भएको थिएँ। घुमुवा न्याय सेवामार्फत मानिसहरूलाई सेवा दिनका लागि बेलाबेला म गाउँतिर गइरहन्थेँ। यही कामले मेरो बाटो मोड्यो। यो ठाउँमा जाडोयाममा दुईतीन महिनासम्म कसैलाई नदेखी नभेटी बस्नु पर्दा कालो कोटको बडो रहर लागेर आउँछ। त्यो घुमुवा अदालतमा कालो कोट, युनिफर्म, फ्रक कोट लगाउँथे वकिलहरूले। सबै पढेलेखेका थिए। गफगाफ गर्ने मान्छे सधैं कोही न कोही हुन्थे। गाडीजस्तै गुड्ने घरमा सुत्ने, भान्छामा खाना खाने, सफा चडक्कको लाइनेन र बुटमा ठाँटिएर, अफिसको कार्ड घाँटीमा बेरेर आरामदायी कुर्सीमा बस्नु खुब ऐशको कुरा थियो !’
गाउँमा मलाई सबैले सत्कार गर्थे। म पनि चाँडै नै साथीभाइ बनाउँथे। नढाँटी भन्दा, घुमुवा अदालतका सहअध्यक्ष लुगानोभिच नै मेरा सबभन्दा नजिकका र आत्मीय साथी थिए। तपाईंहरू दुवैले उसलाई चिन्नुहुन्छ। उनी अति नै आकर्षक व्यक्तित्वका धनी मानिस थिए। आगलागीको चर्चित मुद्दाको बेला थियो। सुरुआती अनुसन्धान दुई दिनसम्म लगातार चलेको थियो। त्यसैकारण हामी खुब थाकेको थियौैं। त्यही दिन, लुगानोभिचले मलाई भने, ‘एउटा कुरा सुन न ! मेरो घरमा खाना खाने गरी आऊ न।’
‘यो प्रस्ताव अविश्वसनीय थियो। मैले लुगानोभिचलाई अलिअलि मात्र चिनेको थिएँ, भनौैं न औपचारिक रूपमा मात्रै। अनि, उनको घर त म त्यसअघि कहिल्यै गएको थिइनँ। होटलको कोठामा गएर लुगासुगा फेरेर उनको घरमा डिनर खान हिँडेँ। त्यही बेला लुगानोभिचकी श्रीमती अन्ना अलेक्जेभ्नासँग भेट्ने अवसर जुट्यो। त्यति बेला उनी निकै आकर्षक र भर्खरकी नवयौवना थिइन्। बाइस वर्षभन्दा बढीकी थिइनन् होला। उनको पहिलो बच्चा छ महिनाअघि जन्मिएको थियो। यी सबै कुरा त बितिगए तर अन्नाको कुन कुरा असाधारण थियो, मलाई उनी किन मन परेको थियो भन्ने अहिले पत्ता लगाउन निकै गाह्रो हुन्छ। तर, त्यो दिन डिनरको बेला मलाई सबथोक प्रस्ट थियो। मैले यस्तो महिला भेटेको थिएँ जो सुन्दर, दयालु, बुद्धिमानी, आकर्षक थिइन्। त्यस्ती महिला त्यसअघि कहिल्यै देखेभेटेको थिइनँ। पहिलोपटक त्यसरी देख्दा लाग्यो, उनलाई मैले पहिल्यैदेखि चिनेजानेको छु; त्यो तीक्ष्ण र मिल्ने साथीको जस्तै अनुहार मैले निकै पहिले बाल्यकालमा देखेको थिएँ जुन मेरी आमाको छातीको ड्रएरमा सजाइएको थियो।
‘आगलागीको त्यो मुद्दामा मिलेमतो गरेको आरोप लागेका चार जना यहुदी, मेरो विचारमा, निर्दोष थिए। डिनरको बेला मलाई चिडचिडाहट भएको थियो। मैले त्यो मौकामा के भनेँ ठ्याक्कै त सम्झन सक्दिनँ तर अन्ना अलेक्जेभ्नाले टाउको हल्लाइरहेकी थिइन्। र, आफ्नो पतिलाई भनेकी थिइन्,
‘दिमित्री, यस्तो कसरी हुन सक्छ ?’
