मेरो ईश्‍वर, नाच्छ !

मेरो ईश्‍वर, नाच्छ !

मध्यरातको गीत

चराहरू पनि सुत्न गएको यो शान्त बेला साउतीको स्वर पनि चर्को सुनिन्छ। बजार सुतेको यही शान्त बेला हो जब प्रेमको मधुरो आवाज स्पष्ट सुनिन्छ। म भित्रको बजार पनि निदाएको यो शान्त बेला म मेरो आत्माको गीत सुन्ने गर्छु। मेरो आत्मा पनि त प्रेमको एउटा गीत न हो। कहिले नमेटिएको, केहीले नमेट्ने प्रेमको प्यास छ मभित्र। त्यो प्यास केही भन्न चाहन्छ। केही गाउन चाहन्छ। त्यही प्यास हो, मैले बोल्ने प्रेमको भाषा। रात परेपछि मेरो प्यास कुनै पहाडी झरनाझैं गड्गडाउन थाल्छ र म बर्बराउन थाल्छु।

जीवन र प्रेम

बिहानीको शीतको भारले थर्थर कामेको गुलाबी कोपिला र मान्छेको जीवनमा के समानता छ, थाहा छ ? यी दुवै अर्थहीन छन् र त्यसैले मूल्यवान छन्। बजारले सधैं फाइदा र बेफाइदाको भाषामा मात्र सोच्छ। जीवन यो भाषाले बुझ्नसक्ने भन्दा धेरै मूल्यवान् छ। गुलाबी कोपिलाले समाजलाई के दिन्छ ? राष्ट्रलाई के दिन्छ ? मान्छेको जीवन पनि त्यस्तै बनोस्। क्षणभरको नृत्य हो जीवन र त्यो नृत्य नै आफैंमा उद्देश्य हो। जीवन नै जीवनको उद्देश्य हो।

मान्छे जन्मजात प्रेमी हो। प्रेम मान्छेको स्वभाव नै हो। हामी जीवनलाई त्यसैले प्रेम गर्छौं। हामी जीवनलाई प्रेम गर्छौं र त्यसैले बाँच्छौं। मान्छे बाँच्ने बानी परेर मात्र बाँचेको हुँदैन। यसर्थ जीवनको उद्देश्य नै तोक्नु परे, त्यो प्रेम गर्नु हो भनेर भन्न सकिन्छ। प्रेमलाई पागलपन पनि भनिएको छ। यो तिनैले भने जसले प्रेम गरेनन् वा गर्न जानेनन्। मानौं कुनै प्रेमीलाई सोधियो, ‘तिमी तिम्रो प्रेयसीलाई किन प्रेम गर्छौ ? ’ के उसले उत्तर दिनसक्ला ?  हरेक कुरामा कारण खोज्नेहरूले प्रेमलाई पागलपन भन्ठाने। जीवनमा गरिने साधारण कृत्यका प्रयोजन छन्। हिसाबकिताब छन्। प्रेम अकारण छ। प्रेम पनि बिहानीको शीतको भारले कामेको गुलाबी कोपिला नै हो। अव्याख्येय छ र त्यसैले सुन्दरतम्। प्रेम पागलपन हैन। तर यो कुरा केवल प्रेमीहरू जान्दछन्। उनीहरूका लागि प्रेम नगरी, हृदयमा गुलाबी बगैंचा नहुर्काई बाँच्न सक्नेहरू पागल। जीवन क्षणभंगुर छ। सम्बन्धहरू क्षणभंगुर छन्। स्थायित्व लोभी र कायरहरूले कल्पना गरेको एउटा अवधारणा मात्र हो। यहाँ केही स्थायी छैन। जसले यो तथ्य जान्यो, खुसी उसैले जान्यो। आनन्द उसैले जान्यो। जीवन त पुतली जस्तै, साबुनको फिँजजस्तै, इन्द्रेणीजस्तै छ। अहिले छ, एकैछिनमा नहुन सक्छ। त्यसैले त जीवन सुन्दर छ। जीवनका रङहरू पनि स्थायी छैनन्। जीवनका बदलिँदा रङहरूसँग तालमेल मिलाउन नसक्ने यहाँ सधैं दुःखी नै हुन्छ। हाम्रा साधुसन्तहरूले सधैं परिवर्तनलाई अस्वीकार गर्न सिकाए। स्थायित्वको खोज सिकाए। त्यसैले उनीहरूले प्रेमको निन्दा गरे, आनन्दको निन्दा गरे। स्थायित्वको खोज गर्ने क्रममा उनीहरूको मुहारमा स्थायी उदासी पोतियो। मान्छेले प्रेमको स्थायित्व चाह्यो र विवाहको आविष्कार गर्‍यो। उसले यो बुझेन, प्रेमको आनन्द र गरिमा नै त्यसको क्षणभंगुरतामा छ। प्रेमको स्थायित्व असम्भव छ। जे स्थायी छ, त्यो प्रेम हुँदै हैन। मृत वस्तुहरू मात्र, जड वस्तुहरू मात्र स्थायी हुन सक्छन्। जे जीवन्त छ, आनन्ददायी छ, त्यो सधैं क्षणभंगुर नै हुन्छ।

युद्ध र शत्रु

जीवन युद्धका लागि तयार, शत्रुका लागि तयार भएन भने पट्यारलाग्दो हुन्छ। दुईचार शत्रु सधैं होऊन् जीवनमा। दुईचार युद्ध सधैं रहोस् जीवनमा। यो युद्ध घृणाले वशिभूत भएर भने हैन, युद्धको खेलको आनन्दका लागि लडिनुपर्छ। तर, मित्र छान्दा त्यति होश पुर्‍याउनु पर्दैन जति शत्रु छान्दा पुर्‍याउनुपर्छ। मान्छे जेसँग युद्ध गर्छ, त्यही बन्छ। यसर्थ शत्रु छान्दा बुद्धिमान र बलवान् नै छान्नुपर्छ। जीवनमा विकासका लागि युद्ध आवश्यक छ, चुनौती आवश्यक छ। जीवनमा अघि बढ्न दुईचार बलवान् बैरी हुनु जरुरी छ। मेरा मित्रहरू, म तिमीहरूलाई प्रेम गर्छु, त्यसैले परिआएको खण्डमा म तिमीहरूको शत्रु पनि बन्न तयार छु। म तिमीहरूको सर्वोत्कृष्ट शत्रु बन्नेछु। शान्तिको प्रेम ठीक छ तर जीवनमा शान्ति केवल युद्धको तयारी बनोस्। तिम्रो तरबारमा कहिले खिया नलागोस्, तिम्रो हातबाट धनुष कहिल्यै नखसोस्। राम्रो कारणका लागि लडिएको युद्ध महान् युद्ध हो भनिन्छ। म भन्छु, महान् र गरिमामयी युद्धले निर्धारण गर्छ युद्धको कारणको महानता। युद्धमा, त्यसमा योद्धाहरूले देखाउने सौर्यमा शान्तिमा भन्दा, दान र दयामा भन्दा धेरै गरिमा छ। दयाले भन्दा बहादुरीले धेरैको जीवन बचाएको कुराको इतिहास साक्षी छ।

भीड र भेडाहरू

भीडमा मान्छेको संख्या धेरै हुन्छ भन्दैमा भीड सधैं एक्लो व्यक्तिभन्दा शक्तिशाली हुन्छ भन्ने हैन। आफ्नो सामथ्र्यमा विश्वास भएको मान्छे सधैं एक्लै उभिन्छ। उसलाई भीडको, संगठनको मतलब हुँदैन। कायर र प्रतिभाहीनहरू भने आफ्नो क्षमतामा विश्वास नभएर झुण्ड बनाउनतिर लाग्छन्। समूह सधैं लोभबाट निर्देशित हुने हुँदा समूहले प्रेम जान्दैन। फाइदा र बेफाइदाका हिसाबकिताब मात्र जान्दछ। समाजलाई कुनै समूहले न कहिले केही दियो, न दिन्छ नै। बरु आफ्नो एकान्तमा बसेर जीवनको सुन्दरताको गीत गाइरहेका कवि, लेखक, कलाकारहरूले समाजलाई धेरै दिए सधैं। राज्य र राजनीति अनि समूह त सधैं व्यक्तिको निजात्मकतालाई, सिर्जनशक्तिलाई नष्ट पार्न लागेको हुन्छ। जीवनलाई सुन्दर र सिर्जनशील बनाउनु छ भने भीडबाट आफूलाई जोगाउनुपर्छ। त्यो एकान्त कुनो जहाँ राज्यको कुनै कानुन पुग्न सक्दैन, त्यही एकान्त कुनो हो जहाँ बसेर संसारका हरेक सर्जकले आफ्नो सिर्जना तयार गरेको हुन्छ। त्यसैले मेरो मित्र, विषालु झिँगाहरूको टोकाइबाट तिम्रो सिर्जनशक्ति नष्ट हुनुभन्दा अघि नै जाऊ आफ्नो एकान्तवासमा लुकिहाल। अथवा त्यहाँ जाऊ जहाँ आवारा बतास आफ्नो पूर्ण शक्ति र क्षमतामा बहेको हुन्छ। भीडबाट तिमीले ईष्या र द्वेषसिवाय केही पाउनेवाला छैनौ।