‘लुगानोभिच असल चरित्रको, साधारण चालढंगको मान्छे। उसको स्पष्ट विचार छ, अदालतमा दोषी ठहर भएको व्यक्ति दोेषी नै हुन्छ। कागजी औपचारिकतामा बाहेक घोषणाको स्वच्छतामाथि कहिल्यै शंका गर्न हुँदैन, डिनरजस्ता निजी वार्तालापमा शंका त झन् कहिल्यै गर्नु हुँदैन।‘
‘तिमीले र मैले त्यो आगलागी गराएका थिएनौं’, लुगानोभिचले नम्रतासाथ भने, ‘र के भने, तिमीहामी कानुनी सोधपुछमा पनि छैनौं, कारागारमा पनि छैनौं।’
‘जोईपोइ दुवैले मलाई पेटभर खुवाए। जस्तै, मैले त्यहाँ देखेका केही मसिना कुरा कस्ता थिए भने, उनीहरूले कफीसँगै बनाएको देखी एकअर्काको बोली पूरा नहुँदै आफूलाई बुझिसकेका हुन्थे। मैले के पनि बुझेँ भने उनीहरू मिलेर बसेका थिए, पाहुनालाई भिœयाउन पाउँदा खुसी थिए। डिनरपछि दुई मिलेर पियानो बजाए। यति हुन्जेल रात पर्यो। अनि, म घर फर्कें।
‘त्यति बेला वसन्त ऋतुको सुरुआती समय थियो। सोफिनोमा मैले त्यो याम पूरै बिताएँ, आराम गरिनँ। मलाई त्यो बेला सहरबारे सोच्ने कुनै फुर्सदै थिएन। फुर्सद थियो त केवल त्यो कोमल, सरसराउँदो कपाल भएकी नवयौवनाबारे सोच्ने, त्यो पनि पूरा महिनाभरि। भनौं न, मैले उसबारे सोचिबस्ने गरेको त थिइनँ तर उसको छाया नै मेरो वरिपरि घुमेझैं महसुस हुन्थ्यो।
‘शरद ऋतुको अन्त्यमा सहरमा एउटा च्यारिटी सो हुँदै थियो। गभर्नर बसेको ठाउँमा म गएँ। खास मलाई मध्यान्तरमा त्यहाँ बोलाइएको थियो। त्यहाँ मैले अन्ना अलेक्जेभ्नालाई देखेँ, उनी गभर्नरकी श्रीमतीको छेउमा बसिरहेकी थिइन्। उनी त्यस्तै अतुलनीय सुन्दर देखिन्थिन् जोसँग सुन्दरताको भव्यतम् स्वरूप थियो, मायालु आँखा थिए उनका। र, आत्मीयपनको समभाव थियो। हामी एकछिन सँगसँगै बसेम् र बरन्डातिर निस्केम्।
‘तिमी त दुब्लाएछौ’, उनले भनिन्, ‘बिरामी भएको हो ?’
‘अँ। काँध दुखेको थियो। झरीमा सुतेको सुत्यै गर्थें।’
‘तिमी एकदम थाकेका जस्ता देखिन्छौ। वसन्त ऋतुमा हाम्रो घरमा खाना खान आउँदा कस्तो भर्खरको देखिएका थियौ, एकदम ऊर्जावान्। त्यो बेला तिमीमा कस्तो जीवन भरिएको देखिन्थ्यो, कति फरासिलो भएर गफिएका थियौ। भनूँ न, म कताकता हराएकी जस्ती देखिएकी थिएँ। केही कारणले, मैले त्यो वसन्त ऋतुका बेला तिमीलाई सम्झिएकी थिएँ। र, आज यहाँ आउन सटरपटर गर्दा तिमीसँग भेट हुन्छ कि भन्ने मनमा लागेको थियो।’
‘र, ऊ हाँसेकी थिई।’
‘अँ आज किन हो तिमीमा ऊर्जा नै छैन जस्तो देखिएका छौ’, उसले अघिकै कुरा दोहोर्याई, ‘कस्तो बूढो मान्छेजस्तो देखिएको।’
‘अर्को दिन दिउँसो, लुगानोभिचकहाँ गएर भात खाएँ। भात खाइसकेपछि उनीहरूको अर्को भव्य घरमा मलाई लिएर गए जहाँ जाडोका लागि केके तयारी गर्ने भन्दै थिए। म फेरि उनीहरूसँगै सहर फर्कें। मध्यरातमा चिया पियौं, घरकै जस्तो वातावरणमा। आगो बालिएको थियो। नवयौवना अन्ना आफ्नो सानी छोरीलाई निदाउन हाल्न आउनेजाने गरिरहेकी थिइन्। त्यसपछि म सहरतिर जुनै बेला जाँदा पनि लुगानोभिचकहाँ गइरहेँ। पूर्वसूचनाबिना गइदिन्थेँ, यस्तो लाग्थ्यो म उनीहरूकै परिवारको सदस्य हुँ।’
‘को होला त्याँ ? ’ टाढाको कोठाबाट मीठो गरी लेघ्रो तान्दै कोही बोल्थ्यो। त्यो आवाज मलाई एकदम प्रिय लाग्थ्यो।
‘पाभेल कोन्स्टान्टिनोभिच आउनुभएको रैछ’, घरको रेखदेख गर्ने महिला बोल्थिन्।
‘अन्ना अलेक्जेभ्ना अत्तालिँदै बाहिर आएर मलाई हल्का गाली गरेको पारामा भन्थिन्, ‘यति लामो समय कहाँ हराएको ? किन नआको हाम्रोमा ? केही भो र ?’
‘उनको अकन्टक हेराइ, कोमल हात, सामान्य लुगा–लगाइ, कपाल बानेको तरिका, उनको आवाज, चालढंग हरेक पटक मेरा लागि अद्भुत प्रभाव पार्ने खालको हुन्थ्यो जुन एकदम विशेष पनि थियो। हामी घन्टौं कुरा गरेर बस्थ्यौं, उनले मलाई पियानो बजाएर पनि घन्टौं सुनाउँथिन्। बीचबीचमा हाम्रा आफ्नै मनभित्रकाका कुरा सोचिबस्दा लामो मौनताले पनि राज गथ्र्यो। घरमा जाँदा कसैलाई देखिनँ भने, म यस्सै बस्थेँ कुरेर, काम सघाउनेसँग गफिन्थेँ, बच्चासँग खेल्थेँ, पढ्ने कोठाको कुर्सीमा ढल्किएर पत्रिका पढ्थेँ। अन्ना अलेक्जेभ्ना फर्केपछि उनलाई हलमा भेट्थेँ। उनले ल्याएका सामान–पन्तुरा बोकेर जान्थेँ। त्यसरी बोक्दा म केटौले हुन्थेँ। बडो प्रेमले उनले ल्याएका सामान बोक्थेँ।