मृत्यु

केही मान्छे ढिलो मर्छन्। जीवनरस समाप्त भइसक्दा पनि धर्तीलाई भार भएर ती बाँचेका हुन्छन्। उनीहरूको जीवनमा आनन्द र प्रेमको रत्ति मात्रा हुँदैन। त्यही पनि शरीरको मोह त्याग्न नसकेर उनीहरू बाँचिरहन्छन्। केही मान्छे छिटै मर्छन्। सिर्जना, आनन्द र प्रेमबिनाको जीवन जीवन हैन, मृत्यु हो। तीस वर्षकै उमेरमा मरिसकेका केही मान्छे लासझैं आफ्नो जीवन सत्तरी असी वर्षसम्म जबर्जस्ती घिसार्छन्। मित्र, म भन्छु सही समयमा मर। जसले समग्रतामा आफ्नो जीवन बाँचेको हुन्छ, यसको हर रङ र आयामलाई भोगेको हुन्छ, उसका लागि मृत्यु पनि अर्को एउटा आनन्ददायी क्षण नै हो। जसरी पाकेको फल झर्छ, उसको लागि मृत्यु पनि फगत त्यति नै हो। उदास र कुण्ठित जीवन बिताएकाहरूले हुन् मृत्युलाई बदनाम गराएका। मृत्यु डरलाग्दो कुरा हो भन्ने हौवा फैलाएका। आनन्दले बाँचेको मान्छेको मृत्यु पनि आनन्दले नै हुन्छ। प्रेम र सिर्जना, उत्सव र अहोभावमा बाँचेकाहरूका लागि मृत्यु अर्को एउटा उत्सवभन्दा कम हैन। हारेर वा थाकेर हैन, विजेताले जसरी मर्न सिक। मर्ने पहिलो सही तरिका यही हो। अथवा युद्धरत अवस्थामा मर। दोस्रो सही तरिका त्यो हो। विजेता नभए मर्न सक्दैनौ भने कमसेकम योद्धा भएर मर न। चोर जसरी सुटुक्क नआओस् तिम्रो जीवनमा काल। त्यसका लागि सधैं तयार भएर बस।

भगवान् र धर्म

धर्मको यात्रामा निस्किएका तिमी पक्कै मुक्ति चाहन्छौ। केबाट मुक्ति चाहन्छौ भन्ने प्रश्नको उत्तर त तिमीसँग होला तर केका लागि मुक्ति चाहन्छौ, मुक्ति पाएर के गर्छौ भन्ने प्रश्नको उत्तरबारे पनि सोच। ‘किन’ बिना पाएको मुक्ति खतरनाक हुन्छ। तिम्रो मुक्तिको कारक सधैं सिर्जना बनोस्। मुक्त होऊ तर सिर्जना गर्नका लागि मुक्त होऊ। सिर्जना नै धर्म हो। सिर्जनशक्ति नै भगवान् हो। सिर्जनाका क्षणहरूमा मान्छेले अनुभव गर्ने ब्रह्माण्डसँगको एकात्मकताको अनुभव नै समाधिको अनुभव हो। भीडमा सिर्जना हुँदैन, भीडमा भगवान् भेटिँदैनन्। भीडले सधैं तिमीलाई एक्लै पर्लाऊ भनेर तर्साउँछ। भीडले भन्छ, एक्लै हुनु सजाय हो। तर जसले एकान्तको स्वाद चाखे, उनीहरूले जाने, ईश्वर र आनन्द सधैं एकान्तमा मात्र भेटिन्छन्। एकान्तका लागि तिमीले कैयौं पल्ट हत्यारा बन्नुपर्नेछ आफ्नै लालसाहरूको। प्रेमिकाहरूको, मित्रहरूको साथको।

एकान्त सिँढी हो। माथि चढ्दै जाने। र जति माथि चढ्दै जान्छौ संसार त्यति सानो देखिँदै जान्छ। चढ्दै गएका तिमीलाई पनि संसारले सानो नै देख्छ। निदाएका मान्छेहरूले बिउँझेकाहरूलाई सधैं सानो नै देखेका छन्। एकान्तमा जन्मँदै, हुर्कंदै, चढ्दै, बढ्दै तिमी एक दिन उड्न थाल्नेछौ। त्यो एक दिन तिमीलाई संसारले गाली गर्नेछ। घिस्रिएर हिँड्नेहरूले उडान कसरी पचाऊन् पनि !