‘बज्यैलाई उछार थियो र त सुँगुर पाल्न थालिन्’, यो उखानले भनेझैं लुगानोभिच परिवारले पनि मलाई सजिलै साथी बनाए। म उनीहरूकहाँ अलि दिन गइनँ भने कि म बिरामी भएको मानिन्थेँ वा मलाई केही भएको हुन्थ्यो। उनीहरू यही ठान्थे र मेरोबारे पीर गरिबस्थे। म यति शिक्षित मानिस भएर पनि, यति ज्ञान भएको भएर पनि, यति धेरै भाषा जानेर पनि ज्ञान वा साहित्यको क्षेत्रमा नलागेर, सहरमा नबसेर लोखर्केजस्तो खुरखुरखुरखुर यताउति दगुर्दै काममा घोटिँदै फुटीकौडी नकमाएको देख्दा उनीहरू चिन्तित हुन्थे। उनीहरूलाई लाग्थ्यो, म बेखुस थिएँ। आफ्ना पीडा लुकाउन मात्रै मैले गफ गर्ने, हाँस्ने, खाने गरेको भन्ठान्थे। अझ, हँसिमजाक रमाइलो वातावरणमा म चुप लागेको देख्दा उनीहरूले मलाई अकन्टक हेर्थे। यो मैले थाहा पाउँथेँ। जुनबेला म साँच्चै नै अप्ठ्यारोमा हुन्थेँ, कसैलाई ऋण तिर्नुपथ्र्यो त्यो बेला उनीहरू एकदम दयालु हुन्थे। जोईपोइ झ्यालतिर गएर खुसुरपुसुर गर्थे र पोइचाहिँ उदास अनुहारमा मनजिक आएर भन्थ्यो :
‘पैसा चाहिएको छ भने लैजानू है। मेरी श्रीमती र मेरो अनुरोध, अप्ठ्यारो छ भने पैसा सापटी लैजानू।’
‘यति भन्दा उनको अनुहार रातो हुन्थ्यो। जोईपोइ उसैगरी फेरि झ्यालछेउ गएर खुसुरपुसुर गरेपछि रातिएको कानसहित मनजिक आएर पोइचाहिँले भन्थे, ‘यो उपहार लिन हामी तपाईंलाई विनम्र अनुरोध गर्छौं।’
‘अनि, मलाई फोटो–फ्रेम, सिगरेट राख्ने बट्टा, बत्ती आदि दिन्थे। मैले पनि गाउँको फार्मको कुखुरा–हाँस, घिउ, फूल लगिदिन्थेँ। दुवै खुब सम्पन्न थिए। सुरुसुरुमा मैले पैसा पनि सापटी लिएँ। त्यसबारे म सचेत नै थिएँ। जैले मन लाग्यो तैले लिन्थेँ सापटी। खैर जे होस्।’
‘म खास, बेखुस थिएँ। घरमा, खेतखलियानमा, गोठमा जहाँसुकै अन्नाबारे सोचिबस्थेँ। तीक्ष्ण बुद्धि भएकी अति सुन्दरी एउटी नौजवान यौवनाले आफूभन्दा बूढो (चालीसमाथिको)सँग किन बिहे गरी होला, उसका लागि सन्तान किन जन्माई होला भन्ने रहस्य बुझ्न मैले खोजिरहन्थेँ। त्यो सुड्डो अल्छे, झिँजोलाग्दो, दयालु, साधारण चरित्रको त थियो। कसैको कुरालाई राम्रै तर अल्छीलाग्दो पाराले उत्तर दिन्थ्यो, पार्टीहरूमा ठूलाबडासँग हुन्थ्यो, कुनै ऊर्जा नभएजस्तो, कृतघ्न, नम्र, उदास रहन्थ्यो। यस्तो लाग्थ्यो, त्यहाँ उसलाई बिक्रीका लागि ल्याइएको जसले आफूखुसी हुने अधिकार छजस्तो त मान्थ्यो। अन्नाले उसका लागि केटाकेटी जन्माइदिनुपर्ने जस्तो पनि ठान्थ्यो। त्यो सुड्डोलाई अन्नाले मभन्दा पहिले किन भेटी, हाम्रो जीवनमा यस्ता खतरनाक गल्ती किन हुन्छन् ? म घोत्लिन्थेँ यिनै कुरामा।’
‘हरेकपटक गाउँबाट सहर आउँदा उसको आँखामा मेरो पर्खाइ स्पष्ट देख्थेँ। उसले भन्थी पनि, त्यो दिन कसोकसो लागिरहेको थियो रे, म आउँछु कि भन्ने। हामी लामो समय गफिन्थ्यौं। लामो समय मौन पनि बस्थ्यौं। यति हुँदा पनि एअर्काप्रतिको प्रेम प्रकट गरेका थिएनौं, अप्ठ्यारो–अप्ठ्यारो गरी त्यसलाई लुकाउने प्रयास गथ्र्यौं। हाम्रा सबै गोप्य कुरा एकअर्काबाट खुल्छ कि भनेर हामी डराएका हुन्थ्यौैं। मैले उसलाई एकदम प्रेम गर्थें, गहिरो। यति भए पनि मैले आफैंलाई सोधिरहन्थेँ, हाम्रो प्रेमविरुद्ध लड्ने शक्ति आर्जन गरेका छैनौं भने त्यो अवस्थाले हामीलाई कहाँ लैजाँदै थियो ? उनीप्रतिको मेरो कोमल र उदास प्रेमले हाम्रो जीवनको सामान्यावस्थालाई भत्काउँदै, प्रेम पनि टुटाउँदै उनको श्रीमान्, केटाकेटी र मलाई अपार माया दिने र विश्वास गर्ने एउटा घरसँगको सम्बन्ध नै भताभुंग गराउने कुरा मेरो लागि अविश्वसनीय थियो। त्यसो गर्नु सम्मानजनक हुन्थ्यो त ? अन्नाले त मलाई पछ्याउलिन्। तर कहाँसम्म ? मैले उनलाई कहाँ लिएर जान सक्थेँ ? म मेरो देशको स्वतन्त्रताका लागि लडिरहेको एउटा युवा, वा दुनियाँले चिनेको विद्वान्, वा अभिनेता वा पेन्टर भएर मेरो जीवन बेग्लै भएको भए सुन्दर भएको भए कुरा अर्कै हुन्थ्यो। तर, अन्नालाई उनको एउटा उच्चाटलाग्दो जीवनबाट अर्को वा पहिलोभन्दा झन् उच्चाटलाग्दो जीवनतिर लैजान लागेको जस्तो भइराखेको थियो। र, हाम्रो खुसी कतिन्जेल टिक्थ्यो होला त ? म बिरामी भएँ भने वा मरे भनेँ वा हामीले एकअर्कालाई प्रेम गर्न छाड्यौं भनेचाहिँ के हुन्थ्यो होला ? ’
‘उनले पनि यसैगरी सोचेकी थिइन् होला। आफ्नो पतिबारे, छोराछोरीबारे र आमाबारे पनि सोचेकी थिइन् जसले ज्वाइँलाई पनि छोरालाई जस्तै माया गर्थिन्। आफ्नो अवस्थाबारे बताउनु परे उनलाई या झुट बोल्नु पथ्र्यो, वा भनौं न सत्य भन्दा, उनको अवस्थाबाट त्यसो गर्नु परे त्यो एकदम अप्ठ्यारो हुनेवाला थियो। उनको प्रेमले मलाई खुसी बनाउँथ्यो कि नाइँ वा उनले मेरो जीवनलाई जटिल बनाउँथिन् कि भन्ने प्रश्नले उनी प्रताडित थिइन्। उनलाई के लागेको थियो भने, त्यस्तो अवस्था निकै जटिल र झन्झटिलो हुन्थ्यो। उनलाई के पनि लाग्थ्यो भने, मेरा लागि उनी भनेजत्ति भर्खरकी थिइनन्, उनी मैले खोजेजस्तो क्रियाशील र ऊर्जावान थिइनन् जोसँग नयाँ जीवन सुरु गर्न सकियोस्। आफ्नो पतिसँग कुरा गरिरहन्थिन्, मैले तीक्ष्ण बुद्धि भएकी केटी बिहे गर्नुपर्छ जो कुशल गृहिणी र सहधर्मिताको गुण भएकी होस्। उनैले के पनि भन्थिन् भने, मेरो जोडी मिल्ने त्यस्तो केटी त सहरमै भेट्न मुस्किल पर्छ रे।’