मित्रता

प्रेमको सबैभन्दा शुद्ध स्वरूप हो, मित्रता। तर के तिमीमा शत्रु बन्ने सामथ्र्य छ ? युद्ध गर्ने सामथ्र्य नभएको मान्छेसँगको मित्रता व्यर्थ छ। कुनै दिन युद्ध नै गर्नु परेको खण्डमा तिम्रो सर्वोत्कृष्ट शत्रु बन्न सक्ने क्षमता राख्ने मान्छेसँग मात्र मित्रता गर। कुनै कारण वा कमीले डोर्‍याईएर अथवा आफूमा कुनै चिजको कमी भएकाले त्यसको पूर्ति गर्न मित्रता नगर। कारण नै चाहिए आफूसँग बढी भएको कुनै कुराको दान गर्न मित्रता गर। चित्तलाई फकाउने, सुताउने हैन ब्यूँझाउने मित्रता गर। शान्तिका लागि हैन, क्रान्तिका लागि मित्रता गर। मित्रता नगरिएको खण्डमा शत्रुता होला भनेर गरिएको मित्रताको के अर्थ ? त्योभन्दा बरु सीधा र स्पष्ट शत्रुता राम्रो। र मित्रको अघि पनि तिमी आफ्नो पूर्ण नग्नतामा उपस्थित हुन सक्दैनौ भने मित्रता नगर। तिमी जे हैनौ त्यसको अभिनय गरेर गरिएको मित्रताभन्दा तिमी जे हौ त्यसको घोषणामा गरिएको शत्रुता राम्रो। दास मनोवृत्ति भएका वा दास बनाउन निस्किएकाहरूले मित्रता गर्न सक्दैनन्, मित्र त शीतल बतास हुनुपर्छ। भोकको तृप्ति हुनुपर्छ। औषधि हुनुपर्छ।

शरीर

शरीरभित्र अवस्थित ‘तिमी’ के एक व्यक्ति हौ ? तिम्रो विखण्डित अस्तित्वका टुक्राहरू कराउँछन् ‘म’ ‘म’। तिम्रा यस्ता ‘म’भन्दा धेरै महान् तिम्रो शरीर छ जसले रत्ति ‘म’को भाव नराखी एउटा सिंगो, सग्लो म बाँचेको हुन्छ। तिम्रो मनको हजारवटा ‘म’ले हजार फरक वस्तु चाहँदा तिम्रो शरीरको ‘म’ले केवल एक वस्तु चाहेको हुन्छ। यसर्थ तिमीभन्दा तिम्रो शरीर धेरै महान् छ। हर क्षण बदलिइरहने तिम्रा धारणा र भावनाभन्दा धेरै भित्र तिम्रो शरीरसँग एक भएर टाँसिएको आत्मा छ। सुन्नै परे त्यसको सुन। बरु शरीरकै सुन। तिम्रो प्रेम गर्ने क्षमता पनि त यो धर्ती र शरीरले तिमीलाई दिएको सुन्दर उपहार नै हो।