‘यसैउसै बित्दै थियो वर्षौं। अन्नाले दुइटा सन्तान जन्माइसकेकी थिइन्। जब म लुगानोभिच परिवारमा पुग्थेँ, घरका नोकरचाकर मुस्कुराएर बोल्थे, केटाकेटी खुसीले चिच्याउँथे, अंकल आउनुभो भन्दै मेरो काँधमा झुन्डिन आउँथे। सबैजना खुब खुसी त थिए। मभित्रको तुफान तिनीहरूले बुझेका थिएनन्। ठान्थे कि, म पनि खुसी नै थिएँ। सबैले मलाई भद्र मान्छे भन्ठान्थे। घरका केटोकेटी र वयष्कजति सबैलाई लाग्थ्यो, म घरमा निष्फिक्री डुल्थेँ जसले उनीहरूसँगको मेरो सम्बन्धलाई अनौठो खुसी दिएको होला। मेरो उपस्थितिमा उनीहरूको जीवन पनि सुमधुर नै लाग्थ्यो। अन्ना र म थिएटरमा जान्थ्यौं, सधैं हिँड्दै। हामी सँगसँगै बस्थ्यौं। हाम्रा कुमले एकअर्कालाई छोएका हुन्थे। उनको हातबाट ओपेरा ग्लास लिन्थेँ, नसोधीकन। त्यो बेला मलाई लाग्थ्यो, उनी मेरो सबभन्दा नजिक छिन्, उनी मेरी हुन् र हामी एकअर्काबिना बाँच्न पटक्कै सक्दैनौं। तर, थिएटरबाट बाहिरचाहिँ अनौठो गलतफहमीसाथ निस्कन्थ्यौं। अपरिचितजस्तै हुन्थ्यौं। हात हल्लाउँदै छुट्टिन्थ्यौं। हामीबारे सहरमा खोइ कसैलाई केही थाहा थियो कि थिएन कुन्नि। तर जे थाहा थियो, त्यसमा सत्यको एक अंश पनि थिएन।’
‘पछि आफ्नो आमा वा बहिनीकहाँ नियमित बस्न जान थालिन् अन्ना। उनी सनकी हुन थालिन्। उनले बुझ्न थालेकी थिइन्, उनको जीवनमा सन्तुष्टि थिएन, जीवन भताभुंग भएको थियो। त्यो अवस्थामा उनले आफ्नो पति र केटाकेटीलाई पनि मतलब गर्थिनन्। रापताप र वैराग्य रोगको उपचारमा लागिसकेकी थिइन्।’
‘हामी मौन नै रहन्थ्यौं। अपरिचित मानिसहरूमाझ उनले मप्रति अनौठो गरी झिँजो मान्न थालिन्। मैले जे भने पनि मसँग असहमत हुन्थिन्। तर्कवितर्क चल्दा मेरो विरोधीको साथ दिन्थिन्। केही खसालेँ भने, वचन लगाउँदै भन्थिन्,
‘खुब राम्रो गर्यौ ! बधाई छ।’
‘थिएटर जाँदा ओपेरा ग्लास लैजान बिर्सें भने पछि भन्थिन् :
‘तिम्ले बिर्सिन्छौ भन्ने त थाहै थियो।’
‘हाम्रो जीवनमा ढिलोचाँडो अन्त्य नहुने कुनै पनि कुरा छैन, चाहे त्यो भाग्यवश होस् वा दुर्भाग्यवश नै। लुगानोभिचलाई जागिरको लागि पश्चिमी भेगतिर जानुपर्ने भयो अनि हामी छुट्टिन पर्यो। आफ्ना फर्निचर, घोडाहरू र गर्मीमा बस्ने महल बेच्न पर्यो उनीहरूले। त्यो महलमा अन्तिम पटक जाँदा त्यो घरको बगैंचा र हरियो छत अन्तिम पटक फर्केर हेर्यौं। सबैजना उदास थिए। मलाई लाग्यो, त्यो महललाई मात्रै गुड बाई भन्ने बेला थिएन। अगस्टको अन्त्यतिर क्रिमिया जान लागेकी अन्नालाई अन्तिम पटक भेट्न जाने योजना बनायौं। अन्नालाई डाक्टरहरूले त्यहाँ पठाएका थिए भने केही समयपछि उनका श्रीमान् लुगानोभिच र छोराछोरी पनि पश्चिमतिर जानेवाला थिए।