उद्देश्य

सबैको जीवनमा एकै उद्देश्य हुनुपर्छ, एकै लक्ष्य हुनुपर्छ भन्नेहरू तिम्रा मित्र हैनन्। तिमीलाई तिम्रा छिमेकीहरूसँग तुलना गर्नेहरू तिम्रा मित्र हैनन्। आफूलाई कसैसँग तुलना गर्नु भनेको आफ्नो आत्मालाई आफैंले बन्धनका सिक्रीले बाँध्नु हो। सही र गलतका नियम शाश्वत हैनन्। एक ठाउँ र एक समयमा सही ठानिएका कुरा अर्को ठाउँ र समयमा गलत ठानिन सक्छन्। यसर्थ भीडले दिएको सहीको परिभाषामा आफूलाई ढाल्ने प्रयत्न नगर। मान्छेले पालना गर्ने गरेका सबै सही र गलतका, नैतिकताका नियम उनीहरूको अहंकारको पक्षपोषण गर्ने माध्यम मात्र हो। साधुले म साधु हुँ भन्ने अहंकार पाल्न नै साधुताका नियमको पालना गरेको हुन्छ। अहंकारले सधैं अप्ठ्यारा कुराहरूलाई महानताको मापक ठानेको हुन्छ। महान् बन्न अप्ठ्यारा कुरा हासिल गर्न चाहने मान्छे साधु हैन। पाउन सबैभन्दा अप्ठ्यारो कुरालाई जीवनको अन्तिम उद्देश्य बनाउने तथाकथित आध्यात्मिकहरू पनि सही अर्थमा आध्यात्मिक हैनन्।

न्याय

शत्रुलाई लज्जित बनाउनु छ भने उसले दिएका अप्ठ्याराहरूलाई सिँढी बनाएर देखाइदेऊ। शत्रुलाई तिम्रो करुणा हैन, क्रोध देऊ। मान्छेमा बदलाको भावना हुनु जायज हो। चिसो र पाषाण न्यायभन्दा तिम्रा नसामा बग्ने जीवनऊर्जाले प्रदीप्त रक्तको उम्लाइ बढी जीवन्त छ। क्रोधित हुन लाज नमान। क्रोध पनि तिम्रै जीवन ऊर्जा हो। तिमीसँग जे छ, दिने त्यही नै हो। जे छँदै छैन, त्यो दिने प्रयास नगर। क्रोधले भरिएको हृदयले दिएको करुणा सधैं देखावटी नै हुन्छ। नक्कली मुस्कान मुस्कुराउनुभन्दा बरु शत्रुको मुखमा थुकिदिनु राम्रो।

करुणा

मान्छेमा आनन्दको असीमित क्षमता छ। धर्म वा कुनै नियमको बन्धन लादेर आफूलाई आनन्दबाट वञ्चित राख्नुभन्दा ठूलो पाप अर्को छैन, जसले आफ्नो आनन्द जान्यो, स्वान्तसुखाय जान्यो उसले भुलेर पनि कसैको कुभलो चिताउँदैन। आनन्दित मान्छेले अरूलाई पनि आनन्द नै बाँड्छ। दिनुलाई ठूलो मानिएको छ सधैं, लिनु पनि सानो हैन। कसैले दिएको कुरालाई उत्ति नै करुणा र प्रेमका साथ स्वीकार गर्नु पनि कला हो। दान लिन जान्नु पनि कला हो। कसैले प्रेम र सम्मानले दिएको कुरालाई उत्ति नै प्रेम र सम्मानले लिन जान्नु ईश्वरको आराधना गर्नु नै हो। लिन जान्ने मित्रहरूलाई आफैंले देऊ। जसले तिमीले हृदयदेखि नै दिएको कुरालाई त्यसरी नै लिन जानेको छैन, उसलाई नदेऊ। बरु उसलाई तिम्रो बगैंचाबाट चोर्न देऊ। थाकेको साथीलाई आराम गर्ने ओछ्यान त देऊ तर नरम र आरामदायी ओछ्यान दिएर उसको आत्मसम्मानमा चोट नपुर्‍याऊ। उसलाई युद्धमैदानको क्याम्पमा लगाइएको जस्तो साह्रो ओछ्यान देऊ। जानाजान तिम्रो कुभलो गर्ने मित्रलाई भनिदेऊ— तिमीले मलाई जे गर्‍यौ त्यो त म बिर्सौँला ला, तर तिमीले मलाई कुभलो गर्दै गर्दा आफैंलाई जे गर्‍यौ, त्यो म माफ गर्न सक्दिनँ।

हामी सबैका रचयिताको झैं मेरो भाषा पनि प्रेम नै हो।

मैले तिमीलाई गर्ने प्रेम र ईश्वरले हामी सबैलाई गर्ने प्रेम फरक छैन।

मैले पनि निद्रामा लैजाने, लठ्याउने प्रेम जानेको छैन।

मेरो प्रेमले जगाउँछ; नचाउँछ !


नित्सेको पुस्तक ‘दस स्पोक जरथुस्त्र’को भावानुवाद अनुपम पोखरेलले गरेका छन्। उनको अनुवाद–सिर्जनामा सात पुस्तक प्रकाशित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.