‘अन्नालाई बिदा गर्न भनेर अति धेरै मान्छे जम्मा भएका थिए। जब उनले आफ्नो पति र केटाकेटीलाई हात हल्लाइन् तब हिँड्ने जनाउ दिने रेलको तेस्रो घन्टी बज्नै लागेको थियो। त्यही बेला उनले लैजान बिर्सेको एउटा बास्केट छोड्न भन्दै उनी भएको रेलको डब्बामा म हतारहतार छिरेँ। र, मैले बिदा गर्नुपर्ने पनि थियो। एकअर्कालाई देख्नेबित्तिकै हामीले वेदनाले समभाव गुमायौं। मैले उनलाई अँगालो हालेँ, आफ्नो अनुहार मेरो छातीमा टाँसिन् उनले। उनी बेहिसाब रुन थालिन्। उनको अनुहारमा, कुममा सबैतिर म्वाइँ खाएँ। उनको हात आँसुले भिजेको थियो। हामी कति दुर्बल भएका थियौैं, उफ् ! मेरो प्रेम त्यही बेला उनलाई व्यक्त गरेँ। मुटु जलिरहेको अवस्थामा मैले अनुभव गरेँ— हामीले एकअर्कालाई गर्ने प्रेम रोक्न खोज्नु कति व्यर्थको, कति झिनो र कति मायावी कुरा रैछ। मैले थाहा पाएँ, जब हामीले एकअर्कालाई प्रेम गर्छौं, तब आफ्नो प्रेमबारे तार्किक हुनुपर्छ। प्रेमबारे उच्च कुरा सोच्नुपर्छ, त्यो खुसी वा उदासीभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने जान्नुपर्छ, श्राप वा वरदानको अर्थ त्यसमा बुझ्नुपर्छ। नभए तर्कको कुनै काम छैन।’
‘उनलाई मैले अन्तिम पटक म्वाइँ खाएँ। उनको हात बिस्तारै थिचेँ र हामी सधैंका लागि छुट्टियौैं। ट्रेन हिँड्न थालिसकेको थियो। म अर्को डब्बामा पसेँ जुन पूरै खाली थियो। अर्को स्टेसन नपुगुन्जेल म बेस्सरी रोएँ। त्यसपछि सोफिनोको घरतिर निस्केँ...’
अल्योइनले आफ्नो कथा भनिसक्दा वर्षा रोकिएको थियो, आकाशमा सूर्य देखिएको थियो। बुर्किन र इभान इभानिच बाल्कोनीमा गए जहाँबाट बगैंचा र नदीको सुन्दर दृश्य देखिन्थो जुन ऐनामा टल्केझैं देखिन्थे। उनीहरूले त्यसको प्रशंसा गरे। सँगसँगै, यस्तो दयालु मनको, तीक्ष्ण आँखा भएको त्यस्तो उदास कथा सुरुचिपूर्ण तरिकासाथ भन्ने त्यो मान्छे किन होला आफ्नो जीवनलाई सुन्दर बनाउने जुनकुनै वा कुनै विद्वत्वृत्तिमा नलागेर त्यो भव्य ठाउँमा लोखर्केझैं खुरखुरखुरखुर बेचैनीसाथ डुलिहिँडेको भन्ने सोचे। उसले अन्नालाई ट्रेनमा भेटेर अनुहारैभरि र कुममा म्वाइँ खाँदा, बिदा गर्दा अन्ना कति उदास भएकी थिई होला भन्ने पनि उनीहरूले कल्पे। उनीहरूलाई लाग्यो पनि, अन्ना खुब सुन्दर थिइन् होला।
चेखभको रुसी भाषाको प्रख्यात कथा ‘अबाउट लभ’को अंग्रेजी अनुवादको नेपाली अनुवाद सिपी अर्यालले गरेका हुन्। उनी साउथ एसियन युनिभर्सिटीमा समाजशास्त्रमा विद्यावारिधि शोधरत छन्